७ वैशाख २०८१ शुक्रबार
समाज

भूकम्प पीडितले पाउन थाले आवास अनुदानको पहिलो किस्ता

सिन्धुपाल्चोक-विनासकारी भूकम्पको झण्डै १६ महिनापछि आवास अनुदानको पहिलो किस्ता ५० हजार रुपैयाँ गाउँ जान थालेको छ। अनुदान सम्झौता थालेको साढे तीन महिनापछि गाउँका पीडितले पहिलो किस्ता पाउन थालेका हुन्। यसअघि अनुदान वितरण सदरमुकाम रहेको चौतारा र पश्चिमी क्षेत्रको मुकाम मेलम्ची नगरपालिकामा मात्र केन्द्रित थियो।

सातादेखि गाउँमा अनुदान बापतको पहिलो किस्ता निकासा भइरहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण विशेष सम्पर्क कार्यालयका प्रमुख भुवनेश्वर लामिछानेले बताए। उनका अनुसार सोमबार एकैदिन विभिन्न गाविसका ९ हजारभन्दा बढी पीडितलाई बैंकमार्फत पहिलो किस्ता उपलब्ध गराइएको छ । योसमेत पहिलो किस्ता ५० हजार पाउने पीडित लाभग्राहीको संख्या ३१ हजार ५ सय ३३ पुगेको छ।

                ‘अनुदान वितरणले बल्ल गति लिएको छ । अझै तीव्रता पाउँछौं,’ चौतारा नगरपालिकाको कार्यकारी अधिकृतको भूमिकामा समेत रहेका लामिछानेले नागरिकसँग भने । गत वर्ष वैशाख १२ को भूकम्पबाट सर्वाधिक क्षतिग्रस्त सिन्धुपाल्चोकका पीडित लाभग्राहीमध्ये झण्डै ४० प्रतिशतले पहिलो किस्ता पाएका हुन्। हिमाली गाविस हगाम, हेलम्बु, तातोपानी, पाङताङ, बरुवा, बाँसखर्क, गुम्बा, गुन्सा गोल्चे, घोर्थली, चकटी, ठूलोधादिङ लगायत २९ गाविसका पीडित विभिन्न बैंक मार्फत अनुदान बुझिरहेका छन्।

                चौतारा र मेलम्ची नगरपालिकाका पीडितले यसअघि नै पहिलो किस्ता पाइसेका छन् । दुई नगरपालिका र ६८ गावस रहेको यो जिल्लामा पहिलो चरणमा अनुदान पाउने लाभग्राहीको संख्या ७८ हजार ५ सय ३७ रहेको छ । दुबै नगरपालिका र ५९ गाविसका ६६ हजार पीडितसँग अनुदान सम्झौता भइसकेको प्रमुख लामिछानेले बताए। उनकाअनुसार आठ गाविसका पीडितसँग सम्झौता भइरहेको छ । ‘केही साताभित्रै सम्झौता सक्दैछौं,’ उनले भने।

                बिवादका कारण तौथली गाविसमा अनुदान सम्झौता स्थगित छ । अनुदान पाउने लाभग्राहीको सूचीमा धेरै पीडित छुटेको भन्दै उक्त गुनासो समाधान नभएसम्म सम्झौता नगर्ने अडानमा स्थानीय छन्। समस्या सल्टाउन प्रयास भइरहेको लामछिाने बताउँछन्। प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीको सिन्धुपाल्चोक भ्रमण र त्यतिबेलै परिवर्तित सरकारका प्रधानमन्त्री पुष्पकमल दाहालले ४५ दिनभित्र ११ जिल्लाका ५ लाख लाभग्राहीलाई पहिलो किस्ता उपलब्ध गराइसक्ने घोषणापछि सम्झौता र अनुदान वितरणले तीव्रता पाएको हो ।

                प्राधिकरण बनेको सात महिनापछि त्यसका प्रमुख ज्ञवालीले सबैभन्दा बढी प्रभावित सिन्धुपाल्चोकको गत साउन २५ गते अनुगमन भ्रमण गरेका थिए । पीडितको गुनासा र प्रधानमन्त्रीको निर्देशनपछि प्राधिकरणले समेत वितरणलाई तीव्रता दिँदै अनुगमन गर्ने जस्ता कार्यक्रमसहितको एक महिने अभियान सञ्चालन गरिरहेको छ। ‘प्रधानमन्त्रीले घोषणा गरेको ४५ दिनभित्र जिल्लाका सबै लाभग्राहीलाई पहिलो किस्ता दिइ सक्छौं,’ प्राधिकरण विशेष कार्यालय प्रमुख लामिछानेले दाबी गरे।

