coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

‘राजनीतिक दरिद्रपनाले सहर बिग्रियोे’

डा. बाबुराम भट्टराई, पूर्वप्रधानमन्त्री

तपाईँको बुझाईमा सहर भनेको के हो ?
सहर भनेको मानवीय सभ्यताको परिचायक हो। म आफै पनि सहरी विकास योजनाको विद्यार्थी भएको नाताले गाउँ र सहरबीच ऐतिहासिक रूपमा कसरी विभेद सुरु भयो भन्ने जान्ने सामथ्र्य राख्छु। यसको महत्व ठूलो छ। इतिहासमा सबैभन्दा पहिलो सभ्यातको मापन र परिसूचक भनेकै सहर हो, जहाँ छरिएर रहेका बस्तीहरू र कृषिको लागि उर्वर भूमि हुन्छ।

मानिस जब गैर कृषिजन्य व्यापार गर्न जान्ने भए त्यसपछि सहरमा बस्न थाले।बाटाघाटा भएका र नदीका किनारहरूमा बसोबास गर्न थाले। त्यहाँबाट मानवीय सभ्यताको विकास मात्रै होइन, उनीहरूको आर्थिक विकास समेत भयो। आर्थिक विकाससँगै बौद्धिक र प्राविधिक विकास पनि भयो। त्यसैले विकासको केन्द्र भनेको सहर हो। अन्य देशको अवस्थालाई हेर्दा पनि मानवीय सभ्यताको थालनी सहरबाटै भएको छ।

भनिन्छ, सहरमा सबै प्रकारमा मानवीय इच्छा पूरा गर्ने सुविधाहरु हुनुपर्छ, के हाम्रा सहरले मानवीय, प्राकृतिक र भौतिक सर्त पूरा गरेको छ ?
सहर प्रतिको मेरो परिभाषा अलि फरक छ। सहरको शास्त्रीय परिभाषा अनुसार गैर कृषिजन्य रोजगारको बाहुल्य सहरमा हुनुपर्छ। सहरमा प्रशस्त खेतीपाती हुनुपर्छ। सहरको बस्ती गुजुप्प भएपछि आकार–प्रकार एउटै सहरीपना मौलिकता झल्काउने किसिमको हुनुपर्छ। त्यहाँको पहिलो पेशा भनेको कृषि, व्यापार, उद्योग हुनुपर्छ। तर, नेपालका अधिकांश सहरले यो मान्यता पूरा गर्दैनन्। अहिले बनेका नगरपालिका जति सहर हुन्। तर, ‘नगर सिटी’ होइनन्।

शास्त्रीय र परम्परागत अवधारणामा काठमाडौं उपत्यकाका सहर अटेका छन्। काठमाडौं र ललितपुर उद्योग व्यापार र सांस्कृतिक रूपमा अघि बढेका सहर हुन्। यी सहरको सभ्यता पनि फरक नै छ। पछिल्लो चरणमा विराटनगर, वीरगञ्ज, भैरहवा, पोखरा जस्ता सहर पनि अलि विकास भएका छन्। यी गैर कृषिजन्य रोजगारीको बाहुल्य भएका सहर हुन्। तीबाहेक अन्य सहर मिश्रित खालका छन्। त्यहाँ कृषि पनि छ, उद्योग पनि खोलिएका छन्। अलिअलि विकास भएको पनि छ। त्यसकारण नगरपालिका हुँदैमा सहर हुँदैन।

सहरको पूर्वाधार कस्तो हुनुपर्छ ?
देश र मौलिकता झल्काउने व्यवस्थित पूर्वाधार हुनुपर्छ। यो बाहेक सहरमा आधुनिक पूर्वाधार पनि हुनुपर्छ। जस्तै : खानेपानी, शिक्षा, स्वास्थ्य, रोजगार आदि। आधुनिकतामा मापक सुविधाहरू छन् ती सबै कुरा सहरमा मिल्नुपर्छ। प्राकृतिक रूपमा त हाम्रा सहर संसारकै नमुना छन्। यहाँको जस्तो हावापानी र प्राकृतिक सुगमता अन्त छैन। 

सहर जनघनत्व बढी भएको ठाउँ, स्वभाविक रूपमा पनि सहरको राजनीतिक र प्रशानिक पक्ष उच्च स्तरको सुझबुझ र अध्ययन गर्न सक्ने खालको हुनुपर्छ, तर हामी विकासको मोडल एकातिर र राजनीतिक अर्कातिर छ, राजनीतिक परिवर्तनका लागि लडेका नेताहरूमा विकासको ‘भिजन’ नभएको हो ?

