coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

बाइक मध्यमवर्गको अभिन्न अंग

पछिल्लो समय दुई पांग्रे सवारीसाधन मोटरसाइकल/स्कुटर मध्यमवर्गीय नेपालीको दैनिक जीवनमा अभिन्न अंगजस्तै भएको छ। बाइक वा स्कुटर नभए लाखौं नेपालीको दैनिकी लगभग ठप्प हुने अवस्था आइसकेको छ। चार पांग्रे सवारीसाधनको दाँजोमा खरिद गर्दा सस्तो पर्ने, बैंक तथा वित्तीय संस्थाले पनि बाइक खरिद गर्न सहज तरिकाले ऋण उपलब्ध गराउने र ट्राफिक जामका बेला पनि दायाँबायाँ गर्दै अगाडि बढ्न सजिलो हुने भएकाले बाइक सजिलो र आकर्षक सवारी बन्दै आएको छ।

त्यसबाहेक पर्याप्त मात्रामा सार्वजनिक सवारीसाधन नहुनु तथा भएकाको पनि सेवा, सुविधा, भाडा दर सरल र प्रभावकारी नहुँदा बाइकका प्रयोगकर्ता बढ्दै गएका हुन्। बाइक सहज र सरल भएकै कारण यसका प्रयोगकर्ता 'दिन दुई गुणा रात चौगुणा' ले बढिरहेका छन्।

पछिल्लो तथ्यांकअनुसार बागमती अञ्चलमा मात्रै साढे ७ लाख बाइक/स्कुटर दर्ता भएका छन् भने तिनको ८० प्रतिशत सडकमा कुदिरहेका छन्। बागमतीमा हाल ७५ लटसम्मका बाइक दर्ता भएका छन्। एक लटमा १० हजार थान हुने गर्छ। तीमध्ये ८० प्रतिशतभन्दा बढी काठमाडौं उपत्यकामा कुद्ने गर्छन्। पछिल्ला केही वर्षदेखि वृद्धि हुँदै गएको बाइक संख्या हेर्दा सहजै अनुमान लगाउन सकिन्छ– यो मध्यमवर्गको अभिन्न अंग हो।

'हो, बाइक र स्कुटर कामकाजी मध्यमवर्गका लागि नभई नहुने सवारीसाधन हो,' नेपालमा होन्डा बाइकको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीका अध्यक्ष सौरभ ज्योति भन्छन्, 'यसलाई ताजा तथ्यांकले पनि पुष्टि गर्छ। सन् २०१५/१६ मा मुलुकभित्र कूल १ लाख ४५ हजार थान बाइक बिक्री भएको थियो।'

मुलुकमा एक वर्ष अवधिमा जतिथान बाइक बिक्री हुन्छ, त्यसमा ३३ प्रतिशत हिस्सा होन्डाले ओगट्ने ज्योतिको भनाइ छ। २०१५/१६ मा ४८ हजार थान होन्डा बाइक बिक्री भएको उनीसँग तथ्यांक छ। 'यो हिसाबले दुई पांग्रे सवारीसाधन बिक्रीतर्फ हामी पहिलो स्थानमा छौं,' उनी भन्छन्, 'र, हाम्रो प्रतिस्पर्धा अन्य कम्पनीका बाइकसँग हुँदैन, आफ्नै उत्पादनबीच मात्र प्रतिस्पर्धा हुन्छ। अर्को महत्वपूर्ण तथ्यांक के हो भने स्कुटर बजारमा पनि ७० प्रतिशतभन्दा बढी हिस्सा ओगटेर हामी पहिलो स्थानमा छौं।'

त्यसमाथि नेपालको बजार, सडकको अवस्था, वातावरण सबै अध्ययन गरेपछि मात्र उपयुक्त बाइक ल्याउने गरिएको उनी बताउँछन्। होन्डाले १ सय सिसी क्षमतादेखि ६ सय ५० सिसीसम्मका बाइक बिक्री गरिरहेको छ। चाँडै ६ सय ५० सिसीको 'पिबिआर६५०' बाइक बजार ल्याउने तयारी रहेको ज्योति बताउँछन्। 'इन्जिन क्षमता बढी र महँगा बाइकको पनि नेपालमा बजार छ,' उनी भन्छन्, 'पारखी र सौखिनलाई यस्ता बाइकले आकर्षित गर्छन्।'

