७ वैशाख २०८१ शुक्रबार
समाज

यसरी ठगिए पूर्व लाहुरे, लाहुरे परिवार घर न घाटको अवस्थामा

पीडित बीरबहादुर थापा आफ्नी श्रीमती र छोराको साथमा ।

रोहित राई

धरान–धरान १५ दशरथ पथका ५४ बीरबहादुर थापाले ब्रिटिश आर्मीमा २१ बर्ष नोकरी गरे। ०५५ सालमा रिटायर्ड भएपछि पनि उनी इराक, बहराइन गए। जीवनभरको कमाइले उनले ०६४ सालमा एक कट्टा जग्गामा तीन तले पक्की घर बनाएका थिए। विदेशमा पसिना बगाएर बनाएको त्यही घरजग्गा पनि अहिले उनी आफ्नो भन्नसक्ने अवस्थामा छैनन्।

खासमा गत माघमा उनले एक करोड १० लाख रुपैयाँ मूल्य तोकेर उक्त घर बिक्री गरेका थिए। तर, उनी त्यतिबेला घरजग्गा ठगी गर्ने गिरोहको जालमा फसिसकेका रहेछन्। यो कुरा थाह पाउँदासम्म धेरै ढिलो भइसकेको थियो। मात्र ४९ लाख बैना रकम दिएर घरजग्गा नामसारी गरेकै भोलिपल्ट काठमाडौं घर बताउने खरीदकर्ता प्रदिपकुमार गौतम एकाएक गायब भए। त्यसपछि मोवाइलमा सम्पर्क हुँदा ‘आएर पैसा दिउँला’ भन्दै आश्वासन दिए पनि गौतम अहिलेसम्म भेट्न आएका छैनन्।

एक करोड १० लाख रुपैयाँ मूल्य तोकेर उक्त घर बिक्री गरेका थिए। तर, उनी त्यतिबेला घरजग्गा ठगी गर्ने गिरोहको जालमा फसिसकेका रहेछन्। यो कुरा थाह पाउँदासम्म धेरै ढिलो भइसकेको थियो। मात्र ४९ लाख बैना रकम दिएर घरजग्गा नामसारी गरेकै भोलिपल्ट काठमाडौं घर बताउने खरीदकर्ता प्रदिपकुमार गौतम एकाएक गायब भए।

 

संखुवासभा जिल्लाबाट नागरिकता निकालेका गौतम खास कहाँ बस्छन् भन्ने पनि अन्यौल छ। थापासँग घरजग्गा खरीद गर्दा ठेगाना धरान १५ लेखाएका छन्। अहिले पीडित थापालाई आफ्नो भन्दा पनि ४ जना छोराछोरीको भविष्यले निक्कै सताइरहेको छ। ‘जीवनभर नोकरी गरेर जे जति कमाई गरे, त्यसले यही घरजग्गा जोडेको थिएँ’, चिन्तित हुदै पीडित थापाले भने, ‘चिनजान नभएको मान्छेलाई घर बिक्री गर्ने हुँदा घर न घाटको भइयो, गाँस र बाँसकै पो विचल्ली बनायो।’

हुन त उनको परिवार त्यही दशरथ पथको घरमा बसिरहेको छ। तर, कानुनीरुपमा त्यो उनीहरुको घर होइन। परिवारजनले बैना पैसा फिर्ता गराएर पुनः घरजग्गा आफ्नो बनाउन सल्लाह दिइरहेका छन्। बीरबहादुर पनि त्यही गर्न चाहन्छन् । तर, गौतम भने सम्पर्कमा आउन चाहँदैनन्। पीडित परिवारका अनुसार गौतमलाई उनीहरुसम्म इलाम घर बताउने भीमप्रसाद खनालले ग्राहक बनाएर ल्याएका थिए।

गौतम र खनालले थापा परिवार भन्दा अघि पनि थुप्रैलाई फसाएको थप प्रमाणहरु पनि फेला परेपछि नियोजितरुपमा आफूहरु ठगिएको थापाकी श्रीमती धनमायाले बताइन्। उनका अनुसार खनाल र उनी श्रीमतीले करिब एक बर्षसम्म निरन्तर घरमा आएर फकाउने गर्थे। लामो प्रयास गरेपछि थापा परिवारलाई उनीहरुले घरजग्गा बिक्री गर्ने मुडमा पुर्याए । ‘प्रदिप गौतम राम्रो मान्छे हो, व्यापारी हो । पैसा दिन्छ भन्थे ।

