४ वैशाख २०८१ मंगलबार
अन्य

‘हिलाम्मे सडक व्यवस्थित पार्छौं’

नारायण केसी, वडाध्यक्ष  ललितपुर महानगरपालिका–४
तपाई जनप्रतिनिधी भएर जनताले महसुस गर्ने के–के काम गर्नुभर्यो ?
उपभोक्ता समिति गठन गरेर वडास्तरीय योजना धमाधम भइरहेका छन्।

अधिकांश वडास्तरीय योजना सम्पन्न हुने अवस्थमा रहेका छन् । नगरस्तरीय योजना योजना टेण्डर प्रक्रियाबाट सञ्चालन गर्दा अलिक प्रक्रियागत झन्झट र ढिलासुस्ती हुने रैछन् ।

त्यसैले पनि वडास्तरीय योजनाको तुलनामा नगरस्तरीय योजनाको निर्माण कार्य  ढिलासुस्ती भइराखेको छ । हिजोआज पनि विकासका काम गरिरहेका छौं । खानेपानीको बन्दोबस्त गर्ने, सडक ढलान गर्ने, भित्री सडक पिच गर्ने, मन्दिर जिणोंद्धार गर्ने लगायत धेरै काम भएका छन् । त्यस्तै, ठाउँ–ठाउँमा व्लग छाप्ने काम पनि भइरहेको छ।

विकास निर्माणका कामका जनताको सहभागीता कस्तो छ ?
 विकास निर्माणमा स्थानीय जनताको उत्साह लोभलाग्दो छ । आफैं उपभोक्ता समिति गठन गरेर पूर्वाधार निर्माणमा सरिक हुनुभएको छ । धेरैले पहिले भन्दा सजिला भएको प्रतिक्रिया पनि दिनुभएको छ ।

हामीले कहिलेकाहीँ जनताका पीर कर्मा केके छन् भनेर साध्छौं पनि त्यतिले उहाँहरुले पहिलेको तुलनामा धेरै सहज भएको प्रतिक्रिया दिनुभएको छ।

वडावासी कस्ता समस्या बोकेर आउँछन् ?
वडावासीको माग हामीले पूरा गर्न नसक्ने खालका छैनन् । उहाँहरु भित्री सडक हिलाम्मे भए । खानेपानीको समस्या भयो, धुवाँधुलो कम गर्नपर्यो भन्ने जस्ता गुनासा बोकेर आउनुहुन्छ । यसबाहेक आफ्ना पारिवारीक समस्या बोकेर आउनेहरु पनि धेरै छन्।

तपाईका वडामा भित्री सडक हिलाम्मे छन् त कहिले बनाउनुहुन्छ ?
आउँदा दशैंसम्म ती मेरो वडा क्षेत्र र जावलाखेलबाट भित्र छिर्ने साना सडकहरु पिच हुन्छन् । पूरानै योजनाले पनि जनताका समस्या हल हुन्छन् । नयाँ बजेट नयाँ काम र विकास निर्माणमा प्रयोग गर्छौं । कतिपय सडकममा अहिले वर्षायाम सुरु भएकाले कालोपत्रे नगरेका हौं । वर्षायाम सक्ने बित्तिकै कालोपत्रे गर्ने काम अगाडी बढाउनेछौं।

मेलम्चीले पाइप ओछ्याउन खनेका सडक तथांलिग छन् यसतर्फ ध्यान कसले दिने ?
हामीले नै दिन्छौं । मेलम्चीले काचो र अपरिपक्व ढंगले काम गरेकोले कतिपय सडकको अवस्था नाजुक भएको छ । उसले जहाँजहाँ खनेको छ त्यहाँ उसैले बनाइदिनुपर्ने हो ।

तर, केही ठाउँमा मानिसहरको छैन । जावलाखेल क्षेत्रमा यस्तो समस्या थियो र हामीले मेलम्चीसँग कराएरै भएपनि केही हदसम्म सडक व्यवस्थित पारेका छौं । कतिपय ठाउँमा मेलम्चीले आफूले बिगारेको सडक बनाउन आलटाल गरिरहेको छ।

