८ वैशाख २०८१ शनिबार
विचार

राम्डी मस्टो थानको मेला

बझाङमा कृष्णाष्टमीका दिन कृष्णको पूजासँगै अर्को महत्वपूर्ण मानिएको मस्टोको राम्डी थानमा मेला पनि लाग्छ। अन्य साना ठूला विभिन्न मन्दिरमा पूजा होम आदि हुने गरे पनि त्यस दिन मेला लाग्ने यो प्रसिद्ध थानमा टाढाटाढाबाट मानिस आउँछन्। बझाङको उत्तरी भाग धमेना गाउँमा सेती नदीको पश्चिमपटि्टको करिब एघार हजार फिटभन्दा बढीको उचाइमा पर्ने राम्डी भन्ने स्थानको घना जंगलको बीचमा खर्सुको फेदमा मस्टोको थान छ। यही कारणले मस्टोले मानिससँग संवाद गर्दा आफूले खर्सु डालामा औतार लिएको भन्ने गरेका छन्। मूल थान ढँडार भए पनि उनी यहाँ तपस्या गर्न बसेको विश्वासका कारण गोप्य मस्टोेका रूपमा पूजा हुन्छ। कृष्ण जन्माष्टमीबाहेक अन्य समयमा पनि श्रध्दालु पूजा गर्न त्यहाँ जाने गरेका छन्। मंसिरदेखि यस ठाउँमा हिउँ पर्ने हँुदा जान सकिन्न तर हिउँ पग्लेपछि भने आवतजावत सुरु हुन्छ।

सुनिकोट, बम्महरूको राज्य सेती नदी पश्चिम, बझाङको उत्तरी भागमा अवस्थित थियो। उक्त राज्यको पूर्वी सिमाना सेती नदी र उत्तरतिर तत्कालीन तिब्बतको साल्सु गंगा (कर्णालीको अर्को नाम) सम्म थियो। तिनीहरू तिब्बती क्षेत्रका चार गाउँका जनताबाट कर उठाउँथे। कुल देवताका रूपमा तिनीहरु ढँडारको मस्टोलाई मान्ने हँुदा पूजा गर्न सेती नदीको पूर्वी भागमा पर्ने ढँडारको थान आउँथे। भातेखोलामा पर्ने ढँडार, तत्कालीन अवस्थामा अर्को राजनीतिक क्षेत्रमा पर्थ्याे। अर्को राज्य क्षेत्रमा प्रवेश गर्दा एक त राजनीतिक कारण हुन्थ्यो भने सुरक्षाको प्रश्न आफनो ठाउँमा छँदै थियो। मुख्य अवरोध त वर्षाद्मा पानीको मात्रा उच्चतम विन्दुमा भएको सेती नदी पार गर्नु हुन्थ्यो। बाबियोको डोरी र तुइनमा परिवारसहित जाँदाको अर्को समस्या छँदै थियो। तैपनि उनी बर्सेनि चोखो र शुद्धता भएको बेलामा अनन्त चतुर्दशीमा ढँडार थानमा नियमित आउने गरेका थिए।

एकपटक राजा रानी नदी तर्न लाग्दा बाबियोको डोरी चुँडियो। तिनीहरू भदौको सेती नदीको पानीको उर्लाभेल बाढीमा खसेर बग्दा एउटा गरुड आएर पानीबाट निकालेर अर्कोतर्फको नदी किनारमा उतारिदियो। राजा र रानी ढँडार मन्दिरमा पुगेपछि धामीमा औतार भएका मस्टो देवताले आफूले गरुडको रूप लिएर बचाएको कुरा बताइदिए। मस्टोले ती राजालाई भने– अबदेखि तिमी प्रत्येक वर्ष आउनुपर्दैन। यो फूलपाती लैजाउ, तिमीले आफूलाई पायक पर्ने ठाउँमा स्थापना गर्नु। मेरो धामी त्यतै आउला र औतार लिएर तिमीलाई दर्शन दिउँला। एक वर्ष बिराएर आउँदा हुन्छ। अनन्त चतुर्दशीमा मेरो ठूलो पर्व भएकाले त्यस दिन म त्यता आउन सम्भव हुँदैन। कृष्ण जन्माष्टमीमा मेरो पूजा र होम गरे हुन्छ।' मस्टोले राजालाई फूल अक्षता र चिह्न दिई पठाए।

मस्टोको निर्देशनअनुसार राजाले फूलपाती बोकेर ल्याई त्यस क्षेत्रको अग्लो भूभाग बाह्र हजार पाँच सय फिटको उचाइमा हिमारामडी भन्ने ठाउँमा स्थापना गराए। उनी आफना मानिस लिएर प्रत्येक तेस्रो वर्षमा एक साल ढँडार र एक साल हिमारामडीमा ढँडार मस्टोका धामीका साथ पूजा गर्न जान्थे। प्रत्येक तेस्रो वर्षको एक दिन कृष्ण जन्माष्टमीमा मस्टोका पूजा हुन थाल्यो। चलिआएको मान्यताअनुसार मस्टो ध्यान र तपस्या गर्नुपरेमा हिमारामडी तर्फ जान्थे। एकदिन उनी तपस्या गरिरहेको अवस्थामा तल गाउँमा कुखुराको भाले कराएको र मानिसले हलो जोत्दा त्यताबाट कराएको आवाज सुनियो। यसबाट ध्यान खल्बलिएकाले उनी त्यो स्थानबाट उठेर डाँडाको उतापटि्ट आवाज नसुनिने ठाउँ (राम्डी) मा बस्न गए। केही मानिसको मान्यताअनुसार हिमाराम्डीको उचाइमा भँगेरा कराएर आवाज निकाल्थे। यसबाट उनले आफनो ध्यान भंग भएको महसुस भएर उक्त स्थान छाडेर गए। अहिले यात्रुहरू हिमाराम्डीमा फूलपाती ध्वजापताका चढाई धूप बत्ती बालेर मुख्य थानको बाटो अगाडि बढ्छन्।

प्रकाशित: ९ भाद्र २०७३ ०४:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App