७ वैशाख २०८१ शुक्रबार
अन्य

आैंलामा बल घुमाएर कीर्तिमान

मानिसमा अनेक कला लुकेका हुन्छन् । तीनै कला प्रस्तुत गरेर संसारमा चम्कन्छन् धेरै । तर, कोही प्रतिभा त्यस्ता छन्, जो विश्व किर्तिमान राखेर पनि पर्दा पछाडि छन्। तीनै लुकेका एक प्रतिभा हुन्, बौघा पोखराथोक– ६ पाल्पाका नारायण भट्टराई।

उनले बास्केट बल औलामा घुमाएर विश्व किर्तिमान (गिनिज बुक अफ वल्ड रेकर्ड) राखेका छन् । उनले रेकर्ड राख्नुभन्दा पहिले स्पेनका बास्केटबल खेलाडीले १० मिनेट ३३ सकेण्ड बल औंलामा घुमाएका थिए । उक्त रेकर्ड तोड्न भट्टराईले ११ मिनेट २२ सेकेन्ड बललाई औलामा फन्को मारेका थिए । उनको फन्को अहिलेसम्मकै सर्वाधिक हो । गत अगस्ट ९ मा उनले किर्तिमान राखेको प्रमाणपत्र पाएका थिए । विदेश यात्रा क्रममा अरु देशमा भएका अभ्यास हेर्दै उनले औलाले बल घुमाउन अभ्यास थालेका थिए। 

उनी औलालै मात्रै बास्केटबल घुमाउँदैनन्, तिखो पेन्सिलले अड्याएर पनि ३०/३५ मिनेटसम्म घुमाउन सक्छन् ।

आफूले गरेको काममा आफ्नो मात्रै नाम नजोडिएर देशकै नाम उच्च रहने भएपछि उनले औंलामा बल घुमाउन निरन्तर अभ्यास गरेका थिए । करिब १० बर्ष अभ्यासपछि उनले गिनिजबुकमा नाम लेखाउन सफल भएका हुन् । उनी भन्छन्, ‘काम गरेर पनि केही प्रतिभा भित्रभित्रै लुक्छन् । केही आफ्नै प्रयासमा बाहिर आउँछन् । भिन्न काम गरेर आफूलाई उचो बनाउने सपना धेरैको हुन्छ । तर, रहर र सपनाले मात्रै पुग्दैन, निरन्तर अभ्यास र तपस्या चाहिन्छ, मैले पनि एक किसिमको तपस्या गरेरै नाम राख्न सफल भएको हुँ।’ 

विश्व रेकर्ड राख्न उनले सामान्य अभ्यास गरेका थिएनन् । अरु सुतेपछि उनी रातभर जाग्राम बसेर हातमा बल घुमाइरहेका हुन्थे । बलले हातमा फन्को मार्दामार्दै कहिले विहानी हुन्थ्यो । त्यसपछि उनी सिधै फार्मेसी खोल्न जान्थे । बास्केट बल हातमा घुमाउने अध्यासमा उनी धेरै रात अनिदो बसेका छन् । सिकाइका लागि आफूले दिएको समयप्रति खुशी थिए र त आज उनी विश्व किर्तिमान राख्न सफल भए । गोर्खाली नामले संसारभर परिचित नेपालीले परिचयलाई अझै उचाइमा पु¥याउने काम गरे । अदभूत कला प्रस्तुत गर्दै देशलाई विश्व सामु चिनाएका भट्टराई फार्मेसी चलाउँछन् । कामकै दौरानमा उनले विदेशी मूलुकमा औंलाले बल घुमाएको देखेका थिए । त्यसैले आफ्नो अभ्यासमा ढाल्दै उनले विश्व किर्तिमान राख्छु भनेर अघि बढे। 

‘गिनिज बुकमा नाम राख्नु सामान्य होइन, त्यसको खटान अभ्यास गर्नेलाई थाहामात्रै हुन्छ,’ उनले सुनाए, ‘कुनै पनि नेपालीले नगरेको काम मैले गरेँ, यसले विश्वमै नेपालको नाम राखेको छ।’ 

उनी औलालै मात्रै बास्केटबल घुमाउँदैनन्, तिखो पेन्सिलले अड्याएर पनि ३०÷३५ मिनेटसम्म घुमाउन सक्छन् । तीनवटा बल एकैपटक घुमाउन सक्छन् । उनले औलामा बल घुमाउँदा एक मिनेटमा ४ सय फन्को मार्न सक्छन् । उमेरले ३६ टेकेका भट्टराई लुम्बिनी र सगरमाथालाई यही अभियानसँग जोडेर चिनाउन चाहन्छन् । त्यसका लागि गृहकार्य थालेका छन् । ‘म जहाँ जहाँ पुग्छु त्यहाँ–त्यहाँ नेपालका धरोहर चिनाउँछु,’ उनले भने, ‘यसले देशलाई ठूलो मद्दत गर्नेछ, आफूसँग भएको कलाले देशको पनि हित गर्छ।’ 

त्यसो त औलामा बल घुमाएर रेर्कड राखिसकेपछि उनलाई विदेशी खेलकुद क्लवहरुले अफर पनि गरेका छन् । तर, उनी ती क्लवसँग नजोडिने सोचमा छन् । ‘मैले यति धेरै अभ्यास गरेर रेकर्ड राखेपछि म विदेश गएँभने त्यसले मलाई र देशलाई राम्रो गर्दैन बरु देशलाई फाइदा पुग्ने अरु काममा लाग्छु,’ उनले भने। 

पछिल्लो समय किर्तिमान राख्न उनले करिब १५ महिना लगातार अभ्यास गरेका थिए। उक्त अभ्यासपछि उनले पुरानो रेकर्ड तोड्दै आफ्नो नाम लेख्न सफन भएका थिए।  

 

प्रकाशित: २९ आश्विन २०७५ ०६:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App