८ वैशाख २०८१ शनिबार
समाज

धोवादीको फलाम सरकार अाफैंले प्रशोधन गर्ने

नवलपरासी–नवलपरासीको पहाडी क्षेत्र धोवादीमा भेटिएको फलाम खानीको उत्खनन् र प्रशोधनको काम पनि सरकारले नै गर्ने उद्योग मन्त्री सोमप्रसाद पाण्डेले बताएका छन्। सो क्षेत्रमा खानी तथा भूगर्भ विभागको टोलीले अनुशन्धान गर्दै आएको छ।

अनुशन्धनात्मक कामको निरीक्षण गर्न शनिबार धोवादी पुगेका मन्त्री पाण्डेले बजेट र अन्य आवश्यक स्रोत साधनको चिन्ता नलिइ रफ्तारमा काम गर्न विभागका अधिकारीलाई आग्रह गरे। 'आवश्यक बजेट, स्रोत साधन र अन्य व्यवस्थापनको विषयमा सरकारले चाहिए जति सहयोग गर्छ। तपाइँहरुले चाँडोभन्दा चाँडो काम गर्नु होला', मन्त्री पाण्डेको भनाइ थियो। प्रारम्भिक अध्ययनहरुले धोवादीको फलाम खानी नेपालमा अहिलेसम्म फेला परेकामध्ये सवैभन्दा ठूलो हुन सक्ने सम्भावना देखिएको छ। त्यहाँबाट के कति मात्रामा कच्चा पदार्थ निकाल्न सकिन्छ भन्ने यकिन गर्न अझै केही थप अनुसन्धान गर्न बाँकी नै छ।

'पर्वत, काठमाडौं फुलचोकी र रापेछापको ठोसेमा भएको फलाम खानीमा के कति मात्रामा कच्चा पदार्थ छ भन्ने यकिन भएर उत्खनन् गर्न मात्रै बाँकी रहेको हो। यहाँ त्यसरी ठ्याक्कै भन्न सक्ने अवस्था छैन। तर प्रारम्भिक अनुसन्धाले अन्यत्रभन्दा धेरै मात्रामा फलाम रहेको अनुमान गर्न सकिन्छ', खानी नता भूगर्भ विभागका निमित्त महानिर्देशक राजेन्द्रप्रसाद खनालले भने।

कोइला खानीका विषयमा अध्ययन गर्न जाँदा धोवादीमा कोइला नभएर फलाम रहेको पुष्टि भएको थियो। 'पहिलो पटक विस २०६७ सालमा सामान्य अध्ययन भएको रहेछ । त्यसपछि ६८ र ६९ सालमा पनि थप अध्ययन भएर यहाँ फलाम रहेको पक्का पक्की भएको हो। अहिले हामी विस्तृत अध्ययनमा लागेका छौं । उत्खनन् पूर्वको अध्ययनमा जुट्दै छौं', अध्ययन टोलीमा संलग्न भूगर्भविद् नारायण बास्कोटाले भने।

सरकारले सो क्षेत्रको १६० वर्ग किलो मिटर क्षेत्रलाई अध्ययनका लागि भनेर विस २०६५ सालदेखि नै रोकेर राखेको थियो । 'अहिले हामीले फलामको गुणस्तर निर्धारण हुने नमुना संकलन गरेका छौं। धेरै परीक्षण हाम्रै विभागमा सम्भव छ। तर केही नमुना बाहिर लगेर परीक्षण गर्नु पर्ने हुन्छ। नेपालमै गर्न सकिने ५६ वटा र थप १९० वटा नमुना संकलन गरेका छौं', भुगर्भविद् बास्कोटाले भने।

त्यस्तै फलामका साथै अन्य धातुको गुणस्तर निर्धारण हुने परीक्षण गर्नका लागि दुई टन नमुना पनि संकलन भएको छ। जुन नमुना नेपालमा परीक्षण गर्न सकिँदैन। भारत वा अन्य देशमा लैजानु पर्ने हुन्छ। यी नमुनाको परीक्षणपछि थप एक चरणको अन्तिम अनुसन्धान बाँकी रहन्छ। त्यसपछि उत्खनन्का लागि काम सुरु गर्न सकने विभागका निमित्त महानिर्देशक खनालले बताए।

'सरसर्ती काम भयो भने एक वर्षभित्रै सवै अनुसन्धान पूरा हुन्छन्। त्यसपछि उत्खनन्को काम सुरु गर्न सकिन्छ', खनालले भने। उत्खनन् गर्न सकिने भए पनि यसअघिका खानी फुलचोकी, ठोसे र पर्वतमा काम सुरु भएको छैन। त्यहाँ उत्खनन्का लागि निजी क्षेत्रलाई जिम्मा दिइएको थियो। धोवादीमा उत्खनन् र प्रशोधनसम्म सरकारले नै गर्ने योजना बनाएको उद्योग मन्त्री पाण्डेले बताए।

कति छ फलाम?

