१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

पर्खाल नाघिरहेको सहर

दामोदर पुडासैनी 'किशोर'

उज्यालो हुनुअघिदेखि नै ब्युँझिसकेको छ ल्होमान्थाङ। भेडा, चौँरी, खच्चर, घोडा, कुखुरा र कुकुरले बस्तीमा बिहान ओर्लिसकेको संकेत दिँदैछन्। चैत्य, छोर्तेन र गुम्बाहरूबाट फैलिरहेछ धूपको मुस्लो र पर परसम्म स्पर्श गरिरहेछ मान्छेका नाकका पोराहरूमा। आङदुङ, स्यामा, सुर्की पहिरेर ठिम्बु र ज्यन्जेन भिर्ने महिला भेटिन्छन् बाटा, गल्ली र चोकहरूमा। स्यामु, फुङ्स्यो, केनम् भिरेर घप्टी हल्लाउँदै हिँडिरहेका पुरुष पनि भेटिन्छन् सहरका कुनाकानी, सडक र साँघुरा गोरेटामा। बिहान हुनुअघिदेखि नै गुञ्जायमान छ सहर बौद्ध मन्त्र र बौद्ध स्तुतिहरूमा। सहर होइन कुनै विशाल तीर्थस्थल लाग्दैछ ल्होमान्थाङ। मन्त्र जप्दै र स्तुति गाउँदै समय बरबाद पारेरमात्र कहाँ मिल्छ र शक्ति, कहाँ भेटिन्छ र शान्तिको सुवास, काम नगरी मन्त्र जपेरमात्र माला बनाउनुको के अर्थ छ र जिन्दगीको? बिहानभर मन्त्र जप्ने र माला गन्न छोडेर जाँगर नउमारेसम्म जय र स्तुतिले मात्र उम्रन सक्दैन कुनै सिर्जना। काम र प्रार्थना दुवैमा अब्बल देखिन्छन् ल्होमान्थाङबासी।

हाम्रा चार पाइला ल्होमान्थाङ चिन्न रौसिएका छन् बिहानैदेखि। हाम्रा चार आँखा हेरेर अघाएका छैनन् मायालुलाई। खुसी छन् मायालु, आँखाहरूद्वारा नूतन सहरको स्पर्श पाउँदा। माया निस्पि्कक्री फैलिएको छ सहरभरि। सहरका हरेक बार्दली, सिकुवा छाना, आँगन, भित्ता र चोटाकोठामा फैलिरहेछ मायाको सुगन्ध। माया पूजा, माया खुसी, माया रंग र माया गति बनेर फैलिरहेछ सहरभरि। बैँसका चिल्ला पाताहरूमा सल्बलाइरहेछ माया निरन्तर। मायाको स्पर्शमा मस्किदै हिँडिरहेछौँ हामी माने घुमाउँदै।

हामी मिस्टिक होटलबाट बाहिरियाँै र केही उत्तरतिर अघि बढ्यौँ। थुम्का नै थुम्का पर्खाल बनेर उभिएका छन् ल्होमान्थाङका। थुम्काहरू चैत्यजस्ता छन्, प्रकृतिले मेहनतसाथ बनाएका। गोलाकार र चुलिँदै उकालिएका। थुम्काका चुचुरामा लिंगो गाडेर तोरण फहराइदिएका छन् मान्छेले। प्रकृतिमा कृति थपिदिएपछि साँच्चै सुहाएको छ दृश्य। थुम्काहरूमा हरियोपरियो छैन। केवल छन् पहेँला थुम्काहरू। बौद्ध वस्त्रले ढाकिएजस्ता।

ल्होमान्थाङ सहरका दायाँ–बायाँबाट मौन शान्ति प्रसार गरिरहेका प्राकृतिक चैत्यहरूबाट फैलेको हावाले शान्त र शालीन बनाइरहेछ मान्छेलाई। हामी दुई भने सहरभरि छरिएर रहेका छोर्तेन र चैत्य छुँदै हिँडिरहेछौँ, छापे मानादेखि बिटुमिनका ड्रमजत्रा मानेहरू चार हातले घुमाउँदै। त्यो शान्त प्रदेशमा यात्रा गर्दा धर्म होइन, शान्तिको अनुभूति गरिरहेछु मैले। मेरी शान्ति घामभन्दा चहकिलो बनेर खुलेकी छन् मलाई पाएर।

हामी पर्खालको किनारै किनार हिँडिरहेछौँ। कुनै समय पर्खालबाहिर कुनै घर बनाउन पाइँदैनथ्यो भन्दै हुनुहुन्थ्यो सुरेन्द्र दाइले। अहिले पर्खालबाहिर पनि फैलँदै रहेछ ल्होमान्थाङ सहर।

