६ वैशाख २०८१ बिहीबार
अन्य

साइक्लिङ ट्रफी हिमाललाई

उदयपुर– यहाँ आयोजित नेपाली सेनाको पूर्वी पृतनापति खेलकुद ट्रफीअन्तर्गत साइक्लिङ प्रतियोगिताको ट्रफी हिमाल टमटाले हात पारेका छन् । त्रियुगा नगरपालिका–७,  भुल्केस्थित सेनाको १८ नम्बर बाहिनी अड्डाको आयोजनामा बिहीबार सम्पन्न ‘पृतनापति साइक्लिङ खेल प्रतियोगिता–२०७३’ मा पहिलो भएका टमटाले ट्रफी हात पारेका हुन् ।

प्रतियोगितामा उनले ४० किलोमिटर दूरी १ घण्टा १७ मिनेट २३ सेकेन्डमा पार गरेका थिए । रणबम गण भोजपुरमा कार्यरत उनी साइकल रेसतर्फ नेपाली सेनाको पहिलो र नेपालको दोस्रो ¥यांकिङका खेलाडी हुन् । महेन्द्रनगरका स्थायी बासिन्दा उनी विगत ४ वर्षदेखि निरन्तर साइक्लिङ खेलमा आबद्ध छन् ।

प्रतियोगितामा शेर गण खोटाङका खेलाडी रमेशप्रसाद चौधरी दोस्रो भए भने कृष्ण दल गण राजविराजका ईश्वर रुचाल तेस्रो भए । दोस्रो हुने चौधरीले सो दूरी १ घण्टा २७ मिनेट ६ सकेन्डमा पार गरेका थिए भने तेस्रो हुने रुचाललाई दूरी पार गर्न १ घण्टा ३२ मिनेट २२ सेकेन्ड लागेको थियो ।

विजयी खेलाडीलाई सहायक बाहिनीपति महासेनानी पुरुषोत्तम ढकालले एक समारोहबीच ट्रफी तथा प्रमाणपत्र प्रदान गरे । साइक्लिङ रेसमा पूर्वी पृतनाअन्तर्गतका विभिन्न बाहिनीका ६ जना खेलाडीले सहभागिता जनाएको आयोजक बाहिनीले जनाएको छ । खेलाडीले त्रिनपा–७ मोतीगडा चोकदेखि गाईघाट बजार हँुदै त्रिनपा–१७ को रातमाटे–राजाबास–चुहाडे–जलजले–देउरी–बगाहा भएर मोतीगडा आउनुपर्ने रुट तयार गरिएको थियो ।

२० किलोमिटर दूरी कायम हुनेगरी तोकिएको रुट पूरा गर्न सहभागीलाई दुई फन्का लगाउनुपरेको थियो । शुक्रबार पुनः अर्को २० किलोमिटर दूरीको साइक्लिङ प्रतियोगिता सञ्चालन हुने बाहिनीले जनाएको छ ।

राष्ट्रका लागि दक्ष खेलाडी उत्पादन गर्ने उद्देश्यले नेपाली सेनाले पूर्वी पृतनाअन्तर्गतका गण तथा गुल्महरूलाई विभिन्न खेलमा प्रतिस्पर्धा गराउँदै आएको छ । सेनाले एथ्लेटिक्स, बक्सिङ, स्विमिङ, साइक्लिङ, तेक्वान्दो, फुटबल, भलिबल, बास्केटबल, ह्यान्डबल, कबड्डीलगायत खेलकुदमा अन्तरगण तथा अन्तरगुल्म प्रतियोगिता वार्षिक रूपमा सञ्चालन गर्दै आएको बाहिनीले जनाएको छ ।

यसवर्ष बाहिनपति खेलअन्तर्गत जिल्लामा साइक्लिङ, बास्केटबल र कबड्डी प्रतियोगिता सञ्चालन गरिएको सहायक बाहिनीपति ढकालले बताएका छन् ।

 

प्रकाशित: १० असार २०७३ ०६:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App