८ वैशाख २०८१ शनिबार
अन्य

मेलम्चीको पानी अझै अनिश्चित

‘मेलम्चीको पानी कहिले आउला ?’ दशकौं देखिको जिज्ञास हो यो । सरकार बेलाबेलामा यसको मिति सार्वजनिक गर्छ । तर, पटकपटकको मिति गुर्जादा पनि मेलम्चीको पानी उपत्यकामा आएको छैन् । अझै, कति समय लाग्ने हो, यसको किटान सरकारसँग छैन्।

तर, मेलम्चीको पानी सुन्दरजलमा खसेको खण्डमा भने उपत्यकामा पानी साता दिनभित्रै पुग्ने निश्चित भएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले त्यसको लागि सबै काम सम्पन्न गरिसकेको छ । निर्देशनलयले पाइपलाइन ओछ्याउने काम सपन्नसँगै वितरणलाइनको पाइप परीक्षण समेत थालेको छ । परिक्षण थाल्नु भनेको पानी वितरणको लागि तयार हुनु हो ।मेलम्चीको पानी सुन्दरीजलमा आउनसाथ उपत्यकाबासीलाई वितरण गर्ने तयारी साथ धमाधम काम भइरहेको निर्देशनालयका निर्देशक  तिरेश खत्रीले बताए ।

मेलम्चीको पानी सुन्दरीजल  खस्ने बित्तिकै उपत्यकाबासीको घर–घरमा पानी वितरण गर्नेछौं,’ उनले भने, ‘अहिले सुन्दरीजलबाट पानी ल्याएर पाइप सरसफाई गरिरहेका छौं ।’ निर्देशनालयका अनुसार बिछ्याइएको पाइपमा लिकेज तथा प्रेसर परीक्षणको काम भइराखेको छ ।निर्देशनालयले पहिलेको योजनाअनुसार उपत्यकामा वितरण सञ्जालको लागि ६ सय ७० किलोमिटर र थोक वितरण प्रणालीअन्तर्गत ७७ किलोमिटर पाइप ओछ्याइसकेको छ ।

‘अब मेलम्चीको पानी आएमा हाम्रो कारणले समस्या हुँदैन,’ निर्देशक खत्रीले भने, ‘मेलम्ची पानीको लागि उपत्यकामा आवश्यक पूर्वाधार तयार गरिसक्यौं, मेलम्चीको पानी सुन्दरीजलमा आएकै हप्ता घरघरमा पानी पुराउँछौं ।’ काठमाडौंमा पानी वितरण गर्न निर्देशनालयबाट कुनै रोकावट नरहेको उनले बताए । पाइपलाइनमा पूर्ण क्षमतामा पानी पठाएर प्रेसर जाँच गरिरहेको उनले बताए । पाइपलाइनमा नियमित वितरण हुनेभन्दा बढी पानी राखेर परीक्षण गर्दा पनि कतै समस्या नभेटिएकाले मेलम्चीको पानी आएमा वितरणमा कुनै समस्या नहुने निर्देशनालयको दाबी छ।

निर्देशनालयका  पाइपलाइन विस्तारसँगै खानेपानीको भल्व जडान कार्य पनि अन्तिम चरणमा पुगेको जनाएको छ । मुख्य चोकहरुमा करिव एक हजार भल्वमध्ये हालसम्म ६ सय भल्व जडान भइसकेको निर्देशनालयले जनाएको छ । ‘मुख्य चोकहरुमा भल्व जडान अन्तिम चरणमा पुगिसक्यो,’ उनले भने,‘अबको केही महिनाभित्रै सम्पन्न गर्नेछौं ।’  निर्देशनालयले केही वर्ष अघि उपत्यकाको विभिन्न  नौं स्थानमा रिर्जभायर ट्याङ्की निर्माण थालेको थियो ।

२०७३ साल असारदेखि उपत्यकाको विभिन्न सडकमा खानेपानीको पाइपलाइन विस्तार गर्न सुरु गरेको थियो । निर्देशनालयका निर्देशक खत्रीले  रिर्जभायर ट्याङ्की तथा  पाइपलाइन विस्तारमा १४ अर्ब रुपैयाँ खर्च  भएको बताए । राजधानीको धुम्बाराही, कलंकी, चक्रपथ आसपासलगायत क्षेत्रमा पाइप बिछ्याउने काम भइरहेको छ । खत्रीका अनुसार पाइप बिछ्याइएका ठाउँमा भने लिकेज तथा प्रेसर परीक्षणको काम भइरहेको छ।

तयार भो खानेपानीको ट्याङ्की
काठमाडौं उपत्यका खानेपानी लिमिटेड मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयकाले मेलम्चीबाट आउने पानी संकलनको लागि नौं वटा रिजर्भावयर ट्याङकी निर्माण गरिरहेको छ । नौं वटा ट्याङ्की मध्ये हालसम्म आठ वटाको निर्माण सम्पन्न भइसकेको छ । ३० लाख  लिटर क्षमतादेखि सात करोड  ५० लाख लिटर क्षमताका ट्याङ्की रहेका छन् । अन्य स्थानका आठ ट्याङ्की निर्माण सम्पन्न भइसकेपनि भक्तपुरको कटुञ्जेमा रहेको जग्गा विवादको कारणले केही ढिला भएको हो ।

