८ वैशाख २०८१ शनिबार
फोटो फिचर

साइकलमा पहाड छिचोल्दै युवा

इलाम– विश्व पर्यटन दिवस ‘मनाएको देखाउन’ देशका विभिन्न सहरमा लाखौं रुपैयाँ खर्चेर दर्जनौं औपचारिक–अनौपचारिक सभा–समारोह आयोजना भइरहेका छन् । तर, यही दिवस मनाउन विश्व साइकलयात्री पुष्कर साहसहितका युवा भने पूर्वी पहाडका हिलाम्य कच्ची सडकमा ‘पिडौंला फर्काउँदै’ साइकलमा पाइडल मारिरहेका छन् ।  

अर्गानिक कृषि, चिया, जडीबुटी, जैविक विविधता र हिमशृंखलाले पर्यटक लोभ्याउने पूर्वी पहाडमा ‘साइकल पर्यटन’ सम्भावना खोजी भइरहेको छ । उच्च पहाडमा साइकलका माध्यमबाट ग्रामीण पर्यटन प्रवद्र्धनको सम्भावना नियाल्न साहसहितको टोली यतिबेला पूर्वी पहाडका गाउँ–गाउँमा साइकल कुदाइरहेको छ । 

३७औं विश्व पर्यटन दिवस अवसर पारेर इलामको कन्याम चियाबारीबाट ४ दिने पहाडी साइकलयात्रा सोमबार सुरु भएको थियो । यात्रामा सहभागी ८ युवाले पर्यटकीय कन्याम चियाबारीका गोरेटा–गोरेटामा साइकल कुदाएर ‘पहाडमा पनि साइकल पर्यटन सम्भव छ’ भन्ने देखाए । उनीहरू करिब १ हजार ५ सय मिटर उचाईको कन्याम चियाबारी, फिक्कल बजार, बरबोटे हुँदै २२ किलोमिटरको कच्ची हिलाम्य सडकमा साइकल कुदाएर त्यसदिन नयाँबजार पुगेका थिए । नयाँबजारबाट मंगलबार साइकलयात्रीको टोली १८ किलोमिटरको कच्ची हिलाम्य सडक पार गर्दै जमुनास्थित धापपोखरी (१ हजार ५ सय मिटर) पुग्यो ।

पर्यटन प्रवद्र्धनका लागि संरक्षण गरिएको ढापपोखरी पुग्दा स्थानीयले साहसहितका साइकलयात्रीलाई सडक–सडक र घर–घरमा स्वागत गरेका थिए । नयाँबजार, प्याङ, जमुनालगायत गाउँका बासिन्दाले उनीहरू आउने सडकमै भेला भएर पुष्पगुच्छा, खादा र मालाले स्वागत गर्दै सर्वत टक््रयाएका थिए । त्यसपछि ढापपोखरी चन्द्रपाल थेवे संरक्षण तथा पर्यटन विकास समितिले आयोजना गरेको स्वागत कार्यक्रममा उनीहरू सहभागी भएको समिति अध्यक्ष विप्लव भट्टराईले बताए । दोलखा घर भएका विश्व साइकलयात्री तथा सगरमाथा आरोही पुस्करको टोलीमा इलामको बाँझो गाउँका आकाश लिम्बू र विकास लिम्बू, खोटाङका दिलकुमार राई, सुनसरीका कृष्ण केसी, सदिउर घले र विनु राई तथा बाराका सुजन चौधरी सहभागी छन् ।

विश्व साइकलयात्री साहले नेपालका अन्य पहाडभन्दा पूर्वका पहाडी गाउँहरूमा साइकल कुदाउने पर्यटक निकै आकर्षित हुने सम्भावना रहेको बताए । उनले ग्रामीण पर्यटन प्रवद्र्धनका लागि साइकल पर्यटन अत्यन्त प्रभावकारी हुने अनुभव सुनाए । ‘पर्यटकले पूर्वी पहाडी जिल्लाका गाउँहरू साइकल चढेर घुम्न सक्ने सम्भावना निकै छ,’ उनले भने, ‘पर्यटकले यहाँका चियाका बुट्टा, गाइवस्तुका गोठ, अर्गानिक तरकारी खेती, छाँगा–छहरा र हिमाल देखिने अग्ला पहाडका कच्ची सडकमा साइकल कुदाउन सक्छन् ।’ उनले यहाँका हिलाम्य कच्ची र ग्राभेल सडकमा साइकल कुदाउनुको मज्जा र आनन्द नै बेग्लै भएको पनि सुनाए । माउन्टेन बाइक पहाडी क्षेत्रका लागि प्रभावकारी साधन भएकाले पर्यटकले यहाँका पहाड घुम्न यिनै साधन प्रयोग गर्न सक्ने उनको भनाइ छ ।

शारीरिक कसरत र वातावरण संरक्षणका हिसाबले पनि साइकल उपयुक्त रहेको चेतना जगाउँदै पर्यटन क्षेत्रका सरोकारवालाको ध्यानाकर्षण गराउन पहाडमा साइकलयात्रा थालिएको उनले बताए । ‘हामीले यो चेतना अभियान व्यक्तिगत रूपमा थालेका हौं,’ साहले भने, ‘सरकारी र निजी क्षेत्रले पर्यटन प्रवद्र्धन र वातावरण संरक्षणका लागि साइकल प्रयोगमा जोड दिनुपर्छ ।’ उनले पूर्वी पहाड घुम्न आउने केही पर्यटकलाई मात्रै भएपनि साइकलमा भुल्याउन सके पर्यटनको नयाँ फड्को सुरु हुने बताए ।

