coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

फोहोरमय राजधानी

‘छि...कस्तो फोहोर ! दुर्गन्ध पनि खपिसक्नु छैन ।’ यतीबेला उपत्यकावासीको मुखबाट निस्किरहेको आवाज हो यो । सडकका पेटी, टोलका चोक मात्रै होइन्, घरमै पनि फोहोरको डंगुर छ।

नाक थुनेर हिड्डुल गर्नपर्ने बाध्यता छ । अर्कोतिर, फोहोरको कारण रोग उब्जिएर फैलिएला भन्ने चिन्ता उपत्यकावासीमा परेको छ । वर्षा याममा फोहोर किटाणुका कारण हैजा झाडापखाला, आउँ लगायतका संक्रमण हुने स्वास्थ्यकर्मी बताउँछन् ।विडम्बना ! सहर सरसफाइको जिम्मा पाएका स्थानीय तह फोहोर फ्याँक्ने ठाउँ नभएको भन्दै चुपचाप छन् । घरमा फोहोर दुर्गन्धित भएपछि सडकमै फोहोर फ्याँक्दा सवारी आवतजावतमा समेत असर पर्न थालेको छ ।

जोरपाटी, चावहिल, बागबजार, प्रदशनीमार्ग, मंगलबजार, ग्वार्को लगायतका मुल सडकमा फोहोर थुपारिएर राखिएको छ ।तर, काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका सहित उपत्यकाका स्थानीय तह प्रभावकारी रुपमा फोहोर उठाउन सकेका छैनन् । नुवाकोटको सिसडोलमा रहेको ल्याण्डफिल्ड साइट जाने सडक विग्रिएको भन्दै पन्छिरहेका छन्।

असार १८ देखि २३ गतेसम्म ६ दिन पहिरोका कारण फोहोर उठेको थिएन् । त्यसपछि स्थानीयबीच विवाद भएर फोहोर रोकियो । अहिले सडकको अवस्था राम्रो नभएको भन्दै नियमित रुपमा उठ्नुपर्ने जसरी फोहोर उठेको छैन् । ‘सिसडोलको सडक विग्रिएपछि नियमित जसरी हप्ता दिनदेखि फोहोर उठाउन सकेका छैनौं,’ ललितपुर महानगरपालिकाका प्रवक्ता राजुमान महर्जनले भने, ‘सडक बनाएपछि भने नियमित रुपमा फोहोर उठ्ने छ ।’

उनका अनुसार नगरपालिकाले उठाउने फोहोर भने सिसडोल नपठाएपनि नियमिति उठाइरहेको छ । काठमाडौं महानगर तथा ललितपुर महानगरले सबस्टेसनमा लगेर फोहोर स्टोर गरेको छ । तर, निजी क्षेत्रका केही कम्पनीले उठाउने फोहोर भने सिसडोल रोकिँदा उठाउँदैनन् । जसले गर्दा सडकमा फोहोर हुने गरेको उनले बताए । नीजि क्षेत्रले उठाउने ठाउँको फोहोर स्टोर गर्ने ठाउँ नहुँदा भने सहरका टोलटोलमा फोहोर नउठिरुहेको छ । जसले गर्दा यतीबेला राजधानी फोहोरमय बनेको छ।

काठमाडौं महानगरपालिका पनि सडकको कारणले पहिलाको जस्तो फोहोर नउठेको स्र्किाछ । ‘कतैकतै पहिरो झरेर त कतै हिलो भएर सडक  अबरुद्ध छ,’ काठमाडौं महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले भने, ‘जसले गर्दा केही समय यता उपत्यकाको फोहोर नियमित जसरी उठ्न सकेको छैन् ।’ सडक विग्रिएपनि दैनिक रुपमा सिसडोलमा फोहोर गइरहेको उनले दाबी गरे । सडकको कारणले गाडीले दैनिक एक टिप भन्दा बढी गर्न नसकेकोले गर्दा फोहोर उठाउन समस्या भएको कार्कीको भनाई छ।

उपत्यकाको फोहोर विर्सजन गर्ने ठाउँ सिसडोलको व्यवस्थापन जिम्मा काठमाडौं महानगरपालिकाले लिएको छ । सबैभन्दा बढी फोहार समेत काठमाडौं महानगरपालिकाबाट उत्पादन हुन्छ । दैनिक पाँच सय मेट्रिक टन फोहोर महानगर र अन्य नगरबाट उपत्यकाबाट दैनिक एक हजार मेट्रिक टन फोहोर सिसडोलमा जान्छ । महानगरले व्यवस्थापन गरिरहेको सिसडोलमा अन्य नगर तथा संस्थाले शुल्क तिरेर फोहोर विर्सजन गर्दै आएका छन् । महानगरले न्युनतम ८ टनसम्म रु १ सय ५० र ८ टन माथिको फोहोरको शुल्क २ सय ५० रुपैँया लिएर फोहोर विर्सजन गर्न दिन्छ।

१२ वर्षअघि दुई वर्षका लागि फोहोर व्यवस्थापन गर्न भन्दै सिसडोल सरकारले लिएर महानगरलाई व्यवस्थापनको जिम्मा दिएको थियो । सम्झौताभन्दा नाघेको लामो समय भएकाले बेलाबेलामा स्थानीयले समेत सिसडोलमा फोहोर फ्याँक्ने नदिने भन्दै विरोध गर्छन् । तैपनि विकल्प खोज्न भने सकेको छैन्।

‘अहिले भइरहेको सडकको समस्या त दुईचार दिनमा सल्टिन्छ र फोहोर उठ्न थाल्छ,’ महानगरका सहप्रवक्ता नमराज ढकालले भने, ‘सिसडोल भरिसकेको छ । अहिलेसम्म जर्वजस्ती फोहोर फ्याँक्दै आएका छौं । अबको एकदुई महिनाभित्र भने फोहोर फ्ँयाक्ने ठाउँ नै हुँदैन् ।’ यसपछि भने उपत्यकामा फोहोर नउठ्ने समस्या ठूलो रुप लिने ढकालले बताए।

सरकारले सिसडोलको विकल्पमा नुवाकोट र धादिङमा पर्ने बन्चरेडाँडामा विकल्पमा लिएको छ । तर, बन्चरेडाँडामा आवश्यक पूर्वाधार निर्माण गरेर फोहोर व्यवस्थापन केन्द्रमा विकास गर्ने काम भने भएको छैन् ।

जसले गर्दा सिसडोलमा फोहोर रोकिँदा राजधानीका मुख्यचोक देखि सडक तथा टोल फोहोरमय हुने गरेका छन् । त्यहाँ पनि भरिएर फ्याँक्ने ठाउँ नभएपछि झनै समस्या हुने देखिन्छ । त्यसैले बन्चरेडाँडामा सरकारले छिटोभन्दा छिटो पूर्वाधारको व्यवस्था गरेर फोहोर विर्जन केन्द्र बनाउनुपर्ने माग महानगरको छ । बन्चरेडाँडा अहिलेको सिसडोलबाट करिब २ किलोमिटर टाढा छ ।
 

प्रकाशित: ३२ असार २०७५ ०२:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App