coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

‘दलीय भागबण्डाका अाधारमा उपभोक्ता समिति बन्दा योजना गुणस्तरहीन’

जाजरकोट– लह गाविसको ठाडा खोलादेखि गाविस भवनसम्म जोड्ने सडक निर्माण सुरु भएको तीन महिना पुग्यो । सो अवधिमा निर्माण भएको सडकको अवस्था हेर्दा सडक बनाउने होइन, बिगारेको जस्तो देखिन्छ । निर्माण गरिएको सडकमा गाडी त परै जाओस, मान्छेलाई समेत हिँड्न मुस्किल छ ।

जिल्ला विकास समितिबाट खटिएको सर्वपक्षीय अनुगमन टोलीले पनि सडक निर्माणको अवस्था निकै बिग्रेकाले सुधार आवश्यक रहेको जनाएको छ । सो सडक निर्माण उपभोक्ता समितिमा नेकपा माओवादी केन्द्रका नेता मनबहादुर रावल अध्यक्ष छन् ।

बाटुले–टालेगाँउ–जलजले सडकको अवस्था पनि उस्तै छ । सम्झौता अनुसार सडक निर्माण नभएको अनुगमन समितिको ठहर छ । सो सडकखण्ड निर्माण उपभोक्ता समितिमा कांग्रेस नेता टेकबहादुर हमाल अध्यक्ष छन् ।

यी दुई सडक योजना उदाहरण मात्र हुन्, जिल्लामा सञ्चालन भएका योजनाको अवस्था दयनीय छ । पूर्वाधार निर्माणका लागि सञ्चालन गरिएका योजना ‘बजेट कुम्ल्याउने माध्यम’ बनेको नागरिक अगुवा राजेन्द्रविक्रम शाह बताउँछन् । ‘विकास बजेटमा दलका नेता र कर्मचारीको मिलेमतोमा हाकाहाकी ठगी हुने गरेको छ,’ उनी भन्छन्, ‘काम नभएको योजनालाई समेत प्राविधिकले ‘पास’ गराउने गरेका छन् ।’ यसले विकास कागजमा देखिने गरेको उनी बताउँछन् ।

जिल्लाका तीन दर्जन बढी योजनाको अनुगमन गर्दा ‘विकासमा ठगी’ भएको पाइएको जिल्ला विकास समितिका कार्यक्रम संयोजक गंगबहादुर रोकाय बताउँछन् । ‘यस्तो कार्यमा सरोकारवाला नै सक्रिय छन्,’ उनले भने ।

विकास योजना सञ्चालन गर्नका लागि गठन गरिएका सबै उपभोक्ता समितिमा दलीय भागबन्डा अनुसार जिम्मेवारी विभाजन गरिने गरिएको सर्वसाधारण बताउँछन् । भागबण्डाका आधारमा योजना बाड््ने गरेकाले गुणस्तरीय नहुने उनीहरूको भनाइ छ । ‘उपभोक्ता समिति पनि गुणस्तरीय काम गर्नु भन्दा पनि कसरी भुक्तानी लिने ध्याउन्नमा हुन्छन्,’ अधिकृत रोकाय भन्छन् ।

जिल्लामा निर्माण भएका पूर्वाधारका योजनामध्ये सडक र खानेपानीका योजनामा बढी बेइमानी हुने गरेको स्थानीय निर्माण व्यवसायी टोपबहादुर थापा बताउँछन् । ‘उपभोक्ता समिति आउनेहरूले पैसा कमाउने नियत राख्दा गुणस्तरीय योजना निर्माण हुन सकेका छैनन,’ उनले भने ।

गुणस्तर नहुँदा योजना केही समयमै काम नलाग्ने हुने गरेको सर्वसाधारण बताउँछन् । बजेट दुरुपयोग हुने भएकाले योजना गुणस्तर नबन्ने गरेको डाडाँगाउँ–५ का स्थानीय बालकृष्ण गौतमले बताए ।

‘निर्माण भएका आयोजनाबाट जनताले लाभ लिन पाएका छैनन् । अनि कसरी विकासमा जनताको सहभागिता भयो भन्ने ?’ उनले भने । यसअघिका वर्ष योजना निर्माणमा कमजोरी देखिए पनि यस वर्ष सुधार प्रयास गरिएको स्थानीय विकास अधिकारी इन्द्र गौतम बताउँछन् । ‘योजना निर्माणमा ढिलाइ गर्ने र सम्झौता अनुसार नगर्नेलाई सचेत गराइसकेका छौं,’ उनले भने । ढिलो सम्झौता भएका आयोजना असार मसान्तभित्र निर्माण सम्पन्न हुने सम्भावना कम रहेको कांग्रेस नेता वेदराज सिंहले बताए ।

उपभोक्ता समितिले समयमै योजना सम्झौता नगर्ने गरेकाले समस्या हुने गरेको स्थानीय विकास अधिकारी गौतमले बताए ।

 

प्रकाशित: १० असार २०७३ ०६:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App