७ वैशाख २०८१ शुक्रबार
अन्य

जनउद्धारका लागि निकालिन्छ ‘बौमत’

काठमाडौं झोछेँस्थित न्हूसाः मानन्धर सनागू खलःका सुरेश मानन्धर (सानुदाई) ताहाचलस्थित आफ्नो आँगनमा आइतबार बिहानैदेखि नर्कट ल्याई ताछ्दै थिए । उनको यो चटारो इन्द्रजात्राको दिन बेलुकी परम्परागत रूपमा जनउद्धारमा जानका लागि थियो।

इन्द्रजात्राअन्तर्गत भदौ शुक्ल चतुर्दशीमा गणेश, भैरव र कुमारीको रथ जात्रा र दागीं निकालेपछि स्थानीय मानन्धर समुदायले ‘बौमत’ निकाल्छन्, उनी यसै बौमतको लागि नर्कट बाँध्दै थिए।

इन्द्रजात्राको दिन सबभन्दा अन्त्यमा नर्कटलाई ३२ हात लामो हुने गरी बाँधी, नर्कटमाथि गोबर लिपी, त्यसमाथि पाला (दियो) राखी बत्ती बालेर नगर परिक्रमा गराइन्छ, यसैलाई बौमत भनिन्छ।

‘बौमत किन निकालिन्छ त?’

बौमत निकाल्न प्रत्यक्षरूपमा संलग्न हुने अर्को गुठी चसाँद्वँका गुठीयार उत्तम मानन्धर भन्छन्, ‘हाम्रा पुर्खाहरूले परम्परादेखि बौमत निकाल्दै आएका हुन् । यो किन निकालिन्छ भन्नेबारे कहिँकतै अभिलेख भेटाएको छैन । तर, पुर्खाबाट सुनेको भनाइ अनुसार जनउद्धारको लागि नै निकालिन्छ । इन्द्रजात्रामा सहभागीहरूलाई केही भएको छ भनी हेर्नका लागि बत्ती बालेर खोज्दै जान नै बौमत परिक्रमा गराउने चलन चलाएको हुनुपर्छ।’

इन्द्रजात्राको दिन कुमारी, भैरव र गणेशको रथ वसन्तपुरबाट तल्लो नगरमा परिक्रमा गराई पुनः सोही स्थानमै पु-याएपछि स्वर्गका राजा इन्द्रकी आमाको रुपमा लिइने दागीं निस्किन्छ । दागीं पनि रथ परिक्रमा गराउने नगरमै परिक्रमा गराइन्छ । वसन्तपुर नजिकै रहेको मरुटोलस्थित दागींघरबाट निस्केको दागीं नगर परिक्रमा गर्ने क्रममा माथिल्लो नगर घुमी मरुटोल पुगेपछि बौमत परिक्रमाको लागि काष्ठमण्डपको उत्तर तर्फबाट निस्किन्छ।

‘विशेषत दागींंसँगै गएकाहरू बाटो बिराएर बसेका छन् वा बिरामी भएर बसेका छन् कि भनी हेर्न नै बौमत निकाल्ने परम्परा चलाएको हुनुपर्छ,’ उनले भने।

किंवदन्तीअनुसार ‘दागीं’लाई इन्द्रकी आमा भनिन्छ । इन्द्रजात्राको दिन कुमारी रथ यात्रा सम्पन्न भएपछि मरुबाट दागीं निस्किन्छ । दागींसँगै वर्षदिनमा मृत्यु भएको परिवारका छोरा, छोरीहरू मृत्यु भएका आमाबाबुको मोक्षको लागि निराहार भएर हिँड्छन् । दिनभर केही नखाई निराहार हिँडेकाहरूमध्ये कसैलाई केही भएको छ कि भनी हेरी उद्धार गर्नको लागि बौमत निकाल्ने परम्परा बसालेको विश्वास छ।

बौमत परम्परामा संलग्न अर्को गुठी लाय्कूसाःका सानु मानन्धर भन्छन्, ‘परापूर्वकालमा अहिलेजस्तो जताततै बत्ती थिएन, अनि बाटो पनि राम्रो हुन्नथ्यो होला । त्यही भएर पालामा झलमल्ल बत्ती बालेर खोज्दै हिँड्न यो परम्परा बसालेको हुनुपर्छ।’

न्हूसाःका सुरेश मानन्धरलाई लाग्छ– अहिले जसरी रेडक्रसका उद्धारकर्ताहरू जात्रामा कहीँ केही दुर्घटना भएमा उद्धारको लागि पछिपछि लागेका हुन्छन्, परापूर्वकालमा त्यसरी नै उद्धारको लागि खोज्न बौमत चलाएको हुनुपर्छ।

