८ वैशाख २०८१ शनिबार
अन्य

साइरन

ध्रुव सापकोटा

योसँगको मित्रतामा पूर्णविराम लगाउने सोच बनाएँ। मेरा मित्र बारम्बार भन्छन्– हरेक मित्रता अस्थायी हुन्छन्। ढिलो वा चाँडो मित्रता टुट्छ। उनको यो भनाइलाई म अझ तन्काउँछु र अलिकति भद्दा बनाउँछु– ढिलो वा चाँडो परिस्थितिले बनाउँछ। यो मेरो एकपक्षीय निर्णय हो। मेरो निर्णयप्रति यो अनभिज्ञ छ। यसलाई मेरो यो निर्णयको अग्रिम जानकारी दिने कुनै माध्यम पनि छैन। एकतर्फी निर्णय रहस्यमयी हुन्छ। यो निर्णयको कार्यान्यवन गर्न म दृढ छु। उपाये के छ?

मलाई साँझले भट्टीमा बोलायो। यो मेरो पाँच दशकअघिको आदत हो। साँझ पर्‍यो कि घाँटी खसखसाउने! केही मित्रको अर्ति छ– एक्लै भट्टीमा जानु जँड्याहाको लक्षण हो। सत्पात्र देखिन म कसलाई मित्र बनाउँ? मित्र बन्न त जो पनि तयार छ। साथ लाग्न् त जो पनि तयार छ। खर्च भने आफैले बेहोर्नुपर्ने हुन्छ। मेरो स्वभाव उदार छैन। जीवनभर मुठ्ठी कसउेर बाँचेकाले एक्कासी मुठ्ठी खोल्न सक्दैन। मलाई अर्काको आशा पनि छैन। आशा किन छैन भने म आशा गर्ने हैसियतमा छैन। म आफ्नो कोठामो जान्छु, लुगा लगाउँछु। दस वर्ष पुराना, परिवर्तन गर्न नै सकेको छैन। चाहना नभएर नै परिवर्तन हुन नसकेको हो। मजस्तो मुठ्ठी कसुवाको जीवनको विडम्बना नै  यही हो, सधैँ उही उस्तै पहिरन। उही शैली, उही व्यवहार! अनि परिवर्तनको झिल्को कहाँबाट देखियोस्?

उसलाई छल्न त सफल भएँ। स्मृतिबाट भने छल्न सकेको छैन। कहिलेसम्म यो मेरो स्मृतिमा बस्ने हो? बेलुका म त्यही भट्टीमा जान्छु। विष मिसिएको नशालु पदार्थबाट टाढा छु। तस्कर र नेताले पहिले नै आसन जमाइसकेका छन्। तिनीहरू पनि विषालु पदार्थबाट टाढा छन्। विदेशीमार्का नै चलाउँछन्।

म भर्‍याङमा छु। त्यहाँको कुनामा खोर छ। खोरमा कुकुर कुइकिन्छ। जसरी यसले मेरो भाषा बु‰न थालेको छ, त्यसरी नै म यसको इच्छा बु‰न थालेको छु। यसको इच्छा मसँग जाने हो। धेरै दिनदेखि यो मसँग साँझमा हिडिरहेको छ। आज एक दिन किन टुटाउने? मृत्युदण्ड पाएकाको समेत अन्तिम इच्छा पूरा गरिन्छ भने यो त आफ्नै घरमा पालिएको छ। यसको अन्तिम इच्छा किन पूरा नगर्ने? यो पनि गज्जबको छ। सानो इच्छा पूरा गर्दा पनि गद्गद् हुन्छ। पुच्छर हल्लाउँछ। म एउटा कुनोको मेचमा बस्छु। मसँगै यो भुइँमा बस्छ। भट्टीको मालिकले खानाका परिकारहरू लोभलाग्दो किसिमले सजाएर राखेको छ। मालिक आफै भान्छे। भाँडा सफा गर्ने उसकी श्रीमती। लोग्नेस्वास्नीको मेहनतले फल दिएको छ– एउटा सुन्दर घर। एकमुष्ट पचास लाख बुझाएर छोरालाई डाक्टरी पढाएको छ। यसले बेचेको रक्सी खाएर कैयौँको ज्यान गएको छ। पटके हो यो। थुनिएको छ। फर्कने प्रविधिमा पारंगत छ। ज्यानमरूवा आफू बेच्छ, ज्यान बचाउने पेशामा छोरालाई लगाएको छ। यसलाई भन्छन्– खराब कामको असल नतिजा!