त्यसो पनि होइन। हामीकहाँ सहरीकरणको प्रक्रिया नै गलत भयो। सहरीकरणको प्रक्रिया दुई प्रकारको हुन्छ, स्वभाविक र अस्वभाविक। स्वभाविक प्रक्रियामा मानिसहरू रोजगार, अध्ययनलगायत धेरै लक्ष्य राखेर सहर पसेका हुन्छन् भने अस्वभाविक प्रक्रियामा अनपढ, सहरी सभ्यता र गुणस्तरीयता नबुझेका मानिस सहरमा बसोबास गर्छन्। सहरमा थुप्रने मात्रै काम भयो। तर, त्यो मानिसको संख्याले सहरको लागि कुनै काम दिएनन्।

गाउँमा सबै सेवा सुविधा पुगेको छ भनिन्छ तर, अझै पनि गाउँका मानिस सहरप्रति उत्तिकै आकर्षित छन्, गाउँबाट सहरमा बसाईसराई गर्नेको संख्या पनि बढ्दो छ। यस्तो हुनुको कारण के होला ?
अहिले हामी संघीयतामा जानुको कारण धेरै छ। क्षेत्रीय, धार्मिक, लैंगिक र सांस्कृतिक पक्षको विकास र उत्थानको लागि पनि हो। तर, सँगसँगै केही खास सहरमा मात्रै विकास भयो। तल्लो तहसम्म विकास त्यति पुगेन। योजनाबद्ध विकासको थालनी नै राम्ररी भएको छैन। देशभरका ७ सय ५३ स्थानीय तहमा नीतिगत रूपमा सुधार गरेर सहरको योजनाबद्ध विकास थाल्यौं भने केही होला जस्तो लाग्छ।

काठमाडौंका खाल्डा पुर्ने काम सामान्य हो भनेर सबैले भन्छन्, तर हामीकहाँ त्यही सामान्य काम पनि हुँदैनन्, अझै पनि सडकको अवस्था बेहाल छ, हाम्रो राजनीतिक संरचना वा सोच नमिलेको हो ?
हाम्रोमा अहिले सबैतिर भताभुंग छ, ‘उहीँ लथालिंग देशको भताभुंग चाला’ भनेजस्तै। हामीकहाँ प्रशासनिक निकायमा जिम्मेवारी र समन्वय भएन। एउटाले भत्काउने अर्कोले बनाउने परम्परा छ। यस्तो परम्परा नतोडिएसम्म देश बन्दैन। म प्रधानमन्त्री छँदा बाटो विस्तार पनि गरेँ। त्यतिखेर निकै आलोचना पनि भयो। तर, अहिलेको सहरको अवस्था हेर्दा ठिक भयो भन्ने धेरैलाई लाग्यो। म एउटा सहरी विकास योजनाको विद्यार्थी भएकाले पनि त्यहीँ अनुसार बाटो विस्तारमा लागेको थिएँ त्यतिबेला। अहिले त्यस्तो होइन, हामी संघीयतामा गइसकेका छौं। त्यो त अब स्थानीय तहले गर्ने हो। केन्द्रले यस्तो विषयमा टाउको दुखाउने काम गर्नुहुन्न। तर, स्थानीय निकायले नगर योजना बनाएका छैनन्। योजनाबद्ध विकासको थालनी गरेका छैनन्। त्यसैले स्थानीय तहको सार्थकता अहिले त्यति देखिएको छैन। सहरमा सस्तोमा जग्गा किनेर महँगोमा बेच्ने परम्परा छ। नेपालका इन्जिनियर बेरोजगार भएर अमेरिकामा छन्। ती इन्जिनियरको कदर भएन।

सहर विकासका योजना थाल्दै गर्दा हामी कहाँनिर चुक्यौं ?
सबै विषयमा चुकेका छौं। आर्थिक, सांस्कृतिक, सामाजिक सबै पक्षमा हामीले गल्ती गरेका छौं। अझै पनि हामीले छाउपडी प्रथा लिएर बसेका छौं। काठमाडौंका पढेलेखेकै घरमा पनि छाउपडी छ। यो त हाम्रो संस्कारको खराबी हो।
काठमाडौं, भक्तपुर र ललितपुरका सहर विकास र योजनामा गतिलो काम भएन। पहिलेका पुस्ताले केही गरेका थिए। तर, पछिल्लो पुस्ताले खासै केही गरेनन्। हामीले यहाँको वास्तुकला चिन्न सकेनौं। तिनको संरक्षणमा हामी चुकेका छौं। उपत्यका भीडभाड हुनुको अर्को कारण बाहिरी जनसंख्या यहीँ थुप्रनु पनि हो।

सहरी विकासको कुरालाई जोड्दा सहरी विकास योजना भनेकै त्यो मध्येको एउटा महत्वपूर्ण पक्ष हो। बाटोबिना सहरको विकास हुन्न। पहिलो कुरा, भू–उपयोग योजना ल्याउनुपर्छ। सहरको जनसंख्या आँकलन गर्नुपर्छ। जसका कारण भोलि र आजको सहरको अवस्थालाई विकासमा समेटन् सकियोस्। विदेशी मुलुकका विकास पनि त्यसरी नै भएका छन्। योजना व्यवस्थापन र कार्यान्वयन नै सबैभन्दा ठूलो कुरा हो। त्यस्तै, हामीकहाँ मानसिकता र सोचको विकास भएन। पुरानै सोच र ढर्रामा विकास गरियो। मुलुकले खोजेको विकास अझै थालिएको छैन। राजनीतिक नेतृत्वमा दरिद्रपना देखिएकाले नै मुलुक बिग्रिएको हो।

