coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

‘सहरवासी अनुशासनहिन छन्’

अजय अधिकारी शुशील, कलाकार

तपाईँको बुझाईमा सहर के हो?
मानिसका हरेक आवश्यकता पूरा गर्नसक्ने सुविधायुक्त र व्यवस्थित ठाउँ नै सहर हो। सहरको जनसंख्या धेरै हुन्छ । तर, त्यहाँको व्यवस्थापकीय पक्ष निकै चुस्त एवं कडिकडाउ हुन्छ। सहरमा नियमले सबैलाई बाँधेको हुन्छ।

घुमेकामध्ये मनपरेको सहर कुन हो?
मलाई पोखरा नै मनपर्छ । सानैदेखि जाउँजाउँ भनेर रहर लाग्ने ठाउँ हो, पोखरा । सानोमा कसैले सोध्दा जाँदै नगएको ठाउँमा गएर छु भने अलि गफ लाउथेँ । पछि पोखरासँग घुलमिल हुने अवसर पाएँ।

पोखराको कुन पक्षले तान्यो?
त्यहाँ सफासुग्घर र हराभरा दृश्यले मेरो मन लोभ्यायो । घुम्ने ठाउँ प्रशस्त, व्यवस्थित बस्ने ठाउँ, धुवाँधुलोमुक्त भएकोले नै मलाई पोखरा मनपरेको हो।

काठमाडौं कस्तो लाग्छ?
काठमाडौं पनि राम्रै लाग्छ । उपत्यका मेरो जन्मभूमि पनि हो । तर, पछिल्लो समय अलिकति भद्रगोल भएको छ । सबैतिर धुलोधुवाँ मात्रै छ । देशैभरका मानिसहरू यही थुप्रिएका छन् । अवसर खोज्दै काठमाडौं छिर्नेहरूको संख्या अझै पनि घटेको छैन । सरकार र आम नागरिककै गैर–जिम्मेवारीका कारण काठमाडौं फोहर बनेको हो । धराप सडक, पार्किङ असुविधा, बिजुलीका तार, ट्राफिक जामलगायत सहरवासीका मुख्य समस्या हुन्।

कुन–कुन देशका सहर पुग्नुभएको छ?
त्यति धेरै देशका सहर पुग्न पाएको छैन । हालै बेलायतका केही सहर घुमेर आएको छु । बेलायतका भित्री साना सिटीहरू धेरै सुन्दर लाग्यो । त्यहाँका सहर अति नै सुन्दर छन् । कतै फोहर देखिन्न । ऐतिहासिक छन् । नागरिक पनि सहरको विषयमा निकै सजग छन् । उनीहरू सहर बिग्रने गरी कुनै काम गर्दैनन् । यहाँ पुराना वस्तुहरूलाई मौलिकता झल्कने गरी सजाएर राखिएको छ । त्यहाँका भित्री सहरहरू पनि उत्तिकै रमणीय छन्, चारैतिर सफा छ । सहरमा देखिने हरेक कुरा नयाँ लाग्छन् । त्यस्तै, भारत र कतारका केही सहर पनि घुमेको अनुभव छ।

तपाईँ कस्तो सहरको परिकल्पना गर्नुहुन्छ?
सडक जाम भएको देख्न नपरोस् । ठाउँठाउँमा पार्किङ सुविधा होस् । सबैतिर सफा, हरियाली प्रदूषणमुक्त, सेवा सुविधायुक्त होस् । सहर सुरक्षित होस् । सहरवासी मिलेर बसेको देख्न पाइयोस् । सरकारी सेवा सुविधा लिने क्रममा नागरिकलाई कुनै सास्ती नहोस् । यति भयो भने सहर अलि व्यवस्थित बन्छ भन्ने लाग्छ।

सहर किन अस्तव्यस्त भएको होला?
सहरमा बस्ने हामी सबैको बेवास्ताले सहर बिग्रिएको हो । नागरिकले पनि आफ्नो दायित्व नबिर्सिएको भए सहर यति अव्यवस्थित हु्ने थिएन । सहरमा सबैले आफ्नो मात्रै सोचे । तर, आफू बसेको, संघर्ष गरेको ठाउँको संरक्षण गर्नुपर्छ भनेर कसैले हेक्का राखेनन् । सहरवासी आफ्नो फाइदा र स्वार्थ पूर्तिमा लाग्दा सहरको हविगत हेरिसक्नुभएन।

सहरवासीको आचरण कस्तो लाग्छ?
सहरवासी असभ्य र अनुशासनहिन छन् । सबैले आफ्नो मात्रै सोच्छन् । घरको फोहर सडकको कुनामा लगरे पुर्पाछन् । सरकारी निकायलाई गाली गर्छन् । बकमफुसे कुरामै दैनिकी गुजार्छन् । सकारात्मक र सबैको भलाईको लागि मिलेर काम गरौं भन्ने भावना र चेत सहरवासीमा छैन । सहरका मानिस मिलेको भए, विकास निर्माणका काममा सरकारी निकायसँग हातेमालो गरेको भए, सहरलाई आफ्नै सम्झिएको भए काठमाडौं बिग्रने थिएन । अहिलेभन्दा कैयौं गुणा राम्रो र व्यवस्थित हुने थियो । तर, आफूले पनि काम नगर्ने अरुलाई सहायता नगर्ने बानी सहरवासीमा छ।

