८ वैशाख २०८१ शनिबार
अन्य

नागबेली, लालीगुराँस र जानकी

उषा हमाल
घोडेजात्राको बिहान उपत्यका छोडेर साँगा भन्ज्याङ हुदैँ लाग्यौँ हामी सिन्धुली वर्दीबास सडकतिर ।  साँगा भन्ज्याङ पुगेपछि डोलेश्वर महादेवलाई बाटोबाट दर्शन ग¥यौँ सहयात्री मुकुन्द अधिकारी, उषा सिग्देल, सुरज सिग्देल र मैले ।

धुलिखेल नपुग्दै विगतको रमाइलो यात्राको सम्झनाको चक्का खुलेर मुखको साउन्ड बक्सबाट बज्न थाल्यो । केही वर्षअघि यस्तै मिलन्तेहरूको दस जोडी लागेका थियौँ नमोबुद्घ । त्यही नमोबुद्घतिर लाग्ने काभ्रे भन्ज्याङको छेडोले सम्झाइ दियो अतीत । औधी रमाइलो त्यो यात्रा सम्झँदै भकुण्डेबेसीतिर ओरालो झ¥यौँ हामी । यसपटक यो यात्रामा छुटेका ती सबै मिलन्तेलाई सम्झेर मन कताकता खल्लो नै भयो ।
भकुण्डेबेसीमा मीठो चिया खाइयो । आफूले जिल्ला शिक्षा कार्यालय काभ्रेमा काम गर्दा एसएलसी परीक्षा अनुगमनमा पुगेको भकुण्डेबेसी, मंगलटार हुँदै अघि बढ्दा ती दिनका चक्का पनि मज्जैले खुल्न थाले, दिमागमा घुम्दै ।

संयोगले यो दिन पनि एसएलसी परीक्षा नै परेको रहेछ । एउटा सानो गाडीभरि कोचाकोच गरेर हिँड्थ्यौ हामी शिक्षा कार्यालयका स्टाफ एसएलसी परीक्षा अनुगमनमा । कुरा पनि बाटोभरि केके हो केके आउने । हाँस्दाहाँस्दै गाडी चालकले गियर फेर्न, ब्रेक लगाउन नै बिर्सेलान् भन्ने डर ! लोकल कुखुराको मासु र भात स्वादले खाइन्थ्यो यता आउँदा । पछि कसले हो खै ‘यी त परीक्षा हेर्न हैन, पिकनिक पो खान जान्छन्’ भनी हाकिमसँग पोल लगाइदिएछन् । हाकिमले मज्जैले तितरबितर पारिन् हामीलाई । ए बाबै हामी त्यस्ता गैरजिम्मेवार त कहाँ थियौ र ? –मंगलटार नकाट्दासम्म म फत्फताइरहेँ ।

कुनकोसी र तामाकोसीको दोभानको उत्तिकै मनमोहक दृश्य आयो । मन त त्यसैत्यसै रमाएकै थियो । पहाडी भूभागका एकपछि अर्को मनमोहक दृश्य आँखामा पर्न थाले । पेटले घन्टी बजाउन थाल्दा खाना खाने ठाउँ मूलकोट पनि आइपुग्यो । टेबुलमा तामाकोसीका माछा आइपुगे, तारेका तथा ग्रेभी बनाएका । तराईका बासी माछा खाएको जिब्रोले नदीका ताजा माछा खान पाएको, जिब्रो फट्कार्दै खाइयो पो त !
अब बाटो झन्झन् सेलरोटी घुमेजस्तै घुम्दै उकालियो ।

