६ वैशाख २०८१ बिहीबार
अन्य

शुभम्को 'पोएट्री म्यानेजमेन्ट'

चन्द्र गुरुङ

शुभम् श्रीले हिन्दी कवितामा चलिरहेको भाषिक संरचना, बनावट, वर्णविन्यासलाई फेर्ने काम गरेकी छैनन्। उनले समाज, परिवार, राजनीति, एकेडमी आदिमा स्थापित भइसकेकेका र सर्वमान्य बनिसकेका पारम्परिक अवधारणाहरूलाई आफ्नो कविताको नयाँ प्रयोगले तहसनहस पार्न चाहेकी छन्।

 

यो अल इन्डिया रेडियो हो

अब तपाईं सुन्नुहोस् सीमा आनन्दबाट हिन्दीमा समाचार

नमस्कार!

 

आज प्रधानमन्त्री तीन दिवसीय अन्तर्राष्ट्रिय काव्य सम्मेलनका लागि जानुभयो

यसमा देशका सबै काव्य–गुटका कविहरू सामेल छन्                         

विदेशमन्त्रीले स्पष्ट पारेका छन् कि भारतले कुनै मूल्यमा काव्य–नीति फेर्ने छैन

भारत–पाकिस्तानको काव्य–वार्ता आज फेरि विफल भएको छ

पाकिस्तानले भनेको छ कि इकबाल, मन्टो र फैजमाथि भारतले आफ्नो दाबी फिर्ता लिनुपर्छ

चीनले आज फेरि काव्यालंकारहरूको परीक्षण गरेको छ

सूत्रले भनेका छन् यस अलंकारले अब दुनियाँको सबैभन्दा शक्तिशाली काव्य–अलंकार उत्पन्न गर्नेछ

भारतको प्रमुख काव्यनिर्माता आशिक आवाराजीको आज बिहान निधन भयो

उत्तरप्रदेशमा आज फेरि दलित कविहरूमाथि हमला भयो

उता, खेलमा भारतले लगातार तेस्रो पटक

कविता अन्ताक्षरीको स्वर्ण पदक जितेको छ

भारतले सीधा सेटमा ६–५, ६–४, ७–२ ले यो म्याच जित्यो

समाचार समाप्त भयो!

यो कवितांश हो हिन्दी युवा कवयत्री शुभम् श्रीको। उनको 'पोएट्री म्यानेजमेन्ट' शीर्षकको कविता एक अंश हो यो। यसलाई प्रसिद्ध हिन्दी कवि तथा कथाकार उदय प्रकाशको ज्युरीले वर्ष २०१६ को भारतभूषण अग्रवाल काव्य पुरस्कार प्रदान गरेको छ। यस वर्ष भारतभूषण पुरस्कारको निर्णायकको जिम्मेवारी उदय प्रकाशलाई दिइएको थियो। उनले अर्का कवि असद जैदले सम्पादन गर्ने हिन्दी पत्रिका 'जलसा–४' मा प्रकाशित शुभम् श्रीको यही कवितालाई छाने।

यस निर्णयसँगै हिन्दी कवि र कवितावृत्तमा गज्जबको बहस आरम्भ भएको छ। भारतीय हिन्दी कवितामा नयाँ चर्चा भइरहेको छ। उदय प्रकाशको यस छनोटमाथि नौलो प्रकारको बहस सुरु भएको छ। बौद्धिक खेमामा सहमति र असहमति लगातार देखिँदै छन्। यस कविताको निहुँमा वर्तमान हिन्दी कविताको परम्परा, भाषा, कथ्य र शिल्पमाथि बहस, चर्चा र प्रतिवाद चलिरहेका छन्। यस कवितामा आएको नयाँपनले हिन्दी कवितामा भाषिक शुद्धता खोज्ने शुद्धतावादीहरूको ठूलो समूहलाई चिढाएको छ। उदय प्रकाशले एउटा आधिकारिक वक्तव्य नै निकाल्नुपरेको छ। जसमा उनले लेखेका छन्– 'शुभम् श्रीले कुनै कर्मकाण्ड या विधिविधानझैँ रुढ, खोक्रोपन र विरसिलोपनलेे भरिएको पछिल्लो केही दशकयताका हिन्दी कविताको भविष्यको लागि नयाँ झ्याल खोलेको मात्रै हैन, यसलाई जडमूलबाट फेरिदिएकी पनि छन्। कविता लेखन एउटा फाल्तुको बकवास काम या खानदानी चर्चित पेशेवरको लागि पार्टटाइमको धन्दा बनिसकेको थियो, तर शुभम् श्रीले फेरि यसलाई अर्थ दिएकी छन्। हाम्रो समस्या यो हो कि हामी कविताको रूप, अन्तर्वस्तु या शिल्पमा हुने फेरबदललाई सजिलै सहन सक्दैनौँ!'

