७ वैशाख २०८१ शुक्रबार
प्रवास

विमानस्थल प्रहरी र अध्यागमनसँग मानव तस्करको सेटिङ

दुवईको एडिसिबी मेट्रो नजिकै दलालले भाडामा लिएको साँघुरो कोठामा अलपत्र परेकाहरु । तस्विरः नारायण भुर्तेल

युएई— त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरी र अध्यामगन कर्मचारीलाई घुस खुवाएर दलालले भिजिट भिषामा ल्याएका १० नेपाली दुबईमा अलपत्र परेका छन्। दलाललाई प्रतिव्यक्ति ३ लाख ५० हजार रुपैयाँ बुझाएर आएका उनीहरुका अनुसार त्रिभुवन विमानस्थल प्रहरी तथा अध्यागमन कर्मचारीको मिलेमतोमा उनीहरु दुबई आएका हुन्।

युएईमा सेक्युरिटी गार्डमा काम लगाइदिन्छु, न्युनतम २ हजार ८ सय युएई दिराम (७८,८०० नेपाली रुपैयाँ) हुन्छ भनेर विश्वास दिलाएपछि आफूहरु आएको उनीहरुको भनाइ छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यामगन र प्रहरी मिलाउन सक्ने दलाल रमेश नाथ भएको पीडितले बताए।

'प्रहरी सई सुवास थापालाई एकमुस्ट ६ लाख बुझाएको हो। दुवै निकायका लागि प्रतिव्यक्ति ६० हजार रुपैयाँ बुझाएँ। अध्यागमन सेटिङका लागि आधी दिनुपर्छ भन्थ्यो। '

खल्तीको पैसा सकिएर भोकै पार्कमा सुत्न बाध्य उनीहरुले अहिले उद्धारका लागि नेपाली समाज युएई र नेपाली दूतावासमा निवेदन दिएका छन्। अलपत्र पर्नेहरुमा कचनापुर ७ बाँकेका  टोपीराम जैशी, कञ्चनपुर महेन्द्रनगरका ७ का गौतम गिरी, सोही ठाउँकै सुरेश बहादुर चन्द, कैलाश चन्द्र पन्त, गणेशबहादुर चन्द, गोर्खाका हिरन  खत्री, टहल लिम्बु, दावा तामाङ, दिपेन्द्र विक र प्रणय मुखिया रहेका छन्।

‘राम्रो कमाइ हुन्छ, महिनाको २ हजार ८ सय दिराम कमाइ हुन्छ । काम नपाउञ्जेल विपिनको कोठामा बस्नुपर्छ भनेर ल्याएका थिए’, टोपीराम जैशीले भने, ‘काम गरेर राम्रो आम्दानी गर्ने सपना सपनै रह्यो । ५० डिग्री तापक्रमको गर्मीमा भोकै पार्कमा सुत्नु पर्‍यो।’

रमेश नाथले अध्यागमन र प्रहरीलाई सेटिङ मिलाएर १० जना लिएर दुबई आएका हुन्। अर्का दलाल विपिन श्रेष्ठ युएईमै बसोबास गर्छन्। युएई आइसकेपछि उनीहरु विपिनको सम्पर्कमा पुगेका थिए। पीडितले नेपालमा रमेश नाथलाई २ लाख ७५ हजार रुपैयाँ दिएको बताए। युएई आएपछि विपिन श्रेष्ठलाई प्रतिव्यक्ति थप १ लाख ५० हजार रुपैयाँ बुझाए।
नेपालमा सबै सेटिङ मिलाउने दलाल रमेश नाथले युएईमा काम गर्ने नवीन क्षेत्रीसँग फेसबुकमा कुराकानी गरेको आधारमा मान्छे लिएर आएका हुन्। ‘१ जना बराबर २० हजार रुपैयाँ लिन्छु सेक्युरिटीमा जागिर लगाइदिन्छु भनेर जिम्मा लिएको थियो’, उनले भने, ‘यहाँ आएपछि विपिनसँग भेट भयो। उसैले जागिर लगाइदिन्छु भनेर पैसा लियो। अहिले गायब छ ।’ नवीनले विपिनसँग भेट गराएको पीडितको भनाइ छ।’

