coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

योग सबैका लागि

विगत केही वर्षयता योग शब्द निकै लोकप्रिय बनेको छ । पश्चिमी मुलुकमा योग शब्दलाई अंग्रेजीकरण गरेर ‘योगा’ भनेर फेसनको रूपमा प्रचलित गरिदिएपछि हामी पनि अब त्यो फेसनको अनुरागी बन्न थालेका छौँ । योग हाम्रै भूखण्डमा, यही हिमालय भूमिमा उद्भुत भएको प्राचीन जीवन विज्ञान हो । अनेकौँ सूक्ष्मद्रष्टा ऋषिमहर्षिको कठिन तपश्चर्या र योगबलद्वारा यसको प्रवत्र्तन भएको मानिन्छ । हजारौँ वर्ष लामो इतिहास योग विज्ञानले बोकेको छ । योग दुई अक्षरको एउटा शब्द भए पनि यसका अनेकन अर्थ, विधा र पद्दतिहरू छन् । व्यक्तिको रुचि, स्तर, सामथ्र्य र संस्कार अनुरूप जसलाई जुन योगपद्दति उपयुक्त हुन्छ, उसले त्यसै किसिमको योग प्रणाली अपनाउन सक्छ । तसर्थ योग मानव मात्रलाई उत्कर्ष तथा शिखरमा पु¥याउने सर्वसमर्थ महाविज्ञान हो । शरीरसँग स्वास्थ्य र आरोग्य जोड्नु, मनसँग एकाग्रता र धारणा जोड्नु, भावनासँग प्रेम र आनन्द जोड्नु, आत्मासँग सर्वशक्तिमान् परमात्मा जोड्नु योग हो । योगको अन्तिम लक्ष्य समाधि हो ।
    वस्तु होस् या मानव, त्यसका दुई पक्ष हुन्छन् । एक सकारात्मक, अर्को नकारात्मक । एउटा उज्यालो, अर्को अँध्यारो । महान् ऋषि पतञ्जलिले मनुष्य जीवनका कर्ममध्ये उज्यालोलाई शुक्लकर्म र अँध्यारोलाई कृष्णकर्म भन्नुभएको छ । यसरी एउटै अस्तित्वभित्र दुई पूरक पाटा हुनु प्रकृतिप्रदत्त कुरा हो । तर, जसले आपूmभित्रको नकारात्मक अर्थात् अँध्यारो पाटोलाई घटाउँदै, धुँदै, पखाल्दै लगेर सकारात्मक पाटोको अभिवृद्धि गर्दै जान्छ त्यो व्यक्ति एकदिन सकारात्मकताको शिखरमा पुग्छ । यसरी सकरात्मकताको शिखरमा पुग्नलाई अवलम्बन गरिने सबैभन्दा व्यावहारिक साधन योग हो ।
    योगले आफ्नो कार्य शरीरभित्रका भौतिक मल, विकारहरूको निष्कासनबाट आरम्भ गर्दछ । शरीर मल, विकारहरूले रहित भई शुद्ध र स्थिर नभएसम्म इन्द्रिय, मन एकाग्र हुनै सक्दैन । यसो नहुँदा, शरीरस्थ प्राणशक्ति पनि शक्तिशाली र उध्र्वगामी हुन सक्दैन । हठयोग अन्तर्गतका शुद्धिक्रियाहरू वास्ति, नेति, धौति, नौलि, त्राटक, कपालभाति योगका शारीरिक क्रिया हुन् । त्यस्तै, पतञ्जलि ऋषिद्वारा उपदिष्ट यम नियमहरू पनि आन्तरिक शुद्धीकरणका साधनहरू हुन् । शरीरको बाह्य र आन्तरिक शुद्धि भइसकेपछि अब आसन, प्राणायामद्वारा शरीरमा स्थिरता, हठता र उध्र्वगामिता अभिवर्धन हुन थाल्छ । विकेन्द्रित र क्षयीकृत प्राणशक्ति अन्तर्मुख भई जीवनशक्ति सशक्त हुन लाग्दछ । जब व्यक्तिको शरीर शुद्ध र प्राण उध्र्वगामी हुन थाल्दछ, उसको मनमा पनि एकाग्र हुने क्षमता उत्पन्न हुन थाल्दछ । मन एकाग्र भई निर्दिष्ट ध्येयमा नियोजित हुनु भनेको जीवनका सबै कर्महरू उन्नत र योगनिष्ठ हुन सुरु हुनु हो । यस्तो स्थिति भइसकेपछि व्यक्तिले दुई किसिमका अवसर प्राप्त गर्छ । भौतिक क्षेत्रमा सफलता चाहनेहरू पनि सफल हुँदै जान्छन् र योग साधनामा अघि बढ्न चाहनेहरू पनि एकाग्र र स्थिर मनको सहारामा अघि बढ्दै जान सक्तछन् ।