बर्षायाम सुरु भयो तपाईको वडाको ठाउँठाउँमा पानी जम्छ, यसबारे के छ योजना ?
हामीले सकेसम्म पानी जम्ने ठाउँहरु हेरेर काम गरिरहेका छौं । हाम्रो बजेट खासगरी सडक र खानेपनीमा केन्द्रित हुने भएकाले यस्तो समस्या आउन दिन्नौं । कतिपय ठाउँमा वडाले गर्न नसक्ने कामहरु छन् । त्यसमा हामीले सहजिकरण गरिदिन्छौं।

गत बर्ष तपाईको वडालाई कति बजेट आएको थियो, त्यसमध्ये कति बजेट खर्च भयो ?
गत बर्ष ७० लाख बजेट आएको थियो । उक्त बजेटमध्ये धेरै काम सकिएको छ । केही ठाउँमा काम भइरहेको छ । हामीसँग फ्रिज हुने अवस्थामा रहेको बजेट डेढ लाख जति हो । अरु सबै विकासका काममा सकिएको छ ।
 
यो बर्ष वडा कार्यालयलाई कति बजेट आएको छ ?
यो बर्ष गत बर्ष भन्दा बजेट बढेर आएको छ । महानगरका धेरैजसो वडाले १ करोड २० लाख पाएका छन् भने केहीले ठाउँ हेरिकन डेढे करोडसम्म बजेट पाएका छन् । यो बर्षको बजेट खानेपानी र सडकमा केन्द्रित छ।

वडालाई व्यवस्थित पार्न के गर्दै हुनुहुन्छ ?
हामीले वडालाई व्यवस्थि पारी सेवाग्राहीलाई चुस्त सेवा दिन आतुर छौं । कार्यालयमा प्रवेश गरेपछि कुर्न नपर्ने गरी सेवा दिने हाम्रो प्रढ छ।

पछिल्लो समस्या अव्यवस्थित पार्किङले जावलाखेल अस्तव्यस्त बनेको छ, यसबारे वडा कार्यालयले के योजना अघि सारेको छ ?
अहिले हामीले यसमा कडाई गरेका छौं । अस्तव्यस्त पार्नेगरी पार्किङ गर्न दिएका छैनौं । केही ठाउँमा महानगरले नै पेसा उठाएर पार्किङ खुला गरेको छ।

ज्येष्ठ नागरिक तथा महिलाको लागि कस्तो योजना अघि सार्नुभएको छ ?
बैंकलाई वडा कार्यालयमा नै बोलाएर ज्येष्ठनागरिकलाई नियमित रुपमा सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आइरहेका छौं । जसबाट ज्येष्ठनागरिक बैंकसम्म धाउनुपर्नेबाध्यता अन्त्य भएको छ ।

वडा कार्यालयले ज्येष्ठ नागरिकको लागि सहरी स्वास्थ्य क्लिनिकमार्फत घर–घरमा स्वास्थ्य सेवा पु¥याउने योजनासाथ काम गरिरहेका छौं । महिलाहरुलाई पनि आत्मनिर्भर बनाउने खालका योजनाहरु अघि सारेका छौं । यो बर्ष यस शीर्षकमा पनि केही काम हुन्छ।

तपाईको वडा कार्यालय पछाडि ऐतिहासिक ढुंगेधाराको दुरावस्था छ, कहिले बनाउनुहुन्छ ?
अहिले हामीले ढुंगेधारा सफा गर्नतिर लागेका छौं । केही दिनयता उक्त काम भइरहेको छ । वरीपरीको झार उखेल्ने र सफा गर्नको लागि हामीले कामदार पनि खटाएका छौं।

कस्तो वडा बनाउने सपना देख्नुभएको छ ?
 ४ बर्ष भित्रमा मेरो वडालाई सम्पन्न र व्यवस्थित बनाउछु । जनताका रहेक समस्या सुल्झाउँछु । वडामा अहिलेसम्म व्यवस्थित सडक र खानेपानीको प्रर्याप्त आपुर्ति हुन सकिरहेको छैन ।

त्यसैले आगमी तीनवर्षभित्र सडकका सवै स्थानमा सडक र खानेपानीको  प्रर्याप्त व्यवस्था मिलाउनेछु । वडामा रहेका सार्वजानिक जग्गामा व्यवस्थित पार्क बनाउने योजना बनाएको छु ।
प्रस्तुति : शिवहरि घिमिरे

प्रकाशित: ३२ असार २०७५ ०१:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App