coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्वार्ता

‘तीन प्रतिशत मात्र पारिवारिक व्यापार चौथो पुस्ता कट्छ’

रेग अटवाल, आरएडब्लु ग्रुप तथा टिएओ–इन्कर्पोरेटेड फेमिली अफिसका अध्यक्ष हुन् । उनी अफ्रिका, मध्यपूर्व र दक्षिण एसियामा पारिवारिक व्यापार सल्लाह दिने एक प्रमुख कम्पनी आरटिएस ग्लोबल पार्टनर्सका प्रबन्ध निर्देशक तथा संस्थापक साझेदार पनि हुन् । त्यस्तै पारिवारिक व्यापारमा उनी विश्व प्रमाणित सार्वजनिक वक्तासमेत हुन् । उनी विश्वका धेरै ठूला व्यापारिक घरानाको कार्यकारी सल्लाहकारका रूपमा पनि परिचित छन् । अटवालले १ सयभन्दा बढी व्यापारिक घरानासँग काम गरिसकेका छन् जसमा दुईदेखि ५३ सदस्य तथा पहिलोदेखि पाँच पुस्तासम्म समेटिएका छन् । यही क्रममा हालै आन्ट्रप्रेनियर्स अर्गनाइजेनस (इओ) द्वारा आयोजित ‘अनलिस योर फेमिली बिजनेस डिएनए’ शीर्षकको प्रोत्साहनमूलक छलफल कार्यक्रम सञ्चालन गर्न काठमाडौंमा आएका अटवालसँग नागरिकले गरेको कुराकानीः


तपाईंलाई केले नेपाल ल्यायो ?

आन्ट्रप्रेनियर्स अर्गनाइजेनस (इओ) का तर्फबाट म नेपाल आएको हुँ । यो विश्वव्यापी सदस्य भएको संगठन हो । यसमा नेपालका ३५ व्यवसायी सदस्य छन् । म पछिल्लो १२ वर्षदेखि इओको स्रोत वक्ता रहँदै आएको छु । अहिले दक्षिण एसियाको भ्रमणक्रममा नेपाल आइपुगेको हुँ । यसअघि बंगलादेशमा थिएँ । आगामी दुई साताभित्र भारतका एक दर्जन सहर पुगेर १ हजारभन्दा बढी व्यवसायीलाई पारिवारिक व्यापारबारे जानकारी दिने छु ।

तपाईं एक सार्वजनिक वक्ता हुनुहुन्छ र कसरी व्यापारलाई उत्कृष्ट बनाउने भन्नेबारे धारणा राख्नुहुन्छ । व्यवसायीलाई के भन्नुहुन्छ ?

म दुई तरिकाबाट काम गर्छु । पहिलो, संसारका उत्कृष्ट ५ सय विश्व प्रमाणित सार्वजनिक वक्तामभये म पनि एक हुँ । त्यसबाहेक व्यावसायिक वक्ताहरूको संगठनको अध्यक्ष पनि हुँ । त्यसकारण यो मेरो डिएनएमै छ । त्यस्तै पारिवारिक व्यापार सल्लाह दिने कम्पनी पनि चलाएको छु जसले हालसम्म १ सय ८ व्यापारिक घरानासँग काम गरिसकेको छ । जब हामी यस्ता घरानासँग काम गर्छौं वा आफ्ना भनाइ राख्छौं वा सहजीकरण गर्छौं, हामी उनीहरूलाई उपयुक्त उदाहरणका माध्यमबाट बुझाउने प्रयास गर्छौं र विरासत सिर्जना गर्न सहजीकरण पनि गर्छौं । पछिल्लो अनुभवबाट हामी के निष्कर्षमा पुगेका छौं भने चार पुस्ता कट्ने पारिवारिक व्यापार तीन प्रतिशतमात्र हुन्छ । यस्तो किन हुन्छ ? यसका केही कारणमा एकता अभाव तथा दाजु–भाइ, दिदी–बहिनी, काका–भतिजाबीचको सम्बन्धबाट उत्पन्न हुने मनमुटावजस्ता पारिवारिक विषय पनि पर्छन् । यसमा हामीले २० वटा प्रमुख समस्या पत्ता लगाएका छौं । हामी आफ्ना ग्राहकलाई सकेसम्म त्यस्ता समस्या सामना गर्नु नपरोस् भन्नेमा आश्वास्त पार्छौं । त्यस्तै पारिवारिक व्यापारलाई निरन्तरता दिन एकता पहिलो कुरा हुने र नयाँ पुस्ताको क्षमतालाई सही दिशामा उपयोग गर्दै गए सफलता मिल्ने हाम्रो निष्कर्ष छ । यसले अर्को सय वर्ष कुनै पनि पारिवारिक व्यापार अगाडि जाने निश्चित गर्छ ।

