८ वैशाख २०८१ शनिबार
अन्य

ईबुक, ती किताब

जीवनको कुनै न कुनै कालखण्डमा सबैका निम्ति पुस्तक प्रिय साथी हुन्छन्। हातमा पुस्तक लिएर बन्द कोठाभित्र होस् वा खुला आकाशमुनि बसेर पढ्ने हरेकका लागि पुस्तक प्रिय बन्दै आएको छ। बजारमा नयाँ पुस्तक आउनासाथ किनेर पढ्न थालिहाल्ने हुन् वा आफूलाई मन पर्ने लेखकको पुस्तक आउनुअघि नै 'प्रिअर्डर' गरेर बस्नेहरू हुन्, मानिसलाई पुस्तकप्रति अचम्मको लत लागेको छ। तर, अहिले समय बदलिएको छ। पुस्तकको स्वरूप फेरिएको छ।

जमाना स्मार्ट पुस्ताको हातमा छ। हातहातमा संसार अटाउने स्मार्ट फोन र ट्याबमा मस्त पुस्ता संसारभरि नै छरिएका छन्। सामाजिक सञ्जालदेखि लिएर किताब पढ्न, फिटनेस, स्वास्थ्य एप्सलगायतका विभिन्न एप्लिकेसनले अहिलेका स्मार्ट पुस्ता अझ स्मार्ट बन्दैछन्। पुस्तक पसलमा गएर किताब छान्दै किन्ने चलनलाई अब विभिन्न अनलाइन स्टोरमा गएर छानीछानी ईबुक आफ्नो स्मार्ट डिभाइसमा डाउनलोड गर्ने चलनले अध्ययनको आदतलाई बिस्तारै बदल्दैछ।

अनलाइन सपिङ साइट 'अमेजन'ले ८ वर्षअघि पुस्तक नै पढ्नका लागि भनेर किन्डल बजारमा ल्यायो। यो बजारमा आएसँगै अमेजनका स्टोरमा किन्डल संस्करणका पुस्तकहरू बिक्रीमा राख्न सुरु गरिए। अमेजन किन्डल बजारमा ल्याएपछि डिजिटलरूपमा पुस्तक पढ्ने शैलीको विकास हुन थाल्यो। अहिले किन्डल स्टोरमा साढे ४ करोडभन्दा धेरै पुस्तक छन्। किन्डल, आइप्याड, ट्याब, नोटबुकमा अहिले संसारका विभिन्न पुस्तक पढिरहेका छन्। 'डिजिटल फर्मबाट विभिन्न पाठ्यसामग्री प्रस्तुत गरिनु नै ईबुक हो' फर्स्ट मन्डेले ईबुकलाई यसरी व्याख्या गरेको छ।

नेपालमा ईबुक

संसारका कतिपय मुलुकमा ईबुकले गति पक्रिरहेका बेला नेपालमा भने यसलाई त्यति रूचाइएको देखिँदैन। पढ्ने बानी नपरेर हो वा यसको बजार विस्तार हुन नसकेर हो, नेपालमा ईबुक पढ्नेको संख्या निकै कम छ। प्रकाशनगृहहरूले पनि ईबुकको बजार त्यति धेरै विस्तार गर्न सकेका छैनन् वा चाहेका छैनन्। तर, पाठक भने विस्तारै यसमा अभ्यस्त हुन थालिसकेका छन्। त्रिचन्द्र क्याम्पसमा अध्यापन गर्ने प्राणीशास्त्री अनुज घिमिरेले थुप्रै ईबुक पढिसकेका छन्। तर, कुनै पनि ईबुक किनेरचाहिँ उनले पढेका छैनन्। सबै नै निःशुल्क पढ्ने गरेका छन्। धेरैजसो इन्टरनेटमा पाइने पुस्तकको पीडीएफ डाउनलोड गरेर ल्यापटपमा पढ्ने गरेका उनले यात्राका क्रममा वा बाटोमा हुँदा भने मोबाइल वा ट्याब्लेटमा पुस्तक पढ्ने गर्छन्।

