१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

होटलमा ओइरियो खर्ब

काठमाडौं- समग्र पर्यटन क्षेत्रलाई खुसीको खबर छ। पर्यटनको सबैभन्दा महŒवपूर्ण अंग मानिने होटल उद्योगमा पछिल्लो पटक झन्डै १ खर्ब रुपैयाँबराबरको लगानी थपिएको छ। यसबाट थप लाखौं पर्यटकलाई स्तरीय सेवा दिन सकिनेछ भने ठूलो परिमाणमा रोजगारी सिर्जना भएर अर्थतन्त्रमा समेत उल्लेख्य योगदान पुग्नेछ।

होटल उद्योगमा पछिल्लोपटक गरिएको अर्बौंको लगानीमा मुलुकका प्रमुख पर्यटन गन्तव्यमा पर्यटकस्तरदेखि पाँचतारे स्तरसम्मका होटल स्थापना हुनुका साथै निर्माणका काम तीव्र गतिमा अगाडि बढिरहेका छन्। प्रमुख पर्यटन गन्तव्य राजधानी काठमाडौं, दोस्रो ठूलो गन्तव्य पोखरा र तेस्रो स्थानमा रहेको चितवनदेखि बुद्ध जन्मस्थल लुम्बिनी, भैरहवा, नेपालगन्ज, धनगढी, विराटनगर, धरान मात्र नभई धुलिखेल, नगरकोटलगायत ठाउँमा नयाँ होटल सञ्चालनमा प्रतिस्पर्धाजस्तै हुन थालेको छ।

पछिल्लोपटक थपिएको लगानीको आधाभन्दा बढी हिस्सा काठमाडौं एक्लैले थेगेको छ। राजधानीका ठमेल, नागपोखरी, लाजिम्पाट र नक्सालमा चारतारेदेखि पाँचतारे स्तरका आधा दर्जन होटल निर्माण भइरहेका छन्। यिनमा पुस्तौंदेखि होटल व्यवसाय गर्दै आएकादेखि होटल क्षेत्रमा पहिलोपटक लगानी गरेका व्यवसायीसम्म छन्।

'ताजा लगानीबाट पर्यटन उद्योगले आगामी दुई वर्षभित्र थप ३ हजार ५ सय नयाँ कोठा पाउनेछ जसबाट ७ हजार बेड तयार हुनेछन्,' होटल व्यवसायीहरूको छाता संगठन होटल एसोसिएन नेपाल (हान) का प्रथम उपाध्यक्ष अमरमान शाक्य नागरिकसँग भन्छन्, 'यो झन्डै २६ लाख पर्यटकलाई एक वर्ष पुग्ने बेड संख्या हो।'

त्यसबाहेक हाल उपलब्ध होटल कोठा संख्या ४ हजार हाराहारी रहेको तथ्यांक हानसँग छ। यो भनेको ८ हजार बेड हो। यति बेडले एक वर्षमा करिब ३० लाख पर्यटकलाई सेवा दिन सकिन्छ। सन् २०१८ भित्र थपिने ३ हजार ५ सय र हालको ४ हजार गरी ७ हजार ५ सय कोठामा हुने दुई थान बेड हिसाब गर्दा करिब ५५ लाख पर्यटकलाई एक वर्ष सेवा दिन सकिन्छ।

होटल व्यवसायीका अनुसार पाँचतारे होटल निर्माण गर्दा एउटा कोठाका लागि न्यूनतम १ करोड रुपैयाँ खर्च लाग्छ। बेड, पर्दा तन्ना, कार्पेट, पार्केट, टेलिभिजन सेट, बाथरुमका सामान बाथटब, कमोड, धारा, बेसिनदेखि टायल, मार्बल विश्वस्तरीय राख्नुपर्ने हुन्छ।

राजधानीको ठमेलमा निर्माणाधीन छाया सेन्टरमा पाँचतारे होटल 'अलफ्ट काठमाडौं ठमेल' चाँडै सञ्चालनमा आउँदै छ। यो होटल अन्तर्राष्ट्रिय होटल चेन 'अलफ्ट' ब्रान्डमा सञ्चालन हुनेछ। यसमा सञ्चालक छायादेवी कम्प्लेक्स प्रालिले करिब ४ अर्ब रुपैयाँ लगानी गरेको छ। 

