coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

दसैंका लागि आठ अर्बका नयाँ नोट वितरण गरिँदै

काठमाडौं– यसपालि दसैंमा ८ अर्ब रुपैयाँका विभिन्न दरका नयाँ नोट चल्तीमा आउँदै छ । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनी, सरकारी कार्यालय, सैनिक, प्रहरी र सहकारी संस्थामार्फत उक्त रकमबराबरका नयाँ नोट वितरण गर्ने तयारी गरेको हो ।

राष्ट्र बैंकले काठमाडौं उपत्याकाभित्र मात्र वाणिज्य बैंकमार्फत करिब डेढ अर्ब, विकास बैंकमार्फत २० करोड र फाइनान्स कम्पनी मार्फत ७ करोड रुपैयाँका विभिन्न दरका नयाँ नोट वितरण गर्दै छ । यसैगरी केन्द्रीय बैंकले उपत्यकाबाहिर ७ क्षेत्रीय कार्यालयबाट पनि नयाँ नोट वितरण गर्ने व्यवस्था मिलाएको छ ।
सरकारी कार्यालय, सैनिक, प्रहरी, सहकारी कार्यालयसमेत गरी कुल ८ अर्ब रुपैयाँ बराबरका नयाँ नोट वितरण गर्ने योजना रहेको राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका प्रमुख भुवन कँडेलले बताए ।

केन्द्रीय बैंकले निजी बैंक तथा वित्तीय संस्थाका लागि आइतबारबाट नयाँ नोट वितरण सुरु गरेको छ । सर्वसाधारणका लागि भने आगामी आइतबारबाट सुरु गर्ने छ ।

आइतबार ७ वाणिज्य बैंकले नयाँ नोट लगेको पनि कँडेलले जानकारी दिए । सोमबार र मंगलबार पनि बैंक तथा वित्तीय संस्थालाई नयाँ नोट केन्द्रीय बैंकले वितरण गर्दैै छ ।

‘राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंकलगायतका ठूलालाई प्रति बैंक ९ करोड रुपैयाँसम्मका नयाँ नोट दिएका छौं,’ कँडेलले भने, ‘बैंक तथा वित्तीय संस्थाले चेक लिएर आउने र सोही चेक बराबरको नयाँ नोट दिने गरेका छौं ।’

काठमाडौंमा मात्र वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीलाई मात्र पौने २ अर्बका नयाँ नोट दिने योजना केन्द्रीय बैंकले बनाएको छ । यसैगरी मुद्रा व्यवस्थापन विभाग थापाथलीबाट काठमाडौं उपत्यकामा सर्वसाधारणका लागि प्रतिव्यक्ति ३७ हजार पाउने गरी नयाँ नोट वितरण गर्न लागेको कँडेलले बताए ।

‘प्रतिदिन ४ हजारजनाले नोट साटने अनुमान गरिएको छ,’ उनले भने, ‘काठमाडौंमा मात्र सर्वसाधारणले १ अर्ब रुपैयाँ नयाँ नोट साटने अनुमान छ ।’ काठमाडौं उपत्यकाबाहिरका बैंक तथा वित्तीय संस्था, राष्ट्र बैंकका क्षेत्रीय कार्यालयबाट पनि नयाँ नोट साट्ने व्यवस्था मिलाइएको जानकारी उनले दिए ।

‘एक व्यक्तिले ५, १०, २०, ५० र सय दरका नयाँ नोट ३७ हजार रुपैयाँसम्म साट्न पाउने गरी वितरण व्यवस्था मिलाउन लागिएको छ,’ उनले भने, ‘सेना, प्रहरी, निजामती कर्मचारी, राष्ट्र बैंकका कर्मचारीले भने विभागबाट सामूहिक सिफारिससहित आएर प्रतिव्यक्ति ५५ हजार रुपैयाँसम्म नयाँ नोट साट्न पाउनेछन् ।’