सुरुसुरुमा ईबुक पढ्न अप्ठ्यारो हुने गरेको बताउने घिमिरेलाई अहिले भने निकै सजिलो लाग्छ। यात्रा गर्न निकै रूचाउने उनी भन्छन्, 'घुम्न जाँदा त झन् धेरै किताब बोक्न मिल्दैन। ईबुक जतिवटा बोक्न पनि मिल्छ।' कुनै पनि ईबुक मन पर्‍यो भने पुस्तक नै किनेर राख्ने गरेको उनी बताउँछन्। तर, उनले अहिलेसम्म नेपाली पुस्तकको ईबुक संस्करण भने पढेका छैनन्।

घिमिरेलाई स्मार्ट डिभाइसमा ईबुक पढ्नु र पुस्तक पढ्नुमा खासै फरक लाग्दैन। उनलाई तुलनात्मकरूपमा बरु ईबुक सजिलो लाग्छ। तर, यो धेरैले प्रयोग नगर्नुको कारण भने यसले पुस्तक पढेजस्तो आनन्द नदिने महसुस हुने भएकाले पनि हुन सक्ने उनी बताउँछन्। 'आखिर ईबुक भए पनि किन्नैपर्ने भएर हुन सक्छ, जुन नेपालबाट गर्न अलि गाह्रो पनि छ। किन्न मिल्यो भने पनि, एउटा ईबुककै ७ देखि १० डलर पर्न आउँछ, जुन मूल्यमा खास किताब नै किन्न सकिन्छ,' उनी भन्छन्। किताबकै जस्तो पैसा पर्न आउने भए पनि पाठकले ल्यापटप वा ट्याबमा पढ्नुको सट्टा किताब नै किन्न रूचाउने गरेको उनी बताउँछन्। 'चम्चाले भात खाने र हातले खानेबीचको द्वन्द्वजस्तै हो भन्ने लाग्छ मलाई यो,' ईबुक र पुस्तक किनेर पढ्न रूचाउनेहरूको तुलना गर्दै घिमिरे भन्छन्। नेपालमा पुस्तक किन्नै परे राम्रो ईकमर्स संयन्त्र नभएकाले पनि यसको विकास हुन नसकेको उनको भनाइ छ।

स्त्रि्कनमा पुस्तक पढ्न रूचाउने ललितपुर पुल्चोककी अर्की पाठक कृपा शाक्यले धेरै ईबुक पढेकी छन्। उनले निःशुल्क उपलब्ध फिक्सन, उपन्यास र कोर्सका किताब डाउनलोड गरेर फोन र ट्याब दुवैमा पढेकी छन्। यति धेरै रचना स्त्रि्कनमा पढे पनि उनलाई किताब हातमा लिएर पढ्दा नै बढी रमाइलो लाग्छ। 'ईबुकमा पढ्न अलि टाइम लाग्छ। बु‰नलाई समय लाग्ने र ईबुक पढ्दा चाँडो बिर्सने सक्ने फरक पाएकी छु,' उनी भन्छिन्।

नेपालमा ईबुकको विकास विस्तारै हुँदै गरेको शाक्य बताउँछिन्। विदेशमा धेरैजसो प्रकाशन गृहले किताबसँगै त्यसको इलेक्ट्रोनिक संस्करण निकाल्ने गरेको देखेकी उनले विस्तारै नेपालमा पनि यस्तो सुरुवात भइसकेको अनुभव गरेकी छन्। 'सायद धेरै पाठकलाई यसबारे थाहा हुन नसकेर ईबुक पपुलर हुन नसकेको होला। धेरै मान्छेलाई किताबहरू निःशुल्क उपलब्ध छ भनेर थाहा नहुन सक्छ,' उनी भन्छिन्। धेरै मानिसको हातमा स्मार्टफोन पुगिसकेकाले नेपालमा ईबुकबारे जानकारी दिन सके पाठक बढ्न सक्ने उनले देखेकी छन्।

