१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

गन्तव्य ढाँट्दै, पैसा कमाउँदै

रत्नपार्कमा माइक्रो चढ्न खोज्दै यात्रु । तस्बिरः खिलक

गत बुधबार साँझ रत्नपार्क पुग्दा यात्रुहरू सवारीसाधन कुरिरहेका थिए ।बूढानीलकण्ठ र कान्तिपुर यातायातका सहचालक यात्रुलाई बोलाइरहेका थिए, बसको सिट भने भरिएको थिएन। त्यही बस आसपास यात्रु भने घुमिरहेका थिए । उनीहरूले आफ्नो गन्तव्य पुग्ने यातायात भेटिरहेका थिएनन् । उनीहरूको गन्तव्य थियो– बौद्ध तथा जोरपाटी।

सवारीसाधन नपाएर यात्रु भौतारिरहेका बेला रत्नपार्क आइपुग्यो– बा१ज ६२२३ नम्बरको नीलो माइक्रो । ग्यासबाट चल्ने सानो माइक्रोमा १४ सिट हुन्छ । तर, सहचालकले यात्रु पाउँदा २० जनासम्म पनि कोच्ने गर्छन्।माइक्रोमा खाँदिएर बसेका यात्रु निस्कँदै थिए । त्यहीबेला चावहिल, बौद्ध र जोरपाटीतर्फ जाने यात्रु माइक्रो चढ्न तँछाडमछाड गर्न थाले । चालकले माइक्रो अगाडि बढाए । यात्रु पछ्याउँदै कुदे।

‘चावहिल, बौद्ध जान्छ कि नाई ? कहाँसम्म जाने हो यो ?’ यात्रुहरू चालकलाई सोध्न थाले । ‘बौद्ध–जोरपाटीको माइक्रो पछाडि आउँदै छ,’ चालकले जवाफ फर्काए । यात्रुहरू अलमलमा परे । दुई जना यात्रुले माइक्रो अगाडि आएर सूचना बोर्ड हेरे । माइक्रोमा सूचना बोर्ड नै थिएन ।
‘यो जोरपाटी जाने माइक्रो होइन र गुरु ?’ अर्का यात्रुले सोधे । जवाफमा चालकले ती यात्रुलाई बानेश्वरसम्म बस्न संकेत गरे।

दुई मिनेटमै माइक्रो भरियो । सिट भरिएपछि केही यात्रु प्यासेजमा उभिए । त्यतिबेलासम्म माइक्रोमा झन्डै १५ जना यात्रु बसिसकेका थिए ।अका एक यात्रुले पनि जोरपाटी जाने हो ? भनेर प्रश्न गरे । चालकले बस्न संकेत गरे । सिट भरिभराउ भएकाले ती यात्रु ढोकामा गएर बसे । माइक्रोको ढोकामा झुन्डिने यात्रु नै चारजना पुगे।

चावहिल–जोरपाटी जान यात्रुले माइक्रो पर्खिन थालेको १० मिनेट भइसकेको थियो । यात्रुहरू आफ्नो गन्तव्यको माइक्रो आएको हो कि ? भनि आँखा तन्काइरहेका थिए।करिब १५ मिनेटपछि बा१ज ६४०७ नम्बरको माइक्रो आइपुग्यो । गाडीको प्रतीक्षामा रहेका यात्रुले माइक्रोलाई घेरिहाले । चालकको स्वरले यात्रुलाई निराश बनायो । ‘बौद्ध–जोरपाटीको माइक्रो पछाडि आउँदै छ,’ चालकले भने।  

‘बानेश्वरसम्म त जान्छ होला नि ?’ एक यात्रुको जवाफमा चालकले मैतिदेवी–बानेश्वरका यात्रुलाई बस्न निर्देशन दिए । चालकले बानेश्वरसम्म जाने संकेत गर्दा नगर्दै माइक्रोभित्र छिर्न यात्रुको तँछाडमछाड भइसकेको थियो । माइक्रोभित्र छिरेर सिटमा बस्ने यात्रु भने ठूलै सफलता पाएजसरी प्रशन्न देखिन्थे।

