coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

केन्द्र भञ्जन!

एउटा राजधानी र अनेक मोफसल! राज्यले नै केन्द्रिकृत मनोदशा पालेपछि हरेक कुरामा राजधानी र बाहिर गरी दुनियाँ नै दुईवटा भएजस्तो अवस्था! सबथोक काठमाडौँ खाल्डोमा थुप्रिएको परिस्थिति। अवसर खोज्न, काम पाउन, शिक्षा आर्जन गर्नमात्र होइन कविता वा कुनै लेख छाप्न पनि राजधानी ओर्लनुपर्ने बाध्यता! देशको राजधानीमा पाइने सबैखाले सेवा–सुविधाले देशभरिका मान्छेलाई यहीँ तान्ने परिवेश। अन्य विषयजस्तै साहित्यलाई पनि 'राजधानीवाद'ले नगाँजेको भने बिल्कुलै होइन। तर, समय सधैँ एकैनासको रहँदैन, रहनु हुन्न।

प्रविधिको विकासले 'मोफसल' शब्दलाई विस्तारै धमिलो पार्दै लगेको छ। अब मोफसल भन्ने शब्द नै हराइसक्यो भन्न रूचाउँछन् राजधानीबाहिर बसेर साहित्य साधनामा तल्लीन कतिपय लेखक नै पनि। केही दशकअघिसम्म 'राजधानी' र 'मोफसल' बीचको दूरी अलि लामै लाग्थ्यो, कतिपय सन्दर्भमा त त्यो अनुल्लंघनीय पनि देखिन्थ्यो। सोही कारण मोफसललाई राजधानीले हेपेको भन्ने कुराले चर्चा पनि बेलाबखत पाउँथ्यो। मोफसलले राजधानीमा स्थान पाउन नसकेको गुनासो बाक्लै सुनिन्थ्यो। अहिले त्यो केही कम भएको स्वयं लेखकहरू नै बताउन थालेका छन्।

'मोफसल' शब्दलाई भजाएर फाइदा लिन पल्केका केही लेखकलाई छाडिदिने हो भने साहित्यमा राजधानीवाद अब जिउँदो छैन। कतै छ भने पनि त्यसको धुकधुकीमात्र बाँकी छ। राजधानीमा बसेर सृजनामा लागेको लेखकले यहाँ जति मौका पाएका छन् उत्तिकै अवसर मोफसलमा बस्नेले पनि पाइरहेका छन्। राजधानीवाद अब कमजोर लेखकको मात्रै 'स्लोगन' बन्न पुगेको छ।

आख्यानकार ध्रुवचन्द्र गौतम बाहिर (वीरगन्ज)बाट आएकाले नै राजधानीवादमा सहमत हुन नसक्ने बताउँछन्। पहिले थियो त? उनी प्रश्न गर्छन् र उत्तर पनि आफै दिन्छन्, 'पहिले पनि खासै थिएन।'

राजधानीवाद अहिले छ भन्ने उनलाई लाग्दैन। बाहिरबाटै आएका लेखक धेरै सशक्त भइसकेकाले पनि त्यो भन्न नमिल्ने उनी बताउँछन्। कुनैबेला थियो छाप्नका लागि विद्रोह गर्ने। 'मोफसल' शब्द प्रयोग गर्नेहरू कहीँ होलान् भन्ने अनुमान गर्छन् उनी। 'सिंगो नेपाली साहित्य हेर्दा काठमाडौँमात्र जपेर कामै चल्दैन। एक्काइसौँ शताब्दीमा यस्तो शब्दले काम गर्दैन,' उनी भन्छन्।

काठमाडौँमा अवसरचाहिँ बढी नै छ। त्यस्तो अवसर सबैतिर उपलब्ध हुनुपर्ने उनको भनाइ छ। 'भारतमै दिल्ली केन्द्र हो, तर दिल्लीबाहिरकै साहित्य बढी चलेको छ। पोखरा, विराटनगर, झापा, महेन्द्रनगरजस्ता ठाउँमा बसेका साहित्यकारलाई मोफसल भनेर छोड्यो भने नेपाली साहित्यको तस्बिर कस्तो होला,' उनी प्रश्न गर्छन्। 