                अन्योल, जनशक्ति अभाव, अपूरो तयारी लगायत कारण भूकम्प गएको दिन वैशाख १२ मा पुनर्निर्माण अभियान थालनी गर्दै अनुदान सम्झौता थालेपनि अघि बढ्न सकेन । प्राधिकरणले चौतारा नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत लामिछानेलाई विशेष कार्यालयको समेत जिम्मेवारी दिएपछि धिमा गतिमा भएपनि बल्ल अनुदान सम्झौता र पहिलो किस्ता वितरण अघि बढेको थियो। नयाँ आर्थिक वर्ष सुरु भएका कारण अनुदान निकासा आउन समय लाग्दा एक साता किस्ता वितरण रोकिएको लामिछाने बताउँछन्।

                किस्ता वितरण गर्न प्राधिकरणले वैशाखमै १ अर्ब ५७ करोड रुपैयाँ निकासा पठाएको थियो । नयाँ आर्थिक वर्ष सुरु भएपछि थप ३ अर्ब रुपैयाँ खर्चको अख्तियारी प्राधिकरणले दिइसकेको छ । साउन अन्तिम २५ गतेसम्म ३ हजार २ सय २० पीडितले मात्र पहिलो किस्ता पाएका थिए । झण्डै दुई साताबीचमा थप २८ हजार भन्दाबढी लाभग्राहीले पहिलो किस्ता अनुदान पाउन सकेका हुन्।

                विशेष सम्पर्क कार्यालयका अनुसार १६ बैंकका २४ शाखामार्फत पीडितलाई अनुदान वितरणको काम भइरहेको छ । बैंक शाखा चौतारा, जलवीर, बाह्रविसे, खाडीचौर, मुडे र मेलम्चीमा मात्र रहेकाले खाता सक्रिय बनाउन र रकम निकाल्न पीडितलाई सास्ति भने निकै छ । खासगरी हिमाली गाउँका पीडितलाई बैंकसम्म पुग्न दुई दिन पैदलै हिँड्नु पर्ने बाध्यता छ।

                क्षति लगत सर्वेक्षण छुटेको र प्राविधिक त्रुटी भएको भन्दै अहिलेसम्म साढे १२ हजार गुनासा संकलन भएको छ । गुनासोलाई सम्बोधन गर्ने काम अझै थालिएको छैन । संकलित पीडितका गुनासा कम्प्यूटरमा व्यवस्थापन गर्ने काम भइरहेको प्रमुख लामिछानेले जनाए ।

सुरु भएको छैन पुनर्निर्माण   

                अनुदान वितरणमा भएको ढिलाइ र बर्खामा खेतीपातीमा जुट्नु पर्ने बाध्यताले आवास पुनर्निर्माण भने सुरु हुन सकेको छैन । सदरमुकाम चौतारा, बाह्रविसे र मेलम्चीमा भने सीमित संख्यामा आवास पुनर्निर्माण सुरु भएको देख्न सकिन्छ । अधिकांश भूकम्प पीडित अझै जस्ताको अस्थायी टहरोमै आश्रित छन् ।

                खेतीपातीको मैजारो भर्खर सकिएकाले पीडित बल्ल पुनर्निर्माणमा जुट्ने मानसकितामा छन्। रातारात पुनर्निर्माण सम्पन्न नहुने भएकाले पीडितले यो वर्ष पनि दसैं, तिहार जस्ता चाडबाड नयाँ घरमा मनाउन पाउने छैनन् । टहरोमै रम्नु पर्ने बाध्यता छ । दसैं, तिहारपछि मात्र ठूलो संख्यामा पुननिर्माणको लहर चल्ने अनुमान छ । पीडित अनुदान जम्मा भएको बैंक खाता आवश्यक कागजात बुझाएर सक्रिय बनाउने मात्र गरिरहेका छन् । केही पीडितले दुई–चार रुपैयाँ व्याज थपिने आशमा पहिलो किस्ताको ५० हजार अन्य बैंकमा सारेका छन् ।

प्रकाशित: १४ भाद्र २०७३ १२:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App