जिल्लाकै प्रख्यात तीर्थस्थल चरखण्डीमा स्थानीय युवाको निजी लगानीमा चरखण्डेश्वर मन्दिर निर्माण भइरहेको छ । सूर्यविनायक नगरपालिकाको १ र ४ नं वडाको साँधमा अबस्थित चँखु तीर्थ (चरखण्डी)मा नयाँ मन्दिर बनाइएको हो।स्थानीय युवा अञ्जित विष्टले जन्मथलोको गुन तिर्न मन्दिर बनाएका हुन्।
मन्दिरमा शिवलिंग, घन्टा र बसाहा आदिका प्रतिमा राखिएको छ । मन्दिर बाहिर अग्लो त्रिशुल गाडिएको छ ।गत फागुनदेखि मन्दिर बनाउन सुरु गरिएको हो । अहिलेसम्म ५० प्रतिशत काम पूरा भइसकेको छ । आउँदो चैतभित्र निर्माण पूरा गर्ने लक्ष्य छ।
बिष्टका अनुसार मन्दिर बनाउन २५ लाख रूपैयाँ खर्च भइसकेको छ । ‘थप ३५ लाख रूपैयाँ खर्च हुन्छ होला’, उनले भने, ‘पैसा धेरै भएर मन्दिर बनाएको होइन, आफ्नो थलोमा केही गरौं भन्ने भावनाले बनाएको हुँ ।’जीवनमा धेरै संघर्ष गरेका ३५ वर्षे विष्ट मनकारी युवा हुन् । उनी बेस्ट प्रोजेक्ट कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालिका प्रमुख हुन्।
उनले चँखुतीर्थको गणेश मन्दिरको छाना फेरिदिएका छन् । नयाँ र व्यवस्थित ब्रम्ह नाल बनाइदिएका छन् । चरखण्डी तीर्थस्थललाई थप व्यवस्थित गर्ने उनको योजना छ ।नवनिर्मित मन्दिरसँगै बासुकी नागको ५ टाउके तामाको कलात्मक मूर्ति राख्ने योजना छ । साथै त्यहाँ एउटा ११ फिट अग्लो स्तम्भ गाडिएको छ । त्यसको चुचुरोमा भुर्र उड्न लागेको भँगेराको प्रतिमा राखिनेछ।
भँगेराको कथा तीर्थस्थलसँग जोडिएको छ । किंवदन्ती अनुसार अनन्तलिंगेश्वरलाई हेरेर अगस्त्य ऋषिका साथमा उहिल्यै यता चन्द्रमा आएका थिए । त्यतिबेला एउटा बाजले भंगेरालाई डपेट्दै गरेको उनले देखे । भँगेराको अवस्था देखेर चन्द्रमालाई दया लागेछ । उनले भँगेरालाई बाजबाट छुटाए । मर्ने अबस्था देखेर उनले त्यसलाई जलाशयमा राखिदिए । भंगेराले त्यहीँ प्राण त्याग्यो । अचम्म ! त्यो भँगेरा दिव्य रूप लिएर चन्द्रमासँगै गयो।
जन्मथलोको गुन तिर्न दधिकोटका तन्नेरी अञ्जित विष्टले प्रख्यात तीर्थस्थलमा चरखण्डेश्वर महादेव मन्दिर बनाएर स्याबासी कमाएका छन्।
त्यसैले यहाँ जसले स्नान गर्छ उसले दिव्य रूप धारण गरेर धनधान्य समेत हुने जन विश्वास छ । अगस्त्य ऋषिले चन्द्रमालाई यस क्षेत्रमा सोमलिंगेश्वर स्थापना गर्न समेत आग्रह गरेको किवंदन्ती छ ।भँगेराको प्रतिमा त राखिने नै छ, साथमा स्तम्भमा चन्द्रमा समेत राखिने विष्टले जानकारी दिए । पद्ममती र कोखमती नदीको संगममा चरखण्डेश्वर नदी छ, जुन उत्तरबाहिनी हो । उत्तरबाहिनी नदीमा स्नान गरेमा अन्यत्र तीर्थमा गरे भन्दा बढी पुण्य मिल्ने हिन्दु मान्यता छ । त्यही नदीमाथि मन्दिर बनाइएको हो ।
सुन्दर खोंचमा अबस्थित तीर्थमा नयाँ वर्ष, शिवरात्री, साउने सोमबार, तीज, जनै पूर्णिमा र कृष्णाष्टमीमा मेला लाग्छ । वैशाख १ र २ गते बिस्काः जात्रा मनाइन्छ । जात्रामा नेवार समुदायले भैरव र गणेशका खट डुलाउँछन् ।चरखण्डीमा देवदेवीका मन्दिर र मूर्ति छन् । तीनमा चटकेश्वर महादेव, गणेश, विष्णु, भैरव, बालकुमारी, राधाकृष्ण, बगलामुखि, सप्तऋषी, बुद्ध, मनकामना, हुनमान, राम लक्ष्मण सीता, सरस्वती, बासुकी आदि हुन्।
चरखण्डीको विकासमा चरखण्डी तीर्थस्थल क्षेत्र विकास संरक्षण संस्था सक्रिय छ । स्थानीय कृष्णबहादुर थापाको अगुवाइमा ०५० सालमा संरक्षण संस्था खुलेपछि चरखण्डी क्षेत्रले काँचुली फेरको छ ।चरखण्डेश्वर अरनिको राजमार्गको नयाँ ठिमीस्थित शंखधर चोकबाट ४ किमि दक्षिणमा पर्छ । मन्दिरसम्मै सडक पुगेको छ ।
प्रकाशित: ३२ असार २०७५ ०१:५९ सोमबार