बाइक बिक्री गर्नेमात्र नभई त्यसपछिको सेवा, स्पेयर पार्ट्सलगायतमा होन्डाले विशेष ध्यान दिने गरेको उनको भनाइ छ। होन्डाले चौबीसै घन्टा घरदैलो सेवा दिइरहेको छ। बाइक बजार ह्वात्तै बढेपछि होन्डाले आफैं 'एसेम्ब्लिङ' गरी नेपालमै बाइक उत्पादन गर्ने योजना पनि बनाएको छ। 'सरकारले सुविधा, काम गर्ने वातावराण, कागजी प्रक्रियासँगै उपयुक्त नीति बनाइ कार्यान्वयन गर्ने हो भने हामी एसेम्ब्लिङ गरी नेपालमै बाइक उत्पादन गर्छौं,' ज्योति भन्छन्।

अर्को कम्पनी एचएच बजाजको पनि आफ्नै दाबी छ। बाइक बजारमा बजाज मोटरसाइकलको हिस्सा ४७ देखि ४८ प्रतिशत रहेको यसका बजार प्रमुख पुनम सिंह बताउँछिन्। 'हामी वार्षिक ५८ हजारदेखि ६० हजारथान बाइक बेचिरहेका छौं,' उनी भन्छिन्, 'यसमा काठमाडौं उपत्यकाभित्र पल्सर र एभेन्जर तथा तराईमा डिस्कभर र प्लाटिना र नयाँ बाइक भि१५ बिक्री हुन्छ।'

बजाजको आधिकारिक डिलर (सर्भिस सेन्टर) संख्या ८० पुगेको छ भने २ सयभन्दा बढी आधिकारिक सर्भिस प्वाइन्ट रहेको सिंह जानकारी दिन्छिन्। 'राजमार्गमा प्रत्येक पाँचदेखि दस किलोमिटरभित्र हाम्रो सर्भिस सेन्टर रहेका छन्,' उनी भन्छिन्, 'देशभरि जहाँ गएर हाम्रो बाइक किन्नुस् वा स्पेयर पार्ट्स किन्नुस् एउटै भाउ हुन्छ। बाइक किन्ने बेलाको सेवा, किनेपछिको सेवा, स्पेयर पार्ट्सलगायत सबै सहज र सरल भएका कारण बजाजका बाइकमा उपभोक्ता आकर्षित भएका हुन्।'

नाकाबन्दीपछि उल्लेख्य दरमा बाइक बजार विस्तार भएको उनी बताउँछिन्। चुनौतिलाई चिर्दै बजार विस्तारमा लागिरहेको उनको भनाइ छ। पल्सर मोडेलका १ सय ५० र २ सय २० सिसी तथा पल्सरल एनएस–२०० सिसीका बाइकको बजार उल्लेख्य रहेको उनको भनाइ छ।

अर्को प्रतिस्पर्धी कम्पनी नेपाल जनरल मार्केटिङ प्रालिले तीन देशकदेखि हिरो ब्रान्डका बाइक बिक्री गर्दै आएको छ। 'बाइक बजारमा हिरोको बजार हिस्सा २६ देखि २७ प्रतिशत छ,' कम्पनीका वरिष्ठ बिक्री प्रबन्धक दिनेश वज्राचार्य भन्छन्, 'यसलाई हाम्रो उत्कृष्ट बाइक सुपर स्प्लेन्डरले पुष्टि गर्छ। यो बाइक नेपालमा सबैभन्दा बढी बिक्री हुने गरेको छ। हामीलाई १ सय सिसी र १ सय २५ सिसी क्षमताका बाइकतर्फ अन्य कुनै पनि कम्पनीले उछिन्न सक्दैनन्।'

