१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
प्रवास

वेलायत युराेपियन युनियनबाट छुट्टिने निश्चित

लन्डन—वेलायले युराेपियन युनियन (इयु) छोड्ने लगभग निश्चित भएको छ। बिहीबार भएको जनमतसंग्रहको पछिल्लो परिणामले वेलायतलाई इयु छोड्ने पहिलो युरोपेली मुलुक बनाउने देखाएको हो। इयु सदस्यता छोड्ने वा रही रहने भन्ने विषयमा मतभेद देखिएपछि छिनोफानो गर्न बिहीबार जनमतसंग्रह भएको थियो।

शुक्रबार आएको प्रारम्भिक मतपरिणमले वेलायत इयु सदस्य रहिरहनु हुन्न भन्ने पक्षमा ५१.८ प्रतिशत र सदस्य रहनु पर्छ भन्ने पक्षमा ४८.२ जनमत देखिएको छ। यो परिणाम करिब ३६६ केन्द्रको नतिजा सार्वजनिक हुँदा देखिएको हो। बिहीबार कूल २८२ केन्द्रमा मतदान भएको थियो। परिणाम निर्वाचन आयोगबाट औपाचारिक रुपमा घोषणा हुन बाँकी नै छ।
जनमतसंग्रहमा मतदान गर्न बेलायतको इतिहासमै ठूलो सँख्यामा मतदाताहरुले आफ्नो नाम दर्ता गरेका थिए। ४ करोड ६४ लाख भन्दा बढी मतदातामध्ये जनमत संग्रहमा ७२.२ प्रतिशत मतदाता सहभागी भएका थिए।

जनमतसंग्रहमा  ब्रिटेनले इयु छोड्ने पर्ने पक्षमा इङल्याण्ड र वेल्समा अत्याधिक मत खसेको छ भने स्कटल्याण्ड र लन्डन लगायत केही सहरमा भने इयु छाड्न नहुने पक्षमा मतदान भएको छ।

यो परिणाम प्रधानमन्त्री डेविड क्यामरन तथा विपक्ष दल लेवरका नेता जेरेमी कोर्बिनका लागि अनपेक्षित नतिजा हो। प्रधानमन्त्री क्यामरनले केही बेरमा देशवासीका नाममा सम्बोधन गर्ने तयारी गरेका  छन्।
 
सम्पूर्ण युरोप क्षेत्रकै आर्थिक, सामाजिक तथा राजनीतिक भविष्यसमेत निर्धारण गर्नसक्ने ठानिएको सो जनमत संग्रहलाई निकै चासोका साथ हेरिएको थियो। मतदान भैरहेको बेला बेलायतस्थित मुख्य सञ्चार माध्यममाथि कसैको पक्ष वा विपक्षमा बोल्न नपाइने गरी सेन्सरसीप लागू भएको थियो।
 
बेलायतले युरोपियन युनियनको सदस्यता छोड्नु हुँदैन भन्ने अभियानको नेतृत्व बेलायती प्रधानमन्त्री डेविड क्यामरन र विपक्षी दल लेबरका नेता जेरेमी कोर्बिनले गरेका थिए। बेलायत इयुबाट बाहिरिनुपर्छ भन्ने पक्षमा यूके इन्डिपेन्डेन्ट पार्टीका नाइजल फराज र सत्तारुढ दल कन्जरभेटिभबाट लन्डनका पूर्व मेयर बोरिस जोन्सनले गरिहेका थिए। बेलायत युरोपको सदस्य रहिरहनु पर्छ भन्ने पक्षधरहरुले सुधारसहितको इयुमा जोड दिएका थिए।
 
उनीहरुले बेलायत युरोपियन युनियनको सदस्य रहिरहँदा युरोपमा अन्य देशबाट बेलायतमा काम गर्न आउने आप्रवासीहरुले तिरेको करले देशको आर्थिक अवस्था बलियो हुने, इयुसँगको सम्बन्धले विश्व व्यापारमा ठूलो फाइदा पुग्ने, इयुको एकताले विश्वव्यापी आतंकवादविरुद्धमा लड्न सकिने तर्क मतदाताहरु समक्ष राखेका थिए।
 
यता बेलायत युरोपियन यूनियनको सदस्य रहिरहनु हुन्न भन्ने पक्षले बेलायतले युरोपका अन्य देशलाई खुला सीमानाले गर्दा देशको आन्तरिक सुरक्षा खल्बलिएको भन्दै सीमा नियन्त्रणमा जोड दिएका थिए। उनीहरुले वर्षेनी युरोपेली देशहरुबाट बेलायत आउने आप्रवासीहरुका कारण बेलायतको आर्थिक तथा सामाजिक क्षेत्रमा ठूलो असर परेको, स्वास्थ्य तथा शिक्षा क्षेत्रमा आप्रवासीहरुले कब्जा गर्दा जनजीवनमा प्रत्यक्ष असर परेको तर्क गर्दै बेलायत युरोपियन युनियनबाट बाहिरिनु पर्नेमा जोड दिएका थिए।
 
सन् १९७५ मा भएको जनमत संग्रहमा ६७ प्रतिशतभन्दा बढी बेलायतीहरुले बेलायत इयूको सदस्य रहिरहनु पर्छ भन्ने पक्षमा मतदान गरेका थिए।

प्रकाशित: १० असार २०७३ ०५:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App