धोवादी पहाडको १० किलो मिटर लामो क्षेत्रमा खानी भेटिएको छ। पछिल्लो पटक फागुन २७ गते आएको विभागको पाँच सदस्यीय टोलीले ४० दिनको काम अन्त्य गर्दै छ। '१० किलो मिटर लामो खानी क्षेत्र छ। अहिलेसम्म दुई किलो मिटरको मात्रै राम्रोसँग अध्ययन गरेका छौं। थप परीक्षणको नतिजा के कस्तो हुन्छ अहिलेसम्म हेर्दा त्यही दुई किलो मिटरमा नै दुई करोड टन कच्चा फलाम छ', भूगर्भविद् बास्कोटाले भने।

परीक्षणको अन्तिम नतिजाहरु आउन बाँकी नै रहे पनि अहिलेसम्मको प्रारम्भिक अध्ययनले यो ठाउँमा नेपालकै ठूलो फलाम खानी रहेको देखिने मन्त्री पाण्डेको भनाइ छ। 'त्यसैले अनुसन्धानलाई रफ्तारमा सक्न र उत्खनन्का साथै प्रशोधनसम्मका काम गर्न सरकार आफै अग्रसर भएको हो। यो वर्ष यस क्षेत्रलाई अनुशन्धानको कुनै कार्यक्रम थिएन तर गर्नु पर्छ भनेर हामी कस्सिएको हौं', मन्त्री पाण्डेले भने।

पूर्व पश्चिम महेन्द्र राजमार्गको डण्डा बजारदेखि उत्तर महाभारत पर्वत क्षेत्रमा रहेको धोवादी गाविसको वडा नं. ३ पोखरी भन्ने गाउँ नजिकको पहाडमा फलाम खानी फेला गरेको हो। सो क्षेत्र राजमार्गदेखि २१ किलो मिटर टाढा छ। लगभग १० किलो मिटर पहाड चढ्नु पर्छ अरु समथर क्षेत्र छ। समथर क्षेत्रसम्मको सडक कालो पत्रे भएको छ। सडक क्षेत्रदेखि नजिकै रहेको खानी क्षेत्रको उपयोग गरेरै छाड्ने मन्त्री पाण्डेले बताए।

पहिले पनि भएको थियो उत्खनन्

भूगर्भविद्हरुले गरेको अध्ययनले सो क्षेत्रमा निकै समय पहिले पनि उत्खनन् हुने गरेको पत्ता लागेको छ। पहाडको पश्चिम किनारमा आठ फिट अग्लो र आठ फिट चौडा सुरुङ फेला परेको छ। सो सुरुङ २५ किलो मिटर लामो रहेको छ। भूगर्भविद् नारायण कास्कोटा भन्छन्, 'लगभग डेढ दुई सय वर्ष पहिला सो ठाउँमा फलाम उत्खनन् हुने रहेछ । खन्दै जाँदा पहिरोले पुरिएर पाँचजना मरेपछि रोकिएको भन्ने कथा भनिदै आएको पाइयो।'

पुरानो युगमा पनि फलाम उत्खनन् गरेर फाइदा लिएको अवस्थामा अहिलेको सरकारले बेवास्ता गर्नै नमिल्ने मन्त्री पाण्डेले बताए । फलाम खानी उत्खनन् सुरु भएपछि गाउँ र गाउँलेको अवस्था के हुन्छ भन्ने चिन्ता पनि स्थानीयलाई छ । धोवादी गाविस वडा नं. ३ पोखरी गाउँका नरबहादुर सारु फलाम भनेर फाइदा लिँदा आफूँहरुको उठिबास नहोस भन्ने बताए।

'यत्रो पहाडै फोर्ने भनेका छन्। हामी वरपर बस्नेलाई बस्ती नै छाड्नु पर्छ होला। हामी कहाँ जाने, सरकारले के गर्ने? यसको सम्बोधन बेलैमा हुनु पर्छ', नरबहादुरले भने । सो क्षेत्रमा आदिवासी मगर समुदायको बसोबास छ। मन्त्री पाण्डे स्थायीको बसोबास र रोजगारीको प्रवन्ध सरकारले नै गर्ने बताउँछन्। खानी भएको डाँडा गाउँदेखि एक किलो मिटर मात्रै टाढा रहेको छ ।

प्रकाशित: ४ वैशाख २०७३ १८:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App