७ वैशाख २०८१ शुक्रबार
अन्य

समयबजिको समय

उपत्यकामा अचेल जात्रैजात्रा छन्, जात्रामा भोज अनि भोजमा समयबजि उपत्यकाका जात्राहरूमा भोजको ठूलो महत्व छ ।

भोजमा नेवारी परिकार समयबजि अनिवार्य हुन्छ । टोखाका गणेशबहादुर श्रेष्ठ भन्छन्, ‘समयबजिबिना त हाम्रो पूजा नै हुँदैन।जुनसुकै पूजामा समयबजि देखेमा नेवारको पूजा भनेर चिन्दा हुन्छ ।’टोखामा भर्खरै बिस्केट जात्रा सकियो । यो जात्राको हरेक दिन हुने पूजामा सामूहिकरूपमा समयबजि खाने चलन रहेको उनी बताउँछन्।

भजन तथा नाचगानको क्रममा रातभर पनि समयबजि बाँडिन्छ । त्यस्तै जात्राको अन्तिम दिनपछि जात्रामा विभिन्न कर्म गर्ने व्यक्ति–समूहलाई ठूलो भोज दिइन्छ । यस्तो भोजको सुरुमै खाइन्छ, समयबजि । उनका अनुसार समयबजि मुख्य भोजअघि खाइन्छ । नेवारी भ्वय् परम्परामा दुई चरणमा भोज सम्पन्न हुने गर्छ । ‘पहिला छोइला भ्वय् भइसकेपछि मूः भ्वय् (मूल भोज) हुन्छ।

त्यहि छोइला भ्वय्लाई नै समय्बजि भनिने उनी बताउँछन् । श्रेष्ठ भन्छन् ‘भोजबिना जात्रा हुँदैन । समय्बजिबिना भोज हुँदैन ।’ उनका अनुसार समयबजिको मुख्य पाँच परिकारलाई संसारको पञ्चतत्वको रूपमा व्याख्या गर्ने प्रचलन छ ।नेवार समुदायको जात्रा तथा पर्वमा आफन्त तथा नातागोतालाई भोज खुवाउने चलन पनि छ । यस्तो भोजको आकर्षण बन्ने गरेको छ, समय्बजि । त्यसैले समयबजिलाई नेवारी खाजा भनेर पनि चिनिन्छ।

जात्रा तथा पर्वमा भक्तपुरकी सुजाता मानन्धर निकै व्यस्त हुन्छिन् । जात्रा हेर्ने, पूजा गर्ने र भोज खुवाउने चटारो हुन्छ, उनलाई । यसपालीको बिस्केट जात्रामा पनि उनी निकै व्यस्त बनिन् । उनलाई जात्राको भोजमा खाइने समयबजि विशेष लाग्छ । ‘समयबजि हामी त सधैँ नै खाइरहेका हुन्छौँ,’ सुजाता भन्छिन्, ‘जात्रा तथा पर्वमा भने आफन्तसहितको ठूलो भोजमा समयबजि खानुको मज्जा नै बेग्लै हुन्छ।’

उनी जात्रापर्वका बेला गैरनेवार साथीभाइलाई पनि बोलाएर भोज खुवाउँछिन् । विशेष गरी गाईजात्रा, योमरी पुन्ही र बिस्केट जात्रामा सँगै पढ्ने र काम गर्ने साथीहरू घरमा बोलाएर भोज खुवाउने गरेको उनले सुनाइन् । सुजाताले यसपालीको बिस्केटमा पनि भक्तपुर बाहिरका साथीहरूलाई जात्रा हेर्न बोलाएकी थिइन्।

जात्रा हेर्न आएका साथीभाइलाई घरमै समय्बजि खुवाइन् । गैरनेवार साथीहरू समय्बजि खाएर रमाउने गरेको उनी सुनाउँछिन् । ‘नेवारको स्पेशल भनेकै समयबजि हो । शाकाहारी र मांसाहारी दुवै थरि साथीहरू समयबजिमा रमाउने गरेका छन्,’ उनले भनिन् ।नेवार जातिमा हरेक पूर्णिमालाई कुनै न कुनै पर्वका रूपमा मान्ने चलन छ । ती सबै पर्वमा गरिने पूजामा पनि समयबजिको प्रयोग गरिन्छ । १२ पूर्णिमामध्ये यन्या पून्ही अर्थात् इन्द्र जात्रा हुने पूर्णिमाको दिन समयबजि खाइन्छ।

