८ वैशाख २०८१ शनिबार
अर्थ

सस्तो ब्याजले गाडी किन्ने बढ्दै

काठमाडौं- २० लाखसम्मको गाडी चढ्न ६ लाख नगद र ४५ हजार मासिक आम्दानी भए पुग्छ। ६ लाख नगद रकम र मासिक ४५ हजार आम्दानी हुने व्यक्तिलाई बैंकले प्रत्येक महिना साँवा र ब्याज बुझाउने सर्तमा २० लाखसम्मको गाडी किन्न ऋण उपलब्ध गराउन सक्छन्।

६ लाख नगद र ४५ हजार आम्दानी हुने व्यक्तिले २० लाखसम्मका गाडी सहजै खरिद गर्न सक्ने नेपाल बैंक लिमिटेड उपभोक्ता कर्जा विभागकी मुख्य प्रबन्धक समता पन्तले बताइन्। '२० लाख पर्ने गाडी खरिदका लागि १४ लाखसम्म ऋण दिन सकिन्छ,' पन्तले भनिन, '६ लाख मात्र तुरुन्तै भुक्तानी (डाउन पेमेेन्ट) भने सम्बन्धित ग्राहकले तिर्नुपर्छ।'

बैंकले गाडी खरिदका लागि ७० प्रतिशतसम्म ऋण दिने र ३० प्रतिशत मात्र ग्राहकले नगद (डाउन पेमेन्ट) गरे मात्र पुग्ने उनी बताउँछिन्। 'गाडी नै धितो राखेर नियमित साँबा र ब्याज बुझाउने ग्राहकलाई नेपाल बैंकले सहजै कर्जा उपलब्ध गराउँदै आएको छ,' पन्तले भनिन, 'किस्ता र ब्याज तिर्ने आधार बैंकमा पेस गरेको दुई दिनभित्र ग्राहकले उक्त रकम बराबरको अटोलोन लिन सक्छन्।'

केही कम्पनीका इन्ट्री लेबलका गाडी सामान्यतया २० लाखसम्ममा खरिद गर्न सकिने व्यवसायी बताउँछन्। २० लाखसम्म पर्ने गाडी खरिदका लागि अटोलोन लिने व्यक्तिको मासिक आम्दानी ४५ हजार भने हुनुपर्छ। त्यसरी कर्जा लिने ग्राहकले मासिक रुपमा २२ हजार १ सय रुपैयाँ भने तिर्नुपर्ने हुन्छ।

नेपाल बैंकले सामान्यतया ९ देखि १० प्रतिशत ब्याजदरमा अटोलोन दिँदै आएको छ। बेला बेलामा अटोलोन दिनका लागि विभिन्न स्किम समेत ल्याउने गरेको छ। बैंकले नेपाल लक्ष्मी अटोलोन, सरकारी कर्मचारी, डाक्टर, इन्जिनियरलगायतलाई लक्षित गरी प्रोफेसनल अटोलोन योजना ल्याएको छ। साढे ८ प्रतिशत ब्याज दर र ०.५ प्रतिशत सेवा शुल्क लिएर त्यस्तो कर्जा प्रवाह गर्दै आएको जानकारी पनि पन्तले दिइन्।

त्यसरी लिइने कर्जा कम्तिमा ५ र बढीमा ७ वर्षमा रकम भुक्तानी गर्नुपर्ने नेपाल बैंक लिमिटेडका नायब महाप्रबन्धक बेचन गीरिले बताए। १ करोडसम्मको अटोलोन नेपाल बैंकले दिने गरेको जानकारी पनि उनले दिए।

नेपाल बैंकले १ अर्ब ६५ करोड रुपैयाँ अटोलोन प्रवाह गरेको जानकारी पनि गीरिले दिए। 'लोन डिफल्ड हुने सम्भावना कम भएका कारण बैंकले अटोलोन प्रवाहलाई जोड दिँदै आएका छन्,' उनले भने, 'एक सय जनाले त्यस्तो ऋण लिएका मध्ये अपवादमा एक–दुई जनाले बाहेक सबैले तिर्ने गरेेका छन्।'