उनका अनुसार सन् १९८६ बाट नेपालमा हिरोका बाइक बिक्री गर्न थालिएको थियो। हाल ७० भन्दा बढी आधिकारिक डिलर छन्। 'धेरै पुरानो कम्पनी भएको र नेपाली माटो र बाटोमा भिजेका कारण हिरो ब्रान्डका बाइक उपभोक्ताका लागि धेरै नै विश्वसनीय रहेका छन्,' उनी भन्छन्।

अर्को प्रतिस्पर्धी यामाहा ब्रान्डका बाइक १७ प्रतिशत बजार हिस्सा ओगट्दै अगाडि बढिरहेको छ। यसले स्कुटरतर्फ २५ प्रतिशत बजार हिस्सा लिएको छ। 'हाम्रा उत्पादन आर१५ सँग प्रतिस्पर्धा गर्नसक्ने बाइक नेपाली बजारमा छैनन्,' यामाहा बाइकको नेपालका लागि आधिकारिक बिक्रेता मोरङ अटो वर्क्स (एमएडब्लु) का  बिक्री तथा व्यापार विकास सहायक प्रबन्धक दीपक रौनियार भन्छन्, 'पछिल्लो दुईदेखि तीन वर्षयताको बजार विस्तारबाट असाध्यै राम्रो प्रतिक्रिया पाएका छौं। हाम्रो एफजेड सिरिजको बाइकले यामाहालाई नेपाली बजारमा फड्को मार्न उल्लेख्य सहयोग गरेको छ।'

बाइक बजारलाई ग्रामीण भेगसम्म फैलाउने योजनामा एमएडब्लु लागेको छ। मूल्यका हिसाबले पनि बाइक सहज सवारी हो तै पनि बैंक तथा वित्तीय संस्थाबाट यसमा सोचेजति ऋण प्रवाह नभएको रौनियार बताउँछन्। 'अब हामी सुरुमा कम पैसा तिरेर बाइक दिने लक्ष्यमा छौं,' उनी भन्छन् 'विगतमा ४० देखि ५० प्रतिशत डाउन पेमेन्ट दिँदा पनि बाइक पाइन्थेन तर अहिले त्यो अवस्था हटेको छ। हामी डाउन पेमेन्टलाई २० देखि २५ प्रतिशत (भरपर्दो कागजका आधार) मा ग्रामीण भेगमा बाइक बेच्ने योजनामा छौं।'

उनका अनुसार १ सय ५० सिसी क्षमतायुक्त 'एफजेडएस–एफआई' भर्सनका बाइकको प्रतिस्पर्धी बाइक छैनन्। कार्बोरेटर नहुने, माइलेज बढी दिने, प्रदूषण कमलगायत यी बाइकका विशेषता हुन्। यामाहाका सबै बाइकमा जापानी प्रविधि तथा ब्लु कोर प्रविधि जडित छन्।

'अन्य प्रतिस्पर्धी बाइक बाइकसँग तुलना गरेपछि मात्र हामी बाइक सार्वजनिक गछौं र आफू सन्तुष्ट नभएसम्म बजारमा बाइक ल्याउँदैनौं,' रौनियार भन्छन्, 'बाइक प्रयोगकर्तालाई यामाहाका बाइक किन्दा कुनै समस्या हुँदैन भन्ने विश्वास दिलाउँछौं र यसमा प्रयोगकर्ताको विश्वास अटल छ।'

टिभिएस ब्रान्डका बाइक पनि तीव्र गतिमा बजारमा कुदिरहेको छ। हाल ६५ भन्दा बढी आधिकारिक डिलरबाट देशभर सेवा दिइरहेको टिभिएसका बजार प्रमुख विक्रम पौडेल नेपालमा टिभिएसको खास बजार रहेको बताउँछन्।

'बाइक प्रयोगकर्तालाई सन्तुष्ट बनाउँदै बिक्री, बिक्रीपछिको सेवा र स्पेयर पार्ट्समा थप अगाडि बढिरहेका छौं,' उनी भन्छन्, 'जगदम्बा ग्रुप नेपालका लागि टिभिएसको आधिकारिक बिक्रेता बनेयता एउटा तहमा बजार ओगट्न हामी सफल भएका छौं।'

