१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीको भारत भ्रमण तयारी तीब्र, ठूला सम्झौता नहुने

काठमाडौं-  प्रधानमन्त्रीले पुष्पकमल दाहालले आफ्नो आसन्न भारत भ्रमणको तयारी तीब्र पारेका छन्। दाहालले भ्रमणको तयारी स्वरुप आइतबार पराराष्ट्र, गृह, अर्थ, आपुर्ती, उर्जामन्त्री र सचिवहरुसँग बैठक समेत गरेका छन्। उनले भ्रमणका एजेण्डा तय गर्न मन्त्रालयहरुलाई निर्देशन समेत दिए।

तराईको विकासको कोशेढुंगा मानिएको हुलाकी राजमार्ग आयोजना दशकौंदेखि अलपत्र अवस्थामा छ। भारतीय सहयोगको सो आयोजनामा पछिल्ला वर्षहरुमा एकपछि अर्को सम्झौता थप भए पनि निर्माण कार्य अघि बढ्न सकेको छैन।

भ्रमणको तयारीको लागि यो प्रारम्भिक बैठक भएको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले नागरिकन्युजलाई जानकारी दिए। यसपछि दोस्रो र तेस्रो चरणको तयारी बैठकहरु हुनेछन्।

 'तयारीको लागि यो पहिलो चरणको बैठक हो', मल्लले भने,'दोस्रो चरणमा विज्ञहरु र तेस्रो चरणमा राजनीतिक नेतृत्वहरुसँग बसेर भ्रमणका एजेण्डा तय गरिनेछ।'

दाहाल मन्त्रालयले ल्याएको प्रस्ताव पछि विज्ञहरुसँग बसेर त्यसलाई ठोस बनाउने तयारीमा छन्। विज्ञहरुको छलफल पछि उनले राजनीतिक दलका नेताहरुसँग बैठक बस्ने र प्रस्तावबारे पुन छलफल गरेर थपघट गर्ने तयारीमा रहेका छन्। यसो गर्दा भ्रमणका एजेण्डा विवादीत नहुने दाहालले वुझाइ रहेको छ।

उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले भारत भ्रमणमा धेरै सम्झौता नहुने नागरिकन्युजसँग बताए। उनले भने, 'धेरै सम्झौता हुँदैनन् तर महत्वपूर्ण सम्झौताहरु हुन्छन्।'

प्रधानमन्त्री कार्यालयले दाहालको भारत भ्रमणमा नयाँ ठूला आयोजनाबारे सम्झौताको तयारी गरेको छैन। पहिलेदेखि नै तयारी भइरहेका विषयमा मात्र भारतसँग सम्झौता हुने अर्थमन्त्रीले बताए।

'हुलाकी राजमार्ग र पावर ट्रेडिङ एग्रिमेन्ट (पीटीए)बारे छलफल हुनेछ', उनले भने। तराईको विकासको कोशेढुंगा मानिएको हुलाकी राजमार्ग आयोजना दशकौंदेखि अलपत्र अवस्थामा छ। भारतीय सहयोगको सो आयोजनामा पछिल्ला वर्षहरुमा एकपछि अर्को सम्झौता थप भए पनि निर्माण कार्य अघि बढ्न सकेको छैन।

महराले प्रधानमन्त्रीको भारत भ्रमण तीन दिन लामो हुने उल्लेख गरे। दाहालले भदौ ३० देखि दक्षिणी छिमेकी भारतको भ्रमण गर्नेछन्।

असोज ३ गते संयुक्त राष्ट्रसंघीय ७१ औं महासभामा सहभागी हुन अमेरिकाको न्युयोर्क जाने कार्यक्रम रहेकाले पनि दाहालको भारत भ्रमण ३ दिनमा सीमित गरिएको प्रधानमन्त्री निकट स्रोतले बतायो। ३ गते संविधान दिवस मनाएर उनी न्युयोर्क प्रस्थान गर्ने तय भएको छ।

करिब डेढ महिना पहिले दोस्रो पटक प्रधानमन्त्री बनेका दाहालको यो पहिलो भारत भ्रमण हो। पहिलो पटक प्रधानमन्त्री हुँदा सरकार प्रमुखले पहिला भारत भ्रमण गर्ने परम्पराको 'क्रमभंग' गर्दै चीन गएका थिए।

प्रकाशित: १९ भाद्र २०७३ १४:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App