सन् २०१७ को मध्यबाट सञ्चालनमा आउने गरी अलफ्ट होटल निर्माण भइरहेको होटलका एक अधिकारीले जानकारी दिए। निर्माणको काम ७५ प्रतिशतभन्दा धेरै सकिइसकेको छ। १४ रोपनी क्षेत्रफल ओगटेको कम्प्लेक्स १४ तले हुनेछ। यसमा रहने होटलमा भने १ सय ७५ डिलक्स कोठा हुनेछन्।

उनका अनुसार कम्प्लेक्समा २ सय पसल, सिनेमा हल, रेस्टुरेन्ट, दुईतले अन्डरग्राउन्ड पार्किङलगायत हुनेछन्। सपिङ कम्प्लेक्स पहिलो पाँच तलासम्म हुनेछ भने त्यसभन्दा माथि होटल रहनेछ। होटलमा फिटनेस सेन्टर, स्विमिङ पुल, बिजनेस सेन्टरजस्ता आकर्षण हुनेछन्।

होटल व्यवस्थापनका लागि छायादेवीले अमेरिकी होटल व्यवस्थापन कम्पनी स्टारउड होटल्स एन्ड रिसोर्ट्स वर्ल्डवाइड इन्कर्पोरेटेडसँग सम्झौता गरेको छ। स्टारउडका करिब एक दर्जन ब्रान्डमध्ये अलफ्ट पनि एक हो।

स्टारउडले हाल १ सय देशमा करिब १ हजार २ सय प्रोपर्टी सञ्चालन गरिरहेको छ जसमा १ लाख ८१ हजारभन्दा बढीले रोजगारी पाएका छन्। स्टारउडको अलफ्ट ब्रान्डमा हालसम्म १ सय होटल सञ्चालनमा छन् भने चाँडै १४ देशमा पनि होटल खुल्दै छन्।

उता, भैरहवामा स्वदेशी तथा विदेशी कम्पनीको संयुक्त लगानीमा ४ सय डिलक्स कोठा रहने पाँचतारे स्तरको रिसोर्ट धमाधम निर्माण भइरहेको छ। नेपाली पर्यटन व्यवसायी राजेन्द्र बजगाईं र हङकङस्थित बहुराष्ट्रिय कम्पनी सिल्भर हेरिटेज ग्रुप लिमिटेडको ४ करोड अमेरिकी डलर (४ अर्ब रुपैयाँ) लगानीमा 'टाइगर प्यालेस रिसोर्ट' निर्माण भइरहेको छ।

'आगामी नोभेम्बरभित्र एक सय कोठाको सफ्ट ओपनिङ गर्छाैं,' बजगाईं भन्छन्, 'अर्को वर्ष सबै चार सय कोठा सञ्चालनमा ल्याउने गरी निर्माण कार्य चलिरहेको छ।'

उनका अनुसार रिसोर्टले १६ बिघा क्षेत्रफल ओगटेको छ। भवनले २ बिघा ओगट्ने छ। प्रतिरात प्रतिकोठा २ सय अमेरिकी डलरमा बिक्री गर्ने योजना रिसोर्ट व्यवस्थापनको छ। यो मूल्य १० प्रतिशत सेवा शुल्क र १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) बाहेक हो। रिसोर्ट निर्माण पूरा भएपछि कोठाको मूल्य अझ यकिन हुन छ। रिसोर्टमा एउटा क्यासिनो पनि सञ्चालन हुने छ। क्यासिनोमा एकैपटक ७ सय जनाले खेल्न सक्छन्। रिसोर्ट र क्यासिनो दुवैमा गरी १ हजार २ सय जनाले रोजगारी पाउनेछन्। दुवैको व्यवस्थापन विदेशीले हेर्नेछन्।

