coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्य

खोला अतिक्रमणले भक्तपुर डुबानमा

भक्तपुर, लिवालीकी रजना त्वानाबासु बिहीबार बिहान ६ बजे ब्युझिएर घरबाहिर निस्कदा झस्किन् । उनले सधैँभन्दा फरक दृश्य देखिन् । उनको घर डुवानमा परेको थियो । केही छिमेकीको घरको त झन् कौशी मात्रै देखियो ।

बस्ती नै डुवान परेपछि रजना अतासमा परिन् । छिमेकीहरूको चिच्चाहट पनि सुनिरहेको थियो । बिहीबार बिहान भक्तपुरका ठिमी, निकोशेरा, राधेराधे, लिवाली, आदर्श, चाँगुनारायणलगायत बस्तीमा बाढी पसेको हो । कतिपयको घरभित्र पानी पसेको थियो।

बुधबारदेखि निरन्तर वर्षा भएपछि खोलाको बाढी बस्ती पसेको हो । यसले भक्तपुरको जनजीवन नै अस्तव्यस्त बन्यो । बस्तीसँगै सडक, उद्योगधन्दा तथा कलकारखाना पनि डुवानमा परे । भक्तपुर यसरी जलमग्न भएको दोस्रो पटक हो । यसअघि २०७३ सालमा पनि यसैगरी भक्तपुरका बस्तीहरू जलमग्न भएका थिए । भक्तपुरमा रहेका हनुमन्ते खोला र घट्टे खोला व्यवस्थित नगरिँदा यो समस्या दोहोरिने गरेको छ ।

यस कारण डुबान

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार बिहान ६ बजेदेखि बिहीबार बिहान ६ बजेसम्म ९४ मिलिमिटर पानी परेको छ ।

साधारण किसिमबाट बिहीबार परेको वर्षाले मात्रै बस्ती डुबानमा पार्न नसक्ने महाशाखाको अनुमान छ । तसर्थ, बुधबार बिहान भक्तपुरमा भएको डुबानको कारण भने अव्यवस्थित खोला देखिन्छ । भक्तपुरमा हनुमन्ते, मनोहरा, घट्टे खोला छन् ।

यी खोला एकातिर अतिक्रमण गरेर धार परिवर्तन गरिँदै लगिएको छ भने अर्कोतिर खोलालाई साँधुरो बनाउँदै लगिएको छ । यसैले गर्दा बस्ती डुबानमा परेको स्थानीय बताउँछन् । ‘खोला अव्यस्थित हुँदा बस्ती डुबानमा परेको हो,’ लिवालीकी रजनाले भनिन्, ‘खोलालाई व्यवस्थित गरिएको थियो भने भक्तपुरवासीले डुबानको सकस भोग्नु पर्दैनथ्यो ।’ उनका अनुसार खोलालाई जथाभावी रूपमा मिचिएको र धार परिवर्तन गरेर साँघुरो बनाइएको छ ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट पनि हनुमन्ते तथा मनोहरा जस्ता खोला आसपासको बस्ती बढी डुबानमा परेको बताउँछन् । ‘खोला आसपासका बस्ती बढी जलमग्न भएको देखिन्छ,’ भट्टले भने, ‘खोला उर्लेर आउँदा खोला बगिरहेको ठाउँले मात्रै नधानेपछि बस्तीमा पसेर जलमग्न भएको हुन सक्छ ।’ उनका अनुसार बिहीबार सबेरै त जमिनमाथि झण्डै पाँच फिट हारहारीमा पानी जमेको थियो । कतिपय घरबाट त मान्छे निस्कन समेत सकेका थिएनन् । स्थानीय, विभिन्न संघसंस्था तथा नेपाल आर्मी लगायतको टोलीले उद्धार गरेको हो ।

भक्तपुरकै हाइड्रोलोजिस्ट प्रमिला श्रेष्ठ भने भक्तपुर डुबानमा पर्नुमा मानवीय गल्ती रहेको बताउँछिन् । ‘हामीले खोलालाई नियन्त्रण लिन खोज्दा भक्तपुर डुबानमा परेको हो,’ उनले भनिन्, ‘सानो पानी पर्दा त डुबानमा प¥यो । ठूलो पानी परे कस्तो होला ?’ खोला साँघुरो बनाएर बस्ती बसाल्दा र बस्तीको पानी खोलामा छाड्दा डुवानमा परेको श्रेष्ठको अनुमान छ । खोलाको अतिक्रमण नरोक्ने हो भने भक्तपुरमा डुवानको समस्या हट्न नसक्ने उनी बताउँछिन्।

‘हामीले खोलालाई नियन्त्रण लिन खोज्दा भक्तपुर डुबानमा परेको हो, सानो पानी पर्दा त डुबानमा प¥यो । ठूलो पानी परे कस्तो होला ?’