'तपाईंलाइ किन समातेको?' कहिलेकाहीँ म ऊसँग जिस्कन्छु।

'रातिगेडी नपाएर!' उसको जवाफ हुन्छ।

रातिगेडीको महŒव उसले राम्ररी बुझेको छ। त्यसको सदुपयोग पनि राम्ररी गरेको छ।

त्यो भट्टीपसलेलाई मेरो रूचि थाहा छ। मेरो सामुन्नेमा एक क्वा र तातोपानी राख्छ। पहिलेपहिले एक क्वाले पुग्थ्यो। अहिले सात पेगसम्म जान्छ। मेरो सामुन्नेमा तस्कर र सत्ताधारी दलका नेता बसेका छन्। यिनीहरू मलाई जुम्ल्याहा लाग्छन्। कुन तस्कर कुन नेता छुट्याउनै गाह्रो!

'तपार्इंलाई एक्लै आएको मैले देखेको छैन।' तस्कर भन्छ।

'तपाईंहरूलाई पनि त मैले एक्लै आएको देखेको छैन नि!' म भन्छु।

'हामी त कारोबारको सिलसिलामा यहाँ आउँछौँ। हाम्रो त यो बाली भित्राउने बेला हो।' तस्कर भन्छ।

'मेरो लागि भने यो साथीमात्र हो।' म भन्छु।

'यसको जन्म तपाईंको घरमा नै भएको हो?' तस्करको प्रश्न छ।

'यो त आयातित हो।' म जवाफ दिन्छु।

'आयातितसँग पनि यतिविधि प्रेम रहेछ।' तस्कर भन्छ।

'मित्रता एकपक्षीय हुँदैन। दुवैतिरबाट उत्तिकै मित्रता प्रदर्शन भएमा लामो जान्छ।' म भन्छु।

'हाम्रो पनि त्यस्तै छ।' तस्कर भन्छ। नेता मुसुक्क हाँस्छ।

'तपाईंहरूलाई देखेर ईर्ष्या गर्नेहरू छन्। घृणा गर्नेहरू छन् अनि थुक्नेहरू पनि छन्।' म भन्छु।

'तिनको जीवन त्यत्तिकैमा समाप्त हुन्छ। हामी मित्रताको मीठो फल चाखिरहेका छौँ।' नेता भन्छ।

'फल तपाईंहरू खानोस्, कष्ट जनता खान्छन्।' म भन्छु।

'हामीले तपाईं त आफ्नोमात्र हिसाब राख्नु हुन्छ भन्ठानेको। राष्ट्रिय हिसाबकिताब पनि राख्नु हुँदो रहेछ।' नेता भन्छ।

'अब हाम्रो कुरा छाड्नोस्, यसको कुरा गर्नोस्।' नेता भन्छ।

'यसलाई आफू आयातित हुँ भन्ने अनुभूति नै छैन।' म भन्छु।

'किन, कसरी?' तस्कर सोध्छ।

'यो चार महिनाको हुँदा मैले यसलाई काखमा राखेर ल्याएको।' म भन्छु।

'यसलाई नै किन रोज्नुभो?' नेता सोध्छ।

'यसको सुन्दरता र यसकी आमाको कार्यक्षमता देखेर।' म भन्छु।

'आमाले जे गर्‍यो छोराले पनि त्यही गर्छ भन्ने छ र!' तस्कर भन्छ।

'त्यही त! सन्ताले परम्पराको निर्वाह गर्छ भन्ने जरुरी छैन।' नेता भन्छ।

'मैले त वंशानुगत कुरा गरेको।' म भन्छु।

'उहाँ कारोबारी। उहाँको छोरा राजनीतिमा छ। म राजनीतिज्ञ। मेरो छोरा कारोबारी। सन्तानले बाबुको बाटो समातेनन्।' नेता भन्छ।