यति मात्र होइन, सिल्भर हेरिटेज र यसका नेपाली साझेदार बजगाईंले झापा, मेचीनगरमा पनि पाँचतारे होटल खोल्ने तयारी अगाडि बढाएका छन्। झापामा ५ अर्ब रुपैयाँ लगानीमा ४ सय कोठाको होटल सञ्चालन गर्ने योजना बजगाईंले सुनाए। 'पहिलो चरणमा १५ अर्ब रुपैयाँ लगानी गरी ६ हजार प्रत्यक्ष रोजगारी सिर्जना गर्ने उद्देश्य छ,' उनी थप्छन्।

त्यसैगरी, ठमेलमा गैरआवासीय नेपाली शेष घलेको ८ अर्ब रुपैयाँ लगानीमा पाँचतारे होटल सेराटन सञ्चालनमा आउँदै छ। अर्का व्यवसायी शशिकान्त अग्रवालले ७ अर्ब रुपैयाँ लगानी गरी नागपोखरीमा पाँचतारे मेरियट र ठमेलमा चारतारे फेयरफिल्ड मेरियट सञ्चालन गर्दैछन्। आन्तरिक वायुसेवा कम्पनी यती एयरलाइन्सका लगानीकर्ता आङछिरिङ शेर्पाको समूहले २ अर्ब रुपैयाँ लगानीमा चारतारे ले शेर्पा, नक्सालमा शंकर ग्रुपको पाँचतारे हिल्टन पनि आउने तयारीमा छन्।

'फोर्ब्स' पत्रिकामा सूचीकृति डलर अर्बपति विनोद चौधरीको चितवन मेघौलीमा 'ताज सफारी रिसोर्ट', यती एयरलाइन्सका आङछिरिङ शेर्पाको कसरामा 'कसरा जंगल रिसोर्ट' सञ्चालनमा आएका छन्। त्यस्तै प्रमुख पाँचतारे होटल सोल्टीले नेपालगन्जमा चारतारे होटल निर्माण थालिसकेको छ। लाजिम्पाटमा एस होटल्स एन्ड रिसोर्ट्स प्रालिको ४० करोड रुपैयाँभन्दा बढीको लगानीमा चारतारे होटल एम्ब्यासडर निर्माण अन्तिम चरणमा पुगको छ। पुरानो संरचना भत्काएर नयाँ निर्माण गरिएको यो होटल आगामी अक्टोबरबाट पूर्णसञ्चालनमा आउनेछ। 

पछिल्लोपटक भएको लगानी वृद्धिबाट सकारात्मक सन्देश गएको भए पनि सबै होटलमा पर्यटक ल्याई लगानी सुरक्षित गर्नुपर्ने 'पहाड' जत्रो चुनौती व्यवसायीका अगाडि उभिएको छ। 'लगानीबाट खुसी हुने अवस्था रहे पनि लगानीकर्तालाई आफ्नो लगानी सुरक्षाको चिन्ता हुनु स्वाभाविक हो,' शाक्य थप्छन्, 'दुई वर्षपछि वार्षिक उपलब्ध हुने झन्डै ५५ लाख बेडमा पाहुना पुर्‍याउनु चानचुने काम पक्कै होइन। यसमा निजी क्षेत्रले मात्र काम गरेर हुँदैन, राज्यले पनि द्रुत गतिमा अन्तर्राष्ट्रिय पर्यटन बजारमा प्रचारप्रसार तथा प्रवर्द्धनका काम गर्नुपर्ने टड्कारो आवश्यकता देखिइसकेको छ।'

उनका अनुसार २०७२ साउनबाट २०७३ वैशाख दोस्रो सातासम्ममा नेपाल घुम्न आएका पर्यटकको संख्या ५ लाख रेकर्ड गरिएको छ। अबको दुई महिना जोड्दा ५० हजारजति थपिनेछन्। यसको अर्थ एक वर्षमा साढे ५ लाख पर्यटकले नेपाल भ्रमण गर्नेछन्। यो संख्या 'नेपाल पर्यटन वर्ष २०११' मा आएका पर्यटकभन्दा ३ लाखले कम हो।