ललितपुरको थ्रीजी होनचाका सञ्चालक मेरिना व्यञ्जनकार भन्छिन्, ‘यन्याचा पूर्णिमा समयबजि खाने विशेष दिन नै हो, त्यस दिन टोलटोलमा समय्बजि बाँडिन्छ ।’ त्यस दिन समयबजि खाँदा पेटका विकार निको हुने जनविश्वास रहेको उनले बताइन्।पर्वहरूमा मात्र होइन, अन्य दिनमा पनि खाजाको रूपमा समय्बजि खाइन्छ। त्यसैले काठमाडौंको प्रमुख लोकप्रिय खाजामा गनिन्छ, समय्बजि । यसलाई साधारण खाजा पसलदेखि ठूला रेस्टुराँमा समेत स्पेशल नेवारी खाजाको रूपमा सर्भ गर्छन्।

चिउरा, भटमास, अदुवा, छोइला, हरियो साग, बारा, अण्डाको कम्बिनेसन गरी समय्बजि बनाइन्छ । थ्रिजी होनचाका सञ्चालक व्यञ्जनकार भन्छिन्, ‘समय्बजि बनाउन चिउरा, छोइला, भटमास, साग र अदुवा अनिवार्य मानिन्छन् ।’ टिपिकल समय्बजिमा भुटेको कालो भटमास हुनु पर्ने मान्यता छ । अचेल धेरै व्यावसायिकता र सजिलोका लागि सेतो भटमासको प्रयोग गरिने व्यञ्जनकार बताउँछिन्।

नेवारी रेस्टुराँमा हरेक दिन खाइने खाजा समयबजि नै हो । होनचामा पनि व्यापारको ठूलो अंश यसैले लिएको उनले बताइन् । भन्छिन्, ‘योमरीको व्यापार जाडोमा धेरै हुन्छ, समयबजि त सधैँ बिक्ने खाजा हो ।’ खाना वा खाजा जुनसुकै रूपमा खान सकिने हुनाले समय्बजि धेरै खाइने परिकार बनेको उनी बताउँछिन्।गत साता कीर्तिपुरको नेवाः लहनामा खाजा खाँदै थिए, शंखमूल बस्ने सरिता आचार्य र मल्लिका थापा । कीर्तिपुर घुम्न आउँदा उनीहरू नेवारी परिकारको खोजीमा नेवाः लहना पुगेका थिए । उनीहरूले लहनाको मेनुबाट समयबजि छनोट गरे ।

सरिताले भनिन्, ‘धेरै भेराइटी चाख्न पाउने डिस कुन हो भनेर सोध्दा समयबजि सिफारिस गर्नु भयो, त्यसैले मगायौँ ।’ समयबजि धेरै थरि परिकार हालिएको एक परिकार जस्तो लागेको मल्लिकाले बताइन् । ‘आलु चिउरा वा मासु चिउरा त खाएकै थियौ, चिउरालाई यत्ति धेरै भेराइटीका तरकारीसँग खाएको पहिलो पटक हो ।’ छोइला चपाउँदै उनले भनिन्, ‘राँगाका मासुको छोइलाचाहिँ विशेष मिठो लाग्यो ।’ यसअघि समयबजिको नाम सुने पनि खाजाको सेटको रूपमा यी दुई साथीले समयबजि खाएका थिएनन्।

सरिता र मल्लिकाजस्तै समयबजिबारे थाहा नभएका ग्राहक धेरै आउने गरेको नेवाः लहनाका पवन गोपाली बताउँछन् । ‘यहाँ वर्षैभरि सबैभन्दा खाइने परिकार नै सम्भवतः समयबजि हो, गेट टुगेदरका लागि आएका युवाहरू अइलासँगै समय्बजि खान रुचाउँछन्,’ उनले भने । धेरै भेराइटी, नुनिलो र पिरो स्वाद भएका सबै परिकारको कम्बिनेसन भएकाले समयबजि युवाको समेत रोजाइमा परेको उनले बताए।

समयबजिलाई धेरैले छोइलासहित खान मन पराउने गरेको गोपालीले बताए। यद्यपि यो भेजिटेरियनको पनि प्रिय खाजा हो । समय्बजिको कम्बोबाट ननभेज आइटम हटाउँदा पनि यो निकै स्वादिलो खाजा बन्छ । गोपाली भन्छन्, ‘चटामरी र वः जस्ता नेवारी परिकारसँग बानी नपरेकाले समेत समय्बजि भने मन पराउँछन्।’

प्रकाशित: ७ वैशाख २०७५ ०१:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App