एक महिनासम्म १० जनाले नै काम नपाएपछि पीडित युवाले युएईबाट नेपालमा रहेका रमेश नाथलाई फोन गरेर सबै जानकारी गराएका थिए। त्यसपछि रमेश नाथ दुबई आएका हुन्। दलाली धन्दा र दुबईमा आफू नयाँ भएको उनले सुनाए।

अध्यागमन र प्रहरीलाई प्रतिव्यक्ति ६० हजार
अलपत्र परेकाहरुको भिषा प्रक्रिया पुल्चोक कार्यालय रहेको शिखर होलिडे नेपाल नामको ट्राभल एजेन्सीबाट अघि बढेको थियो। दुबई घुम्न जाने भनेर उनीहरुले हवाइ टिकट पनि त्यहीँबाट लिएका थिए। १० जनाकै भिजिट भिषा आइसकेपछि विमानस्थलमा सेटिङ मिलाउनु अर्को चरण थियो। त्यसका लागि रमेश नाथ टाढाको नाता पर्ने प्रहरी सई सुवाष थापाको सम्पर्कमा पुगे। थापा त्रिवि विमानस्थलमा कार्यतर प्रहरी सई हुन्। उनले अध्यागमन सेटिङ सहित १ जनाको ७० हजार रुपैयाँ लाग्ने बताए। अध्यागमन सेटिङ मिलाउने काम सहित ६० हजारमा कुरा मिल्यो।

जुलाई २२ को दिन एक हजार डलर समेत नबोकी भिजिट भिषामा दुबई घुम्न हिँडेका पाँच जनालाई अध्यागमन कर्मचारीले सहजै ‘डिपार्चर’ छाप लगाइदिए। त्यसको भोलिपल्ट फ्लाइ दुबईबाट उडेका थप पाँच जनालाई पनि अध्यागमन कर्मचारीले कुनै रोकटोक गरेनन्। ‘प्रहरीका सई सुवासलाई एकमुस्ट ६ लाख बुझाएको थिएँ। अध्यागमन सेटिङका लागि आधी दिनुपर्छ भन्थ्यो’, रमेश नाथले नागरिकन्युजसँग भने।

जुन २२ र २३ मा अध्यागमनले पीडितका पासपोर्टमा लगाइदिएको 'डिपार्चार' छाप

जुन २२ र २३ तारिकमा गरी दुई समूहमा उनीहरु युएई उडेका थिए। भिजिट भिषामा जानेहरुले विमानस्थल अध्यामनगलाई १ हजार डलर अनिवार्य देखाउनु पर्छ। त्यो डलर सटहीको वैधानिक स्रोत समेत देखाउनुपर्छ। अलपत्र परेकाहरुले अध्यामगन कर्मचारी र प्रहरीमा सेटिङ मिलाएकाले आफूहरु १ हजार डलर नबोकी आएको बताए।
‘हामीसँग १ हजार डलर थिएन। सबै रमेश नाथले मिलायो’, जोशीले नागरिकन्युजसँग भने, ‘साथमा पैसा नहुँदा कहिले एक छाक खाएर त कहिले भोकै बसेर दिन काट्नु परेको छ।’

दुबईलाई ट्रान्जिट बनाएर दलालहरुले नेपाल सरकारले प्रतिबन्ध लगाएका अफगानिस्तान, इराक, सिरिया, लिबिया समेत पठाउने गरेका छन्। अवैध रुपमा युरोपका मुलुकहरुमा समेत पठाउने गरेका छन्। ती मुलुकमा पठाउँदा दलालहरुले प्रतिव्यक्ति ५ देखि १० लाख रुपैयाँभन्दा बढी लिने गर्छन्।

कडाई गर्नुपर्ने काठमाडौं विमानस्थलका अध्यामगन कर्मचारी र प्रहरी मानव तस्करका मतियार बनेको पीडितको भनाइ छ। अलपत्र परेका कैलाशचन्द्र पन्तका अनुसार अध्यामगन र प्रहरीसँगको मिलेमतोबिना दलालले युएई ल्याउन सक्दैनन्।’ विमानस्थलयमा यतिसम्म हुँदो रहेछ कि लाइनमै बस्दा अध्यागमन कर्मचारीलाई हामीलाई चिनिसक्दा रहेछन्’, उनले सुनाए, ‘उनीहरु हामी कतिखेर आउँछौं भनेर पर्खिरहेका पो हुँदा रहेछन्।’