जहाँ अलि तेर्सो आउँछ त्यहाँ पनि सर्पले सात ठाउँ ढाड बटारेजस्तो नागबेली बन्छ बाटो । तल हे¥यो कोसी त्यस्तै नागबेली भएर बगेको निलो स्वरूपमा । माथि हे¥यो बाटो कोसी नै जसरी सात घुम्ती हुँदै उकालिएको ।
डाँडाकाँडा लालीगुराँस फुलेका दृश्य पूरै रातै थिए । डाँडामा अबिर छरेजस्तै । सानासाना स्कुले केटाकेटीहरू हातमा गुुराँसका थुँगा लिएर बाटो नै छेक्लान्झँै गरी बेच्न बसेका । गुराँस किनिदिँदा उनीहरूको अनुहारमा झल्किएको खुसीको बयान यी काला अक्षरहरूमा कसरी गर्नु ? कहाँ पाउनु यो अग्र्यानिक मुस्कान सहरमा र लेख्दै गरेका यी अक्षरमा ? किताबको झोलाले थिचिएका ब्रोइलर केटाकेटीहरूमा कहाँ पाउनु यस्तो उन्मुक्त खुसी र हाँसो !

यी त प्राकृतिक केटाकेटी हुन् । पहाडको भीर कन्दरामा फूलेका आफै लालीगुराँस हुन् यिनीहरू । सानै खुसीमा कति रमाउन जान्दछन् यी । हामीले उनीहरूका हातका लालीगुराँस किनिदिँदा गालामा लालीगुराँसको रंग चढेको त्यसैत्यसै खुसीले पुलकित हँुदै । जीवन होस् त यस्तो । ठ्याक्कै प्रकृतिजस्तो । लालीगुराँस जस्तो । सहरका उतारचढावका दिनचर्याले छेउ पनि भेट्न सक्दैन यी प्राकृतिक जीवनका खुसीलाई । सहरमा खुसी नोटका बिटाले ल्याउँछ, रंगिचंगी उज्यालोले ल्याउँछ । यहाँ त खुसी आउन एक थुँगा लालीगुराँस फूलिदिए पुग्छ । कसरी हामीले गुमायौँ प्रकृतिले सित्तँैमा दिएको यो शाश्वत खुसी ? आफूले खनेको खाडलमा आफै दिनदिनै फसिरहेका छौँ हामी । प्रकृतिले उपहार दिएको स्वच्छ हावा र पानी छोडेर एक सर्को स्वच्छ हावा नपाइ छटपटाइरहेछाँै हामी सहररूपी खाडलमा !

यसरी बहकियो मन बाटोमा लालीगुराँस बोकेका कलिला हातहरू देख्दा । हेर्नु छ बाटोको बनावट । मन भने लालीगुराँस र अबोधहरूको मुस्कानबाट हट्नै मान्दैन । अहो अब त खुर्कोट कट्दैछ बाटो । यहीँबाट झन् यो जापानी शिल्पीहरूको दिमाग र हातको परिश्रमको जादु एकपछि अर्को घुम्ती पार गर्दै आँखामा आउन थाल्यो । आफ्नो देशमा समुद्रमुनि टनेल बनाउने जापानी यो भीर, पहाड, कन्दरामा कलात्मक बाटो बनाउन पनि उत्तिकै निपुण । जस्तो दिमाग उस्तै मन । उस्तै धैर्य । उस्तै मेहनत । यो अर्काको देशमा बीस वर्ष लगाएर यो कठिन काम कसरी गरे होलान् ती जापानीले ? तिनलाई स्मरण नगरी रहनै सकिनँ ।

बाटोको  कलात्मक स्वरूपले उत्तेजित हुँदै एउटा पुल कटेपछि दोबाटो आयो । एउटा बाटो पहाडको दायाँ कोल्टो र अर्को बायाँ कोल्टो मोडियो । चालक थापाले गाडी बायाँ घुमाए । टायरले घरर आवाज निकाल्यो । होइन हामी गलत बाटो पो आयौँ । गाडी  फेरि दायाँ लागेपछि टायरले पहिलेकै आवाज निकाल्यो । टायरको आवाजबाटै बाटोको गुणस्तर चिन्ने भैसकेछौँ हामी !

