८ वैशाख २०८१ शनिबार
प्रवास

इयुसँग छुट्टिने कि रहिरहने?

लन्डन—युरोपियन युनियन (इयु) को सदस्य रहने वा त्याग्ने भन्ने विषयमा फैसला गर्न बिहीबार वेलायतमा जनमत संग्रह  हुँदैछ। वेलायतकाे आर्थिक, सामाजिक तथा राजनीतिक भविष्यसमेत निर्धारण गर्नसक्ने ठानिएको सो जनमत संग्रहलाई सम्पूर्ण युरोप क्षेत्रमा महत्वका साथ हेरिएको छ।

बेलायतले युरोपियन युनियनको सदस्यता छोड्नु हुँदैन भन्ने अभियानको नेतृत्व बेलायती प्रधानमन्त्री डेविड क्यामरन र विपक्षी दल लेबरका नेता जेरेमी कोर्बिनले गरिरहेका छन्। बेलायत इयुबाट बाहिरिनुपर्छ भन्ने पक्षको नेतृत्व यूके इन्डिपेन्डेन्ट पार्टीका नाइजल फराज र सत्तारुढ दल कन्जरभेटिभबाट लन्डनका पूर्व मेयर बोरिस जोन्सनले गरिहेका छन्। बेलायत युरोपको सदस्य रहिरहनु पर्छ भन्ने पक्षधरहरुले सुधारसहितको इयुमा जोड दिएका छन्।

उनीहरुले बेलायत युरोपियन युनियनको सदस्य रहिरहँदा युरोपमा अन्य देशबाट बेलायतमा काम गर्न आउने आप्रवासीले तिरेको करले देशको आर्थिक अवस्था बलियो हुने, इयूसँगको सम्बन्धले विश्व व्यापारमा ठूलो फाइदा पुग्ने, इयु एकताले विश्वव्यापी आतंकवादविरुद्धमा लड्न सजिलो हुने तर्क गरेका छन्। 

यता बेलायत युरोपियन यूनियनको सदस्य रहिरहनु हुन्न भन्ने पक्षले बेलायतले युरोपका अन्य देशलाई खुला सीमानाले गर्दा देशको आन्तरिक सुरक्षा खलबलिएको भन्दै सीमा नियन्त्रणमा जोड दिएका छन्। उनीहरुले वर्षेनी युरोपेली देशहरुबाट बेलायत आउने आप्रवासीहरुका कारण बेलायतको आर्थिक तथा सामाजिक क्षेत्रमा ठूलो असर परेको, स्वास्थ्य तथा शिक्षा क्षेत्रमा आप्रवासीहरुले कब्जा गर्दा जनजीवनमा प्रत्यक्ष असर परेको तर्क गर्दै बेलायत युरोपियन युनियनबाट बाहिरिनु पर्नेमा जोड दिएका छन्।

गत वर्ष प्रधानमन्त्रीमा पुनः निर्वाचित भएपछि  डेविड क्यामरनले बेलायत युरोपियन युनियनमा रहने वा नरहने भन्ने बारेमा बेलायती जनताको मत लिइने घोषणा गरेका थिए। यसअघि सन् १९७५ मा भएको जनमत संग्रहमा ६७ प्रतिशतभन्दा बढी बेलायतीहरुले बेलायत इयूको सदस्य रहिरहनु पर्छ भन्ने पक्षमा मतदान गरेका थिए। बिहीबारको जनमत संग्रहका लागि बेलायतभर ३ हजार ८ सय २१ मतदान केन्द्र स्थापना गरिएको छ। राति १० बजेसम्म जारी रहने मतदानपछि जनमतको नतिजा मेन्चेस्टरस्थित टाउन हलमा विशेष समारोहका साथ सार्वजनिक हुनेछ।

भिन्न भिन्न सर्वेक्षण नतिजा

जनमत संग्रहको अघिल्ला दिनहरुमा यहाँस्थित मुख्य मुख्य पत्रपत्रिकाले गरेको जनमत सर्वेक्षणका नतिजा भने फरक फरक आएका छन्। बीबीसी अनलाइनले विगत ६ महिनादेखि गरेको भाषिक मत सर्वेक्षणले बेलायत इयु सदस्य रहिरहनु पर्छ भन्ने पक्षमा झिनो मत अन्तरले अगाडि देखिएको छ। यही जुन महिनामा गरिएको सर्वेक्षणअनुसार बेलायत इयु सदस्य रहनुपर्छ भन्ने पक्षमा ४५ प्रतिशत र छोड्नु पर्छ भन्ने पक्षमा ४२ प्रतिशत देखिएको छ। थाहा छैन वा अनिर्णत मतको संख्या १३ प्रतिशत छ। यही मत बिहीबारको मतदानमा निर्णायक हुनेछ।