विदेशका सहर घुम्दा कस्ता सुविधाहरू देख्नुभयो?
विदेशका सहर निकै सुविधा–सम्पन्न छन् । सहरका हरेक कुरा व्यवस्थित र कानुनले चलेका छन् । कानुनको परिपालना सबै वर्गले समान रूपमा गरेका छन् । नागरिकले हरेकखाले सेवा–सुविधा सहजरूपमा लिन सक्छन् । सहरमा सबैले समान अधिकार पाउँछन् । उनीहरू आफू बसेको सहरको संरक्षण र सरसफाई गर्छन् । कसैले पनि सहर कुरूप हुने गतिविधि गर्दैनन् । सहरमा कानुनले नै सबैलाई नियममा बसालेको हुन्छ । बाहिरी देशको दाजोमा पुग्न हामीलाई धेरै समय लाग्छ । मैले घुमेका अधिकांश सहर आधुनिक सहरको अवधारणा अनुरूप विकास भएका छन् । तर, हाम्रा सहर आधुनिकताको हकमा पछाडि नै छन् । सहरलाई विकास गर्छु, सहरमा समस्या उन्मुलन गर्छु भनेर निर्वाचित भएका जनप्रतिनिधिहरू कामै गरेनन् । त्यस्तै शैक्षिक क्षेत्रको कुरा गर्दा विदेशी मुलुकमा शिक्षा गुणस्तरीय छ।

विदेशी सहरमा भएको तर, हाम्रा सहरमा नभएको के भेटाउनुभयो?
प्राविधिक र आधुनिक पक्षमा विदेशी सहर अग्रपंक्तिमा छन् । हामीकहाँ सांस्कृतिक र प्राकृतिक पक्ष बलियो छ । संसारका अन्य मुलुकमै नभएको हावापानी हामीसँग छ । पुर्खाले सिर्जेका ऐतिहासिक धरोहर पनि हामीकहाँ नै छन् । स्वयम्भू, बौद्ध, लुम्बिनी, पशुपतिनाथ, हिमाल र अग्लाअग्ला चुचुराहरू नेपालका सान हुन् । यी पक्षले नेपाल अरुमा भिन्न छ।

हाम्रा सहरलाई विदेशका सहरजस्तै बनाउन के गर्नुपर्ला?
सहरवासी एकजुट हुने । सरकारी निकायसँग मिलेर काम गर्ने । आफ्नोमात्रै नभएर सहरको विकास गर्नुपर्छ भन्ने भावना राख्ने । जिम्मेवार निकायमा बसेकाहरूले विकासका काम गरिदिए पुग्छ । सहरका योजनामाथि भ्रष्टाचार नगरिदिए हुन्छ । यहाँ त सानो काम गर्नलाई पनि घुस खाने प्रवृत्ति छ । यहाँको ऐतिहासिक पक्षलाई हेर्ने हो भने हाम्रा सहर विश्वमै नमुना हुन्छन् । यहाँका सहरको ऐतिहासिक पक्ष धेरै राम्रो छ । विदेशका धेरै सहरहरू मानिसले नै सिँगारेका हुन्।

सहर व्यवस्थित पार्न सरकारले कसरी काम गर्नुपर्ला?
भएका योजनालाई समयमै सकाउने । भ्रष्टाचार नगर्ने, सडक व्यवस्थित पार्ने, ट्राफिक व्यवस्थापन गर्ने, फोहोर समयमै उठ्ने गरी नियम बनाउने, सरकारी सेवा सुविधालाई चुस्त बनाउने, देशभित्र भएका सम्भावनाको अध्ययन गर्नेलगायत काम गर्न जरुरी छ।

उपत्यकाको मुख्य समस्या के देख्नुहुन्छ?
पार्किङ, जाम, खानेपानी, धुवाँधुलो लगायत धेरै समस्या छन् । पछिल्लो समय उपत्यका समस्यै समस्याको सहरजस्तै भइसकेको छ।

उपत्यकाको मनपर्ने पक्ष के हो?
यहाँको मौसम सदावहार छ । सेवा सुविधाको हकमा पनि काठमाडौं अरुभन्दा अगाडि नै छ । यहाँको ऐतिहासिक मठ–मन्दिर ज्यादै मनपर्छ।

मन नपर्ने पक्ष?
धुवाँधुलो, ट्राफिक जाम, खाल्डाखुल्डी सडक, अव्यवस्थित पार्किङलगायत पक्ष मन पर्दैन।  

उपत्यका बाहिरका कुन–कुन सहर पुग्नुभएको छ?
उपत्यका बाहिरका धेरैजसो सहर पुगेको छु । इलाम, झापा, लुम्बिनी, वीरगन्ज, चितवन, धरानलगायत धेरै ठाउँका सहर पुगेको छु । उपत्यका बाहिरका सहर पनि सफा छन् । मलाई पहाडी इलाका र डाँडापाखाहरू सुन्दर लाग्छ।

मन भएर पनि घुम्न नपाएको सहर कुन हो?
मलाई मनाङ–मुस्ताङ, रारा र गोसाईकुण्ड जान मन छ।

सहरको मिठो लाग्ने खानेकुरा?
मलाई नेवारी खाजा–खाना मनपर्छ।

प्रस्तुति : शिवहरि घिमिरे

प्रकाशित: ८ आश्विन २०७५ ०६:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App