७ वैशाख २०८१ शुक्रबार
समाज

निकुञ्जभित्रै क्याम्प बनाउँछन् सिकारी

बर्दिया- निकुञ्जभित्र पेसेवर चोरी सिकारीले अस्थायी क्याम्प खडा गरेर वन्यजन्तु मार्ने गरेको खुलेको छ। भौगोलिक विकटताले निकुञ्ज प्रशासनको पहुँचभन्दा बाहिरको चुरे क्षेत्रमा चोरी सिकार गर्ने गिरोह सक्रिय रहेको खुलासा भएको हो।

निकुञ्जभित्रको चुरे क्षेत्रमा अस्थायी क्याम्प खडा गरी चोरी सिकार भरहेको अवस्थामा हतियारसहित बन्दोबस्तीका सामान निकुञ्ज प्रशासन र सुरक्षा गस्तीले बरामद गरेको छ। बुधबार बिहान साढे ७ बजे निकुञ्जबाट खटिएको सुरक्षा टोली दिउँसो ३ बजे भासताल सेनाको पोस्टको ८ किलोमिटर उत्तरमा पुग्दा चोरी सिकारीले फायरिङ गरेका थिए। सेनाको जबाफी फायरिङमा कुकुरसहित क्याम्प खडा गरेका चोरी सिकारीको भागाभाग भयो।  सिकारी भागेपछि हतियारसहित बन्दोबस्ती सामान बरामद गर्न निकुन्ज टोली सफल भयो। यसबाट निकुञ्जभित्र क्याम्प खडा गरेर चोरी सिकार भएको पुष्टि भएको छ।

चोरी सिकारीले निकुञ्जका सुरक्षाकर्मी र कर्मचारी लक्षित फायरिङ गरेपछि जबाफी कारबाही गरिएको निकुञ्ज प्रशासनले जनाएको छ। घटनास्थलबाट लोडेड भरुवा बन्दुकसहित विस्फोटक पदार्थ बरामद भएको छ। निकुञ्जका तीन गेमस्काउट र ४ सैनिक भासताल पोस्टदेखि ८ किलोमिट उत्तरमा चोरी सिकारी फेलापरेपछि दोहोरो फायरिङ चलेको निकुञ्जका सहायक संरक्षण अधिकृत अशोक भण्डारीले बताए। गोप्य सूचनाका आधारमा त्यहाँ गेमस्काउटसँगै सैनिक परिचालित भएको उनको भनाइ छ।

घटनास्थलबाट एक थान भरुवा बन्दुक, दुई सय ५ ग्राम विष्फोटक पदार्थ, कम्बल, तीन थान मोबाइल सेट, माछा, जरायो, दुम्सीको ४६ केजी  सुकुटीलगायत फेला परेको  निकुञ्जको प्रेस विज्ञप्तिमा उल्लेख छ।

भौगलिक विकटता र निकुञ्ज प्रशासनको असहज परिस्थितिको फाइदा चोरी सिकारीले उठाउने गरेका छन्।  यसअघि पनि निकुञ्ज प्रशासनले उत्तरी बेल्टबाट बाघ र गैंडा मार्न सक्रिय गिरोहलाई पक्राउ गरेको थियो।

निकुञ्ज प्रशासनले चोरी सिकारीलाई निरुत्साहित गर्न  चार वर्षअघि हरिहरपुर, तरगां, लेखपराजुल र छिन्चुलाई मध्यवर्ती क्षेत्र घोषणा गरेको थियो। स्थानीयलाई संरक्षणमा लगाउने निकुञ्जको अवधारणअनुसार उक्त क्षेत्रका दुई सय बन्दुक सर्वसाधरणले बुझाएको निकुन्जको तथ्यांक छ। संरक्षणमा लागेपछि स्थानीयले चोरी सिकार गर्ने परम्परा त्याग गरेको भण्डारीले  बताए।

बुधबार बरामद सामान हेर्दा निकुञ्जभित्रै क्याम्प खडा गरेर वन्यजन्तु मार्ने उद्देश्य गिरोहको रहेको भण्डारीको भनाइ छ। 'उनीहरू एक साताअघि नै निकुञ्जभित्र पसेको हुन सक्छ भन्ने अनुमान गरेका छौं,' उनले भने, 'जंगलमा बसेर सिकार खेल्ने चोरी सिकारीको उद्देश्य हो।'

निकुन्ज उत्तरमा पर्ने चुरे क्षेत्रमा वन्यजन्तुको सुरक्षा निकुञ्ज प्रशासनलाई टाउको दुखाइको विषय बनेको छ। सुरक्षाकर्मी र निकुन्जका कर्मचारी भौगलिक विकटताका कारण वर्षायाममा त्यहाँ गस्तीमा जान समस्या हुने गरेको प्रशासनको भनाइ छ। भण्डारीले चोरी सिकारीको गिरोह निरुत्साहित बन्दै गएको दाबी गरे।

निकुञ्जको सुरक्षामा खटिएको सेनाले वन्यजन्तुको सुरक्षाका लागि बेलाबेलामा विभिन्न अप्रेसन सञ्चालन गर्दै आएको छ। निकुञ्ज सुरक्षाका लागि नियमित गस्तीबाहेक तस्करलाई निरुत्साहित गर्न विभिन्न अप्रेसन सञ्चालन गर्दै आएको रणोसुरदल गणका गणपति राजेन्द्र पन्तले बताए। नियमित गस्ती, स्विपिङ, एम्बुस जस्ता अप्रेसनले वन्यजन्तु मार्ने गिरोह निरुत्साहित भएको दाबी उनले गरे। खानतलासी, झुक्काएर गरिने सर्च  र स्विपिङ अप्रेसन तस्कर निरुत्साहित गर्न प्रभावकारी भएको पन्त बताउँछन्। 'भौगलिकता विकटता र  प्रतिकूल मौसममा सबै ठाउँमा सेना र निकुञ्जको संयुक्त गस्ती पुग्न सक्ने अवस्था हुँदैन,' उनले भने, 'तर त्यसको फाइदा चोरी सिकारीले उठाउन नपाउन भन्नेमा सेना सजग छ।' भासताल अप्रेसन पनि रणनीतिक योजनाको  उपज भएको दाबी उनको छ। 'बर्खाको समय भएकाले भासतालतर्फ सेनाको नियमित गस्ती हुन सकेको थिएन,' उनले भने, 'तर, सेनाले एरिया डोमिनेस योजना अनुसार गरेको अप्रेसनमा सिकारी बन्दोबस्ती र हतियार छाडेर भाग्न बाध्य भए।' चोरी सिकारीलाई कानुनी दायरामा ल्याउन सेना सफल हुने दाबी पनि उनको छ।

उनका अनुसार निकुञ्ज सुरक्षार्थ खटिएका कर्मचारी र सेनाले तीन किसिमका अप्रेसन गर्छन। सेनाले नियमित गस्ती, एम्बुस र स्विपिङ अप्रेसन गरिरहेको छ। सेनाले निकुञ्ज सुरक्षार्थ ३२ वटा पोस्ट स्थापना गरेको छ। तस्करलाई निरुत्साहित गर्न आवश्यकता अनुसार विभिन्न पोस्टबाट पनि सेना परिचालन हुने उनले जनाए।

प्रकाशित: १० भाद्र २०७३ ०२:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App