तपाईँ जनप्रतिनिधि भएपछि जनतालाई महसुस गराउने के–के काम गर्नुभयो ?
हामी निर्वाचित भएपछि केही नयाँ र रोकिएका पुराना काम भएका छन्। निर्वाचित भएपछि ३–४ महिनाको समय बजेटको कारणले अलमल भएर बितेको थियो। त्यसपछि हामीले लगभग विकास र वडाका काम अघि बढाएका थियौं। निर्वाचित भएलगत्तै सिंहदरबारको सुविधा वडामा आयो भनेर स्थानीयले धेरै आस गरेका थिए। तर, अझै त्यो सेवा वडामा आएको छ भन्ने विश्वास हामीले दिलाउन सकेका छैनौं। यद्यपि, केही महसुस हुने गरी काम गरेका छौं।
पूर्वाधार विकास, सांस्कृतिक सम्पदा संरक्षण, पार्क निर्माण, वौद्धिक क्षेत्रका व्यक्तिको टोली बनाएर सम्पदा क्षेत्रको अध्ययन गराउने लगायतका धेरै योजना छन्। त्यो टोलीले पाँच वर्षमा वडालाई कस्तो बनाउने भनेर अध्ययन गर्नेछ, सम्पदाको अध्ययन पनि गर्नेछ। अर्को कुरा, यो वर्ष हामीले वडाको वृत्तचित्र तयार गर्दैछौं, सम्पदा क्षेत्रमा ढुंगा छाप्ने, ढल व्यस्थापनका काम पनि भइरहेका छन्। यसबाहेक न्याथा चोक, नागःवहालमा रहेका पार्कलाई सुन्दर बनाउने, महापालदेखि महारानी पोखरीसम्म ढल बनाउने, नागःबहालको बन्द पोखरीमा पानी खस्ने बनाउने, टोलहरूलाई सरसफाइमूलक कार्यक्रममा सहभागी बनाउने, सालिछेंमा पानी ट्यांकी बनाउने, वडाभित्र लाइबे्ररी खोल्ने, मणिमण्डप विहार जीर्णोद्धार गर्नेलगायत धेरै काम वडाले सम्पन्न गरिसकेको छ।
वडा अध्यक्ष भएर काम गर्न कतिको सजिलो रहेछ ?
सजिलो त छँदै छैन। अति नै चुनौती र गाह्रो छ। यो क्षेत्रको सबैभन्दा चुनौती भनेको साँघुरो सडक नै हो। भित्री सहरको विकास गर्न कठिन छ। पाटनका सम्पदा पनि धरापमा छन्। भीमसेन मन्दिरको अवस्था बिजोग छ।
तपाईँको वडाको जनसंख्या र भूगोलको अवस्था कस्तो छ ?
हामीले जनसंख्या गणना गरेका छैनौं। तर, यहाँका भित्री बस्तीमा जनसंख्या बाक्लो नै छ। पुराना शैलीका गुजुप्प घर छन्। तीमध्ये कति घर भूकम्पमा चर्किएका छन्। ती घर अहिले टेकाको भरमा छन्। यसबारे नगरपालिका र प्राधिकरणसँग मिलेर अघि बढ्छौंँ। अर्को कुरा, मेरो वडामा खाली ठाउँ खासै छैन। भएभरको भूगोलमा पुराना संरचना छन्।
साँघुरा गल्लीमा ओहोरदोहोर गर्ने मानिसको चाप उत्तिकै हुन्छ, हरेक गल्लीमा टेकोमा अडिएका घर छन्, त्यसले भत्किएर दुर्घटना निम्त्यो भने जिम्मेवार को हुने ?
हामीले यसबारे पटक–पटक प्राधिकरणसँग कुरा राखिसकेको छौं। लिखित र मौखिक रूपमै यहाँको स्थितिको बारेमा जानकारी गराइसकेका छौं। तर, प्राधिकरणले त्यति चासो दिएको छैन। कुनै नीति पनि बनाइएको छैन। टेकोमा अडिएका सबै घर पन्छाउन र व्यवस्थापन गर्न वडाले सक्दैन र वडाको त्यो जिम्मेवारी पनि होइन।
पाटनमा विश्वलाई नै आकर्षित गर्न सक्ने कलाकृति छन्, त्यसले पर्यटन क्षेत्रमा मुख्य भूमिका खेलेको पाइन्छ, तिनको संरक्षण र पर्यटन प्रवद्र्धनका लागि वडाले के गरिरहेको छ ?
वडाले धेरै कदम चालेको छ। पाटन क्षेत्र केही दिन अघिमात्रै विश्वको ३५ औं हस्तकला नगरीको रूपमा चिनिएको छ। यो हाम्रो लागि निकै खुसीको खबर हो। त्यस्तै, पर्यटन विकास र प्रवद्र्धन भनेरै हामीले १६ वडामा आउने माघमा ‘पाटन कला महोत्सव’ आयोजना गरेका छौं। त्यसले अझ पर्यटन क्षेत्रको विकास गर्नेछ। मूर्त र अमूर्त सम्पदामार्फत् हामीले अन्तर्राष्ट्रिय जगतमा नेपाललाई चिनाउन सक्नेछौं।
स्थानीय तहमा कर्मचारी समायोजनको विषय बेला–बेलामा विवादित बन्ने गरेको छ, तपाईँको वडामा कर्मचारी व्यवस्थापन कसरी भइरहेको छ ?
