coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

नीति नबन्दै सम्बन्धन तयारी

काठमाडौं- चिकित्सा शिक्षानीति नबनाई नयाँ मेडिकल कलेजलाई सम्बन्धन नदिने सरकारी प्रतिबद्धताविपरीत प्रधानमन्त्री पुष्पकमल दाहाल बिर्तामोडस्थित बिएन्डसी मेडिकल कलेजलाई सम्बन्ध दिलाउन अघि सरेका छन्। संसद्मा विचाराधीन चिकित्सा शिक्षा विधेयक पास भए सम्बन्धन नपाउने निश्चित देखिएपछि दाहालले त्यसअघि नै कलेजलाई एमबिबिएस अध्यापनको बाटो खोलिदिन प्रक्रिया थालेका हुन्।

अनुमतिविनै सञ्चालनमा ल्याइएको उक्त अस्पताल दाहालले नै तीन वर्षअघि उद्घाटन गरेका थिए। विधेयक पास भए हाल सञ्चालनमा रहेका विश्वविद्यालयबाट थप मेडिकल कलेजले सम्बन्धन पाउन कठिन हुनेछ।

आफूनिकटका अस्पताल सञ्चालकलाई काठमाडौं विश्वविद्यालय (केयु) मार्फत सम्बन्धन दिलाउने वचन दिइसकेका दाहालले शिक्षा मन्त्रालयमार्फत पहल थालिहाल्न  सम्बन्धित पदाधिकारीलाई निर्देशन दिइसकेका छन्। उनले सञ्चालकलाई केही दिनभित्रै सिनेट बोलाएर केयुमार्फत सम्बन्धन दिनेमा आश्वस्त पारेका हुन्। यसका लागि मन्त्रालय र विश्वविद्यालयमा सम्पूर्ण तयारी पूरा गर्न निर्देशन रहेको प्रधानमन्त्री कार्यालय स्रोतले जनायो। 'जेजे गर्नुपर्छ गर्नुस्, यो कलेज आउनुपर्छ भन्नुहुन्छ,' स्रोतले भन्यो, 'हामीले अहिले नगरौं भन्दा मान्नुभएको छैन।'

मेडिकल कलेजका प्रमुख सञ्चालक एवम् कार्यकारी निर्देशक दुर्गा प्रसाईंले सम्बन्धनबारे मन्त्रालय र केयुसँग कुरा भइरहेको भन्दै भोलि (सोमबार) बाटै प्रक्रिया सुरु हुने, यही शैक्षिक वर्षदेखि भर्ना लिइने दाबी गरे। 'नेपालकै नम्बर १ अस्पताल हो, हाम्रो जत्तिको पूर्वाधार टिचिङमा समेत छैन,' उनले भने, 'मन्त्रालयले अनुमति नदिए त्यत्रो लगानी के हुन्छ? काठमाडांै उपत्यकाको घरमा खोल्न खोजेको त हैन नि!'

चिकित्साशिक्षा सुधारका लागि सत्याग्रह छेडेका डा. गोविन्द केसीको अनशन क्रममा सरकारले नीति नबन्दासम्म नयाँ कलेजलाई सम्बन्धन नदिने सम्झौता तीनपटक गरिसकेको छ। प्रदेशैपिच्छे कम्तीमा एउटा सरकारी मेडिकल कलेज हुनुपर्ने डा. केसी–सरकार सम्झौता छ।

सम्झौताकै आधारमा सरकारले केदारभक्त माथेमाको संयोजकत्वमा कार्यदल बनाई त्यसैको प्रतिवेदनअनुसार चिकित्सा शिक्षा ऐन मस्यौदा संसद् पठाइसकेको छ। प्रस्तावित ऐनअनुसार एउटा विश्वविद्यालयले पाँचभन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन दिन सक्दैनन्।

सम्बन्धन दिए अनशन :  केसी

डा. केसीले गत शुक्रबार मात्र आफूलाई माग पूरा गर्ने वचन दिएका प्रधानमन्त्रीले एकाएक नीति नबन्दै कलेजलाई सम्बन्ध दिलाउन निर्देशन दिएको सुनेपछि कुरा गर्न चाहे पनि नपाएको बताएका छन्। 'मैले प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्ललाई फोन गरेको थिएँ,' केसीले आइतबार नागरिकसँग भने, 'उनले प्रधानमन्त्रीको निर्देशन नकारेनन्।' केसीका अनुसार मल्लले उनलाई 'तपाईंले मात्रै भनेर नहुने भन्दै घुमाउरो पारामा प्रक्रिया अघि बढेको संकेत गरेका थिए। 'मैले नीति नबन्दासम्म कसैलाई पनि सम्बन्धन दिए अनशन थाल्छु भनेको छु,' उनले भने, 'मल्लले फोन काटिहाले।'

