coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

भूकम्पपीडितका नाममा पौने चार करोड ठगी

काठमाडौं- भूकम्पपीडितका उठाएको राहत रकम ठगी गर्न काठमाडौंमा दर्ता भएको एउटा गैरसरकारी संस्थाले सप्तरीमा नक्कली साधारण सभा गरेको भेटिएको छ। ठगी आरोपमा संस्थाका अध्यक्ष र महासचिव पक्राउ परेपछि भूकम्पपीडितका नाममा आएको अनुदानमा भएको 'ब्रह्मलुट' बाहिर आएको हो।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौंमा केन्द्रीय कार्यालय रहेको 'बुद्धिस्ट जनाधिकार मञ्च' नामक गैरसरकारी संस्थाका अध्यक्ष सकुन शेरचन्द र महासचिव अमरकान्त चौधरीलाई ठगी अरोपमा पक्राउ गरेको हो।

ब्युरोका अनुसार  पक्राउ परेका दुवैले जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा २०७० सालमा शेरचन्दको अध्यक्षतामा स्थापना भएको संस्थाका नाममा राहत तथा सहयोगका लागि विदेशी व्यक्ति तथा संस्थाबाट जम्मा भएको रकम हिनामिना गर्ने उद्देश्यले नक्कली साधारण सभा, आफूअनुकूल विधान र पदाधिकारी चयन गरेका थिए। संस्थामा पटकपटक गरी ३ करोड १७ लाख ४६ हजार ५ सय एक रुपैयाँ रकम संस्थाको बैंक खातामा जम्मा भएको थियो। शेरचन्द रचौधरीसहित अन्य पदाधिकारीको मिलेमतोमा एक करोड ६७ लाख रुपैयाँ हिनामिना भएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।

संस्थाका पदाधिकारीसँग रकम खर्च गर्ने विषयमा विवाद भएपछि शेरचन्द र चौधरीले योजना बनाएर आफूअनुकूल पदाधिकारी चयन गरेका थिए। संस्थाका तत्कालीन उपाध्यक्ष रामचन्द्र श्रेष्ठ र महासचिव दीपक पुनमगरलाई थाहै नदिई उनीहरुले काठमाडौंमा केन्द्रीय कार्यालय रहेको उक्त संस्थाको सप्तरीमा साधारण सभा गरेका थिए।

ब्युरोका एसपी दिवेश लोहनीका अनुसार साधारण सभामा ९ सय ९५ चौधरी थरका व्यक्तिको हस्ताक्षर रहे पनि ठेगाना खुलेको छैन। यस्तै, सोही आधारमा नयाँ कार्यसमिति चयन गर्दै पुरानो भंग गरेका थिए। 'बैंक खाता सञ्चालनका लागि कठिनाइ भएपछि नक्कली साधारण सभा नक्कली व्यक्तिका आधारमा बनाएर आर्थिक कारोबार गरेको पाइयो,' एसपी लोहनीले भने। उनका अनुसार नयाँ कार्यसमितिले ठगी भएको रकम खर्च गरेको थियो।

नयाँ कार्यसमितिमा रहेका अध्यक्ष शेरचन्द, महासचिव चौधरी र कोषाध्यक्ष लीला लामाको दस्तखतबाट चेकमार्फत कारोबार गर्ने गरी बैंकखाता खोलिएको थियो। नक्कली साधारण सभाबाटै बहुमतले विधान संशोधन गरेको देखाउँदै एक करोड ५० लाखसम्म अध्यक्ष र महासचिवले खर्च गर्नसक्ने ब्यवस्था विधानमा गरिएको हो।

अध्यक्ष, महासचिव र कोषाध्यक्षको दस्तखत चल्ने भएपछि  प्रभु बैंकमा खाता खोली संस्थाको खातामा रहेको रकममध्ये एक करोड ६७ लाख रुपैयाँ बराबरको रकम भुकम्प पीडितलाई राहत वितरण गरेको देखाई ठगी भएको हो। यसका लागि किर्ते बिल भर्पाई तथा सम्बन्धित गाउँ विकास समिति र जिल्ला प्रशासन कार्यालयबाट राहत बाँडेको भनी सिफारिससमेत गराएको अनुसन्धानमा देखिएको हो।

संस्थाले राहत र पुनर्निर्माणका लागि भन्दै अन्तर्राष्ट्रिय व्यक्ति र संस्थाबाट पैसा उठाएका थिए। अमेरिकास्थित गो फन्ड मी, मलेसियाको शाक्यमुनि फाउन्डेसन र दुबईको मेकान्नीजस्ता संस्था तथा सयौं व्यक्तिबाट राहतस्वरुप ३ करोड ७० लाख भन्दा बढी रकम उठाएका थिए। ब्युरोको अनुसन्धानमा २०७१ चैतदेखि २०७२ असोजसम्म संस्थाको खातामा उक्त रकम जम्मा भएको हो।

भूकम्पपीडितका लागि भन्दै चामल, बाँस, पाललगायत सामग्री सप्तरीमा खरिद गरी हेलम्बु, ओखरपौवा, रामेछाप र मुस्ताङसम्म पुर्‍याएको नक्कली कागजपत्र प्रहरीले फेला पारेको छ। संस्थामा जम्मा भएको सम्पूर्ण रकम महासचिव चौधरीले आफ्नै नाममा चेक काटेर आफंै निकाली खर्च गरेको ब्युरोले जनाएको छ। चौधरीले राहत बाँडेको भनी गाविस सचिव तथा कतिपय ठाउँमा सहायक प्रमुख जिल्ला अधिकारीबाट समेत हचुवामा निस्सा लिई राहत बाँडेको प्रमाण जुटाउन प्रयास गरेको अनुसन्धानमा खुलेको हो।

ब्युरोका अनुसार विधानमा संस्थाको कार्यालय महाराजगन्जमा उल्लेख रहे पनि रातोपुलबाट कामकारबाही गर्ने गरेका थिए। पछि कार्यालयको भाडाका सम्बन्धमा विवाद आएपछि  महासचिव चौधरीले कार्यालयका कागजात, लेटरप्याड र छाप झोलामै राखी कार्यालयको काम गरिरहेको ब्युरोले जनाएको छ ।

संस्थाको लेखापरीक्षण स्वतन्त्र लेखापरीक्षकबाट गराउनुपर्नेमा संस्थाकै  उपाध्यक्षका श्रीमानको लेखापरीक्षण फर्मबाट गराइएको, कुनै बिलबिना नै संस्थाले उपलब्ध गराएको टिपोटकै आधारमा खर्चको लेखापरीक्षण गरेको, लेखापरीक्षण प्रतिवेदनमा मिति नै उल्लेख नगरिएको देखिएपछि ब्युरोले लेखापरीक्षकलाई समेत अनुसन्धान दायरामा ल्याउने भएको छ।

'विदेशी व्यक्ति तथा संस्थाबाट अनुदान लिँदा समाजकल्याण परिषद्को स्वीकृति लिनुपर्ने प्रावधान रहे पनि यस्तो गरेको कहीँकतै देखिएन', एसपी लोहनीले भने।

उनका अनुसार साधारण सदस्यको भेलाले पारित गरेको बजेटको अधीनमा रही खर्च गर्नुपर्नेमा सो नगरेको उजुरी जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा परेपछि गृह मन्त्रालय हुँदै अनुसन्धानको जिम्मेवारी ब्युरोमा आएको थियो। ब्युरोले थप केही व्यक्ति फरार रहेको जनाए पनि नाम खुलाउन चाहेन।

प्रकाशित: १६ भाद्र २०७३ ०२:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App