त्यसो त कति मान्छे किताब पल्टाउँदै पढ्नमा आनन्द लिन्छन्। स्मार्ट फोन, ट्याब र ल्यापटपको स्त्रि्कन स्क्रोल गर्न उनीहरूलाई उतिविधि मज्जा लाग्दैन। किताब पढ्न असाध्यै मन पराउने ललितपुर कुसुन्ती बस्ने सिभिल इन्जिनियर प्रिती कोइरालाले अहिलेसम्म स्त्रि्कनमा पुस्तक पढेकी छैनन्। 'किताब हातमा लिएर पढ्दाको फिल नै अर्कै हुन्छ। बल्ल केही पढिरहेको छु भन्ने लाग्छ अनि कथामा डुबिन्छ,' उनी भन्छिन्।

नेपालमा ईबुकको अवस्था विस्तारै समृद्ध हुँदै गइरहेको कोइराला बताउँछिन्। इन्टरनेट र नयाँ प्रविधिले यसको विकास सहज बनाइदिएको बताउने उनलाई नेपालमा ईबुक लोकप्रिय हुन नसकेको जस्तो भने लाग्दैन। 'पपुलर नै छ, तर कति पुस्तकहरू ईबुक भर्सनमा किन्न पर्ने हुन सक्छ,' उनी भन्छिन्। नेपालमा इन्टरनेसनल पेमेन्ट सुविधा अलि विकास नभइसकेकोले पनि अपेक्षितरूपमा विकास नभएको कोइराला बताउँछिन्। अनलाइन पेमेन्टसँगै कतिपय ईबुक हाम्रो देशमा उपलब्ध हुन नसक्नु पनि चुनौती भएको उनको बुझाइ छ। कतिपय पुस्तकको देशैपिच्छे संस्करण प्रकाशन हुने भएकाले पनि समस्या उत्पन्न हुन सक्ने उनको अनुमान छ।

काठमाडौँकी रचना उपाध्यायले ६ वर्षअघि किन्डल उपहार पाएदेखि धेरै किताब त्यसमै पढेकी छन्। उनले थोमस हार्डीको 'फार फ्रम द म्याडिङ क्राउड' देखि 'गेम अफ थ्रोन्स'सम्मका किताब किन्डलमै पढेकी हुन्। प्रायः किताब निःशुल्क डाउनलोड गरेर पढेकी उनलाई कम्प्युटरको तुलनामा किन्डल निकै नै पाठकमैत्री लाग्छ। धेरै पुस्तक स्त्रि्कनमै पढेकी उनलाई अझै पनि किताबप्रति लगाव भने कायमै छ। 'किन्डलको प्लास्टिकको टेक्स्चर भन्दा कागजी किताबको टेक्स्चर मलाई मनपर्छ। अझ दुवै नयाँ र पुराना किताब हातमा लिँदा जुन कागजको बास्ना आउँछ, त्यसले नोस्टालजिक बनाउँछ,' उनी हाँस्दै भन्छिन्।

आफूले किनेरै ईबुक नपढे पनि उपाध्यायलाई प्रविधिको प्रयोग र नयाँ पुस्ताको पठनसंस्कृति देख्दा सहरी क्षेत्रमा ईबुक व्यापक नै हुनुपर्नेजस्तो लाग्छ। तर अनलाइन भुक्तानी गर्ने प्रणाली सुरक्षित र पहुँचयोग्य नभएकाले पनि नेपालमा सोचेजस्तो ईबुकको विकास नभएको उनको विश्लेषण छ।