मेलम्चीबाट उपत्यका भित्रिने पानीको गुणस्तर ‘सुपरभाइजरी कन्ट्रोल डाटा एक्युजन (स्काडा)’ प्रणाली जडान गरेर कम्प्युटरबाटै गुणस्तर मापन गरिने भएको छ ।  ‘स्काडा  अत्याधुनिक प्रविधियुक्त प्रणाली हो । यो प्रविधिले वितरित पानीको सम्पूर्ण विवरण स्वचालित रूपमा संकलन गर्छ,’ निर्देशनालयका निर्देशक खत्रीले भने,‘ पाइपमा केही समस्या देखिएमा पनि नियन्त्रण कक्षबाटै समाधान गर्न सकिन्छ ।’ निर्देशनालयले  उक्त नियन्त्रण कक्ष महारागन्जमा राख्ने तयारी गरिरहेको छ ।

‘स्काडा’ प्रणाली जडान भएपछि पाइप र ट्यांकीमा ‘सेन्सर’ जडान हुन्छन् । सेन्सरले वितरित पानीको विवरण नियन्त्रण कक्षलाई दिन्छ । त्यसबाट पानीको बहाव, चुहावट र गुुणस्तर मापन हुन्छ । आवश्यता र पूर्तिको विवरण कम्प्युटरमा देखिन्छ । ट्यांकी रित्तिएको खण्डमा सेन्सरले जानकारी दिन्छ । ट्यांकीमा पानी भर्न नियन्त्रण कक्षबाटै ‘स्विच’ दबाए हुन्छ । ट्यांकी भरिएपछि कन्ट्रोल रुममै बसेर बन्द गर्न मिल्छ । निर्देशक  खत्रीका अनुसार उक्त प्रविधि एक वर्ष भित्रै जडान गरेर सञ्चालनमा ल्याइनेछ।

उपत्यकामा मागको एक चौथाई मात्रै आपूर्ति
काठमाडौँ उपत्यकामा खानेपानीको माग र आपूर्तिबीच ठूलो खाडल  भएकाले नै खानेपानीको अभाव देखिएको  छ । काठमाडौं उपत्यकामा दैनिक खानेपानीको माग ४१ करोड लाख ५० करोड लिटर छ । 

केयुकेएलले दैनिक करिब १० करोड ७२ लिटर पानी वितरण गर्दै आएको छ । १० करोड ७२ लाख लिटर मध्ये २० प्रतिशत पानी चुहावटमै सकिने केयुकेएलको दशौँ वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ। वर्षेनी चुवाहट बढ्दै गइरहेपनि केयुकेएलले चुवाहट रोक्नको लागि प्रभावकारी योजना ल्याउन सकेको छैन् । जसको कारणले उपभोक्ता खानेपानीको मार खेप्दै आइराखेका छन् । केयुकेएलका उपप्रवन्धक प्रकाशकुमार राईले खानेपानीको माग अनुसार आपूर्ति गर्न नसक्दा खानेपानीको अभाव भएको बताउँछन्।

‘उपत्यकामा खानेपानीको माग अत्याधिक छ,माग अनुसारको एक  चौथाई मात्रै पानी उपलब्ध गराउँदै आइराखेका छौँ,’उनले भने,‘खानेपानीको वितरणलाइन र भल्भ जीर्ण भएकाले पनि चुवाहट दर उच्च छ,त्यसैले खानेपानी व्यवस्थापनमा समस्या रहँदै आएको हो ।’  केयुकेएलका अनुसार  राणाकालिन–जीर्ण पाइपलाइन, पुरानो वितरण प्रणाली, बिग्रिएका भल्व ,प्रेसर, धरातलीय स्वरुपकै कारणले सहज रुपमा खानेपानी  वितरण गर्न नसकेको जनाएको छ । काठमाडौं उपत्यकामा केयुकेएलले २ लाख १८ हजार २  सय ९१ घरघुरीमा पानी उपलब्ध गराउँदै आएको छ। जारमार्फत दैनिक २० लाख लिटर र बोतलमार्फत करिब साढे दुई लाख लिटर पानी किनबेच हुने गरेको तथ्यांक व्यवसायीसँग छ ।

मेलम्ची चक्रपथभित्र सीमित
उपत्यकाबासीले तीन दशकदेखिको  मेलम्ची सपना अझै केही समय अझै पर्खिनुपर्ने देखिएको छ ।  मेलम्चीको पानी आएपनि चक्रपथभित्रका बासिन्दाले तत्कालै उपयोग गर्न नपाउने भएका छन् ।