    जो व्यक्ति आफ्नो बाहिरी दुनियाँमा या सांसारिक प्रतिस्पर्धामा विजयी हुन चाहन्छ, उसलाई आत्मविश्वास, मनोबल, धैर्य, विवेकबुद्धि जस्ता सम्पत्ति नभई हुँदैन । जो व्यक्ति आध्यात्मिक गहिराइमा प्रवेश गरी आन्तरिक र आत्मविकासमा अघि बढ्न चाहन्छ, उसलाई सङ्कल्पशक्ति, धारणाशीलता र मानसिक स्थिरताको परम आवश्यक हुन्छ । योग पद्धतिमा प्रयोग हुने ध्यान, योगनिद्रा, मन्त्रजप, स्वाध्याय आदि अभ्यास उपरोक्त आवश्यकतालाई सम्बोधन गर्ने उपाय हुन् ।
बुझ्न सजिलो अर्थ
-   जीवनमा राम्रा, असल, सकारात्मक र शुभ गुणकारी कुराहरूलाई जोड्दै जानु र त्यसको विपरीत नराम्रा, खराब, नकारात्मक र अशुभ कुराहरूलाई वियोग गर्दै लैजाने साधना योग हो ।
-    शरीरलाई रोगबाट मुक्त गरी आरोग्यवान् बनाउनु, इन्द्रीयहरूलाई विषयवासनाबाट मुक्त गरी अन्तर्मुख बनाउनु, मनलाई चञ्चलताबाट मुक्त गरी एकाग्र बनाउनु, बुद्धिलाई प्रपञ्ची (व्यवसायबुद्धि) र संशयवादीबाट स्थिर र आत्माभिमुखी बनाउनु, चित्तलाई अखण्डवृत्ति र संस्कारहरूबाट मुक्त गरी निर्मल बनाउनु र आत्मालाई असंख्य कर्मसंस्कारबाट मुक्त गरी परमात्मामा एकाकार गराउनु योग हो ।
-    प्रायः मनुष्य प्रवृत्तिमा पशुता, तुच्छता, निकृष्टता र लघुताको बाहुल्य हुन्छ । उसलाई पशुताबाट उठाएर मनुष्यता र मनुष्यताबाट क्रमशः दिव्यतातर्फ लैजाने विधि विधानलाई योग भनिन्छ ।
-    कर्मशील व्यक्तिलाई उसको दैनिक कर्महरूको माध्यमबाट आत्मसाक्षात्कार गराउने, सङ्कल्पवान् व्यक्तिलाई ध्यानयोगद्वारा चेतनाको शिखरमा पु¥याउने, भावनाशील व्यक्तिलाई भक्तियोगद्वारा भगवद् आनन्द प्रदान गर्ने, जिज्ञासाशील मनस्वीहरूलाई ज्ञानयोगद्वारा ज्ञानको पराकाष्ठामा पु¥याउने उत्कृष्टतम् विज्ञानलाई योग भनिन्छ ।
-    मानवलाई महामानव, पुरुषलाई महापुरुष, तुच्छलाई महान्, नरलाई नारायण, निकृष्टलाई सर्वोत्कृष्ट बनाउने, त्यस्तै प्राणलाई महाप्राण र व्यक्तिलाई महाप्रकृतिसँग र लघुलाई विभु, व्यप्तिलाई समष्टि, थोपालाई सागर र बिन्दुलाई सिन्धुसँग मिलन गराउने साधनाविधिलाई योग भनिन्छ ।
योग सबैका लागि
योग धेरैले बुझेजस्तो आधा–एक घन्टामा गर्ने व्यायाम कसरत हैन । यो प्रतिपल, प्रतिक्षण र सास सासमा चलिरहने प्रक्रिया हो । महर्षि अरविन्दले भन्नुभएको छ ‘प्रत्येक श्वास योग साधना हो ।’ व्यवहारिक परिप्रेक्ष्यमा योग जीवन जिउने कला हो । योग विज्ञानका अध्येताहरूको अनुभवमा योग समग्र जीवन पद्धति हो, सर्वांगीण जीवनदर्शन हो । अध्यात्म वैज्ञानिकहरूको दृष्टिकोणमा योग सबै विज्ञानभन्दा माथि चेतनाको महाविज्ञान हो । ऋषिमहर्षि सूक्ष्मद्रष्टाहरूको भनाइमा योग समाधिको यात्रा हो ।