अटोलोनलाई बैंकहरुले सुरक्षित लगानीको रुपमा लिने गर्छन्। त्यसैले पनि बैंक तथा वित्तीय संस्था गाडी खरिदका लागि सहजै ऋण प्रवाह गर्ने गर्छन्।केही समय पहिला धनी मानिसले मात्र गाडी चढ्थे तर, अहिले बैंक तथा वित्तीय संस्थाले गाडी खरिदका लागि सहज रुपमा कर्जा दिन थालेपछि सामान्य मानिस पनि चढ्न सक्ने हैसियतमा पुगेका छन्।

बैंक तथा वित्त कम्पनीले सवारी साधन खरिदका लागि सहज रुपमा 'अटोलोन' दिन थालेपछि सर्वसाधारण पनि गाडी खरिद गरेर आफैं गुडाउन सक्ने अवस्थामा पुगेका हुन्। साधारण मानिस पनि बैंकबाट कर्जा लिएर सहजै गाडी चढ्न पुगेका छन्। यसले गाडी खरिद गर्न सहज भएको छ।

केही समय पहिला विलासी साधनको रुपमा लिइने निजी सवारी साधन अहिले आवश्यकताको उपज भएको छ। गोजीमा ६ लाख गाठ भएको, ब्याज र किस्ताबन्दीमा रकम बुझाउन सक्ने आँट भएको व्यक्तिका लागि गाडी चढ्नु सामान्य जस्तै भएको छ।

गत वर्षको भूकम्प, तराइ−मधेसको आन्दोलनले अटो व्यवसायमा जाने कर्जामा कमी आएको थियो। तर, अहिले भने त्यस्तो कर्जा प्रवाह ह्वात्तै बढेको बैंकर बताउँछन्। भूकम्प र नाकाबन्दीपछि बैंकको लगानी झन्डै ठप्पजस्तै भएको थियो। तर, अहिले व्यवसायमा सुधार आएको नाडाका अध्यक्ष अन्जन श्रेष्ठले बताए। 'गत वर्षको अटो सोमा बुकिङ भएका गाडी नाकाबन्दी भए पनि क्यान्सिल भएनन्,' उनलेे भने, 'नाकाबन्दी हुनुभन्दा पहिला भएको अटो सोमा झन्डै १ सय ५० करोड बराबरको बुकिङ भएको थियो। बुकिङ भएका सबै गाडी आए।' नाकाबन्दी सामान्य हुँदै जाँदा पनि व्यवसाय निरन्तर बढिरहेको जानकारी उनले दिए।

नाडा अटो सो, दसैं तिहारमा बढी अटोलोन प्रवाह हुने व्यवसायीको भनाइ छ। 'चाडपर्व आगमनसँगै अटोलोन लिन आउने ग्राहक पनि बढ्दै जान्छन्,' पन्तले भनिन् 'दसै तिहारमा विशेष अफर ल्याइने भएकाले पनि ग्राहक कुरेरै बस्ने गर्छन्।' अफरमा गाडी खरिद गर्दा ४/५ लाख सस्तो पर्ने उनको अनुभव छ।

७ देखि ८ प्रतिशतमै अटोलोन

एक–दुई अपवादलाई छाड्ने हो भने प्रायः सबै २८ वटै वाणिज्य बैंकले ७ देखि ८ प्रतिशतमा अटोलोन दिन थालेका छन्। निक्षेप संकलन बढेको, त्यसको अनुपातमा कर्जा लगानी कम भएकाले थोरै ब्याजमा अटोलोन दिन थालेका हुन्।

गत वैशाखको भूकम्पले लगानीको वातावरण बिग्रेको र बैंकमा रकम थुप्रिएकाले न्यून दरमा अटोलोन दिन बाध्य भएको बैंकर बताउँछन्। अहिले पनि बैंक त्यही ब्याजदरलाई निरन्तरता दिँदै आएका छन्। 'अटोलोनको ब्याजदरमा खासै परिवर्तन आएको छैन्,' गीरिले भने, 'व्यक्तिगत रुपमा लामो समयदेखि ऋण लिँदै आएका ग्राहकलाई १ प्रतिशतसम्म कममा कर्जा दिन सकिन्छ।'