राजधानीमा एमबीए पढ्दै गरेकी जागृति घिमिरे पनि ईबुकमा अभ्यस्त भइसकेकी छन्। किन्डलको स्त्रि्कनमा ईबुक पढ्ने गरेकी उनले हालै किन्डलमै एस्ली भ्यान्सको 'इलोन मस्क', जेरेमी रिफकिनको 'जिरो मार्जिनल कस्ट सोसाइटी', रिफकिनकै अर्को 'द थर्ड इन्डस्ट्रियल रिभोलुसन' र जिम कोलिन्सको 'बिल्ड टु लास्ट' पढेर पूरा गरेकी छन्। किन्डलमा पढ्नु र हातमै पुस्तक लिएर पढ्नुमा पढाइको अनुभव र सहजतामा अलि फरक हुने उनले महसुस गरेकी छन्। 'सुरुसुरुमा ईबुक पढ्दा कागजी किताबजस्तो छोएर पाना पल्टाउन नमिल्ने हुँदा अजीब लाग्थ्यो,' उनी भन्छिन्, 'कागजी किताबको जस्तो ठोस महसुस नभए पनि पढ्न थालेपछि ईबुक नै सजिलो लाग्न थालेको छ, जता पनि लिएर जान मिल्ने।' जति पनि किताब राख्न मिल्ने।

शब्दकोशको सहजता, जति पनि लैजान सकिने अनि सस्तो किताब ईबुकका फाइदा हुन्। यी सबै अनुभवले गर्दा ईबुकप्रति घिमिरेको विशेष आकर्षण छ। कतिपय नेपाली पाठक, विशेषगरी पुराना पुस्ताले कागजी किताबमा बढी झुकाव राख्ने गरेको जागृतिको भनाइ छ। सामान्य ट्रेन्ड हेर्दा विश्वभर नै त्यस्तै भए पनि नेपालमा अलि बढी भएजस्तो उनलाई लागेको छ। 'मलाई ईबुकमा पढेको त चित्तै बु‰दैन' भन्ने भनाइ धेरै मान्छेबाट आउने गरेको छ,' उनी भन्छिन्। कागजी किताबको सहजता छोड्न नसक्नु पनि नेपालमा ईबुकको विकासमा चुनौती बनेर उभिएको उनको बुझाइ छ। त्यसबाहेक, नेपालमा ईबुक खरिद सहज नहुनु पनि अर्को चुनौती रहेको उनी बताउँछिन्।

ईबुकका एप

नेपालमा ईबुकको विकास भर्खरै मात्र सुरु भएको छ। पीडीएफमा पढ्ने चलन पहिलेदेखि नै सुरु भए पनि एप नै डाउनलोड गरेर वा किन्डल मै किनेर पुस्तक पढ्ने चलन विस्तारै अगाडि बढ्दैछ। दुई वर्षअघि सन् २०१४ अगस्तमा एन्ड्रोइड संस्करणमा 'वि रिड' नामको एप सार्वजनिक गरेको कथालयले सुरुमा आफ्ना पुस्तकहरूमात्र यो एपमा राखेको थियो। अहिले ९ वटा प्रकाशन गृहका ३ सयभन्दा धेरै पुस्तक यो एपमार्फत् बिक्री भइरहेका छन्। यो एपमा निःशुल्क र सशुल्क पुस्तकहरू पढ्न पाइन्छ। ओपन सोर्समा गइसकेका पुराना पुस्तकहरू पनि यो एपमा निःशुल्क पढ्न पाइन्छ।

कथालयका प्रमुख कार्यकारी अधिकृत राजीव जोशी यो एपमा धेरै डाउनलोड हुने पुस्तकहरू निःशुल्क राखिएको बताउँछन्। निःशुल्क राखिएका पुस्तकहरू एक हजारको हाराहारीमा डाउनलोड भएको भए पनि सशुल्क पुस्तकहरू भने तुलनात्मकरूपमा कम डाउनलोड भएको उनी बताउँछन्। 'नयाँ पुस्तक राख्नासाथ एक–डेढ महिनासम्म दिनको दुईरूतीनवटाका दरले डाउनलोड भइरहेको छ,' उनी भन्छन्। तर, कागजी पुस्तकको तुलनामा ईबुकको व्यापार निकै कम भएको उनी बताउँछन्। नेपाली रुपैयाँमा एपबाट पुस्तक किन्दा पुस्तकको वास्तविक मूल्यभन्दा २० देखि २५ प्रतिशत सस्तो पर्छ भने अमेरिकी डलरमा किन्दा ६ देखि ९ डलरसम्म पर्छ।