'एउटै हो, केही फरक पर्दैन।' म भन्छु।

'कसरी?' तस्कर प्रश्न गर्छ।

'दुवै कमाउ पेशा हुन्। वंशानुगत गुण आइहाल्यो नि!' म भन्छु।

'तपाईं आज मुडमा हुनुहुँदो रहेछ।' तस्कर भन्छ।

'म त सधैँ उस्तै। जीवन घिसार्ने मात्र।' म भन्छु।

'तपाईंलाई केही चाहिएको छ?' नेता मप्रति दया देखाउँछ।

'मलाई केही चाहिएको छैन। यो देशमा आरामसँग बस्ने वातावरण बनाइदिनोस्। यति भए पुग्यो।' म जवाफ दिन्छु।

'योचाहिँ भाषणको राम्रो टुक्रा हो। मुखमा मासुको टुक्रा राखेपछि भाषणको टुक्रा राम्रो आउने रहेछ।' नेता भन्छ।

'अर्को एउटा कुरा पनि गजब लाग्यो। तपाईं खाइरहनुभएको छ, योचाहिँ हेरिरहेको छ।' तस्कर भन्छ।

'अहिले यो जनताको भूमिकामा छ।' म भन्छु।

'तपाईंले यसको सुन्दरताको मात्र कुरा गर्नुभयो। कामका बारेमा केही पनि बताउनु भएन।' नेता भन्छ।

मैले तस्कर र नेतालाई हेरेँ। हाँसेँ।

'तपाईं किन हाँसेको?' तस्करको  प्रश्न।

'तपाईंहरू आफ्नो कारोबार छाडेर मैतिर लाग्नुभएको देखेर।' म भन्छु।

'हाम्रो कारोबारको कुरा तपाईं आउनुअघि नै सकिएको थियो। अहिले त हाम्रो मनोसञ्जनको समय हो। तपाईंसँग कुरा गर्दा मनोसञ्जन मिलेको छ।' तस्कर भन्छ।

'आफू त जहिले पनि अरुको मनोरञ्जनको साधन भइयो।' म भन्छु। मैले तीन पेग चढाइसकेको छु। छाडा बोल्ने शक्ति सञ्चय भइसकेको छ।

'यो देशमा मनोरञ्जनका साधन तपाईं मात्र हो र!' नेता भन्छ।

'होइन, होइन। सहरमा शरीर बेचेर हिँड्ने, छाप्रोमा बस्ने, भूकम्पपीडित, बेरोजगार युवालगायत पनि मनोरञ्जका साधन नै त हुन्!' म भन्छु।

'तपाईंको लिस्ट त लामै रहेछ।' नेता भन्छ।

'हरेक वर्ष एउटा आइटम घटोस् भन्ने मेरो चाहना छ। तर, त्यो बढेको बढ्यै छ।' म भन्छु।

'अरु कुरा छाडौँ, तपाईंसँग आउने यो कुकुर सामान्य होइन। यसको विशेषता बताउनुस्।' नेता भन्छ।

'यो नेताहरूको भाषणको आदर्श श्रोता हो।' म भन्छु।

'कुन पार्टीको नेताको भाषण?' नेता उत्सुक हुन्छ।

'यसले पार्टीगत भेदभाव गर्दैन।' म भन्छु।

'तपाईंलाई चाहिँ नेताको भाषण मन पर्दैन?' नेता सोध्छ।

'पच्चीस वर्षअघि म पनि यो कुकुरजस्तै भाषणप्रेमी थिएँ। कुन पार्टीको भन्ने मलाई मतलब थिएन। नेताको भाषण हुने ठाउँ पत्तो लगाएरै पुग्थेँ। एक घन्टाको भाषण सुन्न तीन घन्टा पैदलसम्म हिँडेको छु।' म भन्छु।

'अहिले त भाषणको खेती मौलाएको छ।' नेता भन्छ।

'भाषण मौलायो, म भने खुम्चिएँ।' बढ्दो पेगले मलाई सुरो बनायो।

'बढी तान्नुभयो कि क्या हो?' नेता शंका गर्छ।

'अहिले मलाई भाषण बासी लाग्न थालेको छ। रुखबाट धेरै दिनअघि खसेर कुहिएका फलजस्ता।' म जवाफ दिन्छु।

'होस् गुम्नेगरी खानु हुन्न।' नेता अर्ति दिन्छ।

'तपाईंहरू पनि मज्जैले तानिरहनु भएको छ। मलाई प्रेरणा तपाईंहरूबाटै प्राप्त भएको हो।' म भन्छु।