उनका अनुसार पहिले राजधानी र मोफसलबीचको दूरी लामो हुँदो हो। बीसको दशकमा लेख्न सुरु गरेका उनले पनि छाप्नलाई संघर्ष गर्नुपरेको थियो। 'उहिले त छापेको पारिश्रमिक होइन, छाप्नै परिश्रम लाग्थ्यो,' उनी भन्छन्, 'जहाँ पनि सुरुसुरुमा लेखकले भोग्नैपर्छ। साहित्यकार, समालोचक, सम्पादकभित्र कसैमा बाहिरको दुविधा होला। यो भएन अर्को ल्याउनुपर्छ भन्थे। पहिले सुनिन्थ्यो, अहिले त कामै चल्दैन। हुँदैन। गर्न पनि सकिँदैन। राजधानीले मात्र नेपाली साहित्य चल्छ त, मोफसल भनेर ह्याउनुको कुनै अर्थ छैन।'

रूपरेखा साहित्यको प्रमुख पत्रिका थियो त्यसबेला। उनी वीरगन्जबाट आएका थिए। एउटा कविता दिएका थिए, छापिएन। एक पटक भूपि शेरचन वीरगन्ज पुगेको मौका छोपेर आफूले लेखेका कविता देखाए। उनका कविता भूपिले नरूचाउने कुरै भएन। रूपरेखाका सम्पादकलाई चिठी पनि भूपिले नै लेखिदिए। त्यसपछि गौतमको कविता छापियो। उनी भन्छन्, 'अरु पत्रिकामा पठाएको थिएँ, छापिएन। कवितापछि कथा लेखेँ। कथाको माग हुन थाल्यो। त्यसपछि कथाकार भएँ।' सुरुमा संघर्ष गर्नु हरेक लेखकको नियति भएको उनको बुझाइ छ।

पछिपछि उनका रचनाको माग निकै बढ्न थाल्यो। 'सम्पादकहरूको मनमा राजधानीवाद भएको भए बाहिरकाले लेखेको छापिँदैनथ्यो होला। नियति नै हो नयाँले संघर्ष गर्नुपर्छ,' उनी भन्छन्, 'बाहिरबाटै आएका सशक्त छन्। बाहिरबाट आएकाले राजधानीमा बसेर राजधानीवाद भन्न सुहाउँछ र! त्यो भन्न मैले कहिल्यै जानिनँ।'

कवि श्यामल साहित्यमा राजधानीवाद छ भन्नेमा पूरै असमहत छन्। राजधानीवाद छ भन्नु केही कमजोर लेखकले फैलाएको हल्लामात्र मान्छन् उनी। आफूले कविता लेख्न जन्मथलो दैलेखबाटै सुरु गरेको र उतै रहँदा राजधानीका पत्रपत्रिकामा छापिन थालेको उनी बताउँछन्। उनी भन्छन्, 'मेरो साहित्य गाउँबाटै सुरु भएको हो।' आईए नेपालगन्जमा सकेर बीए पढ्न उनी काठमाडौँ आएको पनि अब त ३७ वर्ष भइसकेको छ। 'बेजोड प्रतिभा छ भने लेखक मोफसलमा बसोस् वा जुनसुकै गाउँमा बसोस्, चर्चित हुन्छ,' उनी भन्छन्, 'राजधानीवाद छ भन्नेहरू कमजोर लेखक हुन्।'

उसो त, मनु ब्राजाकी हुन् वा भाउपन्थी अथवा सरुभक्त नै पनि मोफसलमै बसेर उनीहरूले राष्ट्रिय छवि बनाए। ब्राजाकीले सर्वाधिक रचना महोत्तरीको गौशालामा बसेर सिर्जना गरेका थिए। उनी जुन ठाउँमा बसे पनि राजधानीले उनका कथा खोजी नै रह्यो। उनको प्रतिभाको राजधानीले सधैँ कदर गर्‍यो। भाउपन्थीको महेन्द्रनगर होस् वा सरुभक्तको पोखरा अनि कृष्णभूषण बलेको विराटनगर, तिनलाई राजधानीबाट प्रकाशित हुने पत्रपत्रिकाका सम्पादकहरूले सधैँ खोजिरहे।

