१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

रौनक हराउँदै गएको दसैं

काठमाडौं–सधैंझैं यसपालि पनि दसैें सुरु भैसकेको छ। दसैं मान्ने तौरतरिका समय अनुसार बदलिँदै गएको छ। अहिलेको दसैंप्रति बालबालिका तथा युवाहरूले त्यति महत्व नदिएको अनुभव सुनाउँछन् तेह्रथुमका होमनाथ खनाल। 

‘पहिले दसैं धेरै रमाइलो हुन्थ्यो । गावैभरि ढिकीमा चिउरा कुटेको ढङढङ आवाज आउँथ्यो । केरा पाकेर बारी नै पहेंलपुर हुन्थ्यो’, खनाल भन्छन्, ‘घरैमा टन्न दूधमही खान पाइन्थ्यो । खसी घरमै काटिन्थ्यो । सबै मिलेर बाटोघाटो र चौतारा सरसफाइ गरिन्थ्यो । नयाँ लुगा लगाउन दसैं पर्खिनु पथ्र्यो । सुचीकारलाई लुगा सिलाउन घरैमा बोलाइन्थ्यो । पहिले कहिले मावल जान पाइएला र कति पैसा देला भन्ने चासो हुन्थ्यो । बाहिर हुनेहरू हिँडेरै घर आइपुग्थे।’ 

अहिलेका नानीहरूलाई मीठो खान र राम्रो लाउन दसैं कुरिरहनु पर्दैन । जताततै पार्कतिर पिङ खेल्न पाइन्छ । बिस्तारै दसैंको रौनक हराउँदै गएको छ । अहिलेका नानीहरू सबै कुराको सुविधा भएपछि दसैको के चासो भन्छन् ?  

त्यसैगरी धरानकि ६१ बर्षे मीना गौतमसँग पनि बेग्लै अनुभव छ । ‘दसैंमा हामीलाई बेग्लै खालको रमाइलो हुन्थ्यो । मावलमा सुन्तलाको बगैंचा थियो । आफू खुसी टिपेर खाइन्थ्यो । फलानाफलानाको घरमा टीका ल्याउन जाऊँ भनेर रमाउँदै गइन्थ्यो । त्यतिबेला केही कुराको तनाव हुँदैन थियो’, उनले भनिन् , ‘अहिले पढाइको नाममा नानीहरूलाई धेरै बोझ बोकाइन्छ ।  बल्ल दसैंमा खुला रूपमा हाँसखेल गर्न पाउँछन् । कतै नगई टेलिभिजन र मोबाइलमै झुम्मिएर दिन बिताउँछन्।’

उनीहरु दसैंमा दक्षिणा पाएको पैसा जोगाएर राख्थे । अहिलेका नानीहरू पैसा भेट्ने बित्तिकै पसल पुग्छन् । तिनताका कुरकुरे, लेज जस्ता जिब्रो लट्याउने चीज पाइँदैन थियो । त्यसैले उनीहरु स्वस्थ थिए। 

काभ्रेपलाञ्चोकका ७५ वर्षे भगवती ढुंगानाले पहिले धेरै दुःखले दसैं मनाएको सुनाइन् । ‘दसैं आउँदा दशा आएको जस्तो हुन्थ्यो ।  दुःखका कुरा सबै प्रचलनहरू हराउँदै गएका छन्’, ‘हाम्रा पालाँ भनेका बेलामा भात खान पाइँदैन थियो । कतैबाट बनी गरेर धान ल्याउनु पथ्र्यो । हप्ता दिन लगाएर मधेसबाट चामल र नुनतेल ल्याइन्थ्यो । लाटो जमाना थियो।’ 

ढुंगानालाई कहिले दसैं आउला र मासुभात खान पाइएला भन्ने लाग्थ्यो । अहिले पैसा भए जे पनि पाइन्छ । नानीहरुलाई दुःख छैन । उनीहरूलाई सधैं दसैं छ। 

दोलखाका ६० बर्से षडानन्द चौलागाईंले अहिलेका दसैमा धेरै विकृति भित्रिएको बताए । पहिले नयाँ लुगा लगाउन दसैं पर्खिनु पथ्र्यो । अहिलेका कति नानीहरूले महिनैपिच्छे नयाँ च्यातिएको जस्तो लुगा किनेर ल्याउँछन् । उनले भने, ‘दुःख  नभएपछि अनेक सोच आउँदो रहेछ । पहिले थोरै पैसाले धेरै कुरा आउँथ्यो । सुका माना घ्यू पाइन्थ्यो । अहिले पैसा सस्तो छ र बेसाउने कुरा महँगो भएको छ । तैपनि अहिलेका नानीहरू सोखिन छन् । खर्चालु शैलीमा दसैं मनाउँदै छन्।’

अहिले टाढा रहेका आफन्तहरूसित घरमै बसेर अनुहार हेराहेर गर्दै चाडपर्वको खुसी साट्न सकिन्छ।      

काठमाडौं बागबजारका ८४ बर्से माइला तण्डुकारले अहिलेको दसैं धेरै समस्यापूर्ण भएको बताए । अहिले प्रत्येक कुरामा महँगी बढेको छ । पाइलापिच्छे पैसा लाग्छ । पहिले काठमाडौंमा कहाँ के भइरहेको छ सबै थाहा हुन्थ्यो । वल्लो घर र पल्लो घर बीचमा आउजाउ हुन्थ्यो । अहिले एउटै घरमा बस्नेहरू बीचमा पनि चिनजान र भेटघाट हुँदैन। 

काठमाडौं, तारकेश्वर नगरपालिकाका रामशरण केसीले अहिलेको दसैं सामान्य बन्दै गएको बताए । पहिले दसैं आउँदै छ भनेपछि धेरै रमाइन्थ्यो । अहिले जस्तो आफूचिन्ते व्यवहार गरिदैन थियो । ‘सबै मिलेर बाटाघाटो खनिन्थ्यो।  चौताराको सरसफाइ गरिन्थ्यो। अर्गानिक खानेकुरा खान पाइन्थ्यो’,  उनले भने ,‘अहिले आनन्द लिन दसैं नै पर्खिरहनु पर्दैन । आनन्द लिने  धेरै ठाउँ छ । पहिलेको तुलनामा अहिलेको दसैं सामान्य दिन जस्तो भइसकेको छ।’ 

 

प्रकाशित: २९ आश्विन २०७५ ०५:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App