७ वैशाख २०८१ शुक्रबार
खेल

यस्तो हुनसक्छ नकआउट चरण

युरोपियन च्याम्पियनसिपमा शनिबारबार नकआउट चरण सुरु हुँदा समर्थकहरू पक्कै थप रोमान्चित हुनेछन्। समूह चरण र नकआउट चरणको प्रकृति बिल्कुल भिन्न हुन्छ। समूह चरणमा एउटा खेलमा नतिजा बिग्रे पनि सच्याउने मौका प्राप्त हुनसक्छ।

नकआउट चरणमा भने लिग चरणको जस्तो सुविधा हुँदैन। त्यसैले जुनसुकै टोलीले पनि आफ्नो शतप्रतिशत दिने प्रयास गर्नेछ। त्यसको अर्थ समूह चरणमा शतप्रतिशत दिँदैनन् भन्ने होइन। नकआउटमा हार्नु भनेको प्रतियोगिताबाट बाहिरिने भएकाले कुनै पनि टोलीले त्यसमा परीक्षण गर्ने नभई आफ्नो बलियो पहिलो रोजाइ टोली नै खेलाउँछ। हरेक टोलीले नकआउट चरणलाई फाइनलसरह मानेर खेल्छन्। समूह चरण प्रदर्शनको नकआउट चरणमा धेरै अर्थ हुन्न। लिग चरणबाट विजेता बनेर होस् वा तेस्रो बनेर अघि बढेको भए पनि नकआउटमा सबैको हैसियत समान हुन्छ। यद्यपि समूह चरणको प्रदर्शनकै आधारमा नकआउटको खेलबारे पूर्वानुमान गर्न सकिन्छ। त्यसको अर्थ समूह चरणकै प्रदर्शनलाई सबै टोलीले निरन्तरता दिन सक्छन् भन्ने होइन। नकआउट चरणमा दाबेदार मानिएको टोलीले निर्धारित समयभित्रै नतिजा निकाल्ने प्रयास गर्नेछ। कमजोर मानिएको टोलीले पनि सक्दा निर्धारित समयमै जितलाई प्रयास नगर्ने होइन, तर त्यस्तो टोलीको ध्यान जतिसक्दो खेल लम्ब्याउनेतिर जान्छ। नतिजा निकाल्न नसकेपछि टाइब्रेकरसम्म लम्ब्याउन सके नतिजा आफ्नो पक्षमा पार्न सकिने सम्भावना हुने भएकाले पनि कमजोर टोलीले खेल लम्ब्याउने कोसिस गर्न सक्छन्। फुटबलमा टाइब्रेकरलाई यस्तो मानिन्छ जहाँ कमजोर टोलीले पनि जित्छ। दुवै टोलीको जित्ने–हार्ने सम्भावना उत्तिकै रहन्छ।

फुटबलमा जित–हारका लागि स–साना घटना पनि अर्थपूर्ण हुनसक्छ। पेनाल्टी, रातो कार्ड, डेड बलले पनि परिणाममा प्रभाव पार्न सक्छ। नकआउट चरण दबाब थेग्न सक्ने टोली सफल हुने सम्भावना बढी हुन्छ। अक्सर दाबेदार मानिएकै टोलीको जित्ने सम्भावना हुन्छ। तर, यसको मतलब कमजोर मानिएको टोलीले जित्नै सक्दैन भन्ने हुँदैन। राम्रो खेल्ने टोली सधैँ जित्नैपर्छ भन्ने ग्यारेन्टी हुन्न। फुटबलमा थोरै भाग्यको पनि साथ आवश्यक हुन्छ। पोर्चुगलजस्तो टोलीले समूह चरणका सुरुआती दुई खेलमा निकै संघर्ष गर्दा पनि गोल गर्न सकेन भने पेनाल्टीसमेत चुकाएको थियो।

उत्तरी आयरल्यान्डसँग प्रिक्वार्टरफाइनल खेल्दा वेल्सलाई दाबेदार मान्न सकिन्छ। समूह चरणमा इङ्ल्यान्डसँग हारे पनि जुन सामूहिक प्रदर्शन वेल्सले देखाएको छ त्यसका आधारमा उनीहरू निकै अघि बढ्ने क्षमता भएको टोली हो। जारी प्रतियोगितामा मनोबल उच्च भएको टोलीमध्ये वेल्सको नाम सबैभन्दा अगाडि आउँछ। युरोका साबिक विजेता स्पेनदेखि पूर्वविजेता जर्मनी, इटालीजस्ता टोली अर्को समूहमा परेकाले पनि अर्कोतिरबाट वेल्स अघि बढ्न सक्छ। पहिलोपटक युरोपियन च्याम्पियनसिप खेलेर फाइनलसम्म कुनै टोली पुग्न सक्छ भने त्यो वेल्स नै हो। वेल्सले समूह चरणका खेलबाट आफूलाई लायक रहेको प्रमाणित गरको छ। वेल्सको तुलनामा समूह चरणमा उत्तरी आयरल्यान्डको प्रदर्शन कमजोर छ। एउटा खेल जितेर पनि टोली अघि बढेको हो। तर, वेल्सले इङ्ल्यान्डसँग हारेको खेलमा पनि निकै उच्च प्रदर्शन गरेको थियो। समूह चरणकै प्रदर्शन निरन्तरता दिने हो भने वेल्सलाई रोक्न कठिन हुनेछ।