नेता र तस्कर मुडमा छन्। आज तिनीहरूबीच ठूलै रकमको कारोबार भएको हुनुपर्छ। त्यसो नभएको हुँदो हो त आज अर्कै ठाउँमा गएर ठूलै मनोरञ्जन गर्ने योजना बुन्थे।

'यसलाई भाषणको आदत छ भनेर कसरी पत्तो पाउनु भयो?' नेता कुकुरतिर देखाउँदै सोध्छ।

'बिहानको खानापछि म कौसीमा जान्छु। अखबार पढ्न थाल्छु। यो मेरो छेउमा बस्छ। मेरो अनुहारमा बेलाबखत हेर्छ। मलाई त्यो मन पर्दैन। पर जा– म यसलाई हातले संकेत गर्छु। यो मैले देखाएको ठाउँमै जान्छ। मैले आइज नभनेसम्म आउँदैन। जब भाषण तल चौरमा सुरु हुन्छ, यसले मेरो आदेश मान्दैन। पर गएको कुकुर मेरो छेउ आउँछ। त्यसपछि मलाई वास्तै गर्दैन। उसका निम्ति भाषण महŒवपरुूर्ण हुन्छ। नेताको भाषण तीन घन्टाको हुन्छ, यसले हलचल नगरी सुन्छ।' म भन्छु।

नेता र तस्करले मैलेभन्दा बढी पेग लगाइसकेका हुन्छन्। सितन र धुवाँ पनि निकै उडाइसकेका हुन्छन्।

'प्रमाण त तपाईंले दह्रो दिनुभयो।' नेता भन्छ। तस्कर हाँस्छ। भाँडा मा‰दै गरेकी साहुनी र परिकार बनाउँदै गरेको साहु पनि हाँस्छन्।

'तपाईंले कतै हाम्रा प्रिय नेताहरूप्रति व्यंग्य गरेको त होइन?' नेता भन्छ।

'कसरी?' म प्रतिप्रश्न गर्छु।

'यो देशमा नेताको भाषण कुकुरबाहेक अरु कसैले सुन्दैनन् भन्न खोज्नुभएको होइन?' नेता रिसाउँछ।

'जे सम्झनोस्। यसमा मेरो भन्नु केही पनि छैन।' म आफूलाई जोगाउन खोज्छु।

दुवै जना मुर्मुरिन्छन्। मैले आफ्नो वचनका कारण धेरै ठाउँमा मुक्का खाएको छु। म मुक्का खान तयार छु। उनीहरू खासखुस गर्छन्। तर, संयम देखाउँछन्।

'यतिका दिनदेखि मेरो पसलमा तपाईं आइरनु भएको छ। तर, यो दूरदृष्टिबारे केही पनि बताउनुभएको थिएन।' पसले भन्छ।

'तपाईंले सोधेको भए पो बताउनु! यसमा लुकाउने कुरा केही पनि छैन।' म भन्छु।

'यो दूरदृष्टिको पनि प्रमाण होला नि! पेश गर्नोस्।' तस्कर भन्छ।

'अहिले त तपाईंहरू न्यायमूर्ति। म भने हथकडी लगाएर इजलासमा उभिएको अपराधी। यस्तो व्यवहार देखाउनुभयो।' म भन्छु।

'हामीलाई राम्ररी चिन्नुभएको रहेछ। हामीले चाहेमा सार्वजनिक ठाउँमा कुकुर लिई हिँडेर सर्वसाधारण जनतालाई आतंकित पारेका मुद्दामा कारबाही गराउन सक्छौँ। तर, तपाईंले दूरदृष्टिको कुरा गर्नुभयो। हामीले भविष्य थाहा पाउन सकेमा बचाउका निम्ति उपाय पहिले नै अपनाउन सक्थ्यौँ। के हाम्रो भविष्य यही कुकुरले बताउँछ?' नेता भन्छ।

'अहिले त यो चुपचाप छ। जुलुस देखेपछि यो सतर्क हुन्छ। जुलुस मेरो घरबाट पास हुन्छ। त्यसपछि यसले साइरनको आवाज निकाल्छ।' म भन्छु।