हाम्रोमा त्यस्तो समस्या छैन। सबै मिलाएर अघि बढेका छौं। कर्मचारीलाई जे–जे जिम्मेवारी दिइएको छ, त्यो जिम्मेवारी कर्मचारीले पनि पालना गरेका छन्। हरेक विकासका काममा स्थानीय, सरकारी कर्मचारी र जनप्रनितिधिको हातेमालो भएको छ।
तपाईँको वडामा आउने सेवाग्राहीले कस्ता–कस्ता समस्या ल्याउँछन् ?
घरायसी समस्या, टोलमा खानेपानी नभएको, सरसफाइका कार्यक्रम आयोजना गर्न लगायतका समस्या स्थानीयबाट आउने गरेका छन्। यसबाहेक व्यक्तिगत समस्या पनि आउने गरेका छन्। त्यस्तो, ठूलो समस्या स्थानीयबाट आएको छैन। साना–साना समस्या समाधान गरिदिन उहाँहरूले माग गर्नुभएको छ, हामीले पनि सोही अनुसार काम गरिरहेका छौं।
धेरैजसो स्थानीय तहले वडामा कर संकलन गर्ने नियम लागू गरिसकेका छन्, तपाईँको वडामा के छ ?
हामीले पनि यसको अभ्यास थालिसकेका छौं। मंसिर २ गतेबाट महानगरपालिकाले व्यवसाय कर, व्यवसाय करसँग सम्बन्धित बहाल कर र भूमिकर–मालपोत कर २९ वडाबाटै संकलन गरिएको थियो। आर्थिक विकास समितिको पहलमा ललितपुर यो नियम लागू भएको हो। हामीले पनि यसलाई अनुशरण गरेर कार्यालयको काममा थप चुस्तता बढाएका छौं। घर बहाल कर, मालपोत कर, व्यवसाय कर, व्यवसाय दर्ता, सम्पत्ति मूल्यांकन लगायत करहरू वडामै संकलन गर्छौं। यसले सानो कामलाई पनि नगरपालिका धाउनुपर्ने झन्झट अन्त्य भएको छ।
तपाईँको वडामा पुराना ढुंगेधारा र पोखरी छन्, तिनको संरक्षणका लागि कस्तो योजना छ ?
यो विषयमा हामीले नगरपालिकामा धेरै छलफल पनि गरेका थियौं। पोखरी र ढुंगेधारा यहाँका मौलिक पक्ष हुन्। यसलाई हामीले संरक्षण गर्नेपर्छ भनेर लागिपरेका छौं। १६ वडाका इनार, ढुंगेधारा र पोखरी मर्मत, सरसफाइ गर्ने काम गर्ने योजना बनाएका छौं। मेलम्ची आयोजनाले गर्दा भित्री क्षेत्रमा काम गर्न अलि अवरोध हुने गरेको छ।
पाँच वर्षमा आफ्नो वडालाई कस्तो बनाउने सपना देख्नुभएको छ ?
मैले नमुना वडाको रूपमा परिचित गराउँछु। मेरो संकल्प पनि त्यहीँ हो। योजना पनि त्यही अनुसार बनाएको छु। यो वर्ष तीन÷चार वर्ष राम्रा योजना बनाएको छु। पोखरी सफा गर्ने, पार्क बनाउने, दरबार क्षेत्रको सम्पदा पुनर्निर्माणलाई तीव्रता दिने लगायत धेरै काम हामीले प्राथमिकतामा राखेका छौं।
वडाका काम कारवाही अघि बढाउन नगरपालिकाको सहयोग कस्तो छ ?
हामीले राम्रो सहयोग पाएका छौं। हरेक कुरामा महानगरसँग समन्वय भएको छ। यस वर्ष महानगरले मेरो वडालाई डेढ करोड बजेट छुट्याइदिएको छ। त्यो अनुसार बजेटलाई हेरेर वडामा योजना बनाएका छौं। हाम्रो यो सम्पदा क्षेत्र भएकाले त्यसलाई अझ प्राथमिकतामा राखेका छौं। यसबाहेक खेलकुदको क्षेत्रमा पनि हामीले योजना बनाएका छौं।
तपाईँको वडा पाटनको मुख्य पुरानो सहरभित्र पर्छ, त्यहाँ मूर्त र अमूर्त धेरै संस्कृतिहरू छन्, ती संस्कृति चलाउन अहिले हम्मेहम्मे परिरहेको छ, त्यसमा तपाईँको योजना के छ ?
सम्पदा संरक्षणको सम्बन्धमा हामीले एकदमै प्राथमिकतामा राखेका छौं। वडाले सक्दो बजेट छुट्याएर मूर्त र अमूर्त सम्पदा जोगाउने प्रयास यस वर्षबाट नै गरेको छ। सक्दो बजेट छुट्याएका छौं। हरेक नाच र सांस्कृतिक पर्वलाई हामीले अलिकति बजेट छुट्याएका छौं। यसमा थप चासो पनि दिएका छौं। पाटन क्षेत्रको संस्कृतिलाई भत्कन दिन्नौं।
प्रस्तुतिः शिवहरि घिमिरे
प्रकाशित: २१ मंसिर २०७५ ०५:५५ शुक्रबार