सरकारी नियकाका जिम्मेवार व्यक्ति नै मानव तस्करका मुख्य संरक्षक भएको पीतिको बुझाइ छ। ‘दलालहरुले अध्यागमन र प्रहरीलाई पैसा दिएर मिलाइसकेका हुन्छन्। औपचारिकताका लागि मात्र सोधीखोजी गर्ने हुन्छ’, उनी भन्छन्, ‘त्यहाँका कर्मचारीले नै खुद्रा डलर साट्ने सहयोग पनि गर्दिंदा रहेछन्।’

जुन २२ र २३ तारिकमा गरी दुई समूहमा उनीहरु युएई उडेका थिए। भिजिट भिषामा जानेहरुले विमानस्थल अध्यामनगलाई १ हजार डलर अनिवार्य देखाउनु पर्छ। त्यो डलर सटहीको वैधानिक स्रोत समेत देखाउनुपर्छ। अलपत्र परेकाहरुले अध्यामगन कर्मचारी र प्रहरीमा सेटिङ मिलाएकाले आफूहरु १ हजार डलर नबोकी आएको बताए।

दलालमार्फत् भिजिट भिषामा आउने र अलपत्र भएका घटना पछिल्लो समय युएईमा बाक्लै हुन थालेका छन्। गत जुनमा काभ्रे पनौती घर भएका सोम खत्री नामका दलालले पाँच जनालाई युएई ल्याएर अलपत्र पारी फरार भएका थिए। ५ लाख रुपैयाँसम्म बुझाएर आएका उनीहरुलाई गैरआवासीय नेपाली संघ युएईले उद्धार गरी घर फर्काएको थियो।

युएईका लागि नेपाली कार्यवाहक राजदूत नेत्रबहादुर टण्डनका अनुसार व्यवसायी तथा अरु व्यक्तिले आफन्त बोलाउँदा पनि दूतावासको स्वीकृति कागज लिनु अनिवार्य हुन्छ। ‘दूतावासको स्वीकृति नलिएकाहरुलाई विमानस्थलमै अध्यागमनले नै चेकजाँच गर्नुपर्ने हो। रोक्नुपर्ने हो।’, उनले नागरिकन्युजसँग भने, ‘युएईलाई ट्रान्जिट बनाएर प्रतिबन्धित मुलुक लैजाने गिरोहलाई रोक्न यहाँबाट गाह्रो छ। काठमाडौं विमानस्थलमै कडाइ गर्नुपर्छ।’

अलपत्र नेपालीको उद्धारमा खटिने गैरआवासीय नेपाली संघ युएईका उपाध्यक्ष रमेश श्रेष्ठ भिजिटमा आएर यहाँ अलपत्र पर्नुको मुख्य दोष अध्यागमन भएको बताउँछन्। ‘घुमफिर गर्न हिँडेको मान्छे र काम गर्न हिँडेको मान्छे किन छुट्याउन सकिँदैन?’, उनको भनाइ छ, ‘फरक छुट्याउन कठिनाइ भए मापदण्ड तोक्ने निकाय सरकार आफैँ हो।’

श्रम स्वीकृति लिएर मेनपावरबाट आएकाहरु अलपत्र परे सम्बन्धित मेनपावर कम्पनीले जिम्मेवारी लिनुपर्छ। इन्स्योरेन्स लगायत उनीहरुका लागि उद्धारको न्युनतम बाटो निश्चित हुन्छ। दूतावास लगायतका निकायले कारवाही प्रक्रिया अघि बढाउँदा मेनपावर सञ्चालकलाई सम्पर्क गरेर केस समाधानको बाटो खोज्छ। अध्यागमन सेटिङ मिलाएर भिजिट भिषामा आएकाहरुसँग संस्थागत जवाफदेही कोही पनि हुँदैन।

अध्यागमन र प्रहरीलाई घुस खुवाएर दलालले ल्याएका १० जनाका हकमा कसलाई जिम्मेवार ठानेर प्रक्रिया अघि बढाउने भन्नेमा नेपाली समाज युएई र नेपाली दूतावास विचाराधीन छन्। पीडितहरुले दलाललाई कारवाही तथा क्षतिपूर्ति तथा घर फिर्तीका लागि पहल गरिदिन सरकारसँग अनुरोध गरेका छन्।

नेपाली दूतावास अबुधावीलाई दिएको निवेदन

प्रकाशित: ९ आश्विन २०७३ ०४:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App