५ वैशाख २०८१ बुधबार
समाज

आमाले झाडी, बाबुले काख

काठमाडौं-सन्तानको माया बाबुलाई बढी हुन्छ कि आमालाई ? प्रश्न नझर्दै जवाफ आउँछ– आमालाई! किनकि, नौ महिना गर्भमा पाल्दा र जन्माउँदाको पीडा जसले भोगेकी हुन्छन्।

एउटा घटनाले भने यो सामाजिक मानक नै उल्ट्याइदिने परिणाम दिएको छ । आमाले पोइल जानुअघि झाडीमा फ्याँकेको बच्चा तीन वर्षपछि बाबुले भेट्टाए र आफ्नै मुटुजस्तो गरी सम्हालिरहेका छन् ।

सुन्दै मुटु हल्लने यो घटनाले पछिल्लो मोड लिएको करिब ७ महिना भयो । रामेछाप, डडुवा–७ का कमल तामाङलाई ‘छाडिजाने’ प्रति कुनै गुनासो छैन । नागरिकसँग मंगलबार भृकुटीमण्डपस्थित बालबालिका खोजतलास केन्द्रमा गफिँदै तामाङले सुनाए, ‘निष्ठुरले मरोस् भनेर फ्याँकेको छोरो तीन वर्षपछि फेला पारेँ, साह्रै खुसी छु ।’

यस्तो थियो घटना

कमलका बाबु सोमप्रसाद गाउँमा बुँगुर पालन गरेर जीविका चलाउँदै आएका थिए । उनी सानैदेखि बुबालाई सघाउँथे । छोराको उमेर पुगेपछि सोमप्रसादले नागी–७, रामेछापकी सुनिता घिसिङसँग बिहे गरिदिए, ०६७ माघमा । त्यतिबेला कमल १९ वर्षका थिए, सुनिता २२ ।

प्रहरीलाई कमलले दिएको बयानअनुसार उनी पत्नीलाई असाध्यै माया गर्थे । जे चाह्यो त्यही सामान किनिदिन्थे । सुनिता पनि कमलसँग निकै खुसी थिइन् । दुःखसुख साट्दै जिन्दगी चलाउँदै थिए ।

१६ महिनापछि छोरो जन्मियो । खर्च बढ्दै गयो । कमलले सोचे– विदेश गएर कमाऊँ अनि पत्नी, छोरा र घरपरिवारलाई अझ सुखसन्तोष दिऊँ ।

छोरो जन्मेको ६ महिनापछि कमल विदेश गए । काम राम्रै थियो । आम्दानी पनि राम्रै हुन थाल्यो । पैसा घर पठाइरहेका थिए उनी । दम्पतीबीच फोनमा कुरा भइरहन्थ्यो ।

त्यसको ६ महिनापछि कमलको जिन्दगीमा ठूलो पहिरो गयो ।

कमलले नराम्रो खबर पाए– पत्नी र छोरो दुवै घरबाट बेपत्ता छन् । घरबाट काठमाडौं जान भनेर हिँडेकी, कतै अत्तोपत्तो छैन ।

घरपरिवारले दुई वर्ष खोजी गर्दा पनि पत्ता लागेन । प्रहरीले खोजी गर्दा पनि पत्ता नलागेपछि उनले आस मारे ।

जिउने सहारा नै हराएझैं लाग्न थाल्यो कमललाई । खाडी मुलुकमा चुरोट र रक्सीको  सहराले पीडा भुलाउन खोज्थे । जति भुल्न चाहन्थे, त्यति नै सम्झना आउँथ्यो पत्नी र छोराको ।

विदेश गएको चार वर्ष पुग्दा पनि कमललाई घर फर्कन मन लागेन । उनलाई लाग्थ्यो, जीवनमा अब केही छैन । गैरकानुनी रुपमा उनी विदेशै बस्न थाले । एकदिन गैरकानुनी रुपमा काम गरिरहेको भेटेर प्रहरीले पक्राउ ग¥यो, महिनादिन थुनामा राखेर नेपाल फर्काइदियो ।

उनी २०७२ कात्तिकमा नेपाल फर्किए । पत्नी र छोराको चिन्ताले सताउन छाडेको थिएन । रामेछाप बस्न मन नलागेर कमल काठमाडौं आए । ‘पत्नी र छोरो सम्झेर सधैं रोइरहन्थेँ,’ उनले सुनाए ।

... ... ...

