७ वैशाख २०८१ शुक्रबार
विचार

केलाई मान्ने नयाँ?

२०४६ देखि २०७३ सालसम्मको २७ वर्षे अवधिमा नेपाली राजनीतिमा ठूलठूला परिवर्तन भए। यहीबीचमा २०४६ सालको जनआन्दोलनले ३० वर्षसम्म एकछत्र राज गरेको पञ्चायती व्यवस्था फालेर बहुदलीय व्यवस्था ल्यायो। प्रतिबन्धित अवस्थामा रहेका राजनीतिक दल नयाँ जोश र शक्तिका साथ खुलारूपमा आए। जनतालाई आफूतिर आकर्षित गर्न कुनै नारा बाँकी राखेनन्। जनताले पनि नयाँ भन्दै विश्वास गरेर शासनसत्ता चलाउने मौका पटकपटक दिए। राजनीतिक दलहरुले चलाएको शासनसत्ता र उनीहरुको व्यवहारबाट जनताले कुनै नयाँ शक्तिको अनुभूति गर्न पाएनन्। सत्तामा पुग्नेहरुका आफन्त नातागोता भन्दा अरुलाई परिवर्तनको कुनै आभास भएन। शताब्दियौँदेखि एकछत्र शासन गरेको राजतन्त्र खुसी हुन नसक्नु स्वाभाविक भए पनि जनतासमेत निरास हुन पुगे। फलतः नयाँ सोचका साथ मुलुकको शासन चलाउने भन्दै राजा ज्ञानेन्द्रले शक्ति हातमा लिए। जनताले पनि …राजा आऊ देश बचाऊ' भन्दै नारा लगाए। राजा जहाँ पुग्छन् त्यहाँ जनताको भिड देखियो। राजा नयाँ अवतारका रूपमा उदाएको जस्तो गर्दै गाउँगाउँ पुगे। राजनीतिक दलका नेताहरुले गरेका कामहरुको फेहरिस्त जनतासामु राखे। जनताले समस्या सुनाउँदा बुझेँ भने। जनताले पनि राजा आफूहरुप्रति जवाफदेही भएजस्तो सोचे तर नानीदेखि लागेको बानी रातारात बदलिने कुरै थिएन। फलतः राजाले उही पुरानै शैली पछ्याउँदै जान थाले। नयाँ भनिएका राजा झनै पुराना पो भए। बरु उनीभन्दा नेकपा माओवादी पार्टी र त्यसका नेतालाई नयाँ र परिवर्तनकारी शक्तिका रूपमा हेर्न थाले।

२०५२ सालदेखि नेकपा माओवादीले सत्तामा पुगेका दलहरुले भन्दा अझै अगाडि बढेर जनतालाई ठूलठूला सपना बाँड्यो। सपनाको महलमा रमाउँदै सर्वसाधारण जनताले ज्यानको आहुति दिए। कतिको काख रित्तियो, कति टुहुरा भए, कतिको उठिबास भयो, कति अपाङ्ग भएर जिउँदै मरेतुल्य भए। यो दर्दनाक अवस्थामा रमाएको नेकपा माओवादीले आफूलाई परिवर्तनकारी नयाँ शक्ति भन्दै सगौरव चिनाउँदै थियो। ठूलो मानवीय र अरबौंको भौतिक क्षतिलाई मूल्याङ्कन गर्दै माओवादी साँच्चै परिवर्तनकारी नयाँ शक्ति भएको भ्रम जनतामा पर्न गयो। फलतः राजा फालेर जनताका छोरालाई कार्यकारी प्रमुख बनाउँदा परिवर्तनको नयाँ रूप देख्न पाइने कल्पनाका साथ २०६२।६३ मा राजा फालेर देशलाई गणतन्त्रमा लगे। गणतन्त्रपछि जनताले जसलाई नयाँ शक्तिका रूपमा हेरेका थिए त्यसैलाई सत्तामा पुर्‍याए। सत्ताको नेतृत्व गर्ने मौका पहिला पार्टी अध्यक्ष प्रचण्डले र त्यसपछि वरिष्ठ नेता हुनुका नाताले बाबुराम भट्टराईले पाए। करिव २०० वर्षदेखि शासन गर्दै आएको राजतन्त्र फालेर गणतन्त्र ल्याउनु ऐतिहासिक घटना थियो। आफँैमा नयाँ युगको सुरुवात थियो। जनताले नयाँ युग सुरु गरे पनि नेताहरुमा रहेको संकीर्ण चिन्तनमा कुनै परिवर्तन हुन सकेन बरु जनताले पुराना राजा फालेर आफूहरुलाई नयाँ राजा बनाएको जसरी व्यवहार देखाउन थाले। एउटा राजा फालेका जनता अरु थुप्रै राजा बेहोर्न बाध्य भए। जनताले नयाँ युग सुरु गरे तर नेताले अढाई सय वर्षअघिको शासनको झल्को दिए।