मानिसको डिएनएमा व्यापार हुन्छ भन्ने तपाईं विश्वास गर्नुहुन्छ ? अथवा उनीहरूले सयम क्रमसँगै यसलाई ग्रहण गर्दै लगेको मान्नुहुन्छ ?

हामीले यसलाई व्यापारमा डिएनए मोडेल भनेका हौं जसलाई डेढ दशकअघि सिर्जना गरिएको थियो । हाम्रा सबै ग्राहक यहीमार्फत अगाडि बढ्छन् । व्यापारिक घरानासँग कम्तीमा दुई वा तीनजना क्षमतावान हुने गर्छन् । यसमा १४ वर्षसम्मलाई एउटा श्रेणीमा राखिन्छ । उनीहरू बुवा–आमा, हजुरबुवा–हजुरआमा, काका वा पहिलो शिक्षकबाट प्रभावित हुन्छन् र समय क्रममा हाम्रो अभ्यासबाट पथप्रदर्शक बन्छन् । यस्ता क्षमतावानलाई हामी वयष्क भन्छौं ।

तपाईंले साना तथा मझौला पारिवारिक व्यापारमा रहेका मानिससँग नजिकबाट काम गर्नुभयो । यसलाई विस्तृतमा बताइदिन सक्नुहुन्छ ?

जब तपाईं साना तथा मझौला भन्नुहुन्छ, यो आकारमा भर पर्ने कुरा हो । यसमा हामी ग्राहकलाई तीन तहमा विभाजन गछौं । पहिलोमा १० लाखदेखि १ करोड अमेरिकी डलरबराबरको व्यापार गर्नेलाई राख्छौं । दोस्रोमा ३ करोडदेखि ३० करोड डलरको व्यापार गर्नेलाई राख्छौं । हाम्रा अधिकांश ग्राहक दोस्रो तहका छन् । तेस्रो तहमा अर्ब डलरबराबरको व्यापार गर्ने ग्राहक छन् । हामीसँग यस्ता आधा दर्जन ग्राहक छन् जसका ३० देखि ५० वटासम्म कम्पनी सञ्चालनमा छन् ।

साना तथा मझौला व्यापार क्षेत्र जसले नेपालजस्तो देशमा राम्ररी काम गर्न सकेको छैन, यसलाई अर्थतन्त्रमा समाहित गर्न किन आवश्यक देख्नुहुन्छ ?

हाम्रो विचारमा साना तथा मझौला व्यापार कुनै पनि अर्थतन्त्रको रक्तसञ्चार हो । यदि बढिभन्दा बढी मानिस उद्यमी बन्दैनन् र नयाँ व्यापार सुरु गर्दैैनन् भने नवीन प्रभावको लहर पाउँन सकिँदैन । यदि यसो हुन सकेन भने तपाईंले धेरै रोजगारी सिर्जना गर्न सक्नुहुन्नँ । नेपालजस्तो देशका लागि साना तथा मझौला व्यापार असाध्यै महत्वपूर्ण छ । एउटा साना तथा मझौला व्यापार श्रीमान, श्रीमती वा छोराले सुरु गर्न सक्छन् । अथवा त्यो कुनै छोरा हुनसक्छ जसले व्यापार सुरु गर्छ र अर्को ५० देखि सय वर्ष नेृतत्व दिनसक्छ । त्यसबाट नेपालको कूल गार्हस्थ उत्पादन (जिडिपी) मा वृहत प्रभाव पर्ने छ र यसको अर्थ हजारौं मानिस लाभान्वित हुन्छन् भन्ने नै हो । सबै कुरो साना तथा मझौला उद्यमबाटै सुरु हुन्छ ।

पारिवारिक व्यापारमा व्यावसायिकता हुन्छ भनेर हामी कसरी आश्वस्त हुन सक्छौं ?