काठमाडौं बसाइको २५ औं दिन उनी रत्नपार्कतिर टहलिइरहेका थिए । उनका आँखाअगाडि त्यही दृश्य प¥यो जुन उनी चार वर्षदेखि खोजिरहेका थिए । पत्नी सुनिता अचानक त्यहीँ देखा परिन् । उनले हत्तपत्त समाते र सोधे– मेरो छोरो कहाँ छ ?

डरले केहीबेर सुनिता केही बोलिनन् ।

‘एकछिन त केही बोलेन (बोलिन),’ कमलले सुनाए, ‘केही बेरपछि सुन्नै नसक्ने कुरा सुनायो (सुनाई) ।’

‘छोरालाई त मैले त्यतिबेलै साँगाचोकको झाडीमा फालिदिएको थिएँ,’ कानमा सुनिताको यत्ति बोली मात्र परेको थियो, कमलले त्यो भन्दा बढी सुन्नै सकेनन् ।

बल्ल थाहा पाए, पत्नी सुनिता उनलाई छाडेर रामेछापकै केटासँग भागेकी रहिछ, छोरालाई तीन वर्षअघि नै (०६९ माघ) झाडीमा फालेर ।

कमल छाँगाबाट खसेझैं भए । पत्याउनै सकेनन् र फेरि सोधे । ‘तिमी जहाँ जानु छ जाऊ तर मेरो छोरो कहाँ छ, मलाई बताइदेऊ,’ कमलले याचना गरे । सुनिताको जवाफ भने पटक–पटक उही थियो ।

उनले सोचे– झन्डै वर्षदिनको बच्चा यसरी फाल्दैमा मर्दैन, पक्कै कतै हुर्किरहेको होला । त्यसपछि उनी धुइँपत्ताल छोराको खोजीमा निस्किए ।

कमलले प्रहरीमा उजुरी गरे । प्रहरीले बालबालिका खोजतलास समन्वय केन्द्रको हटलाइन नम्बर १०४ मा फोन गरेर बुझ्यो । खोजतलास समन्वय केन्द्रको सहयोगमा उपत्यकामा रहेका दसवटा बालसंरक्षण गृहमा अभिभावक पत्ता नलागेका सबै बालबालिकाबारे खोजपडताल ग¥यो । यही क्रममा पत्ता लाग्यो– श्री समुदाय, वातावरण तथा बालविकास संघ (ओसिड नेपाल) मा तीन वर्षअघि एउटा बालक ल्याइएको थियो। भक्तपुर, नंखेल–३, साँगाचोकबाट खोजतलास समन्वय केन्द्र ल्याइएको त्यो बालकको फाइल हेर्दै र अनुसान्धान गर्दै जाँदा सुनिताले भनेझैं बच्चा भेटिएको समय, ठाउँ मिल्यो ।

‘त्यसपछि मेरो र बालसंरक्षण गृहमा राखेको बच्चाको डिएनए चेक गरे, मिल्यो, त्यही बच्चा रहेछ मेरो छोरो,’ कमलले त्यतिबेला थाम्नै नसकेको खुसीको बयान गरे ।

खोजतलास समन्वय केन्द्रका तत्कालीन अधिकृत सन्तोषचन्द्र अधिकारीले बच्चाको डिएनए टेस्ट र समयतालिका सबै मिलेको प्रमाणित गरी बच्चा सम्बन्धित बाबुलाई हस्तान्तरण गरिएको उनले सुनाए ।

अधिकारीले भने, ‘खोजी गर्दै जाँदा सुनिताले दिएको बयानकै आधार, समय मिल्यो, केन्द्रले पठाएकै बालगृहमा बच्चा  हुर्कैदै रहेछ, हामीले बच्चा उसको बाबुलाई हस्तान्तरण ग¥यौं ।’

कमल त्यसयता निकै खुसी छन् ।

‘फेरि मेरो जीवनमा आशा र भरोसा फर्किएको छ,’ उनले भने, ‘अहिले यही छोरो पालनपोषण गरेर बाँचिरहेको छु ।’

प्रकाशित: १५ भाद्र २०७३ ०१:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App