राजधानी सत्ता, शक्ति, संस्कृतिको केन्द्र हो यसमा श्यामल सहमत छन्। पहिले पत्रपत्रिका राजधानीबाटै बढी निस्कन्थे। छापाखाना यहीँ नै बढी थिए र अहिले पनि छन्। त्यो सुविधाले गर्दा काठमाडौँ केन्द्र बन्न पुगेको हो। 'राजधानी स्वयंले प्रतिभा उमारेको होइन! प्रतिभा त बरु गाउँले जन्माउन सक्छ,' श्यामल भन्छन्, 'उतिबेला पनि राम्रा रचना हुलाकबाट पठाउँदा छापिन्थ्यो। जसको रचना कमजोर छ उनीहरूले धेरै अघिदेखि राजधानीवादको हल्ला चलाए।' अचेल त्यो धारणा पूर्णतया हटेको उनी दाबी गर्छन्। विभिन्न ब्रोडसिट पत्रिकामा साहित्य, कला, संस्कृति स्तम्भ राखिएका छन्। चितवन, हेटौँडा, पोखरा, झापालगायतका स्थानका लेखकका रचना छापिएको हुन्छन्। 'यस्तो अवस्थामा राजधानीले कसरी विभेद गरेको भन्न मिल्छ,' उनी प्रश्न गर्छन्। राजधानीका कतिपय लेखकले यहीँका पत्रपत्रिकामा स्थान पाएका छैनन्। तिनका निम्ति यही नै मोफसल हो। तर, विगतदेखि नै मोफसलका प्रतिभाशाली लेखक राजधानीमा छाइरहेको उनको अनुभव छ।

अहिले त प्रविधिले यति सजिलो बनाइसक्यो, हुम्लाको विकट गाउँमा बसेर अमेरिका, बेलायतलगायत जुनसुकै देशमा प्रत्यक्ष सम्पर्क गर्न सकिन्छ। प्रविधिले संसार जोडिसक्दा अब कुनै गाउँ, सहर, मोफसल, राजधानी जुनसुकै ठाउँ होस् त्यसले केही फरक नपार्ने दिन आइसकेको छ। पछिल्लो समय त राजधानीबाहेक विराटनगर, झापा, पोखरा, नेपालगन्जजस्ता ठूला सहरबाट थुप्रै पत्रपत्रिका निस्कन्छन्। प्रतिभा प्रस्फुटनका निम्ति अन्य सञ्चारमाध्यमको उपलब्धता पनि उत्तिकै सहज बनेको छ।

कुनै रचनाकारले आफ्नो रचना शक्तिमाथि भर नपरेर मोफसल नामको कुनै इस्यु खोजेको बताउँछन् श्यामल। 'भूपि शेरचनको जस्तो कविता खै? पहिलो कुरा रचना हो, रचना शक्ति राम्रो छ भने अन्तरीक्षमा गएर पनि प्रचार गर्न सकिन्छ,' उनी भन्छन्, 'मोफसल छ भन्नेहरूले 'मोफसल' नै नाम दिएर मोफसलका मात्र रचना छापेर चुनौति दिन किन नसकेका?'

कतिपय सन्दर्भमा मोफसल भन्ने शब्दमा राजनीति घुसेको देखिन्छ। सबैखाले अवसर राजधानीलेमात्र खायो भन्दै कमजोर लेखक भाषा–साहित्यको सम्बर्द्धन गर्ने संस्थामा त्यही मोफसल शब्दलाई बेचेर नियुक्त भइरहेका पनि देखिन्छन्। यस्तोखाले मनोभावले समग्र नेपाली भाषा–साहित्यको उन्नति हुन नसक्ने कतिपय लेखक बताउँछन्। हरेक कुरामा आरक्षण खोज्ने र कोटा तोक्ने नीतिले नेपाली साहित्य अन्य मुलुकका पाठकका लागि रूचिकर बन्न नसकेको तिनको भनाइ छ।