हाम्रो अनुसन्धानले के देखायो भने ६७ प्रतिशत पारिवार सञ्चालित व्यापारमा कुनै पनि औपचारिक सञ्चालक समिति बैठक हुँदैनन् । व्यावसायिक हुन नियमित औपचारिक बैठक गरिरहनुपर्छ र यो असाध्यै महत्वपूर्ण हुन्छ । यस्ता बैठकमा औपचारिक मुद्दामा छलफल र तिनलाई कसरी अगाडि बढाउने भन्ने नीति बनाउन सकिन्छ । त्यसबाहेक मानिसलाई जिम्मेवार पनि बनाउँछ । त्यस्तै यस्ता कम्पनीले सल्लाहकार, विज्ञ वा गैरकार्यकारी तथा अन्तर्राष्ट्रिय व्यक्ति जो सञ्चालक समितिमा एकदेखि दुई वर्ष बस्न सक्छ, त्यस्तालाई ल्याएर कम्पनीको ब्रान्ड र मूल्य बढाउनुपर्छ । पारिवारिक व्यापारलाई व्यावसायिक बनाउने यी सुरुवाती कदम हुन् । त्यसबाहेक पारिवारिक व्यापार व्यावसायिक हिसाबमा वृद्धि भएको छ कि छैन भनेर जाँच गर्ने अर्को उपाय भनेको तपाईं तीन महिना छुट्टी लिएर बाहिर जानुस् र त्यसपछि आएर हेर्नुस् । व्यावसायिक व्यापारिक घरानाका लागि यो नै अन्तिम अस्त्र हो । त्यसकारण लक्ष्य लिएको समूह सही ठाउँमा बसेर काम गरिरहेको छ ?, सबै प्रक्रिया उपयुक्त तरिकामा चलिरहेका छन् ? रणनीतिहरू स्पष्ट र पर्याप्त छन् ? उनीहरूसँग अधिकार र तिनलाई अगाडि बढाउने क्षमता छ ? सही व्यक्ति सही भूमिकामा छ ? तिनका वित्तीय चुनौति के हुन् ? हो, यस्ता सबै विषयलाई ध्यान दिइयो भने मात्र पारिवारिक व्यापार पूर्णरूपमा व्यावसायिक बन्न सक्छ ।

जब परिवार सञ्चालित व्यापारले ठूलो हुने र विस्तारको योजना बनाउँछन् त्यसबेला कस्ता परम्परागत समस्यासँग जुध्नुपर्ला ?

जब पारिवारिक व्यापार सुरु गर्ने तयारी हुन्छ तब कुनै एकजनाले सही लगानीको निर्णय गर्न सक्नुपर्छ । ठूला कम्पनीले लगानीका लागि व्यावसायिक मापदण्ड बनाएका हुन्छन् । उनीहरूले व्यापार विविधिकरण गर्छन् र सँगसँगै त्यहाँ परिवारको सुरक्षा पनि हुनेमा विश्वस्त हुन्छन् । यसमा केहीले ‘अफसोर’ लगानी पनि हेर्ने गर्छन् । उनीहरूलाई अन्य देशका लागि पनि सम्पत्ति आवश्यक पर्छ । व्यावसायिक बन्न सम्पूर्ण परिवारसहित निर्णय कसरी तयार गरिन्छन् भन्ने नीति सही ठाउँमा रहेको सुनिश्चित हुनुपर्छ ।

हाम्रा पाठकलाई थप केही भन्नु छ ?

म फेरि पनि नेपाल आउन तत्पर छु र भविष्यमा यहाँको पारिवारिक व्यापार र उद्यमको मूल्य र ब्रान्ड वृद्धि गर्न चाहन्छु । र, म नेपालको युवा पुस्तालाई अन्तिम सन्देश के दिन चाहन्छु भने उद्यम गर्नुस् किनभने एउटा २० वर्षे लक्का जवानसँग यो क्षेत्रमा रहेको पुराना पुस्तासँग भन्दा उत्कृष्ट र नवीन विचार हुन्छ ।

 

प्रकाशित: २१ भाद्र २०७३ १०:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App