३ वर्षअघि पनि पुष्कर साइकल लिएर इलाम आइपुगेका थिए । महाकालीको दार्चुलाबाट ४५ दिनको हिमाल–पहाड साइकल यात्रा सकेर उनी २०७० जेठ १३ मा इलाम आइपुगेका थिए । त्यतिबेला उनले भनेका थिए, ‘विश्वका डेढ सय मुलुक घुम्दा पनि नभएको अनुभव नेपालकै २४ जिल्लाको यात्रामा पाएको छु ।’ पहाडी र हिमाली जिल्लामा साइकल पर्यटनको सम्भावना खोजी गर्न आयोजित ‘टुर डे ग्रेट हिमालयन ट्रेल’ का क्रममा साह त्यतिबेला यहाँ आएका हुन् । त्यतिबेला उनीहरूले १ हजार आठ सय ३० किलोमिटरको साइकल यात्रा गरेका थिए । साहले २०५५ देखि ०६६ सालसम्म १ सय ५० देशमा साइकल यात्रा गरेका थिए । उनले विश्व घुमेको साइकलको अघिल्लो पाङ्ग्रोसमेत बोकेर ०६७ साल जेठ ४ मा सगरमाथा शिखरसमेत चुमेका थिए ।

अहिलेको साइकलयात्रीको टोली मंगलबार साँझ जमुनाबाट १८ किलोमिटरमा रहेको इलाम सदरमुकाम आएको थियो । उनीहरूलाई इलाम उद्योग वाणिज्य संघ, मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समिति, इलाम पर्यटन सरोकार समितिलगायतको अगुवाइमा उनीहरूलाई इलामको जिरो किलोमिटर, चोकबजार, धोविधारा, बिब्ल्याँटेलगायत चोक–चोकमा स्वागत गरियो । साइकलयात्री युवाको सम्मानमा सदरमुकामको जिरो किलोमिटरदेखि ५ किमीकोे बिब्ल्याँटे बजारसम्म बुधबार ¥याली नै आयोजना गरियो । सडकछेउका घरअगाडि उनीहरूको स्वागतका लागि घडा र कलस राखिएको थियो ।

साइकल यात्रीको टोली बुधबार इलामबाट पाँचथर सीमावर्ती राँके, पाँचथरको रवि हुँदै धनकुटाको छ नम्बर बुधबारे गाविस पुग्दैछ । त्यहाँबाट धनकुटाकै राजारानी भएर भेडेटार अनि धरान पुग्दै शनिबार साइकल यात्रा समापन हुने साहले बताए । मेची पहाडीका कार्यकारी निर्देशक केशव धौरालीले पूर्वी पहाडको सौन्दर्य, परम्परागत संस्कृतिलगायतमा आकर्षित भएर बर्सेनि हजारौं आन्तरिक तथा बाह्य पर्यटक आउने गरेको जनाए । उनले यसरी आउने पर्यटकलाई साइकलमा चढेर गाउँ घुम्नेगरी पूर्वाधार र सहज वातावरण निर्माण गर्न सके पूर्वको पर्यटनले गति लिन सक्ने बताए । ‘पहाडमा साइकल पर्यटनको सम्भावना उजागर गर्न विश्व साइकलयात्रीसहितको टोलीले हामीलाई झक्झक्याएको छ,’  उनले भने, ‘हामी यो सम्भावनालाई मूर्तरूप दिन आ–आफ्नो क्षेत्रबाट प्रयास गर्नेछौं ।’

साइक्लिङ धरानमा आवद्ध साइकलयात्री कृष्ण कार्कीले पूर्वका जिल्लामा साइकल पर्यटनको सम्भावना प्रचुर भएकैले त्यसको प्रवद्र्धनमा सहयोग गर्न यात्रा आयोजना गरिएको जनाए । साइक्लिङ धरान र टस्क माउन्टेन बाइकले यात्राको व्यवस्थापनमा सघाएका छन् । टोलीमा पहिलोपटक सहभागी सुनसरीकी विनु राईले पहाडमा आफूले कहिल्यै साइकल नकुदाए पनि यात्रामा नयाँ अनुभवका लागि हिँडेको बताइन् । ‘पहाडमा मैले साइकल कुदाएको पहिलो पटक हो,’ उनले अनुभव सुनाइन्, ‘उकालोमा अलि गाह«ो भयो तर प्रयास गर्दा सकिने रहेछ ।’

होटल एसोसिएसन इलामका अध्यक्ष टीका ओडारीले इलाम आउने पर्यटकका लागि साइकल चढ्ने व्यवस्था प्याकेजमै ल्याउन सके पर्यटनले गति लिने बताए । ‘पर्यटकलाई यहाँका रमाइला डाँडाकाँडामा साइकल चढेर घुमाउन सके बेग्लै आनन्द अनुभव हुन्छ,’ उनले भने, ‘तर, त्यसका लागि हामीले अझै पूर्वाधारमा ध्यान दिनुपर्छ ।’

इलाममा साइकल यात्राका दृष्यहरू। तस्बिरहरूः भीम चापागाईं

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App