योजनाबद्ध ढंगले अघि बढ्दा कति वर्षसम्म हामीले काठमाडौंलाई अलि हेर्न लायक सहर बनाउन सक्छौं होला ?
सहर भनेको विकासको भौतिक प्रतिबिम्व हो। सहरको ढाँचा हेरेर त्यो देशको अवस्था कस्तो छ भनेर मापन पनि गरिन्छ। काठमाडौंको कुरा गर्दा विदेशको सबैभन्दा पहिले आँखा पर्ने ठाउँ पनि यहीँ हो। यी कुरालाई मध्यनजर गरेर पनि मैले काठमाडौंका सडक चौडा पार्ने काम थालेको थिएँ। त्यसले केही सार्थकता दिएको छ भन्ने लाग्छ। सहरलाई अझ स्तरीय र देखाउन लायक बनाउने हो भने योजनाबद्ध विकास हुुनुपर्छ। वरिपरिमा साना सहर पनि बनाउने, काठमाडौंका सेवा सुविधा अरु सहरमा पुर्याउने हो भने काठमाडौं अलि खुकुलो हुनसक्छ। सहरी विकासको गुरूयोजना ल्याएर सहर विकास थाल्ने हो भने त्यो अति उत्तम हुनेछ।

पछिल्लो सरकारको गतिविधि र योजना हेर्दा धेरै युवाहरू निरास छन्, उनीहरूले ‘भिजन’ भएका नेता भएनन् भनेर आलोचना गरेको पनि सुनिन्छ, यदि अहिलेको सरकारमा तपाईँ प्रधानमन्त्री भएको भए के गर्नुहुन्थ्यो ?
जनताको अपेक्षाप्रति म आभारी छु। त्यो पदमा पुगेँ भने देशको समृद्धि अवश्य गर्नेछु। भ्रष्टाचार रोक्ने र राजस्व जम्मा गरेर अघि बढ्थेँ। देशको गुरुयोजना बनाएर काम थाल्थेँ। मुख्य–मुख्य सहरको योजना बनाउँथेँ। दुई तिहाई जनसंख्या कृषिमा आश्रित हुने स्थिति सिर्जना गर्थे। दुई दशकमा मैले देशको कायापलट गर्न सक्थैँ। सार्वजनिक यातायात व्यवस्थापन, धुलो बडार्ने, नदी सफा गर्ने, बिरुवा रोप्ने जस्ता काम गर्न जरुरी छ।

काठमाडौं उपत्यकाको सार्वजनिक यातायात सुधार्न कतिको चुनौती छ ?
यो सामान्य कुरा हो। अमेरिका र बेलायतको अभ्यास हेर्ने हो भने पनि रातीसम्म नगरपालिकाले खाली बस कुदाएको देखिन्छ। हामीले यो कठिन पक्ष हो भनेर बसेका छौं। सरकार तात्ने हो भने सहरको जस्तोसुकै अवस्थालाई पनि सहज बनाउन सक्छौं। हाम्रो सरकार तातेन। सहरको विकासमा त्यति ध्यान दिने नेता भएनन्। 

तपाईँ विदेशी मुलुकका धेरै सहर घुम्नुभएको छ, विदेशी र हाम्रा सहरबीच के भिन्नता पाउनुभयो ?
सांस्कृतिक सहर त हाम्रा धेरै उत्कृष्ट छन्। तर, आधुनिक सहर बनाउने क्रममा हामी चुकेका छौं। विकास त हामीले पनि गरेका हौं। तर, हामी अव्यवस्थित ढंगले अघि बढ्यौं। उनीहरू व्यवस्थित ढंगले अघि बढे। अहिले सहरी विकास मन्त्रालय र स्थानीय तहले राम्ररी काम गरे भने हामी अरु देशका सहरभन्दा पनि सम्पन्न बन्न सक्छौं।

घुमेकामध्ये मनपर्ने सहर कुन हो ?
आधुनिक सहरमध्ये मन परेको ‘चण्डीगढ’ हो। दक्षिण एसियाको यो सहर निकै सुन्दर छ। पेरिस सहर पनि उत्तिकै आधुनिक छ।

नेपालभित्र मनपर्ने सहर ?
पोखरा, भक्तपुर अलि व्यवस्थित छन्। धरान र तानसेन सहर पनि मलाई अलि मनपर्छ।

काठमाडौंको राम्रो लाग्ने पक्ष ?
यहाँको काष्ठकला, मूर्तिकला अनुपम लाग्छ। यहाँका मन्दिर पनि राम्रा लाग्छन्। ऐतिहासिक रूपमा उपत्यका सम्पन्न छ।

मन भएर पनि पुग्न नपाएको ?
आकांक्षाको सीमा हुन्न। घुम्ने ठाउँहरू धेरै छन्।

सहरको मनपर्ने खानेकुरा ?
साग र सुख्खा रोटी मिठो लाग्छ।

                                     प्रस्तुति : शिवहरि घिमिरे

प्रकाशित: २१ मंसिर २०७५ ०५:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App