अहिलेसम्म एप प्रयोग गर्नेहरूले यसलाई सहज नै मानिरहेको जोशी बताउँछन्। करिब २५ हजार एप डाउनलोड भए पनि यो अपेक्षित संख्याभन्दा निकै कम भएको उनको भनाइ छ। अहिले बजारीकरणको सट्टा प्रकाशन गृहसँग सहकार्य गर्न केन्द्रित भएकाले अझै पनि अपेक्षित संख्या पुर्‍याउन नसकेको उनले बताए। 'थुप्रै प्रकाशक तत्कालै यो एपमा पुस्तक राख्नका लागि तयार छन्। तर, केही प्रकाशकलाई मनाउन समय लागेको छ,' उनी भन्छन्।

कथालयको वि रिड पहिलो एप भने होइन। नेपालयले नोभेम्बर २०११ मा मुन्चा डट कमसँग मिलेर ईबुक पोर्टल सुरु गरेको थियो। प्राविधिक र भुक्तानीको रूपमा नेपालयले मुन्चासँग सहकार्य गरेको थियो। त्यो समयमा किन्डल, नोट र आइप्याडका लागि मिल्नेखालको संस्करण सार्वजनिक भएको थियो। कम्प्युटरमा पढ्नका लागि पीडीएफ पनि उपलब्ध गराइएको थियो, तर पछि पीडीएफ संस्करण भने रोकियो। त्यसलाई धेरै प्रकाशन गृहले नेपालयको एप भन्ने सोचेकाले पर्याप्त पुस्तक हुन सकेनन्। जसले गर्दा मुन्चाले त्यसको स्वामित्व लियो। अहिले नेपालयका पुस्तकहरू वि रिडमार्फत् बिक्री भइरहेका छन्।

नेपालयका किरणकृष्ण श्रेष्ठ नेपालमा ईबुकको विकास विस्तारै भइरहेको बताउँछन्। ग्याजेट, एप र भुक्तानीका साधन भएको प्रयोगकर्ता मैत्री प्रविधिको विकास भने अझै हुन नसकेको उनको भनाइ छ। अहिलेसम्मको अनुभवले पाठकले पुस्तक पसलमा गएर किताब किन्न पाउँदासम्म ईबुकलाई उतिविधि महत्व नदिने गरेको उनी सुनाउँछन्। 'तर नेपालमा यसको स्कोप राम्रो छ। बजारमा रहेका सबै प्रकाशकले यसको महत्व बु‰नु आवश्यक छ,' श्रेष्ठ थप्छन्।

नेपालमा ईबुक भन्नेबित्तिकै पीडीएफ संस्करणलाई बु‰ने गरेको पाइन्छ। पीडीएफ एउटा संयन्त्र भए पनि एपमा कसैले कपी गर्न नसक्नेगरी पनि पुस्तक राख्न सकिन्छ भन्ने कुरा अझै पनि प्रकाशकहरूलाई बुझाउन कठिन भएको जोशी बताउँछन्। 'ईबुक भन्नासाथ निःशुल्क दिनुपर्छ भन्ने धारणा धेरैमा व्याप्त छ,' उनी भन्छन्, 'ईबुक भनेको निःशुल्क हो भन्ने मानसिकता कतिपय पाठकको छ।' त्यसबाहेक, पढ्ने बानी भएको मानिसलाई कागजको गन्ध र किताबको स्पर्श महत्वपूर्ण लागिदिनाले पनि तिनमा ईबुक प्रयोग गर्ने बानी लगाउन केही समय लाग्ने उनी बताउँछन्। यस्तो नितान्त नयाँ परिवर्तन गराउनका निम्ति अझै केही समय लाग्ने उनको भनाइ छ।