'यसले आफ्नो मौलिक आवाजलाई परिवर्तन गरेर साइरन निकाल्छ?' नेता उत्सुक हुँदै सोध्छ।

'जुलुस खतरनाक छ भने यसले थाहा पाउँछ। र, साइरनको आवाज निकाल्छ।' म भन्छु।

'अहिले यहाँ खतरा छैन, तपाईंको कुकुरले साइरन निकालेको छैन।' नेता व्यंग्य गर्छ।

उनीहरू त्यहाँबाट निस्कन्छन्। म तिनलाई नमस्कार गर्छु। तिनले मेरो नमस्कार फर्काउँदैनन्।

'किन तिनलाई नमस्कार गरेको?' पसले सोध्छ।

'मान्छेले आफ्नो संस्कार भुल्नु हुन्न।' म भन्छु।

बिहानको समय।

छोरो काममा निस्कन लागेको थियो।

'म यसलाई छाड्न जाँदैछु।' छोरोलाई मैले जानकारी गराएँ।

'कहाँ छोड्न जाने?' छोरो सोध्छ।

'यो फर्केर आउन नसक्ने ठाउँमा।' म भन्छु।

'त्यस्तो पनि कुनै ठाउँ छ र?' छोरो सोध्छ।

'प्रयास गर्छु।' छोटो जवाफ दिन्छु।

'पहिले त्यस्तो ठाउँ पत्ता लगाउने अनि छाड्न जाने?' छोरोको  प्रश्न सकिएको थिएन।

'तिम्ले छोडेर आउने भए म जानुपर्ने थिएन।' म भन्छु।

'तपाईं नै जानोस्।' छोरो बोल्यो।

म एउटा सार्वजनिक चौरमा पुगेको छु। त्यो ठाउँ अहिले भूकम्पपीडितका छाप्राहरूले भरिएको छ। म र कुकुर छाप्राहरूको बीचबाट हिँडिरहेका छौँ। भूकम्पपीडित छाप्राबाट निस्केर कसैले सहयोग गर्ला कि भन्ने आशामा हेरिरहेका छन्। सुत्केरी आइमाई घाममा बसेर बच्चालाई तेल घस्दैछे। पीडामा पनि सृष्टि रोकिएको छैन! कतिपय बृद्धबृद्धा खोक्दै र कन्दैछन्। तिनीहरू काल पर्खिरहेका छन्। निराश त्यसै देखिएका होइनन्। केही गर्न नसक्नुको पीडा छ। कुकुर मेरो छायाँझैँ मसँग टाँस्सिएर हिँडिरहेछ। एउटा छाप्रोबाहिर लास राखिएको छ, वरिपरि मान्छे छन्। लास जलाउन लैजाने तयारी चलिरहेको छ। त्यही भीडमा कुकुरलाई छल्न म शौचालयभित्र पस्छु। केहीबेरमा बाहिर निस्कँदा कुकुर मलाई बाहिर कुरिरहेको छ। कुकुरलाई छल्न तीन घन्टा प्रयास गरेँ, तर म असफल भएँ।

म अहिले सडकमा छु। एउटा ट्याक्सीमा छु। मसँगै कुकुर छ। रमाइलो पार्कमा सँगै। यो मेरो घरबाट निकै टाढा हो। बच्चाहरू पोखरीमा पौडिरहेका छन्। एउटा समूह नाचगानमा रमाइरहेको छ। एउटा समूह वनभोज खाइरहेको छ। युवा खेल्नमा मस्त छन्। मेरो कुकुर यो ठाउँमा रमायो। ऊ पनि उफ्रन थाल्यो। रुखको कापमा पिसाब फेर्‍यो। कुकुर खेलिरहेको थियो। म ढोकाबाहिर गएँ। निकै छिटो फर्किएँ। केही समयको अन्तरालमा आउजाउ गरी नै रहेँ। यो मेरो कुकुरलाई झुक्याउने कपटपूर्ण अभ्यास थियो। ढोकाबाहिरबाट भित्र पस्दा रित्तो हात फर्किनँ। एकपल्ट मेरा लागि कोक र उसका लागि केक ल्याएँ। एकपल्ट मेरा लागि बदाम र उसका लागि बिस्कुट ल्याएँ। ऊ खानमा व्यस्त हुन्थ्यो। खानापछि ऊ खेलमा नै फर्किन्थ्यो। ढोकाबाहिर गएर बढीबढी खानेकुरा उसका लागि ल्याउँथे। झुक्याउने र भुलाउने खेल खेलेँ। कुकुर महिला भलिबल खेल हेर्न लाग्यो। ऊ तिनीहरूबाट आकर्षित भयो। ऊ पनि खेलाडीझैँ एउटा कुनोमा बसेको थियो। ऊ आफ्नो पालो पर्खिरहेको थियो। ऊ आफ्नो बहादुरी देखाउने मुडमा थियो। ढोकाबाहिर एउटा ट्याक्सी देखियो। म त्यो ट्याक्सीमा पसेँ। आफ्नो गन्तव्यतिर लागेँ। घर नपुगुञ्जेल मलाई चैन भएन। ट्याक्सीबाट पछाडि फर्केर घरिघरि हेरेँ। घर पुगेँ।

