६ वैशाख २०८१ बिहीबार
विचार

उपेक्षित आयुर्वेद स्वास्थ्य

डा. मदन भण्डारी

स्वास्थ्य क्षेत्रमा अनेकौंं विकृति छन्, विसंगति छन्, साथै यो क्षेत्र सबैभन्दा बढी संंवेदनशील हुनुपर्ने क्षेत्र पनि हो । यसको संवेदनशीलता मनन् गरी नयाँ स्वास्थ्यमन्त्रीले ध्यान दिन सके आयुर्वेदको गौरव फर्काउन सकिने थियो ।

पञ्चकर्म चिकित्सा आयुर्वेदको मूलभूत सिद्धान्तमा आधारित चिकित्सा पद्धति हो । यसअन्तर्गत स्नेहन, स्वेदनसहितको पूर्वकर्म, वमन, विरेचन, वस्ति, नस्य, रक्तमोक्षणसहितको प्रधानकर्म एवं उक्त कर्मपछिको विशेष आहारविहारसहितको पश्चातकर्म पर्छन् । स्वस्थ व्यक्तिको स्वास्थ्य रक्षा एवं रोगीको रोग निवारण दुवै प्रयोजनका लागि पञ्चकर्म तथा योग अत्यन्तै लाभदायक छन् । योग एवं पञ्चकर्मको बढ्दै गएको लोकप्रियता त आजकल पाश्चात्य मुलुकमा बढ्दै गएको योग गर्ने सभ्यता तथा समयसमयमा शरीर शुद्धीकरण गर्ने प्रचलनबाट नै अनुमान गर्न सकिन्छ । तर आयुर्वेद तथा योगको मूल उद्गमस्थल नेपालमै उच्चस्तरको सुविधा सम्पन्न रेफरल सेन्टरका रूपमा कुनै पनि पञ्चकर्म तथा योग केन्द्र छैन । त्यसैले यो केन्द्र स्थापना हुनु अत्यन्तै आवश्यक छ ।

नेपालमा हालसम्म ६४ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र छन् । त्यहाँ बी.ए.एम.एस.गरेका डाक्टर नियुक्त हुन्छन् । जिल्लामा अन्तरंग विभाग नहुँदा सामान्य झाडा–पखाला वा ज्वरो आएर आत्तिँदै आएका बिरामीहरूलाई स्वास्थ्य सेवा दिन अप्ठ्यारो परेको स्थिति छ । त्यस्तै, अन्तरंग विभाग नहुँदा दीर्घरोगीहरूलाई पञ्चकर्म सेवा अन्तर्गतका कर्महरू गर्न पनि झञ्झटिलो हुने गर्दछ । क्षारसूत्र पद्धतिबाट अत्यन्त सफल मानिएका अर्श (पाइल्स), भगंदर (फिस्टुला इन एनो)का बिरामीहरूलाई पनि उचित समयसम्म (स्टेबल नहुञ्जेल) भर्ना गरेर प्रत्यक्ष निगरानीमा राख्ने अन्तरंग विभाग नभइदिँदा यस्ता अत्यन्त प्रभावकारी सेवा सुचारु हुन् पाइरहेका छैनन् । त्यस्तै देश संघीय संरचनामा जाँदा कार्यपालिका र गाउँपालिकामा कम्तिमा एक डाक्टर सहितको आयुर्वेद स्वास्थ्य केन्द्र बन्नु आवश्यक छ, जसले दूरदराजका क्षेत्रमा पनि आयुर्वेद चिकित्सा पद्धतिको प्रचारप्रसार गरोस् र जनता यसबाट लाभान्वित हुन सकून् ।

चीन सरकारको सहयोगमा राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रको स्थापना भएको थियो । अझै पनि यस संस्थालाई बेलाबखतमा चीन सरकारले अत्याधुनिक उपकरणहरूको सहयोग गरिरहेको छ तर दुःखको कुरा, यस केन्द्रबाट कुनै ठोस अनुसन्धान कार्यहरू हुन सकेका छैनन् । एकाध तालिमका कार्यक्रमबाहेक जनशक्ति एवं इच्छाशक्तिको अभावका कारण यस केन्द्रबाट यथाशक्य फाइदा उठाउन सकिएको छैन । आयुर्वेद क्षेत्र अध्ययन एवं अनुसन्धानका लागि धेरै गर्न सकिने तर धेरै गर्न बाँकी रहेको क्षेत्र हो । विभिन्न औषधयोग्य वनस्पति, ग्रन्थ, औषधि–योग आदि विषयहरूमा अनुसन्धान गर्न अत्यन्तै आवश्यक देखिन्छ । त्यसका लागि यस संस्थालाई ऐन, नियमबाट सञ्चालन एवं पर्याप्त जनशक्ति नियुक्ति लगायतका कार्य गर्न सके आयुर्वेद अनुसन्धानको क्षेत्रमा ठूलो फड्को मार्न सकिन्छ ।
चिकित्सा कर्ममा चिकित्सकको जत्तिकै महत्व औषधिको पनि हुने गर्छ । पर्याप्त गुणस्तरको औषधि छ भने त्यो अमृत हुन्छ र गुणस्तरहीन औषधि विष तर यस कुरालाई आयुर्वेदका नियामक निकायहरूले कमै मनन् गरेको पाइन्छ । आयुर्वेदका औषधिहरूको पर्याप्त नियमन गर्ने महत्वपूर्ण निकाय नेपाल आयुर्वेद चिकित्सा परिषद्को आफ्नै प्रयोगशाला छैन । सम्पूर्ण औषधिहरूको गुणस्तर नियमन गर्न स्थापित ‘औषधि व्यवस्था विभाग’मा पनि आयुर्वेदको उपस्थिति अत्यन्तै कमजोर छ । त्यसकारण औषधि निर्माणमा गुणस्तर कायम गर्न सर्वप्रथम आयुर्वेद औषधि ऐन निर्माण गर्नुपर्ने टड्कारो आवश्यकता देखिन्छ । यससँगै सम्पूर्ण निजी एवं सरकारी औषधिहरूको गुणस्तर जाँच गर्न आवश्यक जानशक्तिसहितको सुविधासम्पन्न प्रयोगशाला निर्माण गर्नुपर्दछ ।