बैंकले सुरक्षित लगानी भन्दै ७ देखि ८ प्रतिशत ब्याजमा अटोलोन दिइरहेको बैंकर बताउँछन्। 'अन्य क्षेत्रमा कर्जाको धेरै माग नआएकाले पनि कम ब्याजमा भए पनि अटोलोन दिन बाध्य भएका हुन्,' एक बैंकरले भने।

नेपाल राष्ट्र बैंकले सेयर र घर–जग्गा कर्जामा कडाइ गरेको छ। सेयरको प्रचलित बजार मूल्यको ५० प्रतिशतसम्म मात्र कर्जा प्रवाह गर्ने व्यवस्था केन्द्रीय बैंकले गरेको छ। यसअघि यस्तो कर्जामा बैंक तथा वित्तीय संस्थाले ६० प्रतिशतसम्म दिन पाउथे। 

केन्द्रीय बैंकले घरजग्गा कारोबारमा जाने कर्जामा पनि केही कडाइ गरेको छ। राष्ट्र बैंकले एक करोड रुपैयाँसम्मको व्यक्तिगत आवास कर्जालाई यथावत राखे पनि व्यापारिक प्रयोजनको रियल इस्टेट कर्जालाई भने केही कसिलो बनाएको छ।

नयाँ व्यवस्था अनुसार धितो मूल्यांकनको ५० प्रतिशतसम्म मात्र कर्जा दिन पाइनेछ। रियल इस्टेट कर्जा र त्यसको सुरक्षणबीचको अनुपात ५० प्रतिशत कायम गर्नुपर्ने पनि यसमा व्यवस्था गरिएको छ।

यसअघि रियल इस्टेट कर्जामा धितो मूल्यांकनको ६० प्रतिशतसम्म कर्जा दिन पाउने व्यवस्था छ। तर आवासीय रियल इस्टेट कर्जामा भने धितो मूल्यांकनको ६० प्रतिशतसम्मै कर्जा दिन पाइनेे छ।

बैंक तथा वित्तीय संस्थाले आवासीय रियल इस्टेट कर्जा अधिकतम एक करोड रुपैयाँसम्म दिन पाउँछन्। रियल इस्टेटमा कुल १५ प्रतिशतभन्दा बढी कर्जा लगानी गर्न नपाइने नियम छ।

राष्ट्र बैंकले सेयर र घर–जग्गा गरेको कसिलो व्यवस्थाले पनि अटो कर्जामा लगानी बढेको व्यवसायीको भनाइ छ।

राजनीतिक अस्थिरताका कारण लगानीका अन्य क्षेत्र विस्तार हुन नसक्दा बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजी (तरलता) थुप्रिएकाले पछिल्ला वर्षमा अटो बैंकका लागि लगानीको आकर्षक क्षेत्र भएको छ।

नेपालीको आम्दानी बढेसँगै निजी सवारी साधनका प्रयोगकर्ता बढेका छन्। योसँगै बैंकबाट ऋण लिनेको संख्या पनि बढेको छ। बैंकले सवारी साधनमा विस्तार गरेको कर्जा करिब शतप्रतिशत नै असुल भइरहेको बैंकर बताउँछन्। 'असुल नभए ८ देखि १० लाख मात्र नहुने हो,' एक बैंकरले भने, 'सानो लगानी भएकाले पनि बैंक, वित्तीय संस्थाले सजिलै कर्जा उपलब्ध गराउने गरेका छन्।'

'गाडी चढ्ने सीमित ग्राहकलाई दिइएको ऋण मात्रै डिफल्ट देखिएको छ। कम आम्दानी भएका ग्राहकलाई हत्पत्ति बैंकले पनि ऋण दिँदैन,' उनले भने, 'त्यसैले फाट्टफुट्टबाहेक अटोलोन असुलीको अवस्था अत्यन्तै राम्रो छ।'

ऋणीको स्थिर आम्दानीका आधारमा सवारी साधन कर्जा प्रवाह गरिने भएकाले जोखिम कम हुने बैंकरको भनाइ छ।