बौद्ध–जोरपाटी जाने यात्रुले माइक्रो कुरेको आधा घन्टा भइसक्दा पनि उनीहरूलाई लिएर जान कुनै माइक्रो तयार थिएनन् । यसैबीच बा१ज ६०९३ नम्बरको माइक्रो आयो । त्यसमा पनि कुन ठाउँ जाने भनेर सूचना बोर्ड राखिएको थिएन ।रत्नपार्कमा आधा घन्टा अघिदेखि दुईवटा माइक्रो पार्किङ गराएर राखिएको थियो । ती माइक्रो पछाडि नै ल्याएर बा१ज ६०९३ नम्बरको माइक्रो रोकियो ।

यात्रुहरू जोरपाटी जानका लागि झुम्मिदै गर्दा चालकले भने, ‘अगाडिका सबै माइक्रो जोरपाटी नै जाने हुन्, यसैमा किन झुम्मिनु हुन्छ ?’ ती चालकले आफ्नो माइक्रो केही समयपछि मात्रै जाने बताउँदै अरुमै जान संकेत गरे । ‘मेरो त बिग्रिएर राखेको हो,’ उनले भने ।त्यसभन्दा अगाडि रोकिएको बा१ज ६२६३ नम्बरको माइक्रोले भने पुरानो बानेश्वर–गौशालासम्मका यात्रु हाल्न थाल्यो । त्यसका चालकले भन्दै थिए, ‘गौशालासम्मका यात्रु मात्रै चढ्नुस् है।’

रत्नपार्क–जोरपाटी चल्ने सबै माइक्रोले जोरपाटीसम्म नपुग्ने भन्दै बीच बाटोसम्मका यात्रु मात्रै चढाएपछि जोरपाटी जाने यात्रुहरू अलमल्ल देखिन्थे।रातको ८ बजेसम्म कुर्दा पनि गाडी नपाएकाहरू चिन्तित देखिन्थे । नीलो माइक्रो रत्नपार्कबाट ९ बजेसम्म चल्ने भएकाले केही यात्रु भने अबको एक घन्टामा त गाडी आउला कि ? भन्दै बसिरहेका थिए।

रत्नपार्कदेखि जोरपाटी पुग्ने यात्रुले प्रतिव्यक्ति २५ रूपैयाँ भाडा तिर्नु पर्छ । तर, रत्नपार्कबाट मैतिदेवी, पुरानो बानेश्वर पुग्नेले नै १५ रूपैयाँ तिर्नु पर्छ । मैतिदेवीबाट अर्को यात्रु चढाएर चावहिल झार्दा १५ रूपैयाँ अनि चावहिलबाट अर्को यात्रु चढाएर जोरपाटी पुर्याउँदा थप १५ रूपैयाँ गरी ४५ रूपैयाँ बढी आम्दानी गर्न सकिन्छ ।

बुधबार रत्नपार्क–जोरपाटी रुटका माइक्रो आउँदै नआएका होइनन् । रन्तपार्कबाट छुटेका सबै माइक्रोको गन्तव्य जोरपाटी नै हो । तर, उनीहरू जोरपाटी जादैनौँ भनेर यात्रुलाई ढाटिरहेका थिए । उनीहरू यसरी ढाटेर बीचबाटोमा यात्रु उतारेपछि फेरि त्यहाँबाट अर्का यात्रु पाइन्छ भनेर यस्तो गरिरहेका थिए । उनीहरूले बढी पैसा कमाउने लोभमा यसरी बीचबाट अर्का यात्रु लिएर जाने र रत्नपार्कमा भने गन्तव्य ढाट्ने गरेका हुन्।

रत्नपार्कको दृश्य नियालेपछि काष्ठमण्डपकर्मी मोटरसाइकलमा बौद्ध पुग्दा रत्नपार्कमा जोरपाटी जाँदैनौँ भनेका माइक्रोहरू धमधम बीच बाटोबाट यात्रु हालेर जोरपाटीतर्फ लाग्दै थिए।
बुधबार साँझ देखिएको यो दृश्य रत्नपार्कमा हरेक दिन दोहरिन्छन् । ‘यहाँ आउने सबै माइक्रो जोरपाटी पुग्छन्,’ नीलो माइक्रोमा दैनिक यात्रा गर्ने केशव खत्रीले भने, ‘बेलुका भएपछि बीच बाटोबाटै यात्रु उठाउन पाउने भएकाले रत्नपार्कबाट जोरपाटी जाने यात्रु चढाउनु पर्छ भनेर जोरपाटी जाने होइन भन्छन्।’

