४ वैशाख २०८१ मंगलबार
समाज

'प्रभुको रिन' तिरिनसक्नु

दाङ- तुलसीपुर–३, गणेशपुरकी सरस्वती नेपालीको आम्दानी धेरै छैन। मजदुरी गरेर आएको दुई–चार पैसाले परिवार धान्नै मुस्किल छ। तैपनि उनी हरेक महिना आफ्नो आम्दानीको दशांश दानमा खर्चिन्छिन्। चाहे त्यसका लागि गाँसै कटाउन किन नपरोस्?

२०६४ सालमा इसाई धर्म अँगालेयता यो क्रम निरन्तर छ।  'प्रभु' लाई आफ्नो आम्दानी दिए मुक्ति मिल्ने विश्वास पालेकी सरस्वती आफूलाई सच्चा अनुयायी साबित गर्न कुनै कसर बाँकी राख्दिनन्। त्यति बेला उनी मानसिक रूपले बिरामी थिइन्। परिवारले चर्च पुर्‍याए। निको पनि भइन्। प्रभुले नै आफूलाई निको पारेको ठान्छिन् सरस्वती। र, त्यसयता निःस्वार्थ भावनाले त्यो 'ऋण' तिरिरहेकी छन्।

'प्रभुको नाममा दशांश बुझाउनैपर्छ, नत्र उहाँँले हामीमाथि गरेको पुण्यको गुण तिरिन्न,' उनले भनिन्। यसबाहेक चर्चमा चढाउनुपर्ने साप्ताहिक 'भेटी' त छँदै छ।

तर, प्रभुका नाममा बटुलिएको त्यो पैसा कहाँ, केमा खर्च हुन्छ, त्यो भने उनलाई थाहा छैन। उनी त बस्, हरेक महिना पैसा ठिक्क पारिदिन्छिन्, प्रभुका दूत झोली थाप्दै आउँछन्।

दाङमा अरू पनि यस्ता धेरै इसाई धर्मावलम्बी छन् जो आफ्नो आम्दानीको दशांश प्रभुलाई नछुट्ट्याई निदाउनै सक्दैनन्। धर्मगुरुले बाइबलमा 'प्रभु' ले दिएका उपदेश सुनाएपछि दान गर्न नैतिक दबाब नै परेको छ उनीहरूलाई। पैसा नसके कुखुरा, अन्डा दिएर भए पनि आफ्नो जिम्मेवारी पूरा गरिरहेकै छन्।

धर्मगुरुको बाइबल–वाणी छ–  'तिम्रो आम्दानीको केही अंश म (प्रभु) लाई दिए अझै धेरै पुण्य मिल्छ, इमानदारिता देखाउनू, आम्दानी नलुकाउनू।' पुण्य दिलाउने सर्तमा आम्दानीको हिस्सा माग्ने उनीहरू यो कुरा बाहिर नजाओस् भन्ने पनि चाहन्छन्– 'दायाँ हातले दिएको देबे्र हातले नदेखोस्।' 

र, प्रभुको यी 'लीला' दाङ जिल्लाभर व्याप्त छ।  जिल्लाका इसाई धर्म प्रचारक भने अनुयायीबाट दशांश आम्दानी लिने प्रचलनलाई 'प्रभु र भक्तबीचको धार्मिक सम्झौता' बताउँछन्। 'प्रभुले भन्नुभएको छ, पैसा दिए अझ धेरै पुण्य मिल्छ,' जिल्लामा क्रिस्चियन धर्म सुरु गर्ने घोराहीस्थित प्रतापी चर्चका पुराना पास्टर नरबहादुर शाह भन्छन्, 'यो धर्ममा लाग्नेले आम्दानीको दस प्रतिशत प्रभुका नाममा दान गर्नुपर्ने नियम छ।'

प्रभु खुसी नभए 'पुण्य' नमिल्ने नैतिक दबाबमा जिल्लाका इसाईधर्मी महिनैपिच्छे आम्दानीको दस प्रतिशत चर्चलाई बुझाउँछन्, पैसा दिन नसक्नेबाट कुखुरा, अन्डा भए पनि उठाइन्छ। 

प्रभुको पाठ गर्न चर्च (मण्डली) तयार पारिएको हुन्छ। यी प्रत्येक चर्च सञ्चालनका लागि व्यवस्थापन समिति बनाइएको हुन्छ। मण्डलीमा एक जना धर्मप्रचारक 'पास्टर' हुन्छन्। हरेक शनिबार मण्डलीमा पाठ गर्न आउने अनुयायीको भिडमा 'झोली' घुमाइन्छ। उनीहरू आफ्नो गच्छेअनुसार भेटी चढाउँछन्।