‘छोड्नुभयो?’ मलाई एक्लो देखेर छोराले सोध्यो।

‘छाडेँ,’ मैले भनेँ।

‘हँ?’ छोरा उत्सुक देखियो।

‘पार्कमा,’ मैले भनेँ।

म कौशीमा बसेको छु। उसले बस्ने गरेको खाली खोर छ। उसलाई छल्न त सफल भएँ। स्मृतिबाट भने उसलाई छल्न सकेको छैन। कहिलेसम्म यो मेरो स्मृतिमा बस्ने हो? अखबार पढ्छु। कतै यो छेउमै त बसेको छैन? बेलाबखत हेर्छु। ढुक्क हुन्छु। बेलुका म त्यही भट्टीमा जान्छु। वर्षौंदेखि म यही भट्टीमा गइरहेको छु। बिष मिसिएको नशालु पदार्थबाट टाढा छु। म मेचमा बस्छु। यो मेरो पुरानै आसन हो। तस्कर र नेताले पहिले नै आसन जमाइसकेका छन्। तिनीहरू पनि विषालु पदार्थबाट टाढा छन्। विदेशीमार्का नै चलाउँछन्। एउटै ठाउँमा रमाउने म परम्परावादी देखिएको छु।

‘के भयो साथीलाई?’ तस्करको प्रश्न छ।

‘मैले त्यसलाई लखेटेँ,’ म भन्छु।

‘आफ्नै आश्रममा बसेको प्राणीलाई शरणार्थी बनाउन मिल्छ?’ नेता भन्छ।

‘मिल्छ। मिल्छ। जत्ति पनि मिल्छ। नमिल्ने भए यो पृथ्वीमा लाखौँ शरणार्थी किन हुन्थे?’ म भन्छु।

‘ती त खराब शासक थिए। अमानवीय व्यवहार तिनको विशेषता नै हो। तपाईं त त्यसको मित्र हुनुहुन्थ्यो। यो त मित्रघात भयो,’ तस्कर भन्छ।

‘मित्रघात पहिले उसले गर्‍यो,’ म भन्छु।

‘आफूभन्दा कमजोर र बोल्न नसक्नेलाई दोषारोपण नगर्नोस्,’ नेता भन्छ।

‘हो, हो। त्यो त भाषणको असली स्रोता पनि थियो,’ तस्कर भन्छ।

‘मैले त्यसलाई आश्रय दिएको थिएँ। त्यसले मलाई पछार्‍यो,’ म भन्छु।

‘कसरी?’ तस्करको प्रश्न छ।

‘भर्‍याङमा यो अघि लाग्यो। म पछि थिएँ। यसको लगाम मेरो हातमा नै थियो। यो तीव्र गतिमा ओर्लियो। मेरो सन्तुलन बिग्रियो। भर्‍याङबाट घिसि्रँदै म पुछारमा पुगेँ। अस्पतालमा पुगेपछि मात्र मेरो होस खुल्यो। अस्पतालले मलाई दुई महिनापछि मात्र बिदा गर्‍यो,’ मैले भनेँ।

‘यसले त अर्थोक पनि गर्न सक्ने रहेछ। यो पनि यसको विशेषता होइन र?’ नेता भन्छ।

‘यो अर्थोकको प्रयोग आफ्नै संरक्षकमाथि गर्‍यो,’ मैले भनेँ।

‘जे भए पनि तपाईंले त्यसलाई दिएको सजाय ठीक भएन। सभ्य मान्छेले यस्तो काम गर्दैनन्,’ नेताले भन्यो।