अर्को पत्रिका मिररले पनि इयुमै रहिरहनुपर्छ भन्ने पक्षमा १ प्रतिशतको मात्र अग्रता देखाएको छ। उसका अनुसार बेलायतले इयु सदस्यता छोडनु हुन्न भन्ने पक्षमा ४६ प्रतिशत र छोड्नुपर्छ भन्ने पक्षमा ४५ प्रतिशत देखाएको छ। बाँकी ९ प्रतिशतले आफूलाई थाहा नभएको बताएका छन्। केही सर्वेक्षणले भने बेलायत युरोपबाट बाहिर हुनु उचित हुने भन्ने बहुमत देखाएका छन्।

नेपाली समुदाय विभाजित

आप्रवासीहरुका लागि समेत अत्यन्त महत्वपूर्ण मानिएको जनमत संग्रहको विषयलाई लिएर बेलायतस्थित नेपाली समुदाय दुई भागमा विभाजित छ। अक्सफोर्ड युनिर्भरसिटीका रिसर्च फेलो डा. कृष्ण अधिकारी नेपाली समुदायमा समेत दूरगामी असर पार्ने जनमत संग्रहलाई सामान्य रुपमा लिन नहुने तर्क गर्छन्। उनले बेलायतमा रहेको नेपाली पहिलो पुस्ता अझै स्थापित हुन संघर्षरत भएकाले तत्कालको परिवेशलाई मूल्यांकन गरेर मतदान गर्नु गलत हुने बताए।

बेलायत इयुबाट छुट्टिन नहुने बताउँदै उनले बेलायतमा उग्रदक्षिणपन्थ हावी हुँदै गइरहेको अवस्थामा बेलायत इयुबाट अलग भएमा बेलायतमा आपासी झगडा र दक्षिणपन्थी राष्ट्रवाद उग्र हुँदै जाँदा नेपालीलगायत अल्पसंख्यक समुदाय त्यसको शिकार बन्ने तर्क गरे। बेलायत इयुबाट बाहिरिने हो भने संयुक्त राज्यसमेत टुक्रिँदा त्यसको प्रत्यक्ष असर इङ्गल्यान्डलाई पर्ने दावी उनको छ। 

लन्डनस्थित धेरैजसो नेपाली रेष्टुराँ व्यवसायीहरु बेलायत इयुबाट अलग हुनुपर्ने धारणा राख्दछन्। नेप्लीज क्याटरिङ एसोसिएसन युकेका महासचिव किशोर सापकोटाको भने फरक धारणा छ। बेलायत अहिले नै इयूबाट बाहिरिँदा आर्थिक तथा सामाजिक रुपमै बेलायतको भविष्य अन्धकार हुने उनले बताए। 'हाम्रोजस्तो भर्खरै स्थापित हुँदै गरेको डायसपोराले यति ठूलो रिस्क लिनु हुँदैन। अहिले बेलायतमा जे भइरहेको छ, त्यो सही रुपमा भएको तर बेलायत बाहिरियो भने सबै क्षेत्रमा अन्योल सिर्जना गर्छ', उनले भने।

युरोपियन युनियनबाट आउने आप्रवासीका कारण नेपाली रेस्टुराँ व्यवसायलाई कुनै असर नगर्ने उनको तर्क छ।

बेलायतको सत्तारुढ दल कन्जभेटिभको बर्न्टओक क्षेत्रमा सक्रिय लक्ष्यबहादुर गुरुङ भने बेलायत इयुको सदस्य नहुँदा बेलायतीहरुलाई फाइदा हुने तर्क गर्छन्। उनले बेलायतले वार्षिक रुपमा १० अर्ब पाउन्ड युरोपियन युनियनलाई दिँदै आएको सहयोगमा कटौती हुँदा त्यसले बेलायतको आर्थिक अवस्था बलियो हुने बताए। 

गुरुङ यूरोपियन युनियन भित्रका देशहरुमा सामाजिक सुरक्षासम्बन्धी सुविधाहरु समान नहुँदा बेलायतीमाथि ठूलो आर्थिक भार परेको तर्क गर्छन्। बेलायत तत्काल इयुबाट बाहिरिँदा केही समय आर्थिक तथा सामाजिक रुपमा अन्यौल भए पनि दीर्घकालीन रुपमा बेलायतका लागि फाइदै हुने उनको बुझाइ छ।

गैरआवासीय नेपाली संघ यूरोप संयोजक तथा रेस्टुरेन्ट व्यवसायी कुल आचार्यले यूरोपियन युनियन क्षेत्रका कामदारले पहिलो प्राथमिकता पाउँदा नेपाली तथा इन्डियन रेस्टुरेन्टमा सेफको अभाव देखिएको बताए। उनले व्यवसायिक रुपमा बेलायत इयुबाट छुटिदा उचित हुने भए तापनि इयूबाट बाहिरिदा पर्न सक्ने अल्पकालीन तथा दीर्घकालीन समस्याबारे थप अध्ययन आवश्यक रहेको उनको बुझाइ छ।

जेहोस, अन्तर्राष्ट्रिय समुदायले समेत निकै चासोका साथ हेरिरहेको यो जनमतसंग्रहको विषयले अझै केही दिन बेलायती समाजलाई तताइरहने छ।

प्रकाशित: ८ असार २०७३ ०७:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App