अर्का वरिष्ठ कवि मंगलेश डबराल लेख्छन्– 'शुभम् श्रीले थुप्रै राम्रा कविता दिएकी छन्। उनका कवितामा व्यंग्य, हास्य, प्रश्नहरू र बेजोड चञ्चल भाषा विच्छेदनका चरित्र पाइन्छ। छोटो समयमा नै उनले हल्लाहरूदेखि टाढा रहँदै हिन्दी कविताजगत्मा आफ्ना लागि ठाउँ बनाइसकेकी छन्।'

श्ाुभम् श्रीको जन्म अप्रिल २४, १९९१ मा बिहार राज्यको गयामा भएको थियो। र, उनले जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयु)बाट एमफिल गरेकी छन्। हुन त शुभम् श्रीको कवितामाथि यो पहिलो पटक बहस चलेको होइन। यसअघि पनि 'बुखार, ब्रेक अप, आई लभ यु' शीर्षकको कवितामाथि पनि लामो बहस चलेको थियो। उनले कविताको प्रचलित शिल्पलाई तोड्ने कोसिस गरेकी छन्। कविताको जडतालाई तोड्ने एक नयाँ काव्यात्मक कोसिस उनको रहँदै आएको छ। उनका कविताह'मा न्यारेटिभ आख्यानपरक र उत्तरआधुनिक शिल्प प्यारोडीको बेजोड प्रयोग पाइन्छ। यस नयाँ प्रयोगलाई विरोधभन्दा पनि बु‰ने कोसिस जरुरी रहेको अनुभव गरिएको छ। काव्य–विश्लेषकहरूका मतमा उनका कविताले हामी पाठकलाई ऐना देखाउँछ, जहाँ हामी आफ्नो असली अनुहार हेर्न सक्छौँ।

अहिले थुप्रै कविताप्रेमी तथा कवि नै पनि शुभम् श्रीको पक्षमा आइसकेका छन्। उनीहरू उनको कवितामा पाइने व्यंग्यलाई सही र बताइरहेका छन्। उनका कवितामा भाषिक असंयमका उच्छृंखल प्रवाह देख्न पाइन्छ। कथ्य र भाषाबीच दुर्लभ तोडफोड हेर्न पाइन्छ।  हामीलाई थाहा छ नेपाली कवितामा पनि गोपालप्रसाद रिमाल र भूपि शेरचनले नयाँ धार ल्याउँदा परम्परामा रमाइरहेका कविहरूको टाउको दुखेको थियो। यस परिवर्तनलाई सजिलै स्वीकार गरिएको थिएन त्यसताका। शुभम् श्रीका कविता अलग स्वाद र धारका छन्। यिनका कविताले आफ्नो समयको शिल्पलाई अतिक्रमण गरेका छन्, जुन स्वागतयोग्य छ।

फेसबुक तथा अन्य अनलाइन मिडियामा शुभम् श्रीको कवितालाई कविता नमान्न आग्रह गर्दै चरित्रमाथि हिलो छ्याप्ने तथा अपशब्दसम्म प्रयोग गर्ने काम भएको छ, यस प्रकारको परिवर्तनलाई देख्न नसक्नेहरूबाट। यहाँसम्म कि यस पुरस्कारको पछाडि मिलेमतो र सेटिङको आरोप पनि लगाउन भ्याएका छन्। केहीले त यी कवितामा अश्लीलता र व्यभिचार पनि खोज्न भ्याएका छन्। हुँदाहुँदै कुरो कविताबाट हटेर जातिवाद र साम्प्रदायिकतासम्म पनि पुगिसेकेको छ। केहीले त यस कविताको आडमा उदय प्रकाशका आलोचकहरूले निर्णायकमाथि नै प्रहार गरेको निष्कर्ष पनि निकालेका छन्। जेहोस्, श्ाुभम् श्रीको कविताको सफलताले कवितामा अब नयाँपनको माग जोडदार ढंगमा उठेको छ भन्ने संकेत दिन्छ। हिन्दी कविता होस् या नेपाली, कवितामा नयाँपनको अभाव धेरै समयदेखि खट्केको छ। जसले गर्दा वर्तमानमा कवितालाई पाठकको दिल र दिमागमा ठाउँ बनाउन धेरै गाह्रो हुन पुगेको छ। 

शुभम् श्रीको यस 'पोएट्री म्यानेजमेन्ट' कवितामा सानदार प्रतिरोध, प्रतिबद्धता र नयाँपन छ। यो कविता उनको कवितालेखनको नयाँ आकाश बनाउन सक्षम छ। शुभम् श्रीको यस कवितामा गम्भीरता, गम्भीरताबेगर नै उपस्थित छ। जुन हिन्दी कविता लेखनमा दुर्लभप्रायः छ। कतिपय कविताका पारखी यस कवितामा गज्जबको कल्पनाशीलता पाउँछन्। कवितामा आएको व्यंग्य सुन्दर भएको बताउँछन्। उनीहरू मान्छन् कि भारतीय समाजमा कविताको स्थिति, कविता र बजारको सत्ता–संरचनाबारे जबरदस्त चित्रण हो शुभम् श्रीको यो कविता। र, दाबी गर्छन् यो कविता आजको हिन्दी कवितामा समयको प्रामाणिक सच्चाइ हो। यस कवितामा प्रतिरोधको पाखण्ड छैन बरु सच्चाइको ताकत छ। यसमा सच्चाइले अचम्म पार्दैन बरु सोच्न बाध्य पार्छ पाठकलाई। कवि डबरालले पनि शुभम् श्रीको पक्षमा 'पोएट्री म्यानेजमेन्ट' कविताबारे नोट लेखेका छन्– 'जसले यो पोएट्री म्यानेजमेन्ट कविता बुझेनन्, तिनले यो साबित गरिदिए कि बिजनेस म्यानेजमेन्टले भाषाको सतहमुनि र शब्दहरूको बीचको खाली ठाउँ पढ्न सक्ने हाम्रो योग्यतामाथि कालो बादल थुप्रिएको छ। मूल्य विचलनको समयमा उदय प्रकाशले यस कवितालाई भारतभूषण पुरस्कारको लागि छानेर पुरस्कारको गरिमा बढाइदिएका छन्। जो साहसिक र सम्माननीय छ।'