वेल्सका स्टार गारेथ बेललाई रोक्न सकेको खण्डमा भने उत्तरी आयरल्यान्ड अघि बढ्न सक्छ। तर, बेललाई रोक्न सहज भने हुनेछैन। उत्तरी आयरल्यान्डका गोलकिपर माइकल म्याकगोभर्नले जारी च्याम्पियनसिपमा उच्च प्रदर्शन गरिहेका छन्। वेल्सलाई रोक्न उनको भूमिका महत्वपूर्ण हुन्छ। जर्मनी र पोल्यान्ड टोलीलाई लिग चरणमा कम स्कोरमा रोक्नु पनि उनको सफलता हो। खेललाई टाब्रकेरसम्म पुर्‍याउन सके उत्तरी आयरल्यान्डलाई फाइदा पुग्न सक्छ।

भाग्यशाली टोलीका रूपमा नकआउट चरण पुगेको पोर्चुगलले समूह चरणमा उच्च प्रदर्शन गरेको क्रोएसियाको सामना गर्दैछ। स्पेनजस्तो टोली रहेको समूहबाट विजेताका हुँदै अघि बढेको क्रोएसियाले आफ्नो पूरै शक्ति लगाउने छ। तर, कुनै खेल नजिते पनि नकआउट चरणमा पुगेकाले पोर्चुगलले उच्च प्रदर्शन गर्न दृढ भएर खेल्नेछ। स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले हंगेरीसँग दुईपटकसम्म खेल बराबरीमा ल्याएर फर्ममा फर्केको संकेत गरेका छन्। उनले हंगेरीसँगको प्रदर्शनलाई निरन्तरता दिन सके भने क्रोएसियालाई सजिलो पक्कै हुनेछैन। रोनाल्डोसँगै नानी र आन्द्रे गोमेज जस्ता स्तरीय खेलाडी क्रोएसियाका लागि टाउको दुखाइ बन्न सक्छन्।

स्पेनलाई हराएकाले  क्रोएसिया टोली कमजोर पटक्कै होइन। हार्न नचाहेको स्पेनमाथिको जितले त्यो टोलीको मनोबल उच्च छ। स्पेनसँग नखेलेका लुका मोड्रिच पोर्चुगलविरुद्ध खेल्नेछन्, त्यसले टोलीलाई थप बलियो बनाउने छ। त्यो खेल ५०/५० को हुने सम्भावना छ। क्रोएसिया काउन्टर एट्याक जान्छ भने पोर्चुगल सुरुबाट एट्याकिङमा जाने सम्भावना छ। एट्याकिङ खेल्दा जति गोल गर्ने सम्भावना हुन्छ, गोल खाने जोखिम पनि त्यति नै हुन्छ। तर, क्रोएसियाले भने आफ्नो जोन सुरक्षित राखेर आक्रमणको रणनीति लिनेछ।

अर्को प्रिक्वार्टर खेल्ने स्विट्जरल्यान्ड र पोल्यान्ड दुवैले समूह चरणमा हार बेहोरेका छैनन्। यी दुईबीच पोल्यान्डको जित्ने सम्भावना केही बढी छ। पोलिसको दुई खेल जित्नु र विश्वकप विजेता जर्मनीलाई बराबरी रोक्नु आफैमा ठूलो सफलता हो। अझ टोलीका महत्वपूर्ण खेलाडी रोबर्ट लेवान्डोवस्कीले समूह चरणमा अपेक्षाअनुसार प्रदर्शन नगरेकाले नकआउटमा उनीबाट बढी अपेक्षा गरिएको छ। लेवान्डोवस्कीले बायर्न म्युनिखबाट पहिलो सिजनमा निकै प्रभाव छोडेका थिए, त्यसले उनी खेललाई कुनै पनि बेला आफ्नो पक्षमा पार्ने क्षमता राख्छन्। स्विट्जरल्यान्ड एकदम कमजोर टोली नभए पनि टोलीले जारी च्याम्पियनसिपमा क्षमताअनुसार प्रदर्शन गर्न सकिरहेको छैन। त्यसकारण पोल्यान्ड हाबी हुने सम्भावना बन्न सक्छ।

प्रकाशित: ११ असार २०७३ ०३:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App