प्रत्येक महिनाको अन्त्यमा पनि उसै गरी झोली घुमाएर प्रतिव्यक्ति आम्दानीको १० भाग प्रभुका नाममा उठाइन्छ। 'यो काम महिनाको अन्तिममा हुन्छ,' पास्टर शाह भन्छन्।

जागिरे वा व्यापारीलाई खासै समस्या नभए पनि विपन्न परिवारका सदस्यलाई भने दस प्रतिशत आम्दानी बुझाउन हम्मे पर्छ।

पैसा नपुगेपछि उनीहरू कुखुरा, धान, अन्डासमेत लगेर झोलीमा हालिदिन्छन्। 'कसैको घरमा १० वटा कुखुरा छ भने एउटा लगेर चर्चमा बुझाउनुहुन्छ, अन्डा बेचेर पनि प्रभुका नाममा रकम दिइरहनुभएको छ,' शाह भन्छन्, 'यो करकापमा नभएर इच्छाधीन हुन्छ।'

उनले यसो भने पनि 'आम्दानीको हिस्सा नबुझाउने भक्त पुण्यबाट वञ्चित हुने' बाइबल वचनले सबैलाई सतर्क पारेको छ। सकीनसकी मासिक आम्दानी प्रभुको झोलीमा खन्याइरहेकै छन्। त्यो रकम चर्चकै अगुवाले आफ्नो तजबिजीमा प्रयोग गर्छन्।

चर्च व्यवस्थापनमा खटिनेलाई तलबदेखि आन्तरिक व्यवस्थापनसम्मको खर्च त्यसैले चलाइन्छ। उनीहरूका अनुसार धर्मप्रचारकलाई समेत मासिक तलब व्यवस्था गरिएको छ। 'पास्टरलाई तलब व्यवस्था गरिएको हुन्छ,' तुलसीपुरस्थित आइयोलोन चर्चका सचिव टोपबहादुर महतरा भन्छन्, 'उहाँहरूको तलबस्रोत भनेकै भक्तहरूको भेटी र दशांशबापत संकलन हुने रकम हो।' उनले आफ्नो चर्चका पास्टरलाई मासिक १५ हजार रुपैयाँ तलब व्यवस्था गरिदिएको समेत बताए।

बालबालिकाका लागि संगति गर्ने, महिलाका लागि संगति पाठ गर्नेहरूलाई पनि छुट्टै तलब व्यवस्था गरिएको हुन्छ। यो चर्चमा मासिक ३५ हजारभन्दा बढी रकम संकलन हुँदै आएको  छ। उक्त रकम तलब र चर्चको विद्युत् बिललगायतमा खर्च हुने गरेको मतहराले बताए।

इसाई धर्मका प्रचारकलाई प्रभुका नाममा संकलन हुने भेटी र दशांश नै जीवन निर्वाह गर्ने सजिलो माध्यम बनेको छ।

जंगबहादुर चौधरी भारत, बैङ्लोरबाट पास्टर तालिम लिएर दाङ पसे। घोराहीस्थित बलिदान चर्चको पास्टर भए। पक्की ढलानसहितको चर्चको माथिल्लो तलामा उनी चार जनाको परिवारसहित बस्छन्। दुई छोरा क्याम्पस पढ्छन्। भन्छन्, 'हामीले यसबाट केही पनि मुनाफा लिएका छैनौं।'

कक्षा १२ को पढाइ सिध्याएका उनका छोराले बसोबास खर्चको स्रोत खुलाउन चाहेनन्। 'खोइ, बुबाले कसरी 'म्यानेज' गर्नुभएको छ, हामीलाई केही थाहा छैन,' छोराले भने।

चौधरी भने करिब तीन सयले प्रार्थना गर्दै आएको चर्चबाट संकलित रकम आन्तरिक व्यवस्थापनमा मात्रै खर्च हुँदै आएको बताउँछन्।

प्रभुका नाममा संकलित रकम चर्च व्यवस्थापनबाट जोगिए सामाजिक अभियानमा प्रयोग गरिने धर्मप्रचारकको दाबी  छ। 'हामी प्रभुको सुसमाचार प्रचार गर्न राप्तीका अरु जिल्ला पनि जान्छौं, यसको खर्च त्यही रकमबाट जोहो गर्छौं,' पास्टर नरबहादुरले भने, 'प्रभुको सुसमाचार सुनाउनु हामी प्रचारकहरूको धर्म हो।' उनले धर्मप्रचारबापत मासिक तलब खाँदै आएका छन्।  

जिल्लामा झन्डै सय हाराहारीमा यस्ता चर्च खुलिसकेका छन्। जहाँ कम्तीमा ३५ देखि तीन–चार सयसम्म अनुयायी छन्।

प्रकाशित: १० भाद्र २०७३ ०१:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App