वास्तवमा शुभम् श्रीले यस कवितामा कविता लेखनीको यही सस्तोपन र विडम्बनाको चित्रण गरेकी छन्। जसमा हाम्रो सारा रचनाकर्ममाथि फैलिएको अदृश्य खतराको पहिचान सामेल छ। त्यो खतरा जसमा हाम्रो सिर्जना अप्रासंगिक हुँदै गइरहेको छ। आरोप लागेको छ यस कवितामा असम्बद्ध कथनहरूको कक्टेल छ। पारम्परिक कविताको गद्य, लय केही भेटिँदैन। भाषा पनि सारै बेमेल भएको जिकिर गर्छन्, केही युवा समालोचक। शुभम् श्रीको कविताको समर्थनमा आएका कतिपयचाहिँ यो भाषा कवितामा नयाँ प्रयोग हो र यसले आफूलाई स्थापित गर्न समय लिने बताउँछन्। यसलाई मान्यता दिन र स्वीकार गर्न पनि समय लाग्नेछ। यी कविता नयाँ स्वादका छन्। यस्तै परिवर्तन र भाषिक तोडफोडको आवश्यकता भएको बताउँछन् उनीहरू। र, मान्छन् कि रुढीवादी मानसिकतालाई हल्लाउन सजिलो छैन।

कवितामा जोडदार ढंगमा आएको यस नयाँपनलाई सलाम गर्दै उनकै एउटा अर्को कविता 'त्यो युवकको सम्झनामा'को नेपाली अनुवाद :

दाह्री काटेको तेस्रो दिनमा

हरेक युवक हाट लाग्छ

(यो मेरो सोच हो।)

र जिमखानाको साटो

अस्पतालमा रहेको होस् हप्ताभरि

त आँखाहरू दार्शनिकका झैँ हुन थाल्छन्

पहेँलो र उदास

ज्ालिरहेका र निस्तेज

नूनबेगरको हाँसो र सुक्खा मुस्कान

हिँड्यो कि थाकिहाल्ने

साँझमा, सल ओढेर शून्यतामा ताक्दा

एक खेप खान्छ र तीन पटक बान्ता गर्छ

खुम्चिजान्छ इन्जेक्सनको त्रासले

त्यो युवकको उदास अनुहारमा हात फेरिरहेकी युवती

मनमनै सोच्छे

म मरिहाले पनि उसलाई केही नहोस्

रोगी युवकहरू प्रेमिकामाथि शंका गर्न थाल्छन्

मन पढ्न सक्दैनन् रोगी युवकहरू।

शुभम् श्रीले हिन्दी कवितामा चलिरहेको भाषिक संरचना, बनावट, वर्णविन्यासलाई फेर्ने काम गरेकी छैनन्। उनले समाज, परिवार, राजनीति, एकेडमी आदिमा स्थापित भइसकेकेका र सर्वमान्य बनिसकेका पारम्परिक अवधारणाहरूलाई आफ्नो कविताको नयाँ प्रयोगले तहसनहस पार्न चाहेकी छन्। यसरी विवादको कारण बनेकी छन् उनी परम्परावादीमाझ। उनी आफ्ना कविताहरूमार्फत् नयाँ प्रतिध्वनि सुनाउँदैछिन्। उनको विचारअनुसार काव्य प्रयोजन फेरिए, कविता पनि फेरिनुपर्छ। पुराना परिभाषालाई दिमागमा राखेर कविताको व्याख्या गर्न चाहेमा त्यो पक्कै कविता रहँदैन र देखिँदैन पनि। कविताको जुन गुण र विशेषतालाई हिन्दी कविताको मूलधार मानिएको छ, त्यसको इतरका भाषा, शिल्प र भावले कहिल्यै महत्व पाएको देखिँदैन। खासमा, यस पुरस्कारले एक शानदार विवादलाई जन्म दिएको छ जो स्वयं यस पुरस्कारभन्दा पनि सुन्दर छ। यसले हिन्दी कवितालाई मात्रै होइन सारा कविता संसारमा एउटा नयाँ लहर उत्पन्न गराएको छ।

प्रकाशित: ११ भाद्र २०७३ ०३:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App