'अब आफैं हिसाब गर्न सकिन्छ, ५५ लाख बेड भर्न ५ लाख पर्यटकबाट कति संख्या बढाउनुपर्छ भन्ने,' उनी भन्छन्, 'त्यसकारण होटल उद्योगमा पछिल्लोपटक भएको लगानीबाट अस्वस्थ प्रतिस्पर्धा उत्पन्न नहोला भन्न सकिन्नँ।'

गत वर्ष आएको विनाशकारी भूकम्पको घाउ सेलाउन नपाउँदै छिमेकी भारतले गरेको नाकाबन्दीबाट पर्यटन उद्योग पनि अछुतो रहन सकेन। भूकम्पबाट भत्किएका सम्पदा स्थल, मठमन्दिरदेखि पर्यटन गन्तव्यको पुनर्निर्माणको काम राज्यलाई चुनौतिपूर्ण रहेको छ। त्यसबाहेक भारतको नाकाबन्दीपछि इन्धन अभाव हुँदा होटलमा बसेका पाहुनालाई उनीहरूको रोजाइअनुसारको खाना खुवाउन हम्मे परेको थियो।

प्राकृतिक र मानवीय विपत्तिपछि नेपालमा पर्यटक ल्याउन कम्ता चुनौती भने छैन। हवाई मार्ग हुँदै नेपाल भ्रमणमा आउँदा पर्यटकले पहिलो पाइला राख्ने गन्तव्य राजधानी काठमाडौं हो। काठमाडौं मुलुककै प्रमुख पर्यटन गन्तव्य पनि हो। भूकम्पले यहीँ रहेका धेरै सम्पदास्थल ध्वस्त बनाएको थियो। तिनको पुनर्निर्माण गर्न सरकारले चासो नदिएको प्रस्टै देखिन्छ।

'भत्किएका सम्पदा पुनर्निर्माण नभएसम्म संसारभरका पर्यटक नेपाल आउन हिच्किचाउँछन्,' हानका प्रथम उपाध्यक्ष शाक्य प्रश्न गर्छन्, 'पाहुना बोलाउनुअघि आफ्नो घर सफा गर्नुपर्दैन? अनि खोइ त अहिलेसम्म सरकारले घर सफा गरेको?'

यता विभिन्न ठाउँमा आधा दर्जनभन्दा बढी प्रमुख होटल सञ्चालन गरिरहेको एस होटल्स एन्ड रिसोर्ट्सका कार्यकारी अध्यक्ष योगेन्द्र शाक्य लगानी थपिनु मुलुकलाई फाइदाजनक हुने भए पनि लगानीकर्तालाई फाइदा हुन्छ कि हुँदैन भन्ने महŒवपूर्ण रहेको तर्क गर्छन्।

'होटल उद्योगमा आएको लगानी स्वागतयोग्य छ,' हानका पूर्वअध्यक्ष समेत रहेका शाक्य भन्छन्, 'तर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तार र सुधार नभएसम्म हामीले गरेको लगानी जोखिममा पर्ने सम्भावना उच्च छ। नेपाल पर्यटन वर्ष २०११ अभियानका बेला यो विमानस्थलकै कारण ८ लाखभन्दा बढी पर्यटक आउन सकेनन्। अब पनि यस्तै हुने हो भने माग (पर्यटक) भन्दा आपूर्ति (होटल कोठा/बेड) बढी हुने छ र होटल–होटलबीच अस्वस्थ प्रतिस्पर्धा सुरु हुनेमा दुईमत हुनेछैन।'

यस्तो हुन गयो भने पाँचतारेले चारतारेको, चारले तीनको, तीनले दुईको, दुईले एकको र एकतारे होटलले पर्यटकस्तरका होटलको मूल्यमा कोठा बेच्दै पाहुना खोस्नुपर्ने अवस्था आउने शाक्यको विश्लेषण छ।

'सन् २००७/०८ सम्म होटललाई बैंक तथा वित्तीय संस्थाले ऋण पत्याउन छाडेका थिए र त्यसपछि विस्तारै पर्यटनले गति लिन थालेपछि ऋण प्रवाह वृद्धि भएको छ,' उनी भन्छन्, 'होटल उद्योगमा ठूलै आशा भएर नै एकैचोटि अर्बौं लगानी थपिएको हुनसक्छ।'