अब देश संघीयतामा गइसकेको छ। प्रान्तका संख्या, सीमा निर्धारणजस्ता सवालमा केही विवाद देखिए पनि संघीयता लागु हुने कुरामा अब कुनै प्रश्न छैन। संघीयताले अधिकार विकेन्द्रीकरण गर्छ। स्थानीय तह, प्रदेश राज्यले कला नीति, भाषा–साहित्य नीति बनाउने नै छ। त्यसपछि त झनै मोफसल पूरै लोप हुनेछ।

श्यामलका विचारमा पूर्ण सहमत छैनन् भोजपुरे कवि तथा प्राज्ञ श्रवण मुकारुङ। श्यामलले मोफसल नै छैन भनेका छन् भने मुकारुङ एक दशकअघिसम्म मोफसल जीवितै रहेको बताउँछन्। उनी भन्छन्, 'राजधानीवाद अहिले त होइन पहिलेचाहिँ थियो। एक दशकअघि त यसको प्रभाव थियो।' अहिले सञ्चारको विकासले राजधानीवादको धारणा हटाउन सफल भएको उनको बुझाइ छ। अब त गाउँगाउँमा इन्टरनेट पुगिसक्यो। साधनारत मान्छेले जहाँ बसेर पनि राजधानीसँग जोडिन सक्ने उनी बताउँछन्। 'यसकारण पनि राजधानी र मोफसल भन्ने विषय अहिलेे निकै कमजोर हुँदै गइरहेको छ,' उनी भन्छन्, 'तर, यो कुरा सत्य हो, काठमाडौँ सबै कुराको केन्द्र हो। राजनीतिदेखि लिएर राज्यसत्ताको सबै निर्णय यहीँ हुन्छ। साहित्यमा पनि राजधानीको प्रभाव पर्नु स्वभाविकै हो।' त्यसैले त संघीयताका लागि आन्दोलन नै भयो। अब स्थानीय सरकारको अवधारणा संविधानमा समाहित छ। त्यसको असर अर्थात् साहित्यमा संघीयता हुनेमा मुकारुङ आशावादी छन्। भन्छन्, 'संघीयताको असर साहित्यमा पनि परिहाल्छ नि! त्यसपछि त केको मोफसल, केको राजधानी!'

जिल्लामा बसेर पनि राजधानीमा केही पहुँच बनाउन सक्नुपर्ने उनको ठहर छ। 'राम्रो लेखे पनि छापिने कार्य भनेको सम्बन्ध र सम्पर्कले नै निर्धारण गर्छ। सुरुमा लेख्नेको रचनामात्र हेरेर छापिन्न। उसको नाम पनि हेर्ने गरिन्छ,' उनी भन्छन्। सामाजिक सम्बन्ध अर्थात् नाता, चिनजान भने हुनैपर्ने उनी बताउँछन्। धेरै नै राम्रो लेख्नेलाई छाप्नका लागि समस्या नहोला, तर सामान्य लेख्ने वा सिकारुका निम्ति सम्बन्ध हुनुपर्ने उनको भनाइ छ। 'यद्यपि, राम्रा लेखकले काठमाडौँबाहिर बसेर पनि ठाउँ पाएका छन्। उनीहरू काठमाडौँमा जन्मेको भए लेख्न नसक्ने पो हुने थिए कि,' मुकारुङ आशंका गर्छन्।

त्यसो त मोफसलबाट काठमाडौँ छिरेपछि हराउने लेखक पनि उत्तिकै छन्। काठमाडौँमै जन्मेर लेख्न थाले पनि साहित्य सिर्जना गर्न नसक्ने पनि थुप्रै छन्। तिनका लागि काठमाडौँ नै मोफसल भयो! 'यस्तै कुरा साहित्यको राजनीतिभित्र खुसुक्क लगेर राखिदिन्छन् र आरक्षण खोज्छन्,' उनी भन्छन्।