बौमतलाई पितृ मोक्षको लागि बाटो देखाउन बत्ती बालेको भन्ने भनाइ पनि रहँदै आएको छ । तर, उत्तम मानन्धर यसमा सहमत छैनन् । उनी भन्छन्, ‘बौमत निकाल्दा कुनै किसिमको पूजाविधि गर्नुपर्दैन, कुनै किसिमको चोखो गर्नुपर्दैन । पितृ मोक्षको लागि गर्ने कार्य चोखो नभई गर्नै मिल्दैन । त्यसैले यो मृतात्माको लागि गरिने कार्य हुँदै होइन, विशुद्ध जनउद्धारको लागि नै गरिने परम्परा हो । पुर्खाहरूले गर्दै आएको कार्य अहिलेसम्म परम्पराको रूपमा निरन्तर चल्दै आएको मात्र हो।’

बौमत जात्रा हनुमानढोका दरवार क्षेत्र आसपास रहेका ६ मानन्धर गुठीले सञ्चालन गर्छन् । पाँच गुठीले बौमतको लागि आवश्यक नर्कट बाँध्नेदेखि लिएर पालामा बत्ती बाली नगर परिक्रमा गर्छन् भने एउटाले गोबर लिप्ने र पाला राख्छन्।

बौमत निकाल्ने जिम्मा मानन्धर समुदायलाई नै दिएको पनि कारण रहेको उनी बताउँछन् । उनका अनुसार मानन्धरहरूको परम्परागत पेशा तेल पेल्नु हो । बौमतमा बत्ती बाल्न तेलको आवश्यक हुन्छ । ‘त्यही भएर मानन्धर समुदायलाई बौमत निकाल्ने जिम्मा दिएको हुनुपर्छ,’ उनले भने, ‘बौमत निकाल्न आवश्यक तेल अहिले पनि मानन्धर गुठीले नै ल्याउने गर्छन्।’

बौमत निकाल्न हनुमानढोका दरवार आसपास रहेका लाय्कूसाः, न्हूसाः, फल्चासाः, दैसाः, चस्वांद्वः र पुखुद्यांका मानन्धर समुदाय संलग्न हुन्छन् । बौमत ३२ हात लामो हुनुपर्छ भन्ने चलन छ । टाउकोको भाग लाय्कूसाः, घाँटीको भाग न्हूसाः, जिउको भाग फल्चासाः, कम्मरको भाग दैसाः, र पुच्छरको भाग चस्वाँद्वःका गुठीले बनाउँछन् । इन्द्रजात्राको दिन यी सबै भागलाई काष्ठमण्डको उत्तर मोहडामा ल्याएर जोड्छन् । त्यसपछि यसमा पुखुद्यां समुदायका गुठीहरूले गोबर राखी पाला राख्छन् । पाँच समुदायका गुठीले आ–आफ्नो भागमा परेको पालामा तेल र बत्ती राख्छन्।

इन्द्रजात्राको दिन कुमारी रथ नगर परिक्रमा गराई वसन्तपुर ल्याएपछि दागीं निस्किन्छ । दागीं र बौमत दुवैले कुमारी रथ यात्रा हुने माथिल्लो वा तल्लो नगरमा इन्द्रजात्राकै दिन परिक्रमा गर्छ । दागीं माथिल्लो नगर परिक्रमा गरी मरु टोल पुगेपछि बौमत परिक्रमाको लागि निस्कन्छन् । बौमतको टाउकोको भाग लाय्कूसाःका मानन्धरहरूले काँधमा बोकेका हुन्छन् भने, घाँटी, शरीर, कम्मर र पुच्छरको भाग अन्य गुठीका समुदायले हातले बोकेका हुन्छन् । बाटोभर पालामा तेल थप्दै झलमल्ल हुने गरी बाल्दै नगर परिक्रमा गराउँछन्।

बौमत निकाल्न मानन्धर समुदाय अहिले पनि उत्साहपूर्वक लागिरहेका छन् । जात्राको लागि खासै केही समस्या नरहे पनि अहिले नर्कटपाउन भने धेरै गाह्रो भएको गुठीयारहरू बताउँछन्।

ताहाचलमा बौमतको लागि नर्कट बाँध्दै गर्दा सुरेश मानन्धरले भने, ‘यो बाँध्न त्यति गाह्रो होइन । तर, नर्कट पाउन भने धेरै गाह्रो छ । सहरभित्र त पाउनै छोडिसक्यो भन्दा नि हुन्छ । यहाँ एउटा खाली जग्गामा नर्कट भेटाएकाले यसपाली यहिँ बसेर बनाउँदैछु । खासमा त गुठी भएको ठाउँमै बनाउनुपर्ने हो।’

चसाँद्वँ गुठीका उत्तर मानन्धरले भने, ‘हामीले नर्कट खोज्न १० दिनअगाडिदेखि पैसा तिरेर मान्छे लगायौं, उनले पनि धेरै ठाउँमा खोजेर बल्ल भेटाए। अब केही वर्षपछि त नर्कट पनि उपत्यका बाहिरबाट ल्याउनुपर्ने अवस्था आउँछ जस्तो छ।’

प्रकाशित: ८ आश्विन २०७५ ०५:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App