हाल होन्डाले होन्डा हर्नेट १६०आर, सिबी युनिकर्न १६०, होन्डा न्यु एक्सआर१५०एल, होन्डा सिबी६००एफ हर्नेट, होन्डा सिबी टि्रगर, होन्डा सिबिआर २५०आर रेप्सोल, होन्डा सिबिआर २५०आर एबिएस, होन्डा सिबिआर २५०आर एसटिडी, होन्डा ड्रिम युगा, होन्डा सिबिएफ स्टनर, होन्डा सिबी युनिकर्न, होन्डा सिबी टि्वस्टर, होन्डा सिबी साइन र होन्डा सिआरएफ २५०एल तथा स्कुटरतर्फ होन्डा एक्टिभा आइ, होन्डा एभिएटर र होन्डा डियो बिक्री गर्दै आएको छ।

बजाजले पल्सर २२०एफ, पल्सर २२०आरएस, पल्सर २२०एएस, पल्सर २२०एनएस, पल्सर १८०, पल्सर १५०एएस, पल्सर १५०, एभेन्जर २२० त्रु्कज, एभेन्जर २२० स्ट्रिट, एभेन्जर १५० स्ट्रिट, डिस्कभर १५०एफ डिस्क, डिस्कभर १५०एस डिस्क, डिस्कभर १२५ डिस्क, डिस्कभर १२५ ड्रम र प्लाटिना मोडेलका बाइक बिक्री गरिरहेको छ।

उता हिरोले सुपर स्प्लेन्डर १२५, स्प्लेन्डर प्रो १००, आइ–स्मार्ट १००, ग्ल्यामर १२५ (सिंगल र डबल डिस्क), एक्स्ट्रिम स्पोर्ट्स १५० (सिंगल र डलब डिस्क), करिज्मा आर २२३, करिज्मा जेडएमआर २२३, एचिभर १५०, प्यासन प्रो १००, स्प्लेन्डर प्रो क्लासिक १०० र एचएफ डिलक्स १०० मोडेलका बाइक तथा ड्यास–१११, डुएट १११ र प्लेजर १०२ स्कुटर बेच्दै आएको छ। स्कुटरतर्फ ड्यास १११ मा युरो ३ मापदण्ड, एउटै साँचोले अनअफ, ह्यान्डल लक, पेट्रोल ट्यांकको बिर्को खुल्ने, सिट खुल्नेलगायत 'एन्टी थेफ्ट' विशेषता छन्।

त्यस्तै यामाहाले नाडा अटो सोमा ३ सय २१ सिसी क्षमतायुक्त आर३ बाइक सार्वजनिक गर्दैछ। यसको मूल्य ९ लाख २९ हजार ९ सय तोकिएको छ। त्यसबाहेक आर१५ १५०, एफजेडएसएफआई १५०, एफजेडएसएफआई स्पेसल १५०, एफजेडएफआई १५०, एसजेडआरआर १५० र स्यालुटो १२५ (ड्रम र डिस्क) मोडेलका बाइक तथा रेजेड ११३, रेजेडआर (ड्रम र डिस्क) र फेसिनो ११३ स्कुटर बिक्री गर्दै आएको छ।

टिभिएसले फिनिक्स १२५, भिक्टर ११०, स्टारसिटी ११०, स्पोर्ट्स ११०, अपाचे १६० र अपाचे १८० बाइक तथा जुपिटर ११०, विगो ११० र जेस्ट ११० स्कुटर बिक्री गर्दै आएको छ। एक महिनापछि इन्डोनेसियामा उत्पादित ड्याज १२५ बजार ल्याइने तथा नाडा अटो सोमा अपाचे आरटिआर–२०० र विगो कम्बी सार्वजनिक गर्ने टिभिएसले जनाएको छ। 

प्रकाशित: १४ भाद्र २०७३ ०३:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App