८ वैशाख २०८१ शनिबार
अन्य

वर्षाले अधिकांश सडक अवरुद्ध

उदयपुर–  ३ दिनदेखिको निरन्तर वर्षाले स्थानीय खोलाहरूमा पानीको बहाव बढेपछि यहाँका सडकमा यातायात अवरुद्ध भएको छ । अधिकतर सडक कच्ची भएकाले पनि यातायात आवागमन रोकिन पुगेको हो ।

यातायात अवरुद्ध हुँदा यात्रुलाई सास्ती हुनुका साथै बिरामीलाई अस्पताल लैजानसमेत समस्या भएको छ । खोलामा बाढी आएपछि २ दिनअघि चट्याङ लागेर गम्भीर घाइते भएका रामपुर ठोक्सिला–७ का रुद्रबहादुर कार्की र अर्जुन कार्कीलाई समयमै अस्पताल पु¥याउन नसकिएको पीडित परिवारले जनाएको छ । खोलाले रोकेपछि सोमबार बिहान चट्याङले लागेर सख्त घाइते उनीहरूलाई बाढी घटेर भोलिपल्ट मात्र उपचार गर्न लगिएको थियो ।
  

७२ घण्टादेखि पानी परिरहेकाले सबैजसो नदी तथा खोला–खोल्सीमा बाढी आउँदा सडक पूरै अवरुद्ध भएको हिमाली यातायात व्यवसायी संघले जनाएको छ । वर्षाका कारण गाईघाट–बेलटार, बेलटार–बसाहा–रामपुर, गाईघाट–साउने, गाईघाट–कदमाहा खण्डका सबै सडकमा यातायात सञ्चालन हुन नसकेको संघका उपाध्यक्ष उमेश बस्नेतले बताए ।

सदरमुकाम नजिकैको बगाहास्थित फर्सेट खोलामा निर्माणाधीन पुल ५ वर्षमा पनि पूरा नभएपछि गाईघाट–जलजले खण्डमै वर्षायाममा यातायात अवरुद्ध हुने उनले बताए । गाईघाट–जलजलेबीचमा बन्ने २ स्पाम र ३ पिल्लरको सो पुल आर्थिक वर्ष ०६९÷७० देखि सुरु गरिएकोमा अहिलेसम्म पूरा हुन सकेको छैन । निर्माण कम्पनीका सञ्चालकबीचको मुद्दा अदालतमा विचाराधीन रहेकाले काम अघि बढ्न नसकेको सडक डिभिजन कार्यालयले जनाएको छ । पुल नबन्दा विराटनगर, काठमाडौं, धरान, राजविराज हुँदै सो सडकसँग जोडिएका अन्य ठाउँ जाने यातायात वर्षामा अवरुद्ध हुने गरेको यातायात व्यवसायीको भनाइ छ । ठूला गाडीले तर्नसक्ने भएपनि जीप, टेम्पो, म्याजिक र सिटी सफारीले खोला पार गर्न नसक्दा छोटो दूरीका यात्रु मर्कामा पर्ने गरेका छन् ।

गाईघाट–साउने खण्डको बरुवा खोलामा निर्माण हुने अर्को पक्की पुलको काम नसकिएकाले सदरमुकामदेखि उत्तरतर्फ पनि यातायात अवरुद्ध छ । बरुवामा निर्माण हुने ८ स्पामको पुल २ वर्षअघि नै सक्नुपर्ने सम्झौता भएपनि विभिन्न कारण देखाएर निर्माण कम्पनीले काम ढिलाइ गर्दा सो खण्डको साउने–रानीबास–रौता–सल्ले, रानीबास–फोक्सिन्टार–रसुवाघाट सडकमा ४ दिनयता गाडी चल्न सकेका छैनन् ।

बाढीले गाईघाट–बेलटार सडकलाई पनि अवरुद्ध पारेको छ । बेलटार जाने वैकल्पिक मार्गको हडियास्थित भीमाखोलामा निर्माणाधीन पुलको बिम सेटिङ ३ साताअघि भत्काएपछि सवारी आवागमन रोकिएको हो । संघका अनुसार  गाईघाट–मुर्कची–नेपालटार खण्डमा पनि गाडी चल्न सकेका छैनन् । गाईघाट–चुहाडे खण्डको कालीखोला र सरस्वती खोलामा पुल नभएका कारण सामान्य वर्षाको बाढीले नै यातायात अवरुद्ध हुने गरेको छ ।  

अविरल वर्षाले गाईघाटबजार पनि ३ दिनयता जलमग्न छ । जमिनको सतहभन्दा सडक अग्लो हुनुका साथै ढलहरूको नियमित सफाइ नहुँदा वर्षायाममा पानी घरभित्रै पस्ने स्थानीयको गुनासो छ । उनीहरूका अनुसार खाली जमिन, विद्यालय र घर वरिपरि पानी जमेपछि हिँड्डुलमा पनि समस्या छ ।

 

प्रकाशित: १० असार २०७३ ०६:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App