अब त सोलुखुम्बुको कुनै विकट कुनामा बसेर आफ्नो फेसबुकमा रचना राख्न सकिन्छ। काठमाडौँका नाम चलेका पत्रिकालाई रचना मिनेटभित्रै पठाउन सकिन्छ। सीधै सम्पादकलाई छापिदिनका लागि अनुरोध गर्न सकिने अवस्था छ। आफूले लेख्न सुरु गर्दाका समयमा रचना सिर्जना गरेपछि सम्पादकलाई भेट्ने मन गर्दा महिना दिनको  समय मिलाउनुपर्ने अवस्था स्मरण गर्छन् मुकारुङ। अब भने ती दिन रहनेनन्। आफ्नो क्षमता देखाउनका लागि कसैलाई भेट्नु नै पर्दैन। फेसबुक, ट्विटर, ब्लगमा छिर्न सकिन्छ आफ्नै सिर्जनाको संसार निर्माण गर्न पनि सकिन्छ। यसकारण पनि अब मोफसल विस्तारै नामेट हुँदै जानेमा उनी विश्वस्त छन्। चीनमा जस्तै हामीकहाँ पनि दुईखालको साहित्य देख्छन् कवि मुकारुङ। एउटा गाउँको, अर्को आधुनिक सहरको साहित्य। यी दुईलाई कसरी छुट्याउने? उनी भन्छन्, 'प्रवृत्तिले छुट्याउन सकिन्छ। गाउँका साहित्यमा गाउँकै लोक, मौलिक शब्द र परिवेश हुन्छन्। सहरी साहित्यमा सहरकै सभ्यता लेखिएको हुन्छ।' कतिपय लेखक काठमाडौँ बसेर गाउँकै साहित्यमा रमाउन मन पराउँछन्। मुकारुङको बुझाइमा गाउँमा बसेको पाठकले सहर पढ्न खोज्छ भने सहरको पाठकले गाउँ पढ्न रोज्छ। गाउँको सुख–दुःखको स्वाद सहरले रुचाउँछ। सहरको सभ्यतामा गाउँलेले चाख देखाउँछ।

आख्यानकार भाउपन्थी कवि श्यामलसँग थुप्रै कुरामा सहमत देखिन्छन्। भन्छन्, 'राजधानीवाद प्रतिभाहरूको समूह जहाँ हुन्छ त्यहीँबाट सञ्चालित हुन्छ। प्रतिभा भएको मान्छेले जिल्लामा भएका कुरा राजधानी पुर्‍याउन गाह्रो छैन। स्तरीय रचना नहुनेका लागि राजधानीवाद होला कि त पहुँच, प्रयास नहुनेका लागि!' राजधानीमा मात्र होइन, जिल्लाहरूमा पनि पत्रपत्रिका मज्जाले चलिरहेका छन्। पत्रपत्रिकामा कस्ता सामग्री नहुँदा कमजोर हुने भन्ने निर्क्योल गर्न गाह्रो हुने उनी बताउँछन्। 'जो जहाँसुकै होस्, सुरुआतमा त संघर्ष गर्नुपर्छ नै,' उनी भन्छन्, 'कलम बलियो बन्दै गएपछि कसैले रोक्न सक्दैन।'

सिकारु लेखकले रचना पठाउँदा सम्पादकले नछाप्न सक्छन्। प्रयास निरन्तर गरिरहनुपर्ने भाउपन्थीको सुझाव छ। भन्छन्, 'आजै लेख्यो भोलि नै पत्रिकामा छापिने सम्भावना कम हुन्छ। कुनै राजामहाराजाले कविता लेखेजस्तो होइन, तुरुन्तै छापिने– लेखकमा धैर्य हुनुपर्छ।' राजधानीवादको गलत व्याख्या गर्न नहुने उनको तर्क छ। सबैले सकारात्मक सोच लिनुपर्नेमा उनी जोड दिन्छन्। प्राविधिक, सामाजिक परिवर्तनका कारण पहिलेजस्तो अवस्था अहिले छँदैछैन। साहित्यिक पत्रिकाहरू कम छन्, तर दैनिक वा साप्ताहिक पत्रिकाले साहित्यलाई निकै बढी स्थान दिन थालेका छन्। पत्रिकाहरू पाठक केन्द्रित हुँदै गएकाले स्तरीय रचनाको आवश्यकता जहिले पनि रहने भाउपन्थीको भनाइ छ।