मेलम्चीको पानी उपत्यकामा ल्याउने जिम्मा पाएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल), आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) का अनुसार चक्रपथभित्र कालीमाटी, महाराजगन्ज, सामाखुसी, स्वयम्भू र चक्रपथबाहिरका सुकेधारा, कपन, जोरपाटी, तीनचुली, बौद्ध, आरुबारी, गोपीकृष्णनगर, गल्फुटारलगायतका क्षेत्रमा वितरण सञ्जालको पाइप बिछ्याइएको छैन । मेलम्चीबाट आएको पानी चक्रपथबाहिरका स्थानमा त पुग्दैन नै ।

चक्रपथभित्रैका पनि तीन भागमध्ये एक भागमा मात्रै घरघरमा पानी पुग्छ  । चक्रपथभित्र र बाहिरका केही स्थानमा भने तत्कालै नयाँ वितरण प्रणाली जडान गर्न नसक्ने आयोजना कार्यान्वयन निर्देशनालय  निर्देशक खत्रीले बताए । ‘चक्रपथ र बाहिरका एरियामा पाइपलाइन विस्तारको सर्भे र डिजाइन गरिसकेका छौँ,’ उनले भने, ’बजेट अभावले नै ठेक्का प्रक्रिया अघि बढ्न नसकेको हो ।’ बाइपासका स्थानीय दिनेश सत्यालले  स्वयम्भू, वाइबास लगायतका क्षेत्रमा खानेपानीको नयाँ पाइपलाइन विस्तारमा बेवास्ता गरेको बताएका छन्।

 ‘यहाँ पानीको हाहाकार छ । अझै पाइपलाइन विस्तारको योजना बन्न सकेको छैन,’ उनले भने, ’मेलम्चीको पानी सबैले एकै साथ पाउनुपर्छ। कतै वितरण गर्ने, कतै वितरण नगर्ने गर्नुभएन ।’ चक्रपथभित्रका एरियामा खानेपानी पाइपलाइन बिछ्याउन नेपाल सरकार र एसियाली डेभलपमेन्ट बैंकसँग कुरा भइरहेको निर्देशनालयले जनाएको छ ।

उक्त एरियामा पाइपलाइन विस्तारका लागि तीन सय मिलियन खर्च लाग्ने बताएका छन्। नयाँ वितरण प्रणाली नबनेका एरियामा पुरानै वितरण प्रणालीमार्फत घरघरमा खानेपानी पु¥याउने लक्ष्य राखेको निर्देशक खत्रीले बताए । ‘नयाँ वितरण प्रणाली नभएका क्षेत्रमा पुरानै प्रणालीबाट वितरण गर्नेछौँ,’ उनले भने, ’छिटो नयाँ सञ्जाल विस्तार गर्ने योजनामा छौँ । ’ जोरपाटी, तीनचुली, बौद्ध आरुबारी, सरस्वतीनगर, कपन, सुकेधारा, गल्फुटार क्षेत्रमा छिटै नयाँ ठेक्का प्रक्रियाअनुसार काम थाल्ने निर्देशनालयले जनाएको छ।

लार्के र याङ्गी खोलाबाट ३४ करोड लिटर भित्राइदैं
सरकारले आगामी चार वर्ष्भित्रै उपत्यकामा ३४ करोड लिटर खानेपानी ल्याउने तयारी थालेको छ। मेलम्ची खानेपानी आयोजना दोस्रो चरणको परियोजना अन्तर्गत सिन्धुपाल्चोकको लार्के र याङ्ग्री खोलामार्फत थप खानेपानी ल्याउन लागिएको हो । मेलम्ची खानेपानी उपआयोजनाले दोस्रो चरण अन्तर्गत दोस्रो चरणअन्तर्गत मेलम्चीको पानी ल्याउने  तयारी गरेको छ ।

मेलम्ची खानेपानी परियोजनाको सुरुङबाट झण्डै १ सय करोड लिटर पानी ल्याउन सक्ने क्षमता रहेको मेलम्ची खानेपानी उप–आयोजनाले जनाएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)का अनुसार उपत्यकामा हाल ३७ करोड ५० लाख लिटर खानेपानीको माग छ । केयुकेएलले दैनिक करिब नौं करोड लिटर पानी वितरण गर्दै आएको छ । नौं करोड लिटरमध्ये झण्डै ४० प्रतिशत चुहावट हुन्छ ।

‘पहिलो चरणको मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी उपत्यकाको सबै क्षेत्रमा वितरण गर्न पुग्दैन, त्यसैले दोस्रो चरणको मेलम्ची खानेपानी परियोजना सञ्चालन गर्न लागेका हौं,’  निर्देशनालयका निर्देशक खत्रीले भने, ‘दोस्रो चरणको परियोजनाबाट थप ३४ करोड लिटर पानी ल्याएसँगै राजधानीमा खानेपानी अभाव हट्नेछ।’


 

प्रकाशित: ४ असार २०७५ ०१:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App