८ वैशाख २०८१ शनिबार
समाज

एकल महिलालाई नागरिकता समस्या

छैटौं अन्तर्राष्ट्रिय एकल महिला दिवस मनाउन धरानमा भेला भएका एकल महिलाहरु।

धरान– उनको श्रीमान् मृत्यु हुदा छोरी करिब ३ बर्षकी मात्र थिइन् । पाँचथर माइती घर भएकी लक्ष्मी रेग्मीले श्रीमानको नामबाट नागरिकता बनाएकै थिइनन्। उनीसँग माइतीको नागरिकता पनि छैन। हाल ७३ बर्ष पुगिसकिन्, तर उनले अहिलेसम्म सामाजिक सुरक्षा भत्ता थाप्न पाएकी छैनन् ।

नागरिकता हुदो हो त उनले राज्यबाट मासिक ५ सय भत्ता पाउने थिइन् । त्यसले थोरै भएपनि आवश्यकता पुरा गर्थिन् वा औषधि उपचारमा नै सघाउ पुग्थ्यो । नागरिकता नभएकै कारण उनी यो सुविधा उपभोग गर्न पाएकी छैनन् । उनी विगत ३ बर्षदेखि इटहरी ४ स्थित छोरी पवित्रा पोख्रेलको आश्रयमा छिन् । ‘उहाँको अरु कोही छैन, मसँग बस्नुहुन्छ, विरामी हुनुहुन्छ । नागरिकता भइदिए भत्ता पाउनुहुन्थ्यो, उपचारमा सघाउ पुग्थ्यो’–छोरी पवित्राले भनिन् । उनी स्वयम पनि एकल महिला हुन् ।

धरान ८ की कमला तामाङको २२ र २० बर्षका दुई छोरा छन् । तर, बुबाको नामबाट आमा कमलाको नागरिकता नहुदा अहिलेसम्म दुवै छोराको नागरिकता बनेको छैन । दुवै छोराको जन्मदर्तामा बुबाको नाम छ । श्रीमानको मृत्युदर्ता छ । वडा समितिको मुचुल्कामा मृतककै छोरा हो भनि ७ जना छरछिमेकले सनाखत गरिदिएको कागजात छ । प्रहरीको रिपोर्टमा पनि मृतक र कमलाको नाता खुलाइएको छ । तर, श्रीमान्को परिवारको सनाखत गरिदिने नजिकको आफन्त नभइदिदा दुवै छोरा नागरिकताबाट बञ्चित छन् । ‘मैले इलाका प्रशासन धेरै पटक धाए, कागजात सबै तयार छ । तर, छोराहरुको नागरिकता बनेन’–उनले भनिन्–‘छोराहरुको नागरिकता भइदिए गरिखाने बाटो हुन्थ्यो, ज्यादै दुःख भयो ।’    

बिहीबार धरानमा छैटौं अन्र्तराष्ट्रिय एकल महिला दिवस मनाइउदै गर्दा सुनसरीका यी दुई एकल महिलाको नागरिकता समस्या प्रमुख मुद्दाकोरुपमा उठ्यो । एकल महिला समुहको धरान १७ स्थित छहारी भवनमा आयोजित कार्यक्रममा दुवैले नागरिकता समस्यालाई उठान गरे । नागरिकता समस्या भएका लक्ष्मी र कमला त नेपालका एकल महिलाहरुका प्रतिनिधि पात्र मात्र भएको समुहकी सदस्य शान्ता अधिकारीको भनाई छ । उनका अनुसार माइतीबाट मात्र नागरिकता भएका एकल महिलाहरुले आफ्ना छोराछोरीलाई नागरिकता दिलाउन नसक्दा थुप्रै समस्याहरु झेल्नु परिरहेको छ ।

समुहकी क्षेत्रीय कार्यक्रम अधिकृत इन्द्रकला राईका अनुसार धेरैजसो नागरिकताको समस्या लिएर एकल महिलाहरु सम्पर्कमा आउने गरेका छन् । त्यसपछि एकल महिलाहरुमा सामाजिक हिंसाको समस्या पनि रहेको उनले बताइन् । ‘एकल महिलाहरुको अहिले प्रमुख समस्या नागरिकता हो । श्रीमानको नामबाट नागरिकता नहुदा राज्य र परिवारबाट पाउने सुविधा र अधिकारबाट बञ्चित हुन्छ र छोराछोरीको भविष्य पनि अन्धकार हुन्छ’–उनले भनिन्–‘प्रमाण पुगेर पनि प्रशासनले एकल महिलाहरुलाई विभिन्न झञ्झटिलो प्रक्रियामा अल्मलाउने गरेको छ, सहजरुपमा नागरिकता दिनुपर्छ । त्यस्तै, एकल महिलालाई छरछिमेकले होच्याउने, हेप्ने गरेको समस्या पनि छन् ।’ सुनसरी जिल्लामा मात्र एक हजार एकल महिलाहरु सदस्यकोरुपमा आवद्ध रहेको समुहले जनाएको छ । कार्यक्रममा प्रमुख अतिथिकोरुपमा सुनसरीका प्रमुख जिल्ला अधिकारी मोहन चापागाई थिए । उनले नागरिकताबारे आफु सकरात्मक रहेको र आवश्यक कागजात लिएर आउन आग्रह गरे । प्रजिअ चापागाईले महिलामाथि हिंसा भएको आफुलाई खबर गर्न आग्रह गर्दै तत्काल त्यसविरुद्ध एक्सन लिने प्रतिवद्धता जनाएका थिए ।

छ जनालाई छात्रवृत्ति प्रदान

एकल महिला समुह सुनसरीले एकल महिलाका ६ जना छोराछोरीहरुलाई एक हजारको दरले छात्रवृत्ति प्रदान गरेको छ । एकल महिलाका छोराछोरीहरुको पढाईमा पहुच पुर्याउने उद्देश्यले समुहले छात्रवृत्ति प्रदान गरेको हो । बिहीबार अन्र्तराष्ट्रिय एकल महिला दिवसको अवसरमा आयोजित कार्यक्रममा सुनसरीका प्रजिअ मोहन चापागाईले छात्रवृत्ति हस्तान्तरण गरेका थिए । समुहले विगत ५ बर्षदेखि छात्रवृत्ति वितरण गर्दै आइरहेको छ ।

यसैगरी, सोही कार्यक्रममा एकल महिलाहरुलाई संगठित र सशक्तिकरण गर्दै हक अधिकार दिलाउन योगदान पुर्याएवापत समुहको सुनसरी संस्थापक अध्यक्ष सविता राई र पूर्वअध्यक्ष सुशीला गेगाललाई संस्थाले सम्मान गरेको छ । दुवैलार्य प्रजिअ चापागाई र उपाध्यक्ष इन्दुदेवी श्रेष्ठले सम्मानपत्र तथा दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

सोही कार्यक्रममा छहारी भवनमा निर्माणाधिन महिला पुर्नस्थापना केन्द्रको लागि विभिन्न व्यक्तिले आर्थिक सहयोगको घोषणा गरेका थिए । भवनको लागि जमुना त्रिखत्री मोक्तानले १५ हजार १ सय १, नैनकला न्यौपानेले ५ हजार १ सय, मधु स्थापितले ५ हजार १ सय, मिना पुलामीले ११ हजार, सकुन्तला भुषालले २१ हजार १ सय ५१, एमाले उपमहानगर उपााध्यक्ष नायायण सुबेदीले १० हजार १ सय र मनिष कसजु श्रेष्ठले ५हजार १ सय रुपैया सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।
 

प्रकाशित: ९ असार २०७३ १४:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App