सन् १३८० मा अमे पालले ल्होमान्थाङ सहर बसाए र सहरबाहिर पर्खालले घेरे– मैले पढेको थिएँ इतिहास। ल्होमान्थाङ सहर २३० मिटर लम्बाई र १५० मिटर चौडाइमा चारपाटे तर पूर्व–पश्चिम फैलिरहेछ। बजारलाई घेरेको छ बाक्लो र अग्लो पर्खालले। पर्खालको बीचबीचमा सुरक्षाकर्मीले निगरानी गर्ने बुर्जा पनि छन्। उत्तरपूर्वमा रहेको ठूलो ढोका नै सहर प्रवेश गर्ने द्वार हो। हिमाली क्षेत्रका पर्खाल र द्वारहरूले सुरक्षा र समृद्धिको झल्को दिन्छन्। सहरको शोभाको लागि, सुरक्षाको लागि र सम्मानको लागि बनाइएको हुनुपर्छ ल्होमान्थाङ पर्खाल! अहिले पनि अग्लो, सेतो र बलियो ढंगमा उभिइरहेछन् माटोका बाक्लो गारो भएका घरहरू। ठूलो र बाक्लो पर्खालले घेरिएको छ ल्होमान्थाङ। 'पर्खालभित्रको राजधानी' नामले पनि चिनिएको छ ल्होमान्थाङ। हामीले सहरको उच्च भागमा उक्लिएर हेर्‍यौँ, कतैकतै पर्खालमै उक्लिएर पनि। सहरबाहिर पनि असंख्य रहेछन् ढुंगे पर्खालहरू– बस्ती छेक्न बनाइएका, बाली छेक्न बनाइएका, बिरुवा छेक्न बनाइएका, वायु छेक्न बनाइएका र वस्तु छेक्न बनाइएका। ती नांगा पाखाहरूमा पर्खाल नै पर्खाल पो फलाएका रहेछन् मान्छेले। त्यसो त मार्फाबाट उकालो लागेदेखि नै पर्खालै पर्खाल देखिन थालेका हुन् मुस्ताङभरि।

पर्खालको कोलाजभित्र कुतकुतिरहेछ ल्होमान्थाङ।

कसैका लागि अवरोध हो पर्खाल। कसैका निम्ति विभाजन पनि। कसैका लागि सीमा त कसैलाई सुरक्षा हो पर्खाल। मुटुभरि हराभरा बनिरहेको मायालाई कसैले नगरोस् आक्रमण र कहिल्यै नचुहियोस् कतै पनि। प्रेमी–प्रेमिकाहरू हृदयदेखि नै गर्दैछन् मखमली पर्खालको आह्वान।

छोर्दे गुम्बाको बाहिरपट्टि पर्खाललाई दायाँ पारेर हिँडिरहेछौँ हामी। बाक्लो कुहिरो फुसफुसाएझैँ झर्न थाले जलकण। पानी पर्‍यो, पानी पर्‍यो– नौलो परिवेश महसुस गर्दैछन् ल्होमान्थाङवासी। कि हिउँ कि शुष्क वायुबाहेक केही नभेटिने ल्होमान्थाङमा पानीका छिटा सगुन र आशा बनेर बर्सिंदैछन्।

'ए... ए... ए... ए', हिँड्दाहिँड्दै दुवैजनाले ‰याप्प समात्यौँ एकअर्कालाई। एकै डल्लो पारेर छोर्तेनको छेको लाग्यौँ। छोर्तेन हाम्रो लागि पर्खाल नबनिदिएको भए हामी दुईको आन्द्रा उधिन्थे होला भालाजस्ता सिङधारी झोपाहरूले। सहरका साँघुरा गल्लीहरूमा कहिले कुकुरको झम्टाइमा, कहिले झुमा झोपा र घोडाहरूको ठेलमठेल र पेलमपेलमा पर्नु सामान्य भएको छ। पर्खालभित्रका गल्लीमा उकुसमुकुसिएर उछिट्टिएजस्तो लाग्छन् ती जनावर।