बीपी राजमार्गको बयान सुनेभन्दा रमाइलो लाग्यो । त्यसैले भनिन्छ अर्काले गरेको बयानभन्दा आफ्नै आँखाले देखेको कत्ति राम्रो कत्ति ! बाटो निर्माणको प्राविधिक पक्षबारे जानकार इन्जिनियरद्वय सुरज र मुकुन्दसँग यात्रा गरिरहेका हामी बाटोको सौन्दर्यपानका साथै बाटो कसरी बनेको छ, पानीको निकासको व्यजस्था र तल–माथिका रिटेनिङ वाल सबै अब्बल दर्जाका भएको निक्र्योल गर्दै बाटो काट्यौँ । यो मार्गलाई पूर्णतः पर्यटकीय मार्गका रूपमा विकसित गर्नुपर्ने कल्पनामा यो घुम्तीमा क्याफे, यो घुम्तीमा रेस्टुराँ, लज भन्दै यात्रा जारी राख्यौँ ।
हामीलाई बाटोको प्रविधिसँग जोडिएको सौन्दर्यले तानिरह्यो ।

वास्तवमा विकास त प्रकृतिसँग मिलेर गरेको पो राम्रो हुँदोरहेछ ! प्रकृतिसँग खेलबाड गर्दै वा निहुँ खोज्दै गरेको विकास त विकास नभएर विनाश हो । हामीले विश्लेषण ग¥यौँ– यो बाटो बनाउँदा प्रकृति र मानवबुद्घिको राम्रो संयोजन भएको रहेछ । यो बाटोका योजनाकार इन्जिनियरहरू कोरा प्राविधिकमात्र नभई कलाकार पनि रहेछन् ।
गाडी सिन्धुली गढितिर मोडियो– ‘सिन्धुली गढी घुमेर हेर्दा सुन्तली माई कति पो राम्रो दरबार, मा¥यो नि मायाले मा¥यो’ गुनगुनाउन थाल्यौँ हामी । कुनै समय निकै प्रख्यात यो गीत हाम्रो पुस्ताले कहिल्यै बिर्सन सक्दैन ।

कति राम्रो रहेछ त दरबार हेर्नुपर्छ है, सबैको राय यही भयो । त्यहाँ पुगेपछि थाहा भयो– यो पृथ्वीनारायण शाहकालीन ऐतिहासिक किल्ला माओवादी युद्धकालीन हिंसाको सिकार भैसकेको रहेछ । अमिलो निचरेजत्तिकै भयो मन, ऐतिहासिक धरोहरको सम्झनामा ।
सिन्धुली बजारतर्फको ओरालो झरेपछि ढल्केबर हुँदै जनकपुरतिर मोडियाँै हामी । र, दिउँसै पुगियो जनकपुरधाम । बासको बन्दोबस्त मिलाएर जनकपुर बजार घुम्ने योजना बन्यो । मेरा आँखा भने बीस वर्षअघिको जनकपुर खोज्दै थिए । त्यस समय भेटेको जनकपुरको त्यो जीवन्तता कताकता हराएको महसुस भयो मलाई । बाटोमा पिचको नामनिशानै हराएछ । धुले बनेछन् सबै बाटा । बजारमा मानिसको चल्तिफिर्ती नै देखिँदैन । पसलहरू सुनसान । जानकी मन्दिरवरपर मात्र केही धार्मिक पर्यटक देखिए ।

बीस वर्षअघि घुमेको जनकपुरधाम यौवनबाट बुढ्यौलीतिरको यात्रामा दु्रत गतिमा लम्किरहेको रहेछ । राजा जनकको दरबार वा जानकी मन्दिरमात्र हुँदैनथ्यो भने जनकपुर मुखमा एउटै दाँत नभएको बूढाबूढीमा परिणत भैसकेको हुन्थ्यो । किन जनकपुरको विकास उल्टो गतितिर फर्किएको होला ? यसबारे चर्कै छलफल भयो हामीबीच ।