        प्रचलित प्रमुख योग प्रणाली यस्ता छन् – कर्मयोग, ज्ञानयोग, राजयोग, अष्टांग योग, भक्तियोग, मन्त्रयोग, हठयोग, क्रियायोग, नादयोग, प्राणयोग, ध्यानयोग । आजभोलि योगको नाममा जुन आसन, प्राणायाम र केही मुद्राबन्धको प्रयोग गरिन्छ, त्यो हठयोगको एउटा सानो अंशमात्र हो । समग्रतामा योग अत्यन्त व्यापक, असीम र वैविध्यपूर्ण छ । यसर्थ योग गर्नलाई कसैलाई कुनै पनि कुराले र कहिल्यै पनि छेक्दैन । जहिले पनि जहाँ पनि, जुनसुकै परिस्थितिमा पनि योग गर्न सकिन्छ ।
व्यस्त जीवनमा योग
अहिलेको पुस्ता क्रमशः दुर्बल र नपुंसक हँुदै गइरहेको छ । बलहीनताका कारण अहिलेको युगलाई तनाव र डिप्रेसनको युग भन्न थालिएको छ । धनसम्पत्ति, पदप्रतिष्ठा, यन्त्रउपकरणको स्वामी भएकै कारण आजको मान्छे आफूलाई बलवान ठान्ने गर्छ जबकि यदि उसको स्वामित्वको वस्तु हटाइदिने हो भने उसको शरीरबल र मनोबल नितान्त क्षीण हुँदै गएको अवस्था छ । यस परिपे्रक्ष्यमा अब योग बाहेक अर्को समाधानै देखिँदैन उसको मानसिक नपुंसकता र दुर्बलतालाई निवारण गर्ने । योगमा केवल विरासन र सिंहासन मात्रै गरिँदैन । यसले वीर र सिहंस्वरूप समेत बन्न सिकाउँछ । अन्यथा योगमा निहित बलप्रदायक विशेषताको वर्णन योग गुरु अमित राय किन यसरी गर्नुहुन्थ्यो ‘योग केवल केही आसनहरूको पुनरावृत्ति होइन, यो त्यो विद्या हो जसले हामीभित्र विद्यमान सूक्ष्म ऊर्जाभण्डार खोज्ने र प्रष्फुटित गर्ने काम गर्दछ ।’
    धेरैजसो मान्छे आज धनबलको बन्दोबस्त गर्ने अन्त्यहीन दौडानमा छन् । मान्छेलाई न चैन छ न विश्राम गर्ने समय । धनबलको दौडानमा जब मान्छे थाक्छ, वाक्कदिक्क हुन्छ, उसलाई अन्ततः योगको छहारी याद आउँछ । तपाईंं हामीमध्ये कतिपयको योग सुरु गरौँला भन्दाभन्दै वर्र्षाैं बितेर जान्छ । जहाँजहाँ योग विषयक उत्सव, महोत्सव, कार्यशाला र कुम्भमेला हुने गर्छ गोरो छाला भएकाहरूको संख्या ठूलो हुने गर्दछ । यसबाट लाग्छ कि उनीहरू धनबलको साधनाबाट अघाएर अब योगबलको मार्ग खोजिरहेका छन् । संयुक्त राज्य अमेरिकामा मात्रै आजको दिनमा योग क्षेत्रमा करोडौं डलरको कारोबार भइरहेको छ । महँगा–महँगा शहरहरूमा महँगा–महँगा पाराका योगा स्टुडियो, लाइफ स्टाइल क्लिनिक, योगा पार्लर, योगा सेनिटोरियम र योगा क्लबहरू धमाधम खुलिरहेका छन् । योग विज्ञानमा त्यति बल नभएको भए योग यसरी फैलिने थिएन होला ।
पीएचडी, मानव चेतना एवं योग विज्ञान

 

प्रकाशित: ८ असार २०७३ ०१:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App