बुकहिल पब्लिकेसनका भूपेन्द्र खड्का भने नेपालमा ईबुकमा खास आकर्षण नभएको बताउँछन्। नेपालमा स्त्रि्कनमा पढ्ने बानी खासै विकास हुन नसकेको उनी दाबी गर्छन्। 'फिजिकल बुकलाई जुन स्पर्श र मायाले पढ्न पाइन्छ, ईबुकमा त्यो अवसर छैन,' उनी भन्छन्।  ईबुकमा पढ्ने हुनका लागि पछिल्लो प्रविधिको धेरै विकास हुनुपर्ने उनी बताउँछन्। सामाजिक सञ्जाल र पोर्टलहरूको विकास हुनु र पठन संस्कृतिको विकास हुनु नितान्त फरक कुरा भएको उनको बुझाइ छ।

खड्काका यी भनाइसँग आफूलाई 'दृश्य' नामले चिनाउन चहाने पाठकको अनुभव ठ्याक्कै मिल्छ। तीन–चार वटा ईबुक पढेर पुनः कागजी किताबमा फर्केका उनी भन्छन्, 'अहिलेको जमानामा हरेक चिजमा प्रविधि हावी भइरहेको छ, तर कागजी किताबहरूले त्यो हस्तक्षेपमाथि मीठो प्रत्याक्रमण गरिरहेका छन्।' हरेक कुरामा प्रविधिको मात्र जित नहुने उनको तर्क छ। मानव सभ्यतालाई यहाँसम्म डोर्‍याएर ल्याउन पुस्तकालयको ठूलो भुमिका रहेको उनी ठान्छन्। उनको विचारमा ईबुक हाबी हुनु भनेको पुस्तकालय गायब हुनु हो जुन कहिल्यै हुनु हुँदैन। ईबुक सजिलो होला, तर यसले कहिल्यै कागजी किताबको स्थान लिन नसक्ने उनी ठान्छन्।

नेपालमा ईबुक लोकप्रिय हुन नसक्नुमा खड्काका केही अवलोकन छन्। पाठकलाई अझै पनि ईबुक भरपर्दो नलाग्नु, सुरुवात गरेका केही कम्पनी पनि बन्द हुनु, विश्वबजारमा पनि फिजिकल बुक नै बढी बिक्री हुनु, ईबुक पढ्ने पुस्ता विदेश पलायन हुनु र देशमा बाँकी भएकाहरूले ईबुक के हो नबुझेका कारण पनि नेपालमा यो अझै चल्न नसकेको उनको तर्क छ। 'त्यस्तै, पाइरेसीको समस्या छ। पीडीएफ कतैबाट लिक भयो भने पुस्तकमा लेखक र प्रकाशकले गरेको लगानी खेर जान्छ,' उनी चिन्ता व्यक्त गर्छन्। प्रतिलिपि अधिकारसम्बन्धी कानुन भए पनि प्रभावकारी कार्यान्वयन हुन नसकेकोले अझै पनि ईबुकको बजारमा हाम फाल्नु चुनौतीपूर्ण रहेको उनी बताउँछन्।

ईबुकका फाइदा भने प्रशस्त छन्। संसारको जुनसुकै कुनामा बसेर भए पनि किन्न सकिने, आफ्नो नजिकको बुकस्टोरमा आयो कि आएन वा कहिले आउँछ भनेर कुर्नुनपर्ने, आवश्यकताअनुसार अक्षरलाई सानो, ठूलो पारेर पढ्न सकिनेजस्ता धेरै फाइदा ईबुकका छन्। 'एकै झोलामा ५० वटा पुस्तक बोकेर हिँड्न सकिँदैन, तर गोजीमा सयौँ ईबुक बोकेर जहाँसुकै जान सकिन्छ,' जोशी भन्छन्।

अहिले धेरै कुरा अनलाइन र मोबाइल प्रविधिमा आधारित भएकाले ईबुकको भविष्य उज्ज्वल देख्छन् जोशी। अर्को दशकमा पढ्ने संयन्त्र नै स्त्रि्कनमा विकास हुने सम्भावना भएकाले उनले ईबुकको भविष्य राम्रो देखेका हुन्। 'हामीकहाँ पढ्ने संस्कार नै कमजोर छ। त्यसमाथि, त्यही पढ्ने कम मानिस ईबुकमा आउन समय लाग्छ,' उनी भन्छन्।