आफूले अरुलाई नमाने पनि हुने तर अरुले आफूलाई मान्नुपर्छ भन्ने नेपाली राजनीतिमा अचम्मको संस्कार बसेको छ। आफूलाई अरुले मान्दासम्म सबै ठीक सबै नयाँ, जब आफ्ना कमजोरीबारे कुरा हुन थाल्छ त्यसपछि त्यहाँबाट भाग्ने बाटो खोज्दै नयाँ नयाँ नारा दिने संस्कार नै बसेको छ। यो कुनै एउटा पार्टी र एउटा व्यक्तिको कुरामात्र होइन, नेपाली राजनीतिमा देखिएको विडम्बना नै हो। त्यसैले त राजनीतिक दलहरु पटकपटक फुटेका छन्। जब स्वार्थ मिल्छ त्यसपछि जुटेका पनि छन्। १६ हजार नेपाली जनतालाई द्वन्द्वको भूमरीमा पारेर मार्दासम्म प्रचण्ड र बाबुरामको कुरा मिलेकै थियो। सत्तामा पालैपालो पुगेका थिए। बाबुरामले नपाएको पार्टी अध्यक्ष थियो। त्यही पदका लागि उनले पार्टी खोलेका हुन्। यो जान्दाजान्दै उनको पार्टीलाई कसरी नयाँ शक्ति मान्ने? विन लादेन आतंककारी हो भन्ने जान्दाजान्दै पनि उनका पछि मान्छे लागेकै थिए। खुमबहादुर खड्का भ्रष्टाचारी ठहर भएर जेल सजाय पाएका व्यक्ति हुन्। तिनैलाई महान् व्यक्ति देख्दै पछाडि मान्छे लागेकै छन्। त्यसैगरी बाबुरामका पछाडि केही व्यक्ति लाग्नुलाई अन्यथा मान्नुपर्ने छैन। राजनीतिक अस्थिरताको बेलामा राजनीतिमा च्याखे थापेर बसेका व्यक्ति कल्पना नगरेका पदमा पुगे। आज तिनै विशिष्ठ व्यक्ति बनेका छन्। त्यसलाई झलझली देखेकाहरु नयाँ शक्तिको आवरणमा पछिपछि लागेका हुन सक्छन्। नयाँ शक्ति भन्नेको पछाडि लाग्नेहरु एकाधबाहेक राजनीतिक च्याखे थापेर त्यहाँ पुगेका हुन् भन्न अप्ठ्यारो मान्नुपर्ने पनि केही छैन। अनि तिनै हुन त नयाँ शक्तिको भिजन भएका व्यक्तित्व?

नयाँ त समयअनुसार आफूलाई बदल्नेहरु नै हुन्छन्। नेका र नेकपा एमालेले आफूहरुलाई पुराना पार्टी भने पनि यो बीचमा करिव डेढ सयको हाराहारीमा नयाँ पार्टी खुले। एकातिर चुनावमा थ्रेसहोल्ड नराख्नु र अर्कोतर्फ समानुपातिकको व्यवस्था गर्नुले केही दल अस्तित्वमा रहेका भए पनि धेरैजसो गुमनाम अवस्थामा छन्। नेकपा एमालेको नवौं महाधिवेशनले राजनीतिक परिवर्तनको कोर्स पूरा भएको हँुदा अब आर्थिक क्रान्ति हुनुपर्छ भनेर पास नै गरेको छ। त्यतिमात्र होइन, स्वयम् प्रधान मन्त्रीले विकासका खाका प्रस्तुत गर्दा अनपढ मान्छेले विकासका कुरा गर्न सुहाउँदैन भन्ने मान्छेसँग कुन नयाँ भिजन छ भनेर विश्वास गर्ने? रोटीको वर्णन गरेर भोको पेट भरिन्न भनेजस्तै समृद्धिको नाराले मात्र केही हुने देखिँदैन। त्यसैले नयाँ पार्टी गठन गर्दा जसरी दैनिक पत्रिका र टेलिभिजनमा करोडौं रुपियाँ खर्च गरेर बाबुरामको फोटो र बोलीलाई महत्वका साथ प्रचार गरियो त्यसैलाई हेरेर जनता भन्दैछन्– …नयाँ शक्ति भनेको एकाबिहानै उठेर कुखुरा, खसी काट्नेको नाम दयाराम भएजस्तै हो।' २७ वर्षदेखि एउटै नियति भोगेका जनताले नयाँ शक्ति केलाई भन्ने हो?

प्रकाशित: १० असार २०७३ ०५:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App