दाहालकै पहलमा मनसायपत्र

दाहालकै पहलमा तत्कालीन शिक्षामन्त्री दीनानाथ शर्माले २०६८ माघ २४ गते शिक्षा मन्त्रालयमार्फत उक्त मेडिकल कलेजका लागि मनसायपत्र दिलाएका थिए। त्यसका आधारमा २०७० फागुनमै उद्घाटन गरे पनि असार १८ मा ३ सय शऒ्ढयाको अस्पताल सञ्चालन अनुमति पाएको थियो।

प्रस्तावित ऐनले कलेज अनुमतिका लागि तीन वर्षदेखि अस्पताल सञ्चालनमा रहेको हुनुपर्ने सर्त राखेको छ। विधेयक पास भए सञ्चालन अनुमति लिनै कलेजले नीति बनेपछि तीन वर्ष पर्खनुपर्ने हुन्छ।

बीएन्डसी  सञ्चालक प्रसाईले आइतबार नागरिकसँग कुरा गर्दै सम्बन्धन दिन शिक्षा मन्त्रालयसमेत सकारात्मक रहेको बताए। 'हाम्रो सम्पूर्ण पूर्वाधार पूरा भएको छ, भोलि नै मन्त्रालयमा निवेदन दिँदैछौँ,' उनले भने, 'प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ, मन्त्रालयले मेडिकल काउन्सिल र सम्बन्धित विश्वविद्यालयलाई निर्देशन दिनेछ।'

प्रसाईले बिएन्डसी मेडिकल कलेज शिक्षण अस्पताल 'बेसिक साइन्समा नेपालकै टप' भएको दाबी गरे। 'हस्पिटल पूर्वाधार, माटोको परीक्षण, इआइए पास गरेको, भवन विभागबाट स्वीकृतिप्राप्त नेपालमै हामी मात्र हौं,' उनले भने, '२६ लाख जनसंख्या भएको सुदूरपूर्वमा एउटा पनि हस्पिटल नभएकाले खोल्न खोजेका हौं।'

डा. केसीकै सोचअनुसार झापामा कलेज खोलेको दाबी गर्दै उनले ५ अर्ब लगानी भइसकेको अवस्थामा सम्बन्धन रोक्न नमिल्ने तर्क राखे। 'अब यत्तिको कलेजलाई विद्यार्थी पढाउन दिने–नदिने नेपाल सरकारको कुरा हो,' प्रसाईंले भने, 'केसीले पनि हाम्रा लागि बिएन्डसीले सम्बन्धन पाओस् भनेर अनशन बसिदिनुहुन्छ भन्ने लागेको छ।'

यस वर्षदेखि नै सय सिट पढाउने, कुनै नक्कली फ्याकल्टी नहुने गरी अध्यापन तयारी मिलाइसकिएको जानकारी दिए। 'हामीलाई काठमाडौं वा त्रिवि कसले सम्बन्धन दिन हो,' उनले भने, 'प्रधानमन्त्रीले पनि पहल गरिदिनुपर्छ भन्ने छ।' प्रसाईले थपे, 'डा. भगवान कोइराला आउनुभएको थियो, उहाँले पनि यो हस्पिटलले सम्बन्धन नपाए अरू कलेज बन्द गरिदिए हुन्छ भन्नुभयो।'

झापाको बिर्तामोडमा स्थापित अस्पतालले राजनीतिक आडमा सञ्चालन अनुमति र विभिन्न शैक्षिक कार्यक्रम सम्बन्धनका लागि प्रमुख दलका केन्द्रीय र स्थानीय नेता बोलाएर उद्घाटन गराएको थियो। उद्घाटन कार्यक्रममा दाहालसहित एमाले सचिव योगेश भट्टराई, जिल्लाका सभासद्, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिलगायत पदाधिकारी थिए। दाहालले मञ्चबाटै सम्बन्धनका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए।

अस्पतालका प्रमुख तीन लगानीकर्तामा दुर्गा प्रसाई, डा. रामबाबु गिरी र मनदीप विमली छन्। गिरी हालै मात्र नेपाल प्रहरीको सिआइबीद्वारा नक्कली चिकित्सक आरोपमा मुद्दा चलाइएका व्यक्ति हुन्। प्रसाईले गिरी आफ्नो सालो मात्रै भएको, त्यसबाहेक कलेजसँग कुनै सम्बन्ध नरहेको बताए। दाहालसँग निकटताका कारण सम्बन्धन पाउन लागेको पनि उनी स्विकार्दैनन्। '०५६ देखि नै माओवादीमा लागेको हुँ, लामो समय सैनिक हिरासतमा रहेँ,' उनले भने, 'सम्बन्धन पाउनु नै ठूलो कुरा होइन।'

प्रकाशित: १३ भाद्र २०७३ ०१:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App