प्रविधिको पहुँचमा रहेका मानिससम्म एपको बारेमा जानकारी पुर्‍याउन बाँकी रहेको उनी बताउँछन्। मोबाइल प्रयोग गर्ने मानिससम्म यसको उच्चतम सदुपयोग गर्ने सीप सिकाउन नसकेको उनी स्वीकार्छन्। त्यसबाहेक, कम पुस्तक हुनु र पढ्ने संस्कार नहुनु पनि अर्को चुनौती बनेको उनी बताउँछन्। 'नेपालमा प्रकाशन व्यापार परम्परागत शैलीमा चलेकाले नयाँ प्रविधिमा जानका लागि पर्याप्त समय, स्रोत र अध्ययन चाहिन्छ,' उनी भन्छन्।

उता, खड्का भने नेपालमा ईबुकको बजार नै नभएको दाबी गर्छन्। आफूहरू अहिले यसमा आकर्षित नभएको उनी बताउँछन्। 'म कम्तीमा पनि नेपालमा १५ वर्ष यसको व्यापक बजार देख्दिनँ। मुनाफाका दृष्टिले बजार सानो छ,' उनी भन्छन्। तर, आफूहरू विदेशी कम्पनीसँग मिलेर काम गर्ने सोचमा रहेको उनी बताउँछन्।

त्यसो त नेपाली पुस्तकलाई विद्युतीयरूपमा अन्तर्राष्ट्रिय बजारमा लैजान चुनौती धेरै झेल्नुपर्ने अवस्था छ। अमेजन र किन्डलले ईबुकको दुनियाँ आफ्नो हातमा लिएकाले नेपाली पुस्तकहरूलाई त्यसको अनुकूल बनाउनु चुनौतीपूर्ण भएको श्रेष्ठ बताउँछन्। नेपाली फन्टलाई किन्डलमा पढ्ने बनाउन गाह्रो भएकाले अमेजनको भारतीय संस्करणसँग काम गर्ने प्रयास गरेमा त्यो सार्थक हुन सक्ने उनको भनाइ छ। 'योबाहेक नेपालमा भुक्तानीको समस्या अर्को सीमितता हो,' उनी भन्छन्। नेपाली पुस्तक बिक्री गर्न विभिन्न एपको विकास भए पनि त्यसको प्रयोग व्यापक हुन नसकेको उनी बताउँछन्। 'आफ्नै एपको विकास गर्नु राम्रो हो, तर पहिले नै प्रयोग भइरहेका पोर्टलमा पुस्तकहरू राख्नाले धेरै प्रतिफल दिन सक्छ,' श्रेष्ठ सुझाउँछन्।

नेपाली ईबुकको बजार ठूलो नभए पनि हामी पनि यो दुनियाँमा प्रवेश गरिरहेका छौँ भन्ने जनाउनका लागि यसमा लागेको श्रेष्ठ बताउँछन्। बजार विस्तार हुँदै जाँदा ईबुक प्रकाशक र लेखकका लागि धेरै फाइदाजनक छ। एकपटक बजारमा प्रवेश भएपछि यसका लागि बारम्बार खर्च गरिरहनुपर्दैन। यसको व्यवस्थापन सजिलो छ। यसको लागि थप खर्च नलाग्ने भएकाले लेखक र प्रकाशकका लागि यो नाफामूलक भएको श्रेष्ठको भनाइ छ। 'ईबुक पढ्ने बानी संसारभर नै बढ्दै गइरहेकोले ढिलै भए पनि नेपालमा यसको बजार विस्तार हुन्छ,' उनी निर्धक्क भन्छन्। यसका लागि प्रकाशकहरू मानसिकरूपमा तयार हुनुपर्ने उनी बताउँछन्।

प्रकाशित: ११ भाद्र २०७३ ०३:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App