सधै जसो आएर कुराकानी गर्ने भएकोले नजिकियौं’,धनमायाले भनिन्,‘प्रदिपको नाममा घर गएपछि उनीहरु आउनै छोडे । नामसारी गराउँदा मलाई पनि सही गर्न लगायो, पछि अंशमुद्दा नलगाओस् भनेर रहेछ।’

साविक बाँझगरा वडा नं १ (क) कित्ता नं २५४२ को १० धुर र कित्ता नं २५४४ को १० धुरमा बनेको घर १ करोड १० लाखमा किनबेच गर्ने तय भएको थियो। त्यसमध्ये ४९ लाख बैना दिएर बाँकी रकम त्यही घरजग्गालाई बैंकमा राखेर ऋण स्वीकृत भएपछि दिने भनि गौतमसँग ०७२ माघ २० गते भएको लिखित कागज थापासँग सुरक्षित छ। उक्त कागजमा ‘बैकबाट ऋण स्वीकृत नभए वा पैसा दिन नसकेमा गौतमले पुनः घरजग्गा थापालाई नामसारी गरिदिने’ उल्लेख छ।

भीमप्रसाद खनालले साक्षीकारुपमा सही गरेका छन्। यो कागज भएकै दिन थापाले गौतमलाई घरजग्गा नामसारी गरिदिएका थिए। त्यतिबेलासम्म घरजग्गा धितो राखेर बैंकबाट ऋण दिलाउन थापाले पनि गौतमलाई सघाएका थिए। तर, रजिष्ट्रेशन पास भएको भोलिपल्ट(माघ २१) गते गौतम सुटुक्क काठमाडौं गएर पुल्चोकस्थित नबिल बैंकको शाखाबाट ७५ लाख रुपैयाँ झिकेको करिब एक महिनापछि मात्र थापा परिवारले थाहा पाए।

‘मलाई पनि थाह नदिइ नगरपालिकाबाट घर सम्पन्नको कागज झिकेर लगेछ। मलाई ४९ लाख मात्र दिएको छ, बाँकी पैसा दिएन। उसलाई त सिधै २६ लाख नाफा भयो’,थापाले भने। थापा परिवार भन्दा अघि गौतमले इनरुवाका प्रितम अटललाई पनि ठगी गरेको खुलेको छ। अटललाई ६० लाखको बाउन्स चेक दिएपछि उनले गौतमविरुद्ध मुद्दा दायर गरेका थिए।

पछि, गौतमले थापा परिवारको घरजग्गा खरीद गरेको थाहन पाएपछि अटलले आफ्नो पैसा असुलउपर गराउनुपर्ने भन्दै जिल्ला अदालतमा जग्गा रोक्का माग गर्दै मुद्दा दायर गरेपछि अदालतबाट पनि कित्ता नं २५४२ र कित्ता नं २५४४ रोक्का छ। अदालतबाट रोक्का हुनअघि ऋण लिदा नबिल बैंकबाटै पनि सो जग्गाहरु रोक्का छ । पीडित थापाले असार ३१ गते इलाका प्रहरी कार्यालय धरानमा गौतम र खनालविरुद्ध जाहेरी दिदै आश्वयक कानुनी कारबाहीको माग गरेका छन्। तर, प्रहरीले लेनदेन हेर्न नमिल्ने भन्दै सम्बन्धित मान्छे झिकाइदिने भने पनि प्रदिप गौतम सम्पर्कमै आएका छैनन्।

आरोपित गौतमसँग मोवाइलमा सम्पर्क गर्ने प्रयास गरेपनि फोन लागेन। उनका सहयोगी भीमप्रसाद खनालले गौतमसँग आफ्नो पनि राम्रो चिनजान नभएको दाबी गरे। थापा परिवार ठगिएको स्वीकार गरेपनि त्यसमा आफ्नो संलग्नता नभएको जिकिर गरे। ‘मेरो पनि एक बर्षअघि मात्र घरजग्गा किनबेचकै सिलसिलमा चिनजान भएको हो, धेरै थाहा छैन’, उनले भने,‘वीरबहादुर थापासँग कागजी समझदारी भएको हो, तर पछि के भयो थाहा छैन । प्रदिप गौतमको अरु पनि थुप्रै घटना रहेछ।’

 

प्रकाशित: ८ भाद्र २०७३ ०९:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App