उर्लाबारी मोरङकी मिश्र वैजयन्ती पनि साहित्यिक पाटोबाट राजधानीवाद नभएको बताउँछिन्। भन्छिन्, 'हामी यता पूर्वका कतिपय लेखक त मोफसल छैन भन्न थालेका छौँ। हामीले राजधानीमा राम्रै स्थान पाइरहेका छौँ।' अचेल स्रष्टालाई राजधानीका पत्रपत्रिकाले साहित्यलाई निकै ठाउँ दिने गरेको बताउँछिन्। जब पत्रपत्रिकामा ठाउँ नै बढी दिइन्छ तब के राजधानी के मोफसल! तर, उनलाई कहिलेकाहीँ मोफसलमा बस्नुको पीडाबोध भने हुने गरेको छ। 'राजधानीमा भएका झिनामसिना कार्यक्रमलाई केन्द्रका पत्रिकाले स्थान दिन्छन्। बाहिर निकै भव्य कार्यक्रम गरिएको भए पनि स्थान दिइँदैन,' उनी भन्छिन्, 'यस्तो देख्दाचाहिँ राजधानीवाद जीवितै रहेछ भन्ने पनि लाग्छ।' 

ठूला तथा स्तरीय कार्यक्रमको समाचारले राजधानीका चल्तीका पत्रिकामा स्थान नपाएको विषयमा उनलाई साथीभाइले गुनासो गर्छन्। त्यसैले उनलाई लाग्छ, प्रकाशनको सन्दर्भमा राजधानीले सबैलाई समेटिदिए पुग्छ। 'रचना त मागेर पनि छाप्छन्, तर कार्यक्रमका समाचार पनि त्यसैगरी छापिदिए मोफसल छ कि छैन भनेर भन्नु नै पर्दैनथ्यो,' उनी भन्छिन्। वैजयन्तीका अनुसार पहिले त साँच्चिकै केन्द्रीयता थियो। अब त्यो विस्तारै हट्दै गएको उनको भनाइ छ। खासमा सिर्जनशील स्रष्टा काठमाडौँबाहिरै बस्न चाहन्छन्। सुन्दर डाँडा, पखेरामा बसेर रचना सिर्जना गर्न आनन्द मान्छन्। कतिपय कुरा त क्षेत्रीय, जिल्लाबाट निस्कने पत्रपत्रिकाले पनि समेटेका छन्।

पत्रपत्रिका हेर्दा रचना केन्द्रभन्दा बाहिरबाट समेटिएको उनले भेटेकी छन्। विदेशमा बस्ने नेपालीका रचना पनि नेपाली, अंग्रेजी भाषामा समेटिन थालेको छ। स्तरीय रचना लेख्न सक्ने हो भने मोफसल शब्द चटक्कै हट्ने वैजयन्तीको भनाइ छ। कोही कसैले मोफसल शब्दलाई ठूलो बनाए भने त्यसलाई लेखकको कमजोरी मान्दा हुने उनको जिकिर छ।

मोफसलमा बसेरै लेखिरहेका लेखकका धारणालाई आधार मान्ने हो भने पनि स्तरका आधारमा राजधानीका पत्रपत्रिकामा रचना छापिन्छन्। लेखाइ अब्बल छ भने स्थानले केही फरक पार्दैन। राम्रा रचनाको पर्खामा हरेक सम्पादक हुन्छन्। केन्द्रमा नगइ साहित्यकार हुन नसकिने मान्यता कमजोर तथा कुण्ठित लेखकको मात्रै हो। अचेल केन्द्रभन्दा बाहिरबाटै लेखिएका रचना धेरै पढ्न पाएकोमा खुसी मान्छिन् वैजयन्ती। मोफसलका कतिपय दैनिक पत्रिकाले स्थानीयलाई समेट्ने गरेका त छन् नै राजधानीमा रहेका लेखकका रचना पनि छाप्ने गरेका छन्। यस्ता कामले राजधानी र मोफसलबीचे दूरी न्यून पार्न मद्दत गर्छन्।