हानका कार्यकारी निर्देशक प्रवेश अर्यालका अनुसार हालसम्म होटल उद्योगमा करिब ३ खर्ब रुपैयाँबराबर लगानी भइसकेको छ। उनी पनि योजनाअनुसार पर्यटक ल्याउन नसके होटल उद्योगमा गरिएको लगानी धराशयी हुने दाबी गर्छन्।

'हजारौं कोठामा पर्यटक भर्न लाखौं पर्यटक नेपाल ल्याउन सक्नुपर्छ,' उनी भन्छन्, 'होइन भने चुनौतिबाहेक केही बेहोर्न सकिँदैन।' पर्यटक ल्याउन नसकिए होटल सञ्चालन गर्न कठिनाइ हुने र त्यसबाट अस्वस्थ प्रतिस्पर्धा सुरु भई नेपाल 'सस्तो गन्तव्य' मा परिणत हुने उनको ठहर छ।

हानका प्रथम उपाध्यक्ष शाक्य निजी क्षेत्रले मात्र प्रचारप्रसार र प्रवर्द्धन गरेर होटल तथा पर्यटन उद्योग माथि नजाने बताउँछन्। 'अहिले जसरी निजी क्षेत्रले लगानी थपेको छ, त्यसरी नै सरकारले पनि अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धनका काम गर्‍यो भनेमात्र केही आशा जाग्नेछ, नत्र लगानी डुब्नेमा शंका छैन,' उनी थप्छन्।

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमसँग अन्तर्राष्ट्रिय उडान गर्न पर्याप्त जहाज नभएका कारण पर्यटन र होटल उद्योगले गति लिन नसकेको व्यवसायीको अनुभव छ। अन्य वायुसेवा कम्पनीको भाडादर महँगो हुँदा पर्यटक नेपाल आउनुअघि एकपल्ट सोच्ने गर्छन्। नयाँ गन्तव्य पहिचान नहुनु तर सधैं पुरानै गन्तव्यमा पर्यटक लैजानुपर्दा विविधता देखिन छाडेको उनीहरूको भनाइ छ। पछिल्लो लगानीमा खुल्ने होटलमा प्रत्यक्ष १० हजारभन्दा बढीले रोजगारी पाउने व्यवसायीको अनुमान छ।

यता, पर्यटन उद्योगमा विदेशी लगानी ल्याउन ठूलै कसरत र माथापच्ची गर्नुपरेको अनुभव सिल्भर हेरिटेजका नेपाली साझेदार बजगाईंले सँगालेका छन्। 'हाम्रा प्रधानमन्त्रीज्यू विदेशी लगानी ल्याउनुपर्छ भन्दै हिँड्नुहुन्छ तर उहाँका मन्त्री, सल्लाहकार, सचिवालय सदस्य, भ्रातृसंगठन भने विदेशी लगानी निरुत्साहित गर्ने काममा दत्तचित्त भएर लागेका छन्। यो सबैभन्दा ठूलो दुर्भाग्य हो।'

हाल मुलुकमा नौ पाँचतारे होटल सञ्चालनमा छन्। तीमध्ये काठमाडौंमा सात र पोखरामा दुई। राजधानीको पाँचतारे होटल एभरेस्ट भूकम्पपछि पूर्ण रूपमा बन्द छ। हानमा हालसम्म देशभरका १ हजार १ सय ३५ होटल सदस्य छन्। तिनमा पर्यटक स्तरदेखि पाँचतारे स्तरसम्मका होटल तथा रिसोर्ट छन्। हानको पश्चिमाञ्चल च्याप्टर पोखरामा मात्र ३ सयजति होटल सदस्य छन् भने चितवन च्याप्टरमा १ सय ३० होटल सदस्य छन् । काठमाडौंमा ६ सयजति होटल रहेकोमा २ सयजति हानका सदस्य छन्।

 

प्रकाशित: ११ असार २०७३ ०२:०० शनिबार

होटलमा ओइरियो