‘सभ्य मान्छेले यस्तो अवस्थामा के गर्छन् त?’ मैले सोधेँ।

‘गोली ठोक्छन्, गोली,’ नेताले भन्यो।

‘मसँग पेस्तोल छैन,’ मैले भनेँ।

‘यो देशमा आधारभूत आवश्यकताको अभाव छ, तर पेस्तोलको अभाव छैन,’ त्यसैले त मान्छेहरू निर्धक्कसँग अपहरण गर्छन्। लुटपाट गर्छन्। हत्या गर्छन्,’ पसले भन्छ।

‘हो, हो। उहा्रँले भनेको सही हो,’ तस्कर भन्छ।

‘देख्नुभयो। मेरो कुरामा सबको समर्थन छ। तपाईंको कुरामा कसैको समर्थन छैन,’ नेता भन्छ।

‘मैले कसैको समर्थन खोजेको छैन। आफ्नो काम बताएको,’ म भन्छु।

‘तपाईंको यो ठूलो काम होइन। हामीसँग एक वचन सोधेको भए सहयोग गर्न तयार थियौँ,’ तस्कर भन्छ।

‘तपाईंहरूसँग हतियार छैन भन्ने कुराको म कल्पना नै गर्न सक्तिनँ। म यो पद्धतिको विरुद्धमा छु,’ म भन्छु।

‘तपाईं गोलीको प्रयोग गर्न सक्नुहुन्थ्यो,’ तस्कर भन्छ।

‘मृत कुकुरका आँखाले मेरो तस्बिर खिच्छन्। मलाई त्यसले जीवनभर लखेट्नेछ,’ म भन्छु।

‘तपाईं त गज्जबको मान्छे हुनुहुँदोरहेछ। अरुको कुनै पनि तर्क नमान्ने। आफ्नै मात्र तर्क ठीक भन्ने,’ नेताले भन्यो।

‘म मन नपर्ने कुराको सही थाप्दिनँ,’ म भन्छु।

‘आज हामीलाई हतार छ। तपाईंको तर्कको खण्डन अर्को दिन गरौँला,’ नेता भन्छ। तस्कर उठ्छ।

आज सातौँ दिन हो, कुकुरलाई पार्कमा छोडेर हिँडेको। बिहान म ढोका खोल्छु।

ढोकाबाहिर कुकुर सुतिरहेको छ। तीन घन्टामा म ट्याक्सीबाट फर्केको थिएँ। यसलाई आइपुग्न सात दिन लागेछ। त्यसलाई मैले बेघर बनाएको थिएँ। यो पुरानै घरमा फर्केको छ। मलाई पुलुक्क हेर्छ। तर्संदैन, निश्चित छ। फेरि आँखा चिम्लन्छ। थकित छ। भोको छ। यसको पेट दोब्रिएको छ। मलाई पर्खंदै पार्कमा यो कतिसम्म भौँतारियो? पालेले नलखेटेसम्म भौँतारियो कि! पुरानै घरमा फर्कने निर्णय कसरी लियो? यहाँसम्म आउन सजिलो छैन। एउटै सोझो मूल बाटो छैन। थुप्रै बाटा मिसिन्छन् र छुट्टिन्छन्। ठूला–साना सहर–बस्ती छन्। क्रसिङ सडक आउँछन्। ती सबलाई पन्छाएर आफ्नो घरमा आउने खास बाटो कसरी पत्ता लगायो? दिनरात हिँड्यो कि? कतै बास बस्यो? कसैको घरमा बास बस्यो कि सडकमै रात काट्यो? कुटाइ खायो कि? भोजन कतै पायो कि?

म त्यसको गर्धन सुम्सुम्याउँछु। साइरनको मसिनु आवाज निकाल्छ। एउटा अशुभ संकेत। यो संकेत कतातिर लक्षित छ? अर्कोतिर? मतिर? वा अन्त कतै? यकिन गर्ने क्षमताको अभ्यास मैले गरेको छैन। मैले नदेखेको जुलुस यसले देख्यो कि?

‘यो त आएछ,’ छोरा मोरो खिसी गर्छ।

‘यो अब कतै जाँदैन। बाँचुञ्जेल यही बस्छ,’ म भन्छु।

छोरा अलमलमा छ। म भने कुरामा पक्का छु।

प्रकाशित: ८ आश्विन २०७३ ०५:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App