टासिदेले, वेलकम टु ल्होमान्थाङ, दावा याङ्गेन प्लस मिङ्मार ग्याल्बो, पासाङ वाङ्मो प्लस फुर्पु छिरिङ, ल्हाक्पा ग्याल्जेन प्लस पासाङ छोमो, विलियम गोल्डमेन प्लस क्याथेराइन फिसर, रूपा बराइली प्लस जीवन निरौला, शत्रुधन यादव प्लस रमा घिमिरे, आई लभ यु सुमित, आई लभ यु माया, आई अल्वेज लभ यु मधु, श्रीप्रसाद सुवेदी, २०७१।७।९, बुद्ध भगवान्को कसम म तिमीलाई हृदयदेखि नै माया गर्छु सुमिना, नयाँ नेपाल गणतान्त्रिक नेपाल, लभ यु ल्होमान्थाङ, गणतन्त्र चाहिँदैन, राजा मास्न पाइँदैन– यस्तैयस्तै लेखिएका छन् पर्खालका भित्ताहरूमा। त्यसबाहेक 'नौ हाते पटुकीलाई बाह्र हाते सारी, एउटी थिई मोटी काली त्यसले माया मारी', 'उकालो डाँडामा राम्रो रानीवन, फिरन्ते यो गरिबको ज्यान मात्रै हो धन', आनीबानी हेर्ने होइन रूपै हेर्छन् केटा, घुस खाने नेताज्यूको बाह्र हातको फेरा'– यस्तैयस्तै पनि कति लेखिएका छन् कति। अझ तिब्बती भाषामा लेखिएको त हामीलाई कालो अक्षर भैँसीबराबर नै भयो। कताकता ट्रक साहित्यजस्तो पनि लाग्छ भित्ते साहित्य। बिचरा भित्तो युगौँयुगदेखि ल्होमान्थाङबासीको मेला जात्रा हेरिरहेछ, झगडा–मिलाप हेरिरहेछ, राम्रा भन्नेहरूको नराम्रा कर्तुत पनि हेरिरहेछ, कैयौँलाई छेकिरहेछ, कैयाँैलाई सेकिरहेछ। आफू भने जसले जे लेखे पनि सहिरहेछ, जसले जे देखाए पनि हेरिरहेछ, जसले जति किला ठोके र ठेले पनि चुप लागिरहेछ। शासनले, प्रशासनले र शक्तिको आडमा बबन्डर मच्चाउने निरीह मान्छेको स्वरूपजस्तो पनि छ भित्ता।

समयको धरहरा बनेर उभिरहेछ ल्होमान्थाङ पर्खाल। प्रत्येक इँटा र ढुंगामा मान्छेको स्पर्श नभई बन्दैन पर्खाल। इतिहासको चाङ पनि हो पर्खाल। भित्ता भेटिनेबित्तिकै मनका कुण्ठाहरू लेख्न तम्सन्छ मान्छे। स्नानागार, शौचालय, मन्दिर, चर्च र मस्जिदका भित्ताहरूमा लेखिएका संकेतले खोलिरहेछन् इतिहासका रहस्य। इजिप्टका पिरामिडका भित्तामा कोरिएका मानव सभ्यता अंकित चित्रहरू, अमेरिकाको उचिता माउन्टेनका गिर्जाघरका भित्तामा टाँसिएका प्रेम, भगवान् र मान्छेका गतिशीलताका चित्रहरू म्यान्माको स्वेडगउँ पगोडाका छेउछाउमा लेखिएका प्रकार र प्रार्थना वासिङ्टन डी.सी.को लिंकन मेमोरियल पार्कमा सिंगमर्मरमा लेखिएका विरता–बहादुरी र मानव बन्ने सूत्रहरू देख्दा हाम्रै तिलौराकोटका गाह्रामा कोरिएका समयका तस्बिर छोएका क्षण उदाउँछन् मेरो मानसपटलमा।

चित्रहरू हुन् वा लेखौट, समय र घटनाका तुलफूल बनेर टाँसिन्छन् समयका पर्खालहरूमा। कसैको लागि अवरोध, कसैको लागि सुरक्षा, कसैको लागि रहस्य, कसैको लागि प्रतिष्ठा, कसैको लागि आदि र कसैको लागि अन्त्य बनेर उभिरहेछन् पर्खालहरू संसारभर। स्वतन्त्रताका जरा र हाँगाहरू दूर क्षितिजसम्म दौडाइरहेको बेला पर्खालका भित्तामा ठोक्किनु गतिमै गोलमाल सिर्जना हुनु हो। मान्छेका मनबीच पर्खाल ठडिन थाल्यो भने मन नै उभिन्छन् विद्रोहमा र ढालिदिन्छन् पर्खालहरू गर्ल्यामगुर्लुम। भत्काइएको बर्लिन पर्खालको अवशेष अघिल्तिर उभिएपछि थाहा पाएथेँ मैले कुनैबेला स्वतन्त्रताभन्दा ठूलो केही मान्दैन मान्छेले, मान्छेबिरुद्ध उभिएका पर्खाल टिकेको देखेको छैन मैले आजसम्म। नारायणहिटी होस् वा केशरमहल, बागदरबार होस् वा बबरमहल, हरिहरभवन होस् वा रविभवन, सिँहमहल होस् वा फोहरा दरबार सबैका पर्खाल निरीह बने मानव सागरको बेगमा ठोक्किएर।

