७ वैशाख २०८१ शुक्रबार
समाज

‘नेपालभाषा आइसियूमा छ’

काठमाडौं– पछिल्लो समय मातृभाषा प्रयोग गर्ने नेवारी समुदायको संख्या घट्दै गएकोमा सरोकारवालाले चिन्ता र चासो व्यक्त गरेका छन्। नेपालभाषा क्लबको १५ दिने उद्घोषण तथा वाक क्षमता अभिवृद्धि तालिम समापनमा वक्ताले नेपालभाषा संकटमा परेको स्वीकार्दै जगेर्ना अभियान चलाउन जोड दिए।

नेवार समुदायका अगुवा तथा भाषासेवी डा. महेशमान श्रेष्ठले नेपालभाषा बिरामी भएर आइसियूमा सुतेको अवस्था भएको बताए । सरकारको अदूरदर्शी नीतिका कारण नेपालभाषालगायत अन्य भाषा संकटमा परेको आरोप समेत उनले लगाए । डा. श्रेष्ठले काठमाडौंमा नेपालभाषा बोल्नेको संख्या २ प्रतिशतमा सीमित भएकोमा चिन्ता जनाउँदै सबैले आफ्नो ठाउँबाट भाषा बचाउ अभियान थाल्न आह्वान समेत गरे । ‘घरमा सबैले आफ्ना सन्तानलाई मातृभाषा सिकाउन आवश्यक छ । माध्यम भाषा स्वतः सिक्ने भएर आफ्नो मातृभाषा जोगाउन अभियान थाल्नु अत्यन्त जरुरी छ,’ उनले भने ।

‘नेवाः बस्ती नेवाः स्कूल’का अभियन्ता दीपक तुलाधरले विद्यालयको पाठ्यक्रममा मातृभाषा राख्न जोड दिए । बालबालिकाले मातृभाषा पढ्न पाउने अधिकार स्थापित गर्न समेत विद्यालयमा आफ्नो भाषामा अध्यापन गर्न/गराउन उनले माग गरे ।

क्लबकी अध्यक्ष कमला मानन्धरले मातृभाषाको आवश्यकतासम्बन्धी जनचेतना जगाउने ब्यानर प्रदर्शन, क्षमता वृद्धि गराउने कार्यक्रमदेखि अन्य सम्बन्धित क्षेत्रलाई सचेत गराउँदै आएको बताइन् । उनले निकट भविष्यमा भाषा र लिपि प्रशिक्षणलगायत अन्य तालिम सञ्चालन गर्ने प्रतिबद्धता जनाइन्।

प्रकाशित: १५ भाद्र २०७३ ०३:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App