भोलिपल्ट बिहान तीर्थयात्री भएर गइयो जानकी मन्दिर । पूजाको थाली लिएर लाइन बसियो । बिहानको आरतीको बेला परेछ । झ्यामझ्याम बाजा र भजनसहित नित्य पूजा भैरहेको थियो । कहाँको धार्मिक आस्थाको पूजा गर्न लाइन बसेकी म सोच्न थालेँ– जानकीको जीवनबारे । आफ्नो आदर्श बचाउन गर्भवती अवस्थामा जंगल लखेटिएका राजा रामचन्द्रकी पत्नी जानकीको जीवनको हविगतप्रति मभित्र निकै चासो बढ्यो । अयोध्याकी महारानी भएर राज गर्ने बेलामा बनको बास ! त्यहाँ पनि रावणजस्तो दूराचारीबाट अपहरणमा पर्नुप¥यो, ऊसँग अनेकाखालका युद्ध गर्नुप¥यो । रावण मारेर युद्ध जितेको श्रेय रामचन्द्रलाई गयो । जानकीले अलिकतिमात्र पनि चित्त डगमगाएको भए न त रामचन्द्रले लंका जित्न सक्थे न उनको इतिहास बन्थ्यो । तर, पत्नी गर्भावस्थामा भएका समय परित्याग गर्ने पति कहलिए भगवान् ! किन भयो होला त्यस्तो ? यस्ता विषय बेलाबखत विमर्शका रूपमा अगाडि आइरहेका छन् ।

अब ती परित्यक्ता सीता र परित्याग गर्ने रामको मूर्ति सँगै राखेर पूजा गर्नुको के औचित्य होला ? प्रश्न अनुत्तरित बन्दै आएका छन् । कतै कथामा घटनालाई तलमाथि त पारिएन ! उनीहरू त जीवनकालमै एकअर्काबाट छुट्टिसकेका न थिए । जुन लोकले सीतालाई कुल्टा भएकी र राजा रामचन्द्रकी महारानी भएर पनि दरबार बस्न अयोग्य भएको लान्छना लगायो, त्यही लोकले यति भव्य दरबारमा उनको मूर्तिलाई रामचन्द्रको मूर्तिसँगै राखेर पूजा गरिरहेको छ । यतिमात्र होइन राम–सीता विवाह उत्सव मनाउँछ यो लोक हरेक वर्ष धुमधामसँग । जुन लोग्नेले आफूलाई असल पत्नीलाई परित्याग ग¥यो के त्यही लोग्नेसँग बारम्बार विवाह बन्धनमा बाँधिने इच्छा थियो होला त सीतालाई ? प्रश्न गम्भीर छ, तर शास्त्रले यही प्रश्नको उत्तर नदिई एकोहोरो एकांगी कथा स्थापित गरिदिएको छ । यसबारे गहन खोज–अनुसन्धान आवश्यक छ ।
हाम्रा धर्मशास्त्रहरू पनि कति अनौठा छन् ? गर्भवती पत्नीलाई एक्लै जंगलमा छोड्ने रामचन्द्रलाई कथामा आदर्शवादी भगवान् बनाइएको छ ! कथावाचक र पछि लेखकले ध्यान पु¥याउन सकेका छैनन् । आफ्नी पत्नीलाई जुवामा थापेर हार्ने अनि रजश्वलाको अवस्थामा पूर्ण सभामा नंग्याउँदा समेत प्रतिकार गर्न नसक्ने युधिष्ठिरलाई पुरुषार्थी, सत्यवादी भगवान् बनाइएको छ ! जब कि यी दुवै घटना घोर अमानवीय छन् । पक्कै पनि भगवान् अमानवीय त थिएनन् ! तर, कथालाई किन त्यो दिशामा मोडियो ? आधुनिक तथा वैज्ञानिक यो समयमा त्यसबारे खोजबिन आवश्यक छ ।
हैट, कहाँको पूजा, कहाँको धर्म ! मन त कुदेछ बेगवान तरिकाले विपरीत दिशातिर । अब लौ भएन । अब त माला लगाइयो । ठाँटले फोटो खिचियो । फेसबुकमा अपलोड गरियो । होटलमा पुगेर दह्रो नास्ता बजाएर स्वादिलो खाना भ्याउन पुगियो सिन्धुली बजारतिर ।
लौ है साथी हो, फेरि लागियो नागबेलीको देशमा । गाडीले घुम्ती छिचोल्दा आन्द्राभुँडीले पिङ खेल्न थाले, चचहुइ–चचहुइ ।

 

प्रकाशित: १ आश्विन २०७३ ०२:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App