पर्खाललाई पैदलले नाघेर मान्छेका मनलाई दरबारका चोटा–कोठा र बार्दलीमा उभ्याएको देखेँ मैले जापानमा। मान्छेको आस्था च्यापेर मान्छेसँग निर्वाध अंकमाल गरिरहेको भेटेँ मैले रानी एलिजाबेथलाई वकिंघम दरबारको पर्खालबाहिरसम्म। पर्खाल नभएपछि कति मजाले सुमसुम्याइरहेछन् मान्छेले आफ्ना आस्थालाई बेल्जियम र नेदरल्यान्ड्समा। प्राप्तिको पवित्र प्राण मानिरहेछन् मान्छेले पर्खाललाई ल्होमान्थाङमा। चीनको ग्रेटवाल गाइँगुइँ गर्दैछ भेटेका हरेकसँग इतिहासका चिल्ला पत्रहरू पल्टाउँदै। युरोपेली र अमेरिकीहरू पर्खाल निर्माण गर्नुसट्टा बगैँचा बनाउन आतुर छन्। पर्खाल व्यक्तिवादी सोचको संरक्षक पनि त हो। स्वार्थको सहारा पनि हो। डर र शंकाको सुमसुम्याइ पनि हो। जतिजति ईर्ष्या, लोभ, मोह र अहंकार बढ्छ मान्छेमा त्यति नै ठूलाठूला बनाउन थाल्छ मान्छेले पर्खाल। ल्होमान्थाङ पर्खालकै छेउमा उभिएर सोचेँ मैले। 'कसैको प्रेम पनि कसैको लागि पर्खाल बन्न सक्छ।'– ठीकै भन्नुभयो मित्रले।

पवित्र भयो भने प्रेमको स्तम्भ बन्न सक्छ पर्खाल।

नेपालको धरहरा होस् या आगराको ताजमहल दुवै हुन् प्रेमको बलिया पर्खाल। बौद्ध सम्पदा, राजा र जनतालाई घेरोभित्र पारिरहेछ पर्खालले ल्होमान्थाङमा। हजारौँ वर्षको हिउँ खपिरहेछ, हावा सहिरहेछ, घाम खपिरहेछ, उस्तैउस्तै देखिँदादेखिँदै सधैँ परिवर्तनशील छ संसार। ल्होमान्थाङका आरोह/अवरोहको निर्दोष साक्षी बनिरहेछ पर्खाल।

अप्ठ्यारा, पीडा र अवरोध भनेकै पर्खाल हुन् जिन्दगीका। जिन्दगीका तहतहमा पर्खालहरू छन्। पर्खाल छन् र पो जोश, जाँगर र सपना छन्। प्रेम पनि त पर्खाल हो एउटा अथवा एउटा बाँध हो, जो निश्चित सर्त र खुसीका बगैँचामा फक्रने गर्छ। कैयौँ पर्खाल त आफै बनाइरहन्छौ मनमा हामी। दिग्दारी, असन्तोष र चिडचिडाहट कसैगरी पनि मनमा नपसून् भन्ने अभिप्राय हुन्छ। ल्होमान्थाङ पर्खालको पश्चिमी कुनामा पुग्दा पर्खाल दर्शनमा डुबिसकेका थियौँ हामी दुवै।

'टाँसिदेले'– पर्खालछेउकै साँघुरो गल्लीबाट निस्कँदै गरेका दुई बहिनी हामीलाई नै लक्षित गरी हाँसेपछि हात जोडेँ मैले।

'नमस्कार', कहिले आउनुभएको हजुरहरू? पहिला पनि आउनुभएको थियो कि?' हृदयदेखि नै खुलेर मुस्काउनुभयो बहिनीहरू। खुला पर्वतजस्तै खुला दिल हुनु र हावाझैँ खुलेर हाँस्नु कति सुन्दर बानी छ ल्होमान्थाङबासीमा।