गत वर्ष सर्वसाधारणलाई प्रतिव्यक्ति बढीमा २२ हजार रुपैयाँसम्म नयाँ नोट साट्न दिइएको थियो । गत वर्ष दसैंका बेला ५ अर्ब ६९ करोड रुपैयाँ नयाँ नोट वितरण गरिएकोमा यस वर्ष करिब ८ अर्ब रुपैयाँ बराबरका साटिने राष्ट्र बैंकले अनुमान गरेको छ ।

‘उपत्यकाबाहिर भने प्रतिव्यक्ति कति रुपैयाँसम्म साट्ने भन्ने कुरा सम्बन्धित कार्यालयले नै निर्णय गर्नेछन्,’ कँडेलले भने ।

उनका अनुसार दसैंका लागि नयाँ नोट साट्ने व्यक्तिको भिडलाई ध्यान दिँदै यस वर्ष केन्द्रीय बैंकको मुद्रा व्यवस्थापन विभागले कुपन व्यवस्था मिलाउने भएको छ । कुपन नम्बर अनुसार वितरण हुने भएकाले सर्वसाधारणले सहज रुपमा नयाँ नोट साट्न पाउनेछन् ।

शारीरिक अपांगता भएका तथा अशक्त व्यक्तिका लागि लाइन नबसी नोट साट्न पाउने विशेष व्यवस्था मिलाइनेछ । निजी बैंक तथा वित्तीय संस्थाले पनि आफ्ना ग्राहक तथा सर्वसाधारणलाई नयाँ नोट साटिदिने व्यवस्था मिलाउने उनले बताए ।

दसैंमा नयाँ नोटको दक्षिणा आदानप्रदान, शिरदेखि पाउसम्म नयाँ लुगा लगाउने, नयाँ सामान किन्ने र नयाँ घर सर्ने प्रचलन छ ।

इन्डाेनेसियाबाट अाइपुग्याे ५० दरका नयाँ नोट 

दसैंलाई लक्ष्य गरेर इन्डोनेसियामा छापिएका ५० रुपैयाँ दरका नयाँ नोट आइतबार राष्ट्र बैंकको ढुकुटीमा आइपुगेका छन् । उक्त नोट पनि सर्वसाधारणलाई आइतबारदेखि वितरण गरिनेछन् ।

केन्द्रीय बैंकको ढुकुटीमा आएका ती नोट गभर्नर चिरञ्जीवी नेपालले प्रमाणीकरण गरेपछि मंगलबारसम्म चलनचल्तीमा ल्याउने राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका प्रमुख भुवन कँडेलले बताए ।

‘नोटको सेम्पल भेरिफिकेसन (नमुना प्रमाणीकरण) गर्ने र गभर्नरले अन्तिम स्वीकृति दिएपछि चलनचल्तीमा आउँछन्,’ उनले भने । पहिलो खेपमा ५० रुपैयाँ दरका ३ करोड थान नयाँ नोट केन्द्रीय बैंकको ढुकुटी आइपुगेको कँडेलले जानकारी दिए । दोस्रो खेपमा ७ करोड थान नयाँ नोट केन्द्रीय बैंकले ल्याउने योजना बनाएको छ ।

राष्ट्र बैंकले ५० रुपैयाँ दरका कुल २४ करोड थान छाप्न दिएको थियो । ‘दसैंलाई लक्ष्य गरेर ५० दरका १२ अर्ब मूल्य बराबरका नयाँ नोट छापेका छौं,’ उनले भने, ‘ती नोट छाप्न प्रतिनोट १ रुपैयाँ ४८ पैसा लागेको छ ।’

गभर्नर चिरञ्जीवी नेपालको हस्ताक्षर भएका ५० दरका नेपाली नोटमा हिमचितुवाको चित्र राखिएको छ । यसअघिको उक्त दरको नोटमा हिमाली भेडाको चित्र थियो । गभर्नर नेपालको हस्ताक्षर भएको यो दोस्रो नोट हो । यसअघि प्रचलनमा आएको सय दरको नोटमा उनको हस्ताक्षर छ ।

 

प्रकाशित: १० आश्विन २०७३ ००:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App