आयुर्वेद क्षेत्रमा रहेको विकृति, विसंगति हटाई यसलाई नियमन गर्ने प्रमुख दायित्व बोकेको अभिभावक संस्था आयुर्वेद चिकित्सा परिषद्ले आयुर्वेद चिकित्सा परिषद् ऐन (२०४५)को संशोधन गर्दा धेरै काम गर्न सकिन्छ । परिषद्ले प्रमाणपत्र दिनुअघि अनिवार्य परीक्षा लिने, विभिन्न मेडिकल कलेज एवं पारामेडिकल शिक्षण संस्थालाई अनुगमन गर्ने र कमजोर शैक्षिक एवं भौतिक व्यवस्था भएका संस्थाको सम्बन्धन खारेज गर्ने कार्य कडाइका साथ लागू गर्नुपर्दछ । नक्कली डाक्टरको बिगबिगी बढेको अहिलेको परिस्थितिमा आयुर्वेद चिकित्सा परिषद्ले पनि यहाँ भित्रका नक्कलीहरूको अनुसन्धान तथा कारबाहीमा तत्परता देखाउनु पर्दछ ।
आयुर्वेदसम्बन्धी देशकै सबैभन्दा पुरानो एवं विश्वसनीय संस्था सिंहदरबार वैद्यखानाले समयसँगै परिष्कृत हुन नसक्दा आफ्नो साख गुमाउँदै गइरहेको छ । यस संस्थाले आवश्यक औषधि निर्माण गर्न नसक्दा र प्राप्त प्रविधिको उचित प्रयोग नहुनु, दक्ष जनशक्तिको अभाव, दूरदर्शी नेतृत्वको कमी आदि कारणले देशभरिका औषधि निर्माण गर्ने कम्पनीहरूको नमूना एवं मार्गनिर्देशक बन्नुपर्ने संस्था आज दयनीय अवस्थामा पुगेको छ । यसको दिन कहिले फिर्ला ?

भारत सरकारको आयुष मन्त्रालयले केही वर्षदेखि अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स)कै मोडलमा अल इन्डिया इन्स्टिच्युट अफ आयुर्वेदको स्थापना गरेको छ । यस संस्थाले आयुर्वेदको सर्वोच्च संस्थाको रूपमा रही प्राचीन ज्ञानलाई आधुनिक उपकरणसँग सामञ्जस्य गरी विशेषज्ञ एवं विशेषज्ञता पश्चातका विषयहरूमा अध्यापन कार्य, अनुसन्धान, औषधि निर्माण एवं गुणस्तर मापनमा मुख्य भूमिका खेलेको छ । नेपालमा पनि यस्तै संस्था राष्ट्रिय आयुर्वेद प्रतिष्ठान गठन गरिएको थियो । पर्याप्त जनशक्तिको अभाव एवं स्पष्ट मार्गचित्रको अभावले उक्त प्रतिष्ठान शैशवकालमै कुपोषित जस्तो भएको छ । राष्ट्रिय आयुर्वेद प्रतिष्ठानले मूर्तरूप पाएमा भारत सरकार, आयुष मन्त्रालय आदिको सहयोगमा नेपालमै विशेषज्ञ जनशक्ति उत्पादन गर्न सकिने थियो । देशलाई आवश्यक विज्ञहरू देशकै सेवामा परिचालन गर्न सकिने थियो जुन आयुर्वेद क्षेत्र र सम्पूर्ण राष्ट्रका लागि हितकर हुने थियो ।

माथि उल्लेख गरिएका बुँदाहरु केही प्रतिनिधि बुँदाहरु मात्र हुन् । यीबाहेक अनेकौं समस्याहरु र सम्भावना छन् । जसको पनि उचित पहिचान गरी लाभ लिन आवश्यक छ ।

(लेखक आयुर्वेद चिकित्सक हुन् ।)

प्रकाशित: ११ आश्विन २०७३ ०४:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App