coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

पशुपतिनगर हुँदै दिल्लीसम्म लागूऔषध

इलाम–    भारतीय सीमावर्ती पशुपतिनगर गाउँ विकास समितिबाट प्रहरीले जिल्लामा अहिलेसम्मकै ठूलो परिमाणको लागूऔषध चरेस बरामद गरेको छ । १८ किलो चरेससहित ३ व्यक्तिसमेत पक्राउ परेका छन् ।

पशुपतिनगर–४ फाटकमा डब्ल्यु बी ७६–७४६४ नम्बरको भारतीय नम्बरप्लेटको टाटासुमो चेकजाँच गर्दा चरेस फेला परेको प्रहरीले जनाएको छ । धादिङको सेर्तुवा गाविस–२ का ३५ वर्षे बुद्धिलाल तामाङ, रूपन्देही गजेडी गाविस–७ का होमबहादुर पुन र टाटासुमो चालक भारत दार्जिलिङस्थित सुकियापोखरीका मिलन भनिने टासी शेर्पा पक्राउ परेको पशुपतिनगर इलाका प्रहरीका इन्स्पेक्टर महेश खनालले बताए । प्रहरीले पक्राउ तीनैजना, बरामद टाटासुमो र चरेस मंगलबार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।  
 पशुपतिनगर इलाकाबाट असई उज्वल खड्गीको नेतृत्वमा रहेको टोलीले भारततिरै लैजाँदै अवस्थामा चरेस फेला पारेको हो । ‘बरामद चरेस पश्चिमी जिल्लाबाट भारतको नयाँदिल्ली लैजान लागिएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ,’ इन्स्पेक्टर खनालले भने, ‘अनुसन्धानक्रममै रहेकाले सबै जानकारी सार्वजनिक गर्न मिल्दैन ।’ उनले यसबाट पशुपतिनगर नाका प्रयोग गरी लागूऔषध कारोबार भइरहेको खुलेको बताए ।

सुमोमा रातो सुटकेस र हरियो हेन्डब्यागमा ९–९ किलो चरेस फेला परेको थियो । पक्राउहरूको साथबाट प्रहरीले हजार दरका २० र ५ सय दरका ७३ भारतीय नोट तथा हजार दरका ७० थान नेपाली नोट बरामद गरेको छ । उनीहरूलाई मंगलबार अदालतबाट म्याद थपी अनुसन्धानका लागि पशुपतिनगर इलाका प्रहरीकै हिरासतमा राखिएको खनालले बताए । जिल्लामा विभिन्न समयमा लागूऔषध बरामद भइरहेपनि यो अहिलेसम्मकै ठूलो परिमाणको भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत इन्स्पेक्टर रुद्र चुडालले बताए । ‘बेला–बेला चरेस, निट्र्युसन, खैरो हेरोइनलगायत लागूऔषध थोरै परिमाणमा फेला पर्ने गरेपनि एकैपटक ठूलो परिमाणमा बरामद भएको थिएन,’ चुडालले भने, ‘यसले लागूऔषध ओसारपसरामाथि गहन अनुसन्धान गर्नुपर्ने देखिएको छ ।’   

तराई र भारतीय सीमासँग जोडिएको इलाममा लागूऔषध कारोबार एवं प्रयोग नियन्त्रण चुनौतीपूर्ण बनिरहेको छ । भारतसँगको खुला सीमाका कारण यताबाट भारततिर लागूऔषध लैजान सहज भएको देखिएको छ । इन्स्पेक्टर खनालले भने, ‘भारतबाट ल्याएको चाहिँ पाइएको छैन, यताबाट उता लगेको बेला–बेला भेटिएको छ ।’ नेपालका पश्चिमी जिल्लाहरूबाट भारतका विभिन्न स्थानसम्म लागूऔषध पु¥याउन पशुपतिनगर नाका प्रयोग भइरहेको छ ।

तराईबाट पूर्वी पहाडी जिल्लामा लागूऔषध पु¥याउन र भारत लैजान भारतीय नागरिकसमेत संलग्न भएको प्रहरीले पाएको थियो । झापाको काँकडभिट्टा, पानीट्यांकीलगायतबाट भित्रिएको लागूऔषध मेची राजमार्ग हुँदै इलामको फिक्कल, पशुपतिनगर भएर दार्जिलिङ र मिरिकतिर लैजाने गरिएको पनि पाएको प्रहरीले जनाएको छ ।

गत चैतमा पनि प्रहरीले सूर्योदय नगरपालिकास्थित फिक्कलबाट १३ जनालाई लागूऔषधसहित पक्रेको थियो । तीमध्ये २ भारतीयसहित ५ जनाविरुद्ध लागूऔषधअन्तर्गत मुद्दाको प्रक्रिया अघि बढाइएको थियो । अहिले ५ जनाविरुद्ध मुद्दा चलिरहेको इन्स्पेक्टर खनालले बताए । तराई र भारतीय सीमाक्षेत्रबाट ल्याइएको लागूऔषध इलाम भएर पाँचथर तथा ताप्लेजुङलगायत अन्य पहाडी जिल्लासम्म पुग्ने गरेको यसअघि ती जिल्लाका प्रहरीको अनुसन्धानले देखाएको थियो । जिल्ला प्रहरी स्रोतका अनुसार ताप्लेजुङतिरबाट यता लागूऔषध नआउने भएपनि यताबाट जाने गरेको हुनसक्छ ।

 प्रहरीका अनुसार जिल्लामा २२ देखि ३० वर्षको युवासमूह लागूऔषध कारोबार र प्रयोगमा संलग्न देखिएको छ । गतवर्षभन्दा चालू वर्षमा लागूऔषध मुद्दामा पक्राउ पर्नेको संख्या थपिएको छ । सोमबार पक्राउसहित गत साउनयता लागूऔषध प्रयोग र आरोपमा १६ जनाविरुद्ध अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ । ३ मुद्दामा ७ जना पक्राउ परेका छन् । गतवर्ष ३ मुद्दाका ५ आरोपीमध्ये ३ जना पक्राउ परेका थिए । आर्थिक वर्ष २०७०/०७१ मा प्रहरीले लागूऔषध कारोबार र प्रयोगका ११ आरोपीविरुद्ध अनुसन्धान गरेको थियो । त्यो वर्ष ३ मुद्दा दर्ता भएकामा ५ जना पक्राउ परेका थिए ।

 

प्रकाशित: ८ असार २०७३ ०५:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App