रत्नपार्कदेखि जोरपाटी पुग्ने यात्रुले प्रतिव्यक्ति २५ रूपैयाँ भाडा तिर्नु पर्छ । तर, रत्नपार्कबाट मैतिदेवी, पुरानो बानेश्वर पुग्नेले नै १५ रूपैयाँ तिर्नु पर्छ । मैतिदेवीबाट अर्को यात्रु चढाएर चावहिल झार्दा १५ रूपैयाँ अनि चावहिलबाट अर्को यात्रु चढाएर जोरपाटी पु¥याउँदा थप १५ रूपैयाँ गरी ४५ रूपैयाँ बढी आम्दानी गर्न सकिन्छ । यही कारणले गर्दा यात्रु धेरै हुने समयमा नीलो माइक्रोले लामो दूरिका यात्रु चढाउन नमानेका हुन्।

‘चालकको चलाखीपन धेरै यात्रुले थाहा पाइसकेका छन्,’ खत्रीले भने, ‘चालकले जोरपाटी जाने हो नभन्दा पनि यात्रुलाई जोरपाटी जाने भनेर थाहा भइसक्छन्, अनि सोही माइक्रो चढेर जोरपाटी पुग्छन् ।’ यसरी चढ्दा पनि कुनैबेला त अघि मैले यहाँसम्म मात्रै चढ्नु भनेको भनेर जबरजस्ती यात्रुलाई उत्रिन बाध्य पार्ने गरेको उनी बताउँछन्।रत्नपार्क–जोरपाटी रुटमा एक सय ३० वटा माइक्रो चल्छन् । बिहान ४ बजेदेखि बेलुका ९ बजेसम्म यो रुटमा माइक्रो चल्ने गर्छन् । थोरै यात्रु अट्ने हुँदा छिटो यात्रा होला भनेर हतार हुँदा धेरै यात्रुले माइक्रोलाई रोज्ने गर्छन्।

गन्तव्य ढाट्ने, यात्रु कोच्ने, बीच बाटोमा लगेर यात्रु ओराल्नेलाई कारबाही गरिरहेको ट्राफिक प्रहरीको दाबी छ । कानुनअनुसार त्यसरी यात्रुलाई दुःख दिनेलाई पाँच सयदेखि पाँच हजार रूपैयाँसम्म जरिवाना गर्ने हैसियत दिएको छ ।
 

यो रुटमा मात्र होइन, बेलुकापख अन्य रुटमा पनि यस्तो समस्या देखिने गरेको छ । ५ बजेपछि सुन्धारामा गएर गाडी चढ्न यात्रुको तँछाडमछाड हुने गर्छ । ‘बल हुने हुत्याउँदै गएर चढिहाल्छन्,’ बुधबारै सुन्धारामा भेटिएका ५७ वर्षीय रमेश दुलालले भने, ‘हामी त न अरुलाई हुत्याउँदै चढ्न सक्छौँ, न गाडीवालाले नै वास्ता गर्छन्।’

यातायात सिन्डिकेटविरुद्ध उत्रेको सरकारले सार्वजनिक यातायात क्षेत्रका यस्ता विकृतिप्रति भने बेवास्ता गरिरहेको छ । ‘हामीले सार्वजनिक यातायातमाथि निगरानी गरिरहेका छौँ,’ महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता उमेश रन्जितकारले भने, ‘तर, जसरी चालक सुध्रिनु पथ्र्यो त्यसरी हुन सकेको छैन।’

उनका अनुसार गन्तव्य ढाट्ने, यात्रु कोच्ने, बीच बाटोमा लगेर यात्रु ओराल्नेलाई पनि महाशाखाले कारबाही गरिरहेको छ । कानुन अनुसार त्यसरी यात्रुलाई दुःख दिनेलाई पाँच सयदेखि पाँच हजार रूपैयाँसम्म जरिवाना गर्ने हैसियत दिएको छ ।

 

 

प्रकाशित: ७ वैशाख २०७५ ०२:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App