विराटनगरकी कवि सीमा आभासले पनि राजधानी र मोफसलको कुरा बारम्बार उठिरहेको सुन्दै आएकी छन्। तर, उनको विचारमा अब त्यो अवस्था हट्दै गएको छ। राम्रो लेखेको छ भने केको मोफसल? स्थान पाइहाल्छ नि! तत्काल फाइदा अर्थात् प्रतिक्रिया बटुल्ने माध्यम लाग्छ 'मोफसल' भन्ने शब्द उनलाई। केही समय अर्थात् लेखनको सुरुआती दिनमा उनले पनि मोफसल नभोगेकी होइनन्। जतिबेला इन्टरनेटमा पहुँच थिएन, त्यो समय निकै गाह्रो थियो। उनले कविता लेखेर निरन्तर पठाएको १० वर्षपछि मात्र एउटा कविताले गरिमा मासिकमा स्थान पाएको थियो। उनी भन्छिन्, 'जुनबेला हामी अलिअलि लेख्थ्यौँ, त्यो बेला मधुपर्क, गरिमामा पठाउँदा पनि रचना छापिँदैनथ्यो। पत्रिकामा फोटो र कविता हेर्ने कम्ता रहर हुँदैनथ्यो!' कहिले पत्रिका आउला भनेर हेरिबस्थिन् उनी। आखिर एक दशकको मेहनतपछि गरिमामा उनको कविता निस्केको थियो। तर, कविता सम्पादन भएकोमा उनलाई निकै चित्त दुखेको थियो। त्यहीबेलादेखि केही समय त उनले रचना पठाउनै छाडिन्। 'मैले लेखनमा मेहनत गर्न थालेँ। विस्तारै राजधानीका सम्पादकहरूले कविता माग्न थाले,' उनी भन्छिन्। अहिले उनीसँग कविता स्वयं सम्पादकले नै माग्छन्, कसैलाई छापिदिन अनुरोध गर्नुपरेको छैन।

सुरुमै चर्चा नपाए पनि वा नछापिए पनि निराश हुन नहुने उनको तर्क छ। भन्छिन्, 'अरु विषयजस्तो होइन यो। साहित्य भनेको जागिर खाएजस्तो होइन।' सिर्जना जुनसुकै टाकुरा, कुना–कन्दरामा बसेर लेखे पनि स्तरीय लेखन छ भने राजधानीवादले कुनै फरक नपार्ने उनको बुझाइ छ। 'अहिले त ठूला आकारका दैनिकका साथै अन्य पत्रपत्रिकाले पनि साहित्यलाई स्थान दिन थालेकाले मोफसल शब्द नै छैन कि जस्तो पनि लाग्छ,' उनी भन्छिन्, 'सामाजिक सञ्जाल तथा इन्टरनेटका कारण अहिले काठमाडौँबाहिर जहाँसुकै भए पनि फरक पर्दैन। लेखनमा दम छ भने, राजधानी आफै खोज्दै आउँछ।'

पहिलेको जस्तो पब्लिसिटीका लागि कुनै गाह्रो देख्दिनन् उनी। लेखेबापत पारिश्रमिक पनि पाइने भएकाले सिर्जना शक्तिशाली हुनुपर्ने उनी बताउँछिन्। उनी भन्छिन्, 'मोफसलमा बस्दाको एउटा बेफाइदा काठमाडौँमा चलिरहने नाटक हेर्न पाइँदैन। कहिलेकाहीँ महŒवपूर्ण कार्यशाला, कार्यक्रम वा डिस्कोर्समा भाग लिन पाइँदैन।' तर, स्तरीय लेख्न सक्दा राजधानीले सधैँ स्वागत नै गर्ने उनको बुझाइ छ।

'मोफसल' शब्दलाई भजाएर फाइदा लिन पल्केका केही लेखकलाई छाडिदिने हो भने साहित्यमा राजधानीवाद अब जिउँदो छैन। कतै छ भने पनि त्यसको धुकधुकीमात्र बाँकी छ। राजधानीवाद अब कमजोर लेखकको मात्रै 'स्लोगन' बन्न पुगेको छ। राजधानीमा बसेर सृजनामा लागेको लेखकले यहाँ जति मौका पाइरहेका छन् उत्तिकै मौका मोफसलमा बस्नेले पनि पाइरहेका छन्। बलशाली सञ्चारमाध्यम र तिनको व्यावसायिक चेत, बढ्दो प्रविधिमैत्री अवस्थाले गर्दा साहित्यमा अब 'मोफसल वा राजधानीवाद' भन्ने शब्द नामेटै हुन लामो समय लाग्ने छैन।

प्रकाशित: ८ आश्विन २०७३ ०५:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App