बैंक, वित्तीय संस्थाले सस्तो र सरल ब्याजमा सवारी साधन कर्जा प्रवाह गरेकै कारण सवारी साधन व्यवसाय फस्टाएको व्यवसायी बताउँछन्। सवारी र तिनको पार्टपुर्जा व्यवसायको वृद्धिदर उच्च हुनुमा बैंक, वित्तीय संस्थाको ठूलो योगदान रहेको उनीहरुको भनाइ छ।

सवारी साधन र तिनको पार्टपुर्जा खरिद गर्न बैंकले कर्जा व्यवस्था सहज बनाएकाले उपभोक्ताले सहज महसुस गरेका छन्। फाइनान्सिङमा सवारी साधन किन्दा एकैपटक ठूलो रकम तिर्नु नपर्ने, सवारी साधनको बिमा हुने, मासिक रूपमा रकम भुक्तानी गर्न सकिनेलगायत सुविधाले यसमा उपभोक्ताको आकर्षण बढेको हो।

अटोलोन लिने प्रक्रिया

बैंकले अटोलोन दिन थालेपछि नेपालमा कार खरिद गर्नेको संख्यामा पनि भारी वृद्धि भएको छ। अटोलोन लिने ऋणीले धेरैजसो कार खरिद गर्नका लागि ऋणको माग गर्ने एक बैंकरले जानकारी दिए।

अटालोन माग गर्नेले सर्वप्रथम आफूले किन्न चाहेको सवारी साधनको बारेमा निश्चित भएर मात्रै बैंकमा कर्जाको माग गर्ने गर्छन्। यसरी आफूले किन्न चाहेको गाडीको कोटेशन बैंकमा पठाएपछि मात्रै बैंकले कर्जा प्रदान गर्ने कार्य अघि बढाउँछन्।

अटोलोन लिन चाहनेले सर्वप्रथमतः गाडी बिक्रेताकोमा गएर अनिवार्य रुपमा रकम तिर्नुपर्छ। अनिवार्य रुपमा तिर्नुपर्ने रकम तिरेपछि मात्रै अन्य बाँकी रकमको लागि मात्रै अटोलोनबाट गाडी खरिद गर्न सकिन्छ।

अनिवार्य रकम तिरेपछि गाडी बिक्रेताले कोटेसनसहित बैंकको कर्जा माग फाराम भर्नुपर्छ।  फाराम भर्नेे बेलामा नागरिकताको फोटोकपी, फोटो २ प्रति र आम्दानीको स्रोत खुल्ने कागजात अनिवार्य रुपमा हुनुपर्छ।

कम्पनीले गाडी खरिद गर्न चाहेमा भने कम्पनीको ब्यालेन्स सिट, बोर्ड माइनुटिङ, ट्याक्स क्लियरेन्स सर्टिफिकेट फारामसँगै पेस गर्नुपर्छ। पेस गरिएको कागजातका आधारमा बैंकले गाडी खरिद गर्न लागेको व्यक्ति बस्ने ठाउँमा गएर अवलोकन गर्छ।

कागजात सत्य भएको पाएमा बैंकले कर्जा लिनका लागि बैंकमा बोलाउँछ। यस समयमा बैंकमा चल्ती खाता भने अनिवार्य रुपमा खोल्नुपर्छ। बैंकमा चल्ती खाता खोलेपछि बैंकले ऋणीसँग ऋणको तमसुक गराउँछ। त्यसपछि बैंकले उक्त बिक्रेता कम्पनीलाई डेलिभरी अर्डरको चिठ्ठी पठाउँछ। बिक्रेता कम्पनीले डेलिभरी अर्डरको चिठ्ठी पाएपछि उक्त गाडी ऋणीलाई प्रदान गर्छ।

यसरी बैंकबाट अटोलोन मार्फत लिएको गाडीको बिलबुक भने बैंकको नाममा हुन्छ। साथै ऋणीले बैंकमा मासिक रुपमा साबाँ र ब्याज गरी किस्ता तिर्नुपर्छ।

प्रकाशित: १४ भाद्र २०७३ ०३:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App