पूर्वाधार विज्ञ सूर्यराज आचार्य हचुवाको भरमा बस्ती विकासले गर्दा भक्तपुर डुबानमा परेको बताउँछन् । ‘अध्ययनविनै हचुवाका भरमा बस्तीको विकास गर्दा समस्या देखियोे,’ उनले भने, ‘बेलामै नसोच्ने हो भने अझै ठूला समस्या आउँछन् ।’ आचार्यका अनुसार बस्तीमा जम्मा हुने पानीलाई मात्रै व्यवस्थित गरे पनि डुबानको समस्या हट्न सक्छ । खोला नियन्त्रणको सट्टा व्यवस्थित गर्न सक्नुपर्ने उनको भनाइ छ ।

कतिपय व्यवस्थित बस्तीमा समेत जलमग्न भएको छ । मध्यपुर थिमीका राधेराधे र कमेरोटार जग्गा एकीकरण आयोजनाभित्र रहेका बस्ती समेत डुबानमा परे । यी बस्ती बसाउने क्रममा डुबानको बारेमा नसोचिएकाले समस्या भएको उनको भनाई छ।

के गर्दैछन् स्थानीय तह

खोलाको अतिक्रमण रोक्नेदेखि बस्ती व्यवस्थित बनाउने जिम्मा स्थानीय तहको छ । भक्तपुर नगरपालिका, सूर्यविनायक नगरपालिका, चाँगुनारायण नगरपालिका तथा मध्यपुर ठिमी नगरपालिका छन् । बिहीबार बस्ती डुबान भएको क्षेत्रचाहिँ सूर्यविनायक र मध्यपुर नगरपालिकामा पर्छ । तर, यी स्थानीय तहले खोला अतिक्रमण नियन्त्रण गर्न कुनै सोच बनाएको देखिँदैन ।

‘हामी अहिले आपतकालीन अवस्थामा छौं,’ सूर्यविनायक नगरपालिका वडा नं. ५ का वडाध्यक्ष राजकुमार जोशी भन्छन्, ‘तत्कालको लागि उद्धार गर्नु तथा राहत वितरणमै लागेका छौं ।’ खोलाको बहाव बढेर बस्ती डुबान भएको देखिए पनि खोलालाई व्यवस्थित पार्ने विषयमा भने सोच नबनाएको जोशीले बताए ।

उनका अनुसार हनुमन्ते खोला र घट्टेखोलाको दोभान क्षेत्र अत्यन्तै साँघुरो छ । दोभान क्षेत्रमा बाढीले बगाएर ल्याएका फोहोरमैला र निर्माण सामग्रीले थुप्रिएकाले पनि बस्तीमा पानी पसेको हो । उनका अनुसार वडा कार्यालयले दोभानमा पुल बनाउने योजना भने अघि सारेको छ । ‘यो बाढीले हामीलाई पाठ मात्रै सिकाएको छैन, सचेत पनि गराएको छ,’ उनले भने, ‘आवश्यकता अनुसार काम गरेर अबको दिनमा यही समस्या नदोहोरियोस् भन्नेतिर लाग्नेछौं ।’

यता, मध्यपुर नगरपालिकाकी उपमेयर अञ्जनादेवी माधीकर्मी पनि भक्तपुरको बाढी स्थानीयले निम्त्याएको बताउँछिन् । ‘यस डुबानलाई प्रकृतिभन्दा पनि मानवले निम्त्याएको हो भन्दा फरक पदैन,’ उनले भनिन्, ‘खोलालाई चलाएको कारण यस्तो भएको हो ।’ उनका अनुसार अव्यस्थित बस्ती तथा अतिक्रमण खोला हटाउन समस्या देखिन्छ । वषौंअघि बसेको बस्ती हटाउन पनि नसकिने हुँदा यसले ठूलो समस्या ल्याउन सक्ने अनुमान नगरपालिकाको छ । ‘यस पटक ठूलै बाढी बस्तीमा पस्यो,’ उनले भनिन्, ‘करोडौंको क्षति भएको छ ।’ यसलाई व्यस्थित गरेर भोलिको दिनमा यस्तो समस्या नआओस् भन्नेमा नगरपालिका रहे पनि पहिल्यै रहेको बस्ती हटाउन भने गाह्रो हुने उनी बताउँछिन् ।

‘यही अवस्थामा छोड्ने हो भने यस्तो समस्या भक्तपुरमा भइरहनेछ,’ उपमेयर माधीकर्मीले भनिन्, ‘यसलाई कसरी समाधान गर्न सकिन्छ, त्यसतर्फ सोचेर नगरपालिकाले दीर्घकालीन योजना ल्याउनेछ ।’

प्रकाशित: २९ असार २०७५ ०३:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App