coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

गाडी कर्जामा बैंकले ल्याए नयाँ स्किम

काठमाडौं-बैंकहरुले गाडी खरिदका लागि नयाँ स्किम ल्याएका छन्। उनीहरुले भृकुटीमण्डपमा मंगलबारदेखि सुरु नाडा अटो सोलाई लक्षित गरेर गाडी खरिदमा सस्तो ब्याज दर र सेवा शुल्क सहितको नयाँ स्किम ल्याएका हुन्।

बैंकले कर्जाको ब्याजदर घटाएर ६–७ प्रतिशतमै सवारी कर्जा उपलब्ध गराउन थालेका छन् । बैंकले कर्जाको ब्याजदर मात्र झारेका छैनन् सेवा शुल्क पनि घटाएका छन् । ०.२५ प्रतिशतदेखि ०.७५ प्रतिशतसम्म शुल्क लिने बताएका छन् । यसअघि यस्तो कर्जाको अतिरिक्त सेवा शुल्क एक प्रतिशतभन्दा माथि हुन्थ्यो।

स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले वार्षिक ६.२५ प्रतिशत ब्याजदरमा अटोलोन उपलब्ध गराउने घोषणा गरेको छ । गाडी खरिदका लागि ग्राहकलाई ६० प्रतिशतसम्म ऋण दिने योजना उसले ल्याएको छ।

एनएमबी बैंकले ६.४९ प्रतिशत ब्याजदरमा अटोलोन उपलब्ध गराउने भएको छ । उक्त कर्जा बढीमा १० वर्षसम्मका लागि हुने बैंकको भनाइ छ ।

हिमालयन बैंकले वार्षिक ६.५० प्रतिशत (व्यक्तिगत) र वार्षिक ९ प्रतिशत (व्यावसायिक) ब्याजदरमा सवारी साधन कर्जा उपलब्ध गराउने भएको छ । बैंकले कर्जा सेवा शुल्कमा समेत विशेष छुट दिई ०.२५ प्रतिशत मात्र निर्धारण गरेको छ ।

बैंकले व्यक्तिगत सवारी साधनका लागि कुल मूल्यको ८० प्रतिशतसम्म कर्जा उपलब्ध गराउने भएको छ । त्यस्तो कर्जा भुक्तानीको अवधि ८ वर्ष रहने बैंकको भनाइ छ । बैंकले व्यावसायिक प्रयोजनका सवारी साधनको लागि मूल्यको ७० प्रतिशतसम्म कर्जा उपलब्ध गराउने र कर्जा भुक्तानीको अवधि ५ वर्ष रहने जानकारी दिएको छ ।

एनआइसी एसिया बैंकले आकर्षक ब्याजदरमा अटोलोन उपलब्ध गराउने भएको छ। व्यक्तिगत र व्यवसायिक प्रयोजनका लागि बैंकले ७ वर्षसम्म उक्त कर्जा उपलब्ध गराउने भएको छ। ‘हाक्नुहोस अब आफ्नो सपनाको गाडी’ नारासहितको योजना बैंकले ल्याएको छ।

लक्ष्मी बैंक लिमिटेडले पनि ६.९९ प्रतिशत ब्याजदरमा अटोलोन उपलब्ध गराउने योजना ल्याएको छ । ९० प्रतिशतसम्म कर्जा उपलब्ध गराउने लक्ष्मी बैंकका रिटेल फाइनान्सियल सर्भिसेजका एसिष्टेन्ट रिलेसनसिप मेनेजर अमोलमान अमात्यले जानकारी दिए । उक्त कर्जाका लागि बैंकले ०.५ प्रतिशत सेवा शुल्क तोकेको छ।

ग्लोबल आइएमई बैंकले पनि ६.९९ प्रतिशत ब्याजदरमा अटोलोन उपलब्ध गराउने भएको छ । ८० प्रतिशतसम्म सवारी साधन कर्जा उपलब्ध गराउने उक्त कर्जाको अवधि अधिकतम ७ वर्षको हुने छ ।

मेगा बैंकले ७ प्रतिशत ब्याजदरमा ८० प्रतिशतसम्म अटोलोन उपलब्ध गराउने बताएको छ । ७ वर्षसम्मको कर्जा अवधि रहने र २ दिनमै कर्जा उपलब्ध गराउने सहितको योजना बैंकले ल्याएको छ ।

माछापुच्छ«े बैंकले ६.७५ प्रतिशत ब्याजदरमा अटोलोन दिने भएको छ । सेवा शुल्क ०.६५ प्रतिशत रहेको उक्त सवारी साधन कर्जा बैंकले ७ वर्षसम्म उपलब्ध गराउने भएको छ । ३ कार्य दिनमा ऋण उपलब्ध गराउने र ८० प्रतिशतसम्म लगानी गर्ने बैंकले जानकारी दिएको छ।

जनता बैंकले ७ प्रतिशत ब्याजदरमा अटोलोन उपलब्ध गराउने भएको छ । ३ कार्य दिनभित्रै उक्त कर्जा उपलब्ध गराउने बैंकको भनाइ छ । ७ वर्षसम्मका लागि उपलब्ध गराउने उक्त कर्जा बढीमा ८० प्रतिशतसम्म हुने छ ।

सानिमा बैंकले पनि आकर्षक ब्याजदर, सरल मासिक किस्तामा भुक्तानी, सहज प्रक्रिया र छिटो छरितो सेवा दिने योजना सहितको अटोलोन ल्याएको छ । ‘गाडी चढ्ने सपना सानिमा बैंकले गर्छ पूरा’ गर्ने बैंकको भनाइ छ । बैंकले ६.९९ प्रतिशत ब्याजदरमा उक्त कर्जा दिने भएको छ । सात वर्षका लागि बैंकले उपलब्ध गराउने उक्त कर्जा ८० प्रतिशतसम्म उपलब्ध गराउने योजना रहेको सानिमा बैंकका अनिल थापाले जानकारी दिए।

सवारी साधन खरिद गर्न इच्छुक व्यक्तिले नाडा अटो सोमा रहेका बैंकका काउन्टरमा आफ्नो नाम दर्ता गराई कर्जा प्रक्रियामा सहभागी हुन सक्ने जानकारी दिएका छन् ।

दसैं नजिकिदै जाँदा व्यवसायीले अटो सो गरेर धेरैभन्दा धेरैलाई सरल र सहज उद्देश्यले गाडी बिक्री गर्नु आयोजकको उद्देश्य हो। ग्राहकलाई फाइनान्सिङ गर्न सजिलो होस् भनेर बैंकले यो बेला गाडी कर्जामा विभिन्न स्किम ल्याउँछन्।

अन्य बैंक तथा वित्तीय संस्थाले पनि कर्जा स्किम घोषणा गरिरहेका छन् । कन्जुमर बैंकिङतर्फ सवारी साधनमा बैंक बढी फोकस भएका छन्। उनीहरुले नाडा अटो सोमा गाडी कर्जाको ब्याजदर सस्तो राखेका छन्।

 नेपालमा वार्षिक रुपमा गाडीको व्यापार बढ्न थालेका कारण पनि बैंक यो कर्जातिर आकर्षित भएका छन्। गाडी कर्जा खासै जोखिमपूर्ण नभएकाले बैंकले आम्दानी स्रोतका आधारमा सजिलै कर्जा उपलब्ध गराउँदै आएका छन् ।

प्रकाशित: १५ भाद्र २०७३ ०२:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App