८ वैशाख २०८१ शनिबार
समाज

वैदेशिक रोजगारीमा बढ्दो ठगी, मेनपावरलाई कारबाही हुँदैन

काठमाडौं– सजायको भागीदार हुन कतिवटा अपराध गर्नुपर्ला ? सायद सबैले फर्काउने जवाफ हो– हरेक व्यक्ति र संस्थाका लागि एउटै अपराध पर्याप्त हुन्छ। तर, नेपालका कतिपय मेनपावरले रोजगारीको लोभमा वर्षौंदेखि हजारौं युवायुवतीलाई पटक–पटक ठगिरहँदा पनि कारबाही भएको छैन। मेनपावरविरुद्ध सयौंपटक उजुरी पर्दा पनि वैदेशिक रोजगारीको नियमन र व्यवस्थापन गर्ने जिम्मेवारी लिएका निकाय तैं चुप मैं चुपको अवस्थामा छन्।

रोजगारदाता मुलुकका कमसलखालका कम्पनीबाट माग ल्याउने र त्यस्ता कम्पनीमा कामदार पठाउँदा सम्झौताअनुसार काम र पारिश्रमिक नपाएको भन्दै मेनपावरविरुद्ध दिन–प्रतिदिन उजुरी थपिएका थपियै छन् । वैदेशिक रोजगारीमा युवायुवतीलाई पठाउँदै आएका ७ सय ५४ मेनपावरमध्ये अधिकांशविरुद्ध उजुरी परे पनि अहिलेसम्म श्रम तथा रोजगार मन्त्रालय र वैदेशिक रोजगार विभागले त्यस्ता मेनपावरलाई कारबाही तथा खारेज गरेको पाइँदैन । जबकि वैदेशिक रोजगार ऐन २०६४ ले नियमविपरीत रकम असुल्ने, सम्झौताअनुसार पारिश्रमिक र काम उपलब्ध नगराउने मेनपावर खारेज गर्नेसम्मको अधिकार विभागलाई दिएको छ । तर, विभागका अधिकारीमाथि प्रलोभनमा परेर युवायुवती ठगी गर्ने मेनपावरलाई कारबाही गर्न नसकेको आरोप लाग्दै आएको छ ।

युवा–युवतीलाई विदेश पठाउँदा ठगी गरेको भन्दै कतिपय मेनपावरविरुद्ध १ सय १५ पटकसम्म उजुरी परेको छ

युवा–युवतीलाई विदेश पठाउँदा ठगी गरेको भन्दै कतिपय मेनपावरविरुद्ध १ सय १५ पटकसम्म उजुरी परेको पाइएको छ । त्यस्ता मेनपावरलाई पनि सम्बन्धित निकायले कारबाही गर्न सकेको छैन । विभागका अनुसार आरए एन्ड आर ट्र्याकर मेनपावरविरुद्ध विभागमा १ सय १५ वटा ठगीका उजुरी परेका छन् । त्यस्तै दि रिभर ओभरसिजविद्ध १ सय ४ पटक उजुरी परेको छ । ५०  भन्दा बढी उजुरी परेका दर्जन मेनपावरले खुलमखुला कारोबार जारी राखेका छन् ।

पीडितका अनुसार कुनै मेनपावरविरुद्ध उजुरी परेपछि विभागका कर्मचारी ठगी गर्ने मेनपावरलाई कारबाही गर्नुको साटो उल्टै बार्गेनिङ गर्ने बहाना बनाउँछन् । रोजगारीमा पोर्चुगल पठाइदिन्छु भनी दलाल र मेनपावरले पाँच लाख रुपैयाँ लिएको बताउने सिन्धुली, कमलामाईका राजेश अधिकारी विभागमा डुबेको रकम फिर्ता दिलाइदिन जतिपटक पुग्दा पनि बेवास्ता भइरहेको गुनासो गर्छन् । वैदेशिक रोजगार विभागमा कुनै व्यक्तिका विरुद्ध ठगीका उजुरी दर्ता भए कर्मचारीले कारबाही गरे जस्तो गर्ने र मेनपावरविरुद्ध उजुरी पर्दा बार्गेनिङ गर्ने धन्दा फस्टाएको भन्दै पीडितले गुनासो गरिरहेका छन् ।

पीडितले लगाउँदै आएको यस्तो आरोप विभागका कर्मचारीले मौखिक रूपमा अस्वीकार गरे पनि तथ्यगत रूपमा हेर्दा अस्वीकार गर्ने अवस्था भने छैन । चालु आर्थिक वर्षको जेठ महिनासम्म विभागमा दर्ता भएका व्यक्तिगततर्फ ६ सय ३ र संस्थागत (मेनपावर) विरुद्ध १३ सय ५४ उजुरीमध्ये विभागले व्यक्तिगततर्फका एक सय ९४ र संस्थागततर्फका ३ वटा मुद्दा मात्र वैदेशिक रोजगार न्यायाधीकरणमा दर्ता गरिएको छ । पीडितका अनुसार बार्गेनिङ गर्न पाइने भएकाले मेनपावरविरुद्धका धेरैजसो उजुरी विभागमै रोकिन्छन् भने रकम दिन नसक्नेका व्यक्तिगत उजुरीलाई मात्र न्यायाधीकरण पु¥याउने गरिन्छ । विभागका अनुसार चालु आर्थिक वर्षको साउनदेखि जेठ महिनासम्म वैदेशिक रोजगारीको क्रममा ठगिएको भन्दै पीडितले ६० करोड ५५ लाख ९९ हजार ४ सय २४ रुपैयाँ दाबी गरेका छन् । जसमा विभागले ९ करोड ४९ लाख ३ हजार ८५ रुपैयाँ मात्र विगो भराउन सकेको छ ।

विभागका कानुन निर्देशक गोविन्दप्रसाद उपाध्याय पछिल्लो समय मेनपावरविरुद्ध उजुरी गर्ने क्रम बढेकाले सबैको छानबिन नगरी दोषी करार गर्न नमिल्ने बताउँछन् । ‘कतिपय मेनपावरले पनि गलत गरेका होलान्,’ उपाध्यायले भने, ‘वैदेशिक रोजगारीमा युवायुवती ठगीमा पर्नुमा सबै दोष मेनपावरको मात्र हुँदैन, कतिपय युवायुवती आफ्नै कारणले पनि समस्यामा पर्ने गरेका छन् ।’ केही समययता दैनिक १२ देखि १५ सय युवायुवती वैदेशिक रोजगारीमा जाने गरेकोमा प्रहरी र विभागमा गरी दैनिक दुई दर्जन जतिले ठगीमा परेको भन्दै उजुरी दिने गरेका छन् ।

 

प्रकाशित: १० असार २०७३ ०२:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App