ल्होमान्थाङको ठूलो पर्खालभित्र घरहरूमात्र होइन असंख्य पर्खाल रहेछन्। कुनै पर्खालमा घोडा, खच्चर र भेडाहरू थुनिएका छन्, कुनैमा डुङ्डुङी गनाइरहेछन् मलमूत्र, कुनैमा हरिया रूखहरू र कुनैमा ढुंगा छापिएका आरामकक्ष देखिन्छन्। केही छैन भने पनि घरलाई भने मज्जैले घेरेका छन् पर्खालहरूले। 

'तपाईंले बोक्नुभएको झोला र यी पर्खालहरू उस्तैउस्तै लाग्छन् मलाई'– आङफुरी बहिनीको रंगीन झोलालाई इंगित गरेँ मैले।

'दुवै उस्तै त हुन् नि आफ्नोलाई छोप्ने अरूलाई रोक्ने। आखिर वस्त्र पनि पर्खाल हुन्, शरीर पनि हृदयको लागि पर्खाल हो, घर पनि पर्खालहरूको जमात हो। ताला पर्खालको पहिलो भेट हो'– आङफुटी र पेम्पा साङ्मोका तर्कमा खुसी भयौँ हामी। एउटा मुस्कान र केही शब्दको साटासाटले तोडिँदोरहेछ मान्छेहरूबीचको पर्खाल। परिचित होस् वा अपरिचित जो सुकैसँग पनि जुनेली मुहारमा अघि सर्ने, जोसँग पनि मनका कुरा खोलेरै बोल्ने पर्खालबिनाको व्यवहार छ ल्होमान्थाङेहरूको। पर्खाल नै पर्खालको घेरामा बसेर खुला चौरझैँ हल्किनु विशेषता नै छ उनीहरूको।

'ओठबाट मन्त्र खसेको सुनिँदैन, हातमा माने घुमेको देखिँदैन, बौद्ध आस्थाको सहरमा तपाईंहरूमात्र देखिनुहुँदैन अपवाद'– दरबारको दायाँ मोहोडामा कोट्याएँ मैले बहिनीहरूलाई।

'यहाँको माटोका हरेक कणमा शान्तिको जमरा जम्जमाइरहेछन्, हावाको हरेक गतिमा घुलिएको छ शान्ति र सुगन्ध, शान्त संसारमा उदाउँछ घाम र शान्ति छोड्न परेकोमा बिरक्तिँदै अस्ताउँछ ऊ। हिउँ, पर्वत, हिमनदी र ढुंग्याने आकृतिमा कोरिएका छन् शान्ति नै शान्ति। प्रकृतिले नै बनाएको छ करोडाँै चैत्य, गुम्बा र छोर्तेन यहाँ। मान्छे स्वयं क्रूर, अपराधी र अन्यायी नबन्ने हो भने बुद्धको पुकारा गरेर समय बरबाद बनाइरहनुको के अर्थ, बुद्धमूर्ति र उनका छोर्तेनहरू उभ्याइरहनुको के अर्थ? मान्छेले संसार नबिगार्ने हो भने शान्ति पुकार्नुको आवश्यकता छैन। हामी पुकारबाट होइन आचरण सुधारबाट शान्ति ल्याउने अभियानमा छौँ।' बहिनीहरूको दर्शन मानववादी थियो। मानववादी अभियन्ता उत्तमजी भने मिस्टिक होटलमै रहनु भएकोले सुन्न पाउनु भएन त्यो कुरा।

ल्होमान्थाङ बजार पश्चिमबाट पूर्वतिर बिस्तारै ओरालो झरेको छ। उत्तरतिर पहेँलपुर डाँडा नै डाँडाको बीचमा एउटा अर्को अग्लो डाँडो छ। त्यसमा बौद्ध ध्वजापताका फर्फराइरहेछन्। माथितिरबाट कुहिरो क्रमशः झरिरहेछ ध्वजापताकाका अक्षर कोट्याउन। त्यो केसरजोङ किल्लाको भग्नावशेष रहेछ। केसरजोङ किल्लामा चढेर ल्होमान्थाङको सर्वांग नियाल्ने इच्छा उर्लेको थियो, तर त्यहाँ पुग्न झण्डै तीन घन्टा हिँड्नुपर्ने कुरा बुझेपछि किल्लालाई आँखैले कन्याएर चित्त बुझाउनुबाहेक अरु केही उपाय सुझेन। अलि पर कोरेलापारी तिब्बत भेट्ने बाटोको रेखा पनि प्रष्ट देखिन्थ्यो। इच्छा भएर पनि तिब्बतका बिशाल मैदान चहार्ने अभियानलाई समयले पर्खाल लगाइदियो। समयको पर्खालको अगाडि सबैले निरीह नबनी सुख्खै